‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल चीन सम्बन्धमा नयाँ सूत्रपात : मन्त्री किराती

Jun 23, 2023 - 05:53
 0
‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल चीन सम्बन्धमा नयाँ सूत्रपात : मन्त्री किराती
‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल चीन सम्बन्धमा नयाँ सूत्रपात : मन्त्री किराती

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ । ‘ड्रागन बोट रेस फेस्टिभल’ ले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको उहाँले बताउनुभयो । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरको आयोजनामा पोखरामा आजदेखि सुरु भएको नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उहाँले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताउनुभयो । 

पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले चीनसँग सम्बन्ध बलियो बनाउन फेस्टिभलले नयाँ सूत्रपात निर्माण गरेको भन्दै चिनियाँ नागरिकलाई नेपाल घुम्न आउन आग्रह गर्नुभयो ।“आदरणीय चिनियाँ नागरिकलाई म नेपाल घुम्न आउन निम्तो गर्न चाहन्छु, नेपालमा तपाईँहरूलाई स्वागत र सम्मान गर्न हामी आतुर छौँ”, मन्त्री किरातीले भन्नुभयो, “तपाईँहरू नेपाल घुम्न आइदिनुहोस् ।”

मन्त्री किरातीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो । इतिहासमा चीन र भारतको व्यापारिक नाका रूपमा स्थापित पोखरामा भव्य रूपमा महोत्सवमा ड्रागन बोट फेस्टिभल सम्पन्न हुन लागेको उहाँको भनाइ छ ।नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुई देशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत महोत्सवलाई निरन्तरता दिने जानकारी गराउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले फेस्टिभलले पोखरा मात्र नभई समग्र नेपालकै पर्यटनमा टेवा पुग्ने बताउनुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा पहिलो पटक आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । 

दक्षिण एसियामा पहिलो पटक आयोजना गरिएको यो महोत्सवले नेपालको विश्वभर प्रवर्द्धन एवं यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने उहाँको भनाइ छ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज र भोलि दुई दिन बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । 

‘ड्रागन बोट रेस’ मा ड्रागन जस्तै देखिने गरी बनाइएको डुङ्गा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन् । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1