असार पन्ध्रको चाड र धान दिवश

देशभक्तिको एकाई हो असार पन्ध्रमा जन्मेको स्थानमा बसेर दहि च्यूरा खाने बसाएको वा बनाएका प्रचलन । जहाँ बसे पनि जति टाढा बसे पनि जन्मदिने आमा र मातृभूमिलाई नविर्स संझ र सम्मान गर । त्यसैले असार पन्ध्रको यो पहिलो तर महत्वपूर्ण पाटो हो । आफनो गाउँ ठाउँ देखि नै नमूना योग्य देशभक्तिको उदाहरण पेश गर भनेको हो असार पन्ध्रको मनन गरिरहनु पर्ने सन्देश

Jan 31, 2022 - 07:21
Jan 31, 2022 - 07:21
 0

                असार पन्ध्रको चाड र धान दिवश
                             
करिव तीस वर्ष अघि भएको सानो सभाको संझना पस्कदै यो सानो लेख सुरु गर्न चाहान्छु । म त्यसबेला तेह्रथुम जिल्ला पञ्चायतको उपसभापति थिएँ । काठमाण्डौंमा रहेका तेह्रथुमेहरुले राखेको कार्यक्रममा मलाई पनि वक्ताको रुपमा प्रस्तुत गरेका थिए । संयोग त्यो दिन असार १५ काृे दिन परेको रहेछ । बोल्न लाग्दा मेरो दिमागमा अचानक असार १५ गते भएको याद आयो । त्यो कार्यक्रम नै आफु जन्मेको ठाउँलाई केहि गर्ने भन्ने थियो त्यो ठाउँ बाट बाहिर गएकाहरुले । असार १५ सान्दर्भिक हुने भयो त्यो कार्यक्रमको लागि । किनभने असार पन्ध्र गते आफु जन्मेको स्थानमा बसेर दही चिउरा खाने चलन पनि हो । 

मैले त्यसबेला असार १५को महत्व र औचित्यको त्यहाँ नयाँ ढंगले व्याख्या गर्दै असार १५ नेपालको सबभन्दा ठूलो पर्व हो भनेको थिएँ । मेरो भनाइलाई सबैले जोडदार ताली बजाएर समर्थन दिएका थिए सभाका सहभागी र स्रोताहरुले । मेरो पहिलो भनाइ थियो असार १५ “जननी जन्मभूमिश्च स्वर्गदापी गरियाशी” को पहिलो एकाई हो । किनभने आमाले जुन भूमिमा हामीलाई जन्माएकी थिइन त्यही भूमिमा बसेर दही च्यूरा खानु पर्ने नियम बनाएको अर्थ हो एकै पल्ट जननी र जन्मभुमिलाई संझनु र सम्मान दिनु हो । जन्मेको ठाउँलाई संझनु भनेको हरेकले आफुलाई जन्माउदा आमाले पाएको कष्ट संझनु आमा मार्फत हरेक गर्भवति वा सुत्केरी महिलाहरुलाई संझन र ख्याल गर्न भनेको हो असार १५को जन्मेको ठाउँमा बसेर दही च्यूरा खानुको सन्देश । 

त्यस्तै जन्मेको भूमिमा बसेर दही च्यूरा खाने जुन चलन चलाइयो जन्मभुुमि याने मातृभूमि प्रतिको सम्मान, भक्तिको र समर्पणको सन्देश हो यो । देशभक्तिको एकाई हो असार पन्ध्रमा जन्मेको स्थानमा बसेर दहि च्यूरा खाने बसाएको वा बनाएका प्रचलन । जहाँ बसे पनि जति टाढा बसे पनि जन्मदिने आमा र मातृभूमिलाई नविर्स संझ र सम्मान गर । त्यसैले असार पन्ध्रको यो पहिलो तर महत्वपूर्ण पाटो हो । आफनो गाउँ ठाउँ देखि नै नमूना योग्य देशभक्तिको उदाहरण पेश गर भनेको हो असार पन्ध्रको मनन गरिरहनु पर्ने सन्देश । 

अर्को दहिच्युरा नै असाार पन्ध्रमा खानु पर्ने ले के सन्देश दिन खोजेको हो त ? मैले त्यहाँ यसबारे कृषि उत्पादन र पशुपालन संग जोडिएको सन्देश दिन खोजेको हो भन्ने मत राखेको थिएँ । चिउरा धान मार्फत बन्ने खाद्य पदार्थ हो भने दहि दुध मार्फतको खाद्य पदार्थ हो । यसरी दही गाई भैंसीबाट प्राप्त हुने दुधबाट बन्ने हुँदा यो पशुपाालन तिर आकर्षित भएको छ । त्यसरी नै धानबाली मार्फत बन्ने चिउरा स्वभाविक रुपमा बाली उत्पादनसंग  जोडिएको छ । यसरी असार पन्द्र बाली उत्पादन, पशुपालनसंग आकार्षित भएको छ । यसले पुष्टि गर्दछ कि असार पन्ध्र कृषि उत्पादनसंग जोडिएको छ । यो कृषि पर्व पनि हो । मेरो यो भनाइलाई पनि त्यहा उपस्थित स्रोताहरुबाट त्यसरी नै समर्थन पाएको थियो पहिला जस्तै ताली बजाएर । वास्तवमा असार १५ “जन्मेको गाउँलाई हुर्केको ठाउँलाई नेपालीले मायाँ मा¥यो वरिलै” भन्ने गितको विपरित जन्मेको गाउँलाई हुर्केको थाउँलाई नेपालीले संझियो बरिलै हो । खेतबारी गाई भैसी गोठालालाई संझियो बरिलै हो । यो घरभरि गोरस र अन्न सधै टन्न पनि हो असार पन्ध्रमा खाने दहि चिउराको सन्देश । 

पंतिकारले असार पन्ध्रलाई देशभक्ति र कृषि दिवशको रुपमा मनाउनु पर्ने भनेर मन्तव्य दिएको पनि ३० वर्ष वितिसकेछ । त्यसैले मैले यसलाई सबभन्दा ठूलो चाड भनेको थिए । असार पन्ध्र आफैमा देशभक्ति,श्रमशक्ति र कृषिशक्तिको त्रिवेणी रहेछ । दही आफै स्वस्थ्य सगुनको प्रतीक हो । दही चिउरा नेपालीको मौलिक स्वादको खाजा पनि हो । यो आफैमा नेपाली मनको नेपाली पन पनि हो । यसको अर्थ र महत्व दुबै छ । यता पछिल्लो केहि समय देखि सरकारले असार पन्द्र लाई धान दिवशको रुपमा सरकारले खाश गरि कृषि मन्त्रालयले मनाउन थालेको छ जसलाई सबैले सकारात्मक रुपमा लिनु पर्दछ ।   

२०६१ सालमा अर्थात सन् २००४ सालमा विश्वमा पहिलो पल्ट अन्तराष्ट्रिय धान दिवस आयोजित भएको थियो । संयुक्त राष्ट्रसंघले ४३ धान उत्पादक राष्ट्रहरुको संयुक्त प्रस्तावलाई पारित गरेर धान दिवश मनाएको थियो । त्यही बेला देखि नै नेपालले भने संयुक्त राष्ट्रसंघले निर्णय गरेको धान दिवसलाई नै नियमित रुपमा धान दिवस मनाउदै आएको छ । धान दिवसको रुपमा असार १५ रोझने निर्णय सहि निर्णय हो । धान दिवसको लागि असार १५ उपयुक्त दिन हो । किन हो भनेर माथि नै भनि सकिएको छ । 

सबैलाई थाहा भएकै विषय हो नेपालको छ खाद्यान्न बाली मध्ये धान प्रमुख बाली हो । यता पछिल्ला निकै आर्थिक वर्षहरुमा धान उत्पादनको रेकर्ड राम्रो नभएको देखिन्छ  नेपालमा । तर २०७३÷२०७४को आर्थिक वर्षमा भने धान उत्पादनले उल्लेख गर्न लायकको उत्पादनको उपलव्धि हासिल गरेको थियो । यसलाई ऐतिहासिक उपलव्धि भने पनि अत्युुक्ति नहोला । यो आर्थिक वर्षमा १५लाख ५२ हजार हेक्टर जमिनमा धान खेति गरेर ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । जो अहिलेसम्मकै उच्च उत्पादन थियो । धानको उत्पादनमा आएको वृध्दिले कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान दिएको पाइन्छ । धानको उत्पादनमा १० प्रतिशत मात्र वृध्दि भएमा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत बढेको पाइन्छ । कृषि विकास मन्त्रालयले आर्थिक वर्ष २०७३/२०७४ मा एक खर्ब चार अर्ब मूल्यको धान उत्पादन भएको जनाएको थियो  । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ । तेसमा धानको मात्रै २१ प्रतिशत सम्म भएको पाइन्छ । 

नेपालमा सबभन्दा धेर धान उत्पादन झापामा भएको पाइन्छ । पहाडी २२ जिल्लामा भएको धानका उत्पादन बराबर एउटै झापा जिल्लामा उत्पादन भएको छ । झापाको यहि उत्पादन क्षमतालाई दृष्टिगत गरेर सरकारले झापालाई धान उत्पादनको सुपरजोन क्षेत्र घोषणा गरेको छ । यो घोषणाले झापामा अत्यधिक धान उत्पादन गरेर यसको लक्ष हासिल गर्न सकेमा मात्र यो सार्थक भएको मानिने छ । झापामा पनि अरु क्षेत्र जस्तै तीब्र गतिमा धान समेतका खेति योग्य जमिन मासिने क्रम जारी भएको अवस्था छ । किसानहरु खेतिबाट पलायन भएर जाने क्रम बढिरहेको छ । युुवाहरु खेतिबाट विकर्षित भइरहेको अवस्था छ । यी सबैमा सम्बन्धित निकायाको गम्भिर ध्यान गएको जस्तो लाग्दैन । योजना वा कार्यक्रम जाँचिने टेबल होइन फिल्ड हो । कुरा, भाषण र निर्णय होइन परिणाम हो । 

नेपालमा लगभग बार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्दछ । नेपाललाई यति धेरै धानको जरुरी नपर्ने हो । तर धेरै नेपालीहरु भात नै खान रुचाउने भएकाले पनि चावलको माग धेरै भएको हो । धानको चावल भन्दा कोदो, फापर, गहुँ, जौ आदिमा पौष्टिक तत्व धेरै भए नि परम्परागत खाद्य बानीले गर्दा धान वा मकैको भात खाने नै बढि छन् नेपालमा । जनसंख्यामा आएको वृध्दि र खेतियोग्य जमिनमा भइरहेको संकुचन र युुवाशक्तिको पलायन भोलीको नेपालको लागि साँचै चिन्ताको विषय हो । नेपालमा ०७३/०७४को आर्थिक वर्षमा १७ लाख मेट्रिक टन गहँु उत्पादन भएको थियो । तर ९ लाख मेट्रिक टन मात्र खपत भएको थियो । यसले पनि पुष्टि हुन्छ कि नेपालमा गहुँको माग थोरै छ । भनौ गहँु खाने बानीमा नेपालीलाई डो¥याउन अझै धेरै बाँकी छ । 
नेपाल धान उत्पादन गर्नको लागि जल,बायु,जमिन सबै किसिमले उपयुक्त भए पनि अपेक्षित धानको उत्पादन भइरहेको छैन । अझै पनि अकासे खेतिमा भर पर्ने अवस्था छ धेरै किसानहरुलाई । धेरै उब्जाउ खेतहरुमा सिचाइको आवश्यक व्यवस्था हुन सकेको छैन । भ्रष्टाचार र राजनीति अस्थिरता यसको प्रमुख वाधक हो । किसानलाई तालिम सहुलियत अनुदान बीउ लगायत आधुनिकीकरण र व्यवसायिकीकरणको अभावले पनि नेपालले चाहेको धान उत्पादन गर्न नसकेको तीतो यथार्थता हो । नत्र नेपालमा संसारको सबभन्दा उच्च स्थानमा धान फलाउने प्रकृतिक अनुकुलता छ । नेपालको जुम्ला जिल्लाको छुमचौर संसारको सबैभन्दा उच्च स्थानमा धान उत्पादन भइरहेको स्थानको कीर्तिमान साथ धान उत्पादन दिइरहेको छ । त्यहाँ जुम्लामार्सी धानको उत्पादन गरिन्छ । उच्च पहाडी भेक देखि तराइको समथर मैदानी भेकमा धान उत्पादन हुने प्रसस्त जमिन भए पनि नेपाल धान उत्पादन गर्ने देशहरुको क्रममा निकै तल नै पर्दछ ।

विश्वमा सबैभन्दा धेरै धान उत्पादन गर्ने १० देशको नाम क्रमश यसरी लिन सकिन्छ । चीन,भारत,इन्डोनेसिया,बंगलादेशस,भियतनाम,थाइल्याण्ड,म्यानमार,फिलिपिन्स,ब्राजिल र जापान हुन् । नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी छ । सन् १९६६ देखि २००९ सम्म अन्तराष्ट्रिय धानबाली अनुसन्धान केन्द्र बाट विकसित धानको जात सदुपयोग गरि विश्वका ७८ देशमा ८६४ बिउ उन्मोचन भएका छन् । नेपालमा उन्मोचन गरिएका ८१ जतमा ६ थरीका मात्र रैथाने जातको धानखेति गरिन्छ । यो क्रम जारी रहिरह्यो भने एक समय यस्तो पनि आउन सक्छ नेपालमा कुनै पनि रैथाने जातको धान र बिउ एकादेशको कथा भएको होस् । 

संसारमा करिव एक लाख चालिस हजार प्रकारका रैथाने धानका जात रहेको अनुमान अन्तराष्ट्रिय धानबाली अनुसन्धान केन्द्रको छ । सोमध्ये एक लाख १७ हजार प्रकारका रैथाने जातहरु केन्द्रले आफनो संकलन गरेको जनाएको छ । हरेक देशले आ आफनो देशमा रहेका सबै रैथाने जातका बिउ जोगाउनु पर्दछ । नेपाल यस मामिलामा गम्भीर भएको छैन । सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अरब भन्दा धेरै हुने अनुमान गरिएको छ । त्यस बखत भन्दा ७० प्रतिशत उत्पादन बढाउनै पर्दछ विश्वले । यो पनि हेक्का रहोस् जनसंख्या बढेपनि पृथ्वी बढ्दैन । 

धान उत्पादन बढाउन सरकारले किसानहरुलाई प्रोत्साहन दिन थालेको छ केहि वर्ष यता यसलाई प्रोत्साहन दिनै पर्दछ । कार्यक्रमको समीक्षा गरेर कमजोरी सुधारेर धान उत्पादनमा व्यापक वृध्दि गर्न सक्नु परेको छ । हाम्रो असार पन्ध्र हाम्रो धान दिवशले यो दिशामा सबैलाई सफलता दिन सकोस् भनेर कामना गर्न सकिन्छ । हाम्रो अतित धान निर्यातक मुलुक होइन र ?

नेपालले यो गौरव हासिल गर्नै पर्दछ ।    

      खगेन्द्रराज सिटौला 
कृपया मेरो अन्य लेखहरू यहाँ पढ्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Khagendra Raj Sitoula I am a Nepali citizen involved in Prithivi Bichar Campaign since 2057 B.S. I am also a writer and Ex- president of District Development Committee, Terhathum. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register