वर्चस्वभन्दा पर नयाँ विश्व व्यवस्थाका आधार

अरुको उदय हुँदा पश्चिम डराउनुपर्ने कुनै कारण छैन । अमेरिका र युरोपसँग अझै पनि ठूलो आणविक प्रतिरोध क्षमतासहितको आफ्नो सुरक्षा सक्षमता छ । पश्चिम अरुलाई हुकुम गर्ने क्षमता गुमाएकोमा शोक गरिरहेको छ, वास्तविक सैन्य असुरक्षाको कारण हैन ।

Oct 3, 2024 - 12:45
 0
वर्चस्वभन्दा पर नयाँ विश्व व्यवस्थाका आधार

तीन अन्तर्सम्बन्धित प्रवृत्तिका सङ्गमको कारण हामी मानव इतिहासको नयाँ चरणमा छौँ ।

पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा उत्तर एटलान्टिक क्षेत्रका देशले सैन्य, आर्थिक र वित्तीय रूपमा संसारभरि प्रभुत्व जमाउने पश्चिमी नेतृत्वको विश्व प्रणाली समाप्त भएको छ ।

दोस्रो मानवप्रेरित जलवायु परिवर्तन, जैविक विविधता विनाश, भीषण वातावरणीय प्रदूषणको कारणले निम्त्याएको विश्वव्यापी पारिस्थितिकीय सङ्कटले विश्व अर्थतन्त्र र शासन व्यवस्थामा आधारभूत परिवर्तन ल्याउनेछ ।

तेस्रो विभिन्न क्षेत्रमा प्रविधिको तीव्र प्रगति, कृत्रिम बौद्धिकता, कम्प्युटिङ, बायोटेक्नोलोजी, जियोइन्जिनियरिङले विश्व अर्थतन्त्र र राजनीतिमा गहिरो व्यवधान गरेको छ ।

भूराजनीतिक, वातावरणीय र प्राविधिक यी अन्तर्सम्बन्धित विकासले ठूला अनिश्चितता, सामाजिक अस्थानन्तरण, राजनीतिक सङ्कट र खुला युद्धहरू निम्त्याउँदै छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले न्यूओर्क मुख्यालयमा सेप्टेम्बर २२-२३ मा आह्वान गरेको  ‘समिट अफ द फ्युचर’ यिनै घटनाक्रमको निर्णायक सम्बोधनका लागि हो । साथै अन्तर्राष्ट्रिय संस्थाहरूको सुधार गर्न का लागि हो, ताकि ती हाम्रो परिवर्तनशील संसारका उद्देश्यका लागि उपयुक्त बनून् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय हाम्रा दुवै प्रकारका संस्थाहरू द्रुत परिवर्तनशील संसारको शासनकार्यका लागि उपयुक्त छैनन् । महान् विकासवादी जीववैज्ञानिक स्वर्गीय एडवर्ड ओ. विल्सन हाम्रो दूर्दशालाई अक्सर यसरी व्याख्या गर्थे– हामी ढुङ्गे युगको भावना, मध्ययुगीन संस्थाहरू र ईश्वरीय प्रविधि बोकेर एक्काइसौं शताब्दीसँग ठोक्किदै छौँ ।

उनले यसो भन्नुको अर्थ हो हामी आजका चुनौती दशौं हजार वर्ष पहिलेका संज्ञानात्मक तथा भावनात्मक मानव चरित्र, सन् १७७८ मा अमेरिकी संविधान लेखिएपछिका राजनीतिक संस्था र बिजुली गतिको प्राविधिक प्रगतिको साथ सामना गर्दैछौँ ।

सायद यो गहिरो सामाजिक परिवर्तनको आधारभूत तथ्य अनिश्चितता हो र अनिश्चितताप्रतिको आधारभूत प्रतिक्रिया भय हो । मानव र राष्ट्र आज सबैभन्दा बढी डरको भावनामा छन् ।

वास्तवमा अत्याधुनिक प्राविधिक विकासलाई सही रूपमा प्रयोग गर्ने हो भने आर्थिक विकास, सामाजिक न्याय, वातावरणीय दीगोपनका असङ्ख्य समस्या हल गर्न सकिन्छ । जस्तो कि डिजिटल प्रविधिद्वारा स्वास्थ्य र शिक्षा सेवामा पहुँच सुधार, शून्य कार्बन ऊर्जा स्रोतमा द्रुत सङ्क्रमण गर्न सकिन्छ ।

अहिले युक्रेन युद्धमा अमेरिका र रुस आमने-सामने छन् । अमेरिकाले सहयोग गरिरहेको इजरायल-प्यालेष्टाइन युद्ध जारी छ । मान्छे सम्भावित अमेरिका-चीन युद्धको कुरा गर्दैछन् । यस्ता युद्धको अर्थ हो- सभ्यताको अन्त्य । यी सबै युद्धको मूल कारण डर हो, जो ढुङ्गे युगको भावनाबाट निर्मित छ ।

धेरैजसो अमेरिकी तथा युरोपेली नेताहरूको डर यो हो कि पश्चिमले शताब्दीऔंपछि विश्व वर्चस्व गुमाउँदैछ । यसरी वर्चस्व गुमाउँदा विनाशकारी परिणाम आउन सक्दछन् । जस्तो कि बेलायती प्रधानमन्त्री बेरिस जोनसनले भनेका थिए, “युक्रेनले युद्ध हार्‍यो भने यो पश्चिमी प्रभुत्वको अन्त्य हुनेछ । युक्रेन र अन्य धेरै विश्वव्यापी युद्धको सार यही हो ।”

अमेरिका र उसका साझेदार युक्रेनमा नेटो विस्तार गर्न चाहन्छन् । रुसले दृढतापूर्वक त्यसलाई अस्वीकार गर्दछ । युक्रेनी सेना र पश्चिमी हतियारसँग रुस युद्धमैदानमा टिकिरहेको छ । यसको अर्थ हो– रुसलाई पश्चिमले यसरी नजरअन्दाज गर्न मिल्दैनथ्यो ।

अलिक बृहत् दृष्टिकोण राख्ने हो भने चीन र पूर्वी एसियाको उदय, रुसको प्राविधिक तथा सैन्य शक्ति विस्तार, भारतको तीव्र विकास र अफ्रिकाको बढ्दो एकता पश्चिममा प्रभुत्वको विश्व व्यवस्थाको दुखद् पतन हैन, अन्य विश्वले हासिल गरेको आर्थिक, प्राविधिक र सैन्य शक्ति हो ।

अरुको उदय हुँदा पश्चिम डराउनुपर्ने कुनै कारण छैन । अमेरिका र युरोपसँग अझै पनि ठूलो आणविक प्रतिरोध क्षमतासहितको आफ्नो सुरक्षा सक्षमता छ । पश्चिम अरुलाई हुकुम गर्ने क्षमता गुमाएकोमा शोक गरिरहेको छ, वास्तविक सैन्य असुरक्षाको कारण हैन ।

पश्चिमसँग अब आफ्नो प्रभुत्व पुनर्स्थापित गर्ने कुनै पनि कुरा बाँकी छैनन् । सैन्य विजय, प्राविधिक प्रगति वा आर्थिक लाभ केही पनि छैनन् । उन्नत सैन्य प्रविधि, आर्थिक र वित्तीय क्षमता पश्चिम बाहिर र एसियामा अब रोक्न सकिँदैन, रोक्नु पनि हुँदैन । किनकि यसले अघिल्लो, पश्चिमी प्रभुत्वको विश्व व्यवस्थाको तुलनामा राम्रो र समृद्ध संसार दिन्छ ।

पश्चिमा वर्चस्व अन्त्यको अर्थ नयाँ चिनियाँ, भारतीय वा एसियाली वर्चस्व निर्माण हैन । अब अमेरिका, इयु, रुस, चीन, भारत, अफ्रिकी सङ्घ आदि धेरै शक्तिकेन्द्र भएका मात्र हुन् । अब पश्चिमी प्रभुत्वको प्रतिस्थापनका लागि नयाँ प्रभुत्व स्थापित गर्ने क्षमता र विविधता छैन । यसको अर्थ हो– शताब्दीऔं लामो पश्चिमी वर्चस्वपछि हामी पहिलोपटक वर्चस्व बाहिरको संसारमा आइपुगेका छौँ ।

तसर्थ, ‘समिट अफ द फ्युचर’ वर्चस्वभन्दा पर नयाँ विश्वको सुरुवात हो । यहाँ अमेरिका, युके र इयु आफ्नो गुम्न लागेको वा जोगाउन पर्ने वर्चस्वको पीडा बोकेर हैन, नयाँ बहुध्रवीय विश्वको अंशका रूपमा पर्यावरणीय, प्राविधिक, आर्थिक र अन्य चुनौतीको समाधान खोज्न आउनु पर्दछ । बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनमा आधारित नयाँ विश्व व्यवस्थाका लागि आउनु पर्दछ । संयुक्त राष्ट्रसङ्घको वडापत्रको उपयुक्त सुधारअन्तर्गत आउनु पर्दछ ।

समृद्ध, निष्पक्ष, दीगो र शान्तिपूर्ण विश्व भविष्यका लागि मैले दीगो विकास समाधान सञ्जाल (एसडीएसएन) को तर्फबाट विश्वव्यापी अन्तर्क्रिया र विमर्श गरेको छु । यसका आधारमा शिखर सम्मेलनमा सिफारिस गर्न मुख्य ५ वटा अध्याय बनाइएका छन् ।

१. दीगो विकास हासिल गर्ने, २.विश्व शान्ति सुनिश्चित गर्ने ३. अत्याधुनिक प्रविधिहरू नियन्त्रण गर्ने ४. हाम्रो नयाँ विश्वका लागि युवालाई शिक्षित गर्ने र ५. राष्ट्र सङ्घीय संस्थाहरूलाई एक्काइसौं शताब्दीको उत्तरवर्चस्ववादी सन्तुलनका लागि उपयुक्त बनाउने ।

यी पाँचवटै क्षेत्रमा एसडीएसएनका सिफारिसहरूको संक्षेपीकरण यस प्रकार छ ।

दीगो विकास हासिल गर्ने

दीगो विकास लक्ष्य प्रारम्भिक १५ वर्षका लागि थियो । त्यसपछिको १५ वर्ष सन् २०१६-२०३० लाई सहश्राब्दी विकास लक्ष्य तय गरियो । तर, ती लक्ष्य यी समय अवधिमा हासिल भएनन् । अब दीगो विकास लक्ष्य २०५० को प्रतिबद्धताअघि आएको छ । नयाँ क्षितिज २०५० को अर्थ लक्ष्य हासिल गर्न ढिलो गर्नु हैन, बरु सुधारिएको दीर्घकालीन योजना अघि सार्नु हो ।

दीगो विकास सवाललाई यथोचित वित्त परिपोषण चाहिन्छ । ब्रिटनउड प्रणाली र संयुक्त राष्ट्र सङ्घीय संस्थाहरूमा गरिब राष्ट्रहरूलाई चाहिने लगानीको ठूलो कमी छ । मानव तथा पूर्वाधार पुँजीका लागि आवश्यक लगानी प्रवाह गर्न विश्वव्यापी वित्तीय संचरना परिमार्जन गरी दीगो विकासका लागि उपयुक्त बनाउनु पर्दछ ।

दीगो विकास लक्ष्यहरू हासिल गर्न गरिब राष्ट्रहरूले आन्तरिक र बाह्य दुवै स्रोतबाट पर्याप्त वित्तीय उपलब्धता, पुँजी लागत र ऋण परिपक्कता गुणस्तर सुनिश्चित गर्नु पर्दछ । देश र क्षेत्रहरूले मध्यकालीन दीगो विकास रणनीति अघि सार्न पर्दछ ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा हासिल गर्ने

यसको मूल सिद्धान्त अहस्तक्षेप सुनिश्चित र विस्तारित हुनु पर्दछ । अर्को मान्यता संयुक्त राष्ट्र सङ्घको वडापत्रका शब्द र भावना हुन् । अन्तर्राष्ट्रिय मामिलामा राष्ट्रहरूको हस्तक्षेप नै विश्व शान्तिको सबैभन्दा ठूलो चुनौती हो । युद्ध, सैन्य जबरजस्ती, गुप्त शासन परिवर्तन कारबाही, साइबर युद्ध, सुचना युद्ध, राजनीतिक घुसपैठ तथा हेराफेरी, वित्तीय तथा एकपक्षीय मापदण्ड लागू गर्ने जबरजस्तीआदि त्यस्ता हस्तक्षेपका मुख्य रूप हुन् ।

यिनले संयुक्त राष्ट्र सङ्घीय बडापत्रको उल्लङ्घन गर्दछन् । अनगिन्ती अन्तर्राष्ट्रिय तनाव, हिंसा, द्वन्द्व र युद्ध उत्पन्न गर्दछन् । तसर्थ, अहस्तक्षेपको नीतिलाई अझ सुदृढ र वैधानिक बनाइनु पर्दछ ।

कुनै राष्ट्रले अर्को राष्ट्रको राजनीतिमा पार्टी, आन्दोलन र उम्मेदवारलाई आर्थिक सहयोग गर्नु हुँदैन । कुनै पनि राष्ट्र वा राष्ट्रहरूको समूहले एक पक्षीय शर्तहरू लागू गर्न जबरजस्ती गर्नु हुँदैन । कुनै पनि राष्ट्रले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को निर्णय बिना अर्को देशमा सैन्य तैनाथी गर्नु हुँदैन । यस्ता तैनाथीलाई आगामी २० वर्षभित्र समाप्त पारिनु पर्दछ । आणविक हतियारको निशस्त्रीकरण गरिनु पर्दछ ।

अत्याधुनिक प्रविधि नियन्त्रण गर्ने

प्राविधिक जोखिमका लागि बहुपक्षीय नियन्त्रणलाई बढाइनु पर्दछ । विज्ञान, प्रविधिको विकास र प्रयोगबाट आज धेरै ठूलो शक्ति अभ्यास हुन सक्दछ । बायोटेक्नोलजीमा रोगजन्य जिवाणु बढाउने र नयाँ जीवन सृजना गर्ने क्षमता छ । कृत्रिम बौद्धिकता, निगरानी, जासुसी, कुलत, हतियार स्वायत्तता, डिपफेक र साइबर युद्ध जस्ता चिज छन् । आणविक हतियार अन्तर्राष्ट्रिय मामिलामा शक्तिशाली र विनाशकारी छ ।

जियोइन्जिनियरिङले वायुमण्डल र महासागरको रासायनिक संरचना परिवर्तन गर्न सक्दछ । सौर्य विकिरणले मानवीय जलवायूलाई परिवर्तन गर्दिन सक्दछन् ।

यस्ता अत्याधुनिक प्रविधि नियमन र नियन्त्रणको एक अन्तर्राष्ट्रिय मापदण्ड तथा संयन्त्र हुनु पर्दछ । उन्नत प्रविधिको सकारात्मक उपयोगमाथि विश्वव्यापी पहुँच हुनु पर्दछ । गरिब मुलुक यस्ता विज्ञान प्रविधिको पहुँचबाट वञ्चित हुनु हुँदैन ।

युवालाई दीगो विकास शिक्षा

धर्तीका सबै बालबालिकाको मानव अधिकारका लागि स्तरीय प्राथमिक तथा माध्यामिक शिक्षा, पोषण र स्वास्थ्योपचार सन् २०३० भित्र सुनिश्चित गर्ने नयाँ वैश्विक प्रारूप र दीर्घकालीन वित्त सुनिश्चितता हुनु पर्दछ । सबै सिकारुलाई समान ज्ञान, सीप दिनु पर्दछ ।

दीगो विकास र दीगो जीवनशैली, मानव अधिकार, लैङ्गिक समानता, सांस्कृतिक शान्ति, अहिंसा, वैश्विक नागरिकत्व, सांस्कृतिक विविधताको शिक्षा प्रवर्द्धन गरिनु पर्दछ । युवाको तालिम, शिक्षा, मार्गनिर्देशकत्व, सहभागिता, सार्वजनिक उदारता नयाँ पुस्तामा पुर्‍याइनु पर्दछ । यसका लागि एक नयाँ विश्व युवा परिषद् जरुरी छ ।

संयुक्त राष्ट्र सङ्घको वडापत्रअन्तर्गत वैश्विक शासनको रूपान्तरण

हामीले संयुक्त राष्ट्रसङ्घीय महासभाको सहायक निकायको रूपमा संसदीय सभाको प्रस्ताव गर्न चाहेका छौँ । यो राष्ट्रिय संसद्‌बाट आएका प्रतिनिधिहरूको सभा हुनेछ । यस्तै थप सहायक संस्थाहरू निर्माण गर्न सकिन्छ । क्षेत्रीय सङ्गठनलाई प्रतिनिधित्व गर्ने निकाय बनाउन सकिन्छ । जस्तो कि आसियान, इयु, अफ्रिकन युनियन, युरेसियन आर्थिक सङ्घलाई आदिलाई यस्तो मान्यता दिन सकिन्छ ।

शहरहरूको प्रतिनिधित्व गर्ने परिषद् बनाउन सकिन्छ । त्यसैगरी आदिवासी, युवा, शान्ति र अहिंसा, वैश्विक नागरिककत्व, सांस्कृतिक, धार्मिक, सभ्यता विविधिता परिषद् बनाउन सकिन्छ ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को सदस्यता र शक्ति सुधार गर्नु पर्दछ । भारतलाई सुरक्षा परिषद्को स्थायी सदस्य बनाउन जरुरी छ । १८ प्रतिशत बढी मानवको बसोबास भएको, क्रय शक्ति मानकमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र र विश्व अर्थतन्त्र, प्रविधि र भूराजनीतिक सवालमा महत्त्वपूर्ण स्थानका कारण भारत यसका लागि उपयुक्त छ । सुरक्षा परिषद्‌मा विश्वका सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी पुनर्सन्तुलन हुनु पर्दछ ।

नयाँ विश्व व्यवस्थाको सबैभन्दा आधारभूत कुरा राष्ट्रहरूबीचको परस्पर सम्मान हो । आज विश्वले वातावरणीय विनाश, राजनीतिक अस्थिरता, अत्याधुनिक प्रविधिहरूको शस्त्रीकरण, शक्ति र सम्पतिको नाटकीय असमानताजस्ता ठूला र अकल्पनीय चुनौती भोगिरहेको छ ।

यी समस्याको सम्बोधन राष्ट्रहरूको शान्तिपूर्ण सहकार्यद्वारा गरिनु पर्दछ ।

(लेखक कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा दीगो विकास केन्द्रका निर्देशक हुन् । यो आलेख भर्खरै सम्पन्न संयुक्त राष्ट्र सङ्घीय ‘समिट अफ द फ्युचर’का लागि उनले तयार पारेको लामो कार्यपत्रको संक्षेपीकृत भावानुवाद हो )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register