यहुदी दुर्भाग्य : हिजो नरसंहारको मार, आज युद्ध र अपजसको भार

यहुदीहरूलाई घृणा र इजरायललाई आलोचना गरेर मात्र सायद यो समस्याको समाधान हुँदैन । यहुदीहरूको दुर्भाग्यलाई पनि विश्वले बुझ्न आवश्यक छ । हिजो उनीहरूले राज्यविहीनता र नरसंहार भोगे । आज युद्ध र अपजस भोगिरहेका छन् । हमास र हिज्जबुल्लाहजस्ता अतिवादी सङ्गठन नहुने हो भने सायद मध्यपूर्वमा दीगो शान्ति सम्भव हुन्छ ।

Oct 8, 2024 - 09:49
 0
यहुदी दुर्भाग्य : हिजो नरसंहारको मार, आज युद्ध र अपजसको भार

एकातिर युद्ध अन्त्य र विश्व शान्तिको माग छ, अर्कोतिर युद्ध निरन्तर विस्तार भइरहेको छ । इजरायल-हमास युद्ध अब गाजामा सीमित रहेन, लेबनान र इरानसम्म पुग्यो ।

इजरायलविरुद्ध हमास, हिज्बुल्लाह र इरान एक भएका छन् । त्यसो त जेरुसेलम र बेरुतका सरकार पनि इजरायलको विरुद्धमै छन् । प्रत्यक्ष युद्धमा समेल नभए पनि ती इजरायल पराजित होस् भन्ने चाहन्छन् । अन्य अरब देश इजरायलप्रति सहानुभूति राख्दैनन् ।

इजरायलका समर्थक वा ‘ऐतिहासिक सहयोगी’ भनिएका अमेरिका र बेलायतले पनि अनेक शर्त राखेर दबाब दिइरहेका हुन्छन् ।

आफूलाई प्रगतिशील, वामपन्थी, लोकतन्त्रवादी, मानवतावादी, शान्तिप्रिय ठान्ने विश्व जनमतले पनि इजरायललाई नराम्रो देखाउँदै खेदिरहेको हुन्छ । तिनको तर्क हुन्छ— इजरायल युद्धपिपासु देश हो । उसले प्यालेस्टाइनी र अरब जनतामाथि युद्ध थोपरिरहेको छ ।

पश्चिमा देशहरू द्वैध चरित्र देखाउँछन् । एकातिर इजरायललाई हतियार दिन्छन् । आर्थिक सहयोग तथा नैतिक समर्थन गर्दछन्, अर्कोतिर युद्ध रोक्न इजरायलमाथि दबाब बढाएको स्वाङ रच्छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडन होऊन् वा बेलायती प्रधानमन्त्री कियर स्टार्मर; दुबैको दृष्टिकोण यो मुद्दामा यस्तै देखिन्छ । दुनियाँलाई थाहा छ कि बाइडन र स्टार्मरको ठाउँमा अर्को कोही हुँदा वा आए पनि यो दृष्टिकोणमा खासै भिन्नता आउँदैन ।

इजरायलका बाध्यता वा अप्ठ्यारा के हुन् ? यस पाटोबाट सोच्ने बिरलै छन् । इजरायलको पाटोबाट घटनाक्रमलाई विश्लेषण गर्नु यस टिप्पणीको उद्देश्य हो ।

इजरायल विश्व मानचित्रमा यहुदीहरूको एक मात्र देश हो । यहुदी समुदायको एक भिन्नै देश विश्वमा आवश्यक छ भन्ने कुरामा पश्चिमा विश्वले पहिलो विश्वयुद्धताका नै सहमति जनाएको हो ।

सन् १९४७ नोभेम्बर २९ मा संयुक्त राष्ट्रसङ्घले इजरायल राज्य स्थापना गर्न प्यालेस्टाइन विभाजनको प्रस्ताव पारित गरेको थियो । कि त्यो प्रस्ताव नै गलत थियो भन्न सक्नुपर्यो, जो आजसम्म कसैले भनेको छैन ।

ज्ञान, विज्ञान, कला, साहित्य र प्रविधिको विकासमा यहुदी समुदायका बौद्धिकको ठूलो योगदान छ । सन् १९०१ मा स्थापना भएयता नोबेल पुरस्कार प्राप्त गर्ने ९६५ मध्ये २१४ जना अर्थात् करिब २२ प्रतिशत यहुदी छन् । आधुनिक विज्ञानका विलक्षण प्रतिभा अल्बर्ट आइस्टाइन नाजीवादद्वारा सताईएका, जर्मनीबाट अमेरिका पलायन भएका व्यक्तित्व थिए ।

दोस्रो विश्वयुद्धको अन्त्य र इजरायलको स्थापनाअघि यहुदी समुदायप्रति विश्वले सहानुभूति राख्थ्यो । यहुदी हिटलर र नाजीवादद्वारा सर्वाधिक सताइएको एक उत्पीडित समुदायका रूपमा विश्वव्यापी सहानुभूतिका पात्र थिए ।

सन् १९४१-४५ बीचको नरसंहारको अवधिमा मात्र नाजीले जर्मनी र अधीनस्थ युरोपमा ६० लाखभन्दा बढी यहुदीको हत्या गरेको विश्वास गरिन्छ । तर, यहुदीमाथिको दमन र अत्याचार दोस्रो विश्वयुद्ध ताका मात्र भएको हैन । यहुदी संसारकै एक यस्तो अल्पसङ्ख्यक धार्मिक तथा जातीय समुदाय हो, जसले विश्व इतिहासमा सबैभन्दा धेरै दमन र अत्याचारको सामना गरेको छ ।

तर, पनि ज्ञान, विज्ञान, कला, साहित्य र प्रविधिको विकासमा यहुदी समुदायका बौद्धिकको ठूलो योगदान छ । सन् १९०१ मा स्थापना भएयता नोबेल पुरस्कार प्राप्त गर्ने ९६५ मध्ये २१४ जना अर्थात् करिब २२ प्रतिशत यहुदी छन् । आधुनिक विज्ञानका विलक्षण प्रतिभा अल्बर्ट आइस्टाइन नाजीवादद्वारा सताईएका, जर्मनीबाट अमेरिका पलायन भएका व्यक्तित्व थिए ।

सन् १९४८ मे १४ मा ‘जियोनिष्ट आन्दोलन’ का नेता डेबिट बेन गुरियनले इजरायल स्थापनाको घोषणा गरे । अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमेनले तुरुन्तै इजरायललाई एक नयाँ सार्वभौम राज्यका रूपमा मान्यता दिएका थिए ।

यहुदीहरूको दमन करिब ३ हजार वर्ष अघि सुरु भएको विश्वास गरिन्छ । सन् १९४८ मा आधुनिक इजरायलको स्थापना हुँदा प्राचीन इजरायल राज्यको पतन भएको २ हजार वर्ष बितिसकेको थियो ।

यहुदी पहिचानको जन्म किन भयो र यो कसरी विश्वकै एक दुर्लभ धार्मिक अल्पसङ्ख्यक समुदाय बन्यो ? कथा पढ्दा रोचक लाग्ला तर, भोगाइ निकै त्रासद र दुर्दान्त छ ।

‘अब्राहमिक परम्परा’ मा मुख्य तीन धर्म सम्प्रदाय जन्मिए । यहुदी, इसाई र इस्लाम । यीमध्ये सबैभन्दा पुरानो यहुदी हो । इस्लामिक विश्वासमा अब्राहमका दुई छोरामध्ये एक इस्राइलबाट यहुदी र इस्माइलबाट इस्लामको जन्म भएको हो ।

‘इस्राइल’को पूरा नाम इस्रायल हजरत याकुब थियो । यो अवधारणमा इजरायल शब्दको उत्पति नै इस्राइलबाट भएको हो । इस्राइलका १२ छोरामध्ये एकको नाम यहुद थियो । यसबाटै यहुदी भन्न थालियो ।

यहुदी इतिहासकार भने यसलाई इजरायल अधिराज्य र जुदाह अधिराज्यसँग जोड्दछन् । प्राचीन केनान क्षेत्रमा मुख्य दुई राज्य थिए— इजरायल र जुदाह । करिब २५०० वर्षअघिका ती प्राचीन राज्य इजरायलबाट यस शब्द टिपिएको हो र जुदाहबाट ‘ज्युज’ हुँदै ‘जुडाइज्म’ बनेको हो । ती दुई राज्यलाई ‘युनाइडेट किङ्गडम अफ इजरायल’ पनि भनिन्थ्यो । आज भन्दा करिब १६०० वर्ष अघिका प्रमाणमा यी नाम अभिलेखित छन् ।

इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट यहुदी समुदायका थिए । क्राइस्टलाई पुरानो हिब्रु बाइबलमा उल्लेखित नयाँ ‘मसिहा’ मान्ने कि नमान्ने भन्ने विवादले यहुदी र इसाई फरक भए । क्राइस्ट मान्नेहरू क्रिश्चियन अर्थात् इसाई भए । पुरानो परम्परालाई अनुसरण गर्नेहरू ‘ज्युज’ अर्थात् ‘यहुदी’ भए ।

पहिलो शताब्दीको यहुदी-रोमन युद्धले इजरायललाई करिब २००० वर्ष विश्व मानचित्रबाट गायब गरिदियो । मध्यकालमा बैजन्टाइन, मङ्गोल र मामलुक साम्राज्यले यो क्षेत्रलाई अधीनस्थ गरेका थिए । त्यसपछि अटोमन साम्राज्य उदायो, जो बीसौं शताब्दीसम्म रह्यो ।

इजरायल र जुदाह मात्र हैन, प्यालेस्टाइन पनि प्राचीनकालमा असुरियन, बेबिलोन, पर्सियन र मेसिडोन साम्राज्यको शिकार भएको थियो । मध्यपूर्वका यी तीन साना राज्य प्राचीनकालमा कहिल्यै स्थिर भएनन् । एकपछि अर्को साम्राज्यको शिकार भए । युरोपेली तथा अरबी ठूला साम्राज्यको सामना गर्न यी साना राज्यलाई सजिलो थिएन ।

तर, सिकन्दर महानको निधन र मेसिडोन साम्राज्यको विभाजनपछिको हेलेनिक युगमा इजरायल करिब ३०० वर्ष एक भिन्नै राज्य रहेको थियो ।

पहिलो शताब्दीको यहुदी-रोमन युद्धले इजरायललाई करिब २००० वर्ष विश्व मानचित्रबाट गायब गरिदियो । मध्यकालमा बैजन्टाइन, मङ्गोल र मामलुक साम्राज्यले यो क्षेत्रलाई अधीनस्थ गरेका थिए । त्यसपछि अटोमन साम्राज्य उदायो, जो बीसौं शताब्दीसम्म रह्यो ।

१९ औं शताब्दीमै यहुदीहरूले इजरायल स्थापनाको आन्दोलन सुरुवात गरिसकेका थिए । र, त्यसलाई ‘जियोनिष्ट आन्दोलन’ भनिन्थ्यो ।

सन् ७०मा दोस्रो जेरुसेलम मन्दिरको ध्वंसपछि यहुदीहरू युरोपमा छरिन थालेका हुन् । पहिलो लहरमा विशेषतः जर्मनी, अष्ट्रिया, फ्रान्स, रुस र पोल्यान्डतिर बसाइँ सरे ।

ईसापूर्व ५८६-८७ मा बेबिलोनहरूले पहिलो जेरुसेलम मन्दिर भत्काएका थिए । ईसापूर्व ५१६ तिर यो मन्दिर पुनर्निमाण गरिएको थियो । दोस्रो मन्दिर यहुदी-रोमन युद्धको कारण ध्वस्त भएको थियो ।

मन्दिरको एउटा भित्तो मात्रै बँचेको थियो । त्यही भित्तोमा अहिले यहुदीहरूले प्राथना गर्दछन् । छैटौं शताब्दीपछि जब अरब क्षेत्रमा इस्लामको उदय र विस्तार भयो, यस क्षेत्रका यहुदी थप विस्थापित भए । आप्रवासनको दोस्रो ठूलो लहर चल्यो ।

यसपटक भने धेरैले आप्रवासनका लागि स्पेन रोजे । टर्की, बेलायत, ग्रिस, र बाल्कन क्षेत्रमा पनि फैलिए । अरब क्षेत्रमा सिरिया, इजिप्ट, इरान, इराक, लेबनानमा यहुदीहरूको बसोबास छरियो ।

अमेरिकामा भने यहुदी जनसङ्ख्याको विस्तार दोस्रो विश्वयुद्धपछि मात्र तीव्र भएको हो, जब सिङ्गो युरोप र विशेषतः जर्मनीमा यहुदीमाथि ठूलो अत्याचार र दमन भयो ।

युरोपेली पुनर्जागरण र प्रवोदनको युगमा यहुदीहरूले विश्वव्यापी रूपमा पहिचान, भाषा र धर्मको सङ्कट अनुभूति गर्न थाले । विस्तारै यसले राजनीतिक रूप लिन थाल्यो र यस्तो विचार र आन्दोलनलाई नै ‘जियोनिज्म’ भन्न थालियो ।

यहुदीहरूको हिब्रु भाषा लोप हुन लागेको थियो । यहुदी विद्वान्‌हरूले भाषा, साहित्यको पुनर्उत्थान गर्न थाले ।

यहुदीहरूको भाग्य यो थियो कि उनीहरू विश्वभरि छरिएका थिए । संसारमै एक बौद्धिक र उच्च व्यावसायिक क्षमता भएका व्यक्तित्व उत्पादन गर्ने समुदायका रूपमा परिचत र स्थापित थिए । तर, उनीहरूको आफ्नो कुनै राज्य थिएन । उनीहरू शताब्दीऔं ‘राज्यविहीन राष्ट्र’ रूपमा बाँच्न अभिशप्त थिए ।

सन् १८८२ मा एक रुसी यहुदी डाक्टर लियोन पिन्सकरले जर्मन भाषामा एक पर्चा लेखे । उनले यहुदी राष्ट्रवाद र स्वशासनको तर्क अघि सारे । उनले भने, “जबसम्म यहुदीहरूको आफ्नै राज्य र शासन हुँदैन, तबसम्म उनीहरू कहिल्यै अरु बराबर हुन सक्ने छैनन् ।”

सन् १८९० पछि ‘यहुदी राज्यत्व’ को चाहना विश्वभरिका यहुदीमा व्यापक हुँदै गयो । यसैको परिणाम थियो— जियोनिष्ट आन्दोलनको स्थापना । सन् १८९७ मा थियोडोर हर्जलले स्वीट्जरल्यान्डको बसेलमा पहिलो विश्व जियोनवादी सम्मेलन आयोजना गरे ।

जियोनिष्ट आन्दोलन सुरु हुनुअघि यहुदीहरू यो विश्वास गर्थे कि राज्यहरू लोकतान्त्रिक, धर्मनिरपेक्ष र समाजवादी हुने हो भने भिन्नै यहुदी राज्यको आवश्यकता पर्ने छैन । यहुदीहरूले तिनै देशमा राजनीतिक तथा नागरिक अधिकार उपयोग गर्न सक्नेछन्, जहाँ-जहाँ उनीहरू पुगेका र बसेका छन् ।

कतिपय ठान्दछन् कि इसाई यहुदी धर्मकै विकसित रूप हो । तर, यहुदीहरू यस्तो तर्क प्रणालीमा विश्वास गर्दैनन् । ‘जियोनिज्म’ भने यहुदीहरूको ‘राजनीतिक राष्ट्रवाद’ को अवधारणा हो । जसले यो राजनीतिक विश्वास गर्दछ कि यहुदीहरूको एक भिन्नै राष्ट्र बन्नुपर्दछ, त्यसलाई ‘जियोनवाद’ भनिन्छ ।

जियोनिष्ट आन्दोलन सुरु हुनुअघि यहुदीहरू यो विश्वास गर्थे कि राज्यहरू लोकतान्त्रिक, धर्मनिरपेक्ष र समाजवादी हुने हो भने भिन्नै यहुदी राज्यको आवश्यकता पर्ने छैन । यहुदीहरूले तिनै देशमा राजनीतिक तथा नागरिक अधिकार उपयोग गर्न सक्नेछन्, जहाँ-जहाँ उनीहरू पुगेका र बसेका छन् ।

तर, ती देशका स्थानीयहरूको यहुदीलाई हेर्ने दृष्टिकोण राम्रो थिएन । हिटलरको जर्मन राष्ट्रवाद त्यसैको सबैभन्दा चरम उदाहरण थियो । जर्मनी मात्र हैन, रुस र पोल्यान्डलगायतका धेरै देशले यहुदीहरूमाथि नराम्रो धारणा राख्थे । असमान र अन्यायपूर्ण व्यवहार गर्थे ।

जियोनवादी आन्दोलन फैलिदै जाँदा विश्वभरि छरिएका यहुदीहरू प्यालेस्टाइन फर्किन इच्छुक देखिए । सन् १९०५ मा अटोमन साम्राज्यले यहुदीहरूलाई प्यालेस्टाइन क्षेत्रमा जमिन किन्ने र बसाइँ सरेर आउने कानूनी अधिकार दियो । रुसी साम्राज्यले पनि सन् १९०३ पछि प्यालेस्टाइन क्षेत्रमा यहुदी बसाइँसराईलाई सहयोग गर्न थालेको थियो ।

पहिलो विश्वयुद्धमा अटोमन साम्राज्यको पराजयपछि बेलायत र फ्रान्सले यस क्षेत्रको पुनर्सीमाङ्कन गरे । लेबनान र सिरिया फ्रान्सको उपनिवेश भयो । प्यालेस्टाइन बेलायतले लियो । तर, सन् १९१७ मा बेलायतले यो घोषणा गर्‍यो कि यहुदीहरूको इतिहास, पवित्र भूमिमाथिको दाबी र जियोनिष्ट आन्दोलनको भावनालाई सम्मान गर्दै प्यालेस्टाइनलाई विभाजित गरी एक भागमा यहुदी राज्यको स्थापना गरिनेछ । यहुदी सङ्गठनहरूले यसको स्वागत गरे तर, अरब देशले चर्को विरोध गरे ।

यसलाई वालफोर घोषणा भनिन्छ । सन् १९१७ नोभेम्बर २ मा बेलायती विदेशमन्त्री अर्थर वालफोरले यस्तो घोषणा गरेका थिए । साथै, वालफोरले बेलायती यहुदी समुदायका एक नेता लर्ड रोस्थचाइन्डलाई एक पत्र लेख्दै घोषणा लागू गरिने प्रतिबद्धता जनाएका थिए ।

तर, वालफोर घोषणा र पहिलो विश्वयुद्धको अन्त्यपछि पनि यस क्षेत्रको राजनीति सहज भएन । यहुदी र अरब जनताबीचको तनाव बढ्दै गयो । प्यालिस्टिनी ठान्थे कि हिब्रु बाइबलको प्राचीन कथालाई आधार बनाएर उनीहरूको जमिन र राज्य खोसिँदैछ । प्यालेस्टाइनलाई विभाजित गरिँदैछ । आज पनि हमासको विश्वास त्यही हो । हमास इजरायल राज्यको अन्त्य र एकीकृत प्यालेस्टाइन बनाउन चाहन्छ ।

सन् १९२१, सन् १९२९ र सन् १९३६ मा ठूला-ठूला साम्प्रदायिक झडप र हिंसा भए । ठीक यही अवधिमा जर्मनीमा हिटलरको उदय भयो । उनी यहुदीहरूलाई असाध्यै घृणा गर्थे । हिटलरले यहुदीमाथि शृङ्खलाबद्ध दमन सुरु गरे, जो आधुनिक मानव सभ्यताकै सबैभन्दा ठूलो जातीय नरसंहार बन्न पुग्यो ।

पहिलो विश्वयुद्धको दौरान अटोमन साम्राज्यको पराजयले वालफोर घोषणा भएको थियो तर, इजरायलको स्थापना भने दोस्रो विश्वयुद्धमा हिटलरको हारपछि मात्र हुन सक्यो ।

त्यसपछिका दिनमा भने यहुदीप्रतिको विश्व धारणा उल्टो हुँदै गयो । नाजीवादबाट उत्पीडित समुदायका रूपमा विश्वव्यापी सहानुभूति पाइरहेको समुदायलाई विस्तारै उत्पीडकका रूपमा हेर्न थालियो । न्याय र प्रगतिशील विश्व दृष्टिकोणको पैरवी गर्नेहरूले प्यालेस्टाइनलाई पीडित र इजरायललाई पीडक राज्यका रूपमा चित्रण गर्न थाले ।

तर, इजरायल स्थापनापछि पनि यो राज्य सञ्चोले बस्न तथा बाँच्न पाएको भने छैन । त्यस यता पनि आधा दर्जन युद्ध भएका छन् । तर,राज्य स्थापनापछिका सबै युद्ध इजरायलले जित्दै आएको छ ।

पछिल्लो युद्ध सन् २०२३ अक्टोबर ७ मा सुरु भयो । जहाँ, पहिलो आक्रमण हमासले गरेको थियो, इजरायलले हैन तर, आज युद्ध पिपासुको आरोप भने मूलतः इजरायलले खेपिरहेको छ ।

विश्वमा अहिले १ करोड ५८ लाख यहुदी जनसङ्ख्या छ । त्यसमध्ये सबैभन्दा धेरै इजरायलमा ७३ लाख छ । इजरायलको करिब ९८ लाख जनसङ्ख्यामध्ये करिब ७४ प्रतिशत यहुदी छन् । इजरायलमा अहिले पनि करिब २१ प्रतिशत अरब जनसङ्ख्या छ ।

इजरायलपछि दोस्रो धेरै अमेरिकामा करिब ६३ लाख यहुदी छन् । बाँकी करिब २२ लाख यहुदी विश्वका अरु देशमा छरिएका छन् । फ्रान्स र क्यानडामा ४-४ लाखभन्दा बढी छन् । जर्मनीमा भने अब करिब २ लाख मात्र यहुदी बाँकी छन् ।

पहिले इसाई र यहुदीबीचको धार्मिक शत्रुता बलियो थियो । आज यहुदी र इस्लाम बीचको शत्रुताले विद्यमान स्थिति सृजना भएको छ ।

जब कुनै धार्मिक वा सामुदायिक शत्रुताले बारम्बार युद्ध र मानवीय क्षति निम्त्याउँछ, सिद्धान्ततः त्यसलाई हल गर्ने ३ वटा उपाय हुन सक्दछन् ।

एक— कुनै एक समुदायले धर्म परिवर्तन गरी एउटै समुदायको हुनुपर्‍यो, जो असम्भव छ ।

दुई— कि दुवै धर्म वा जातीय समुदायको भावना अन्त्य भई एउटै मानव समुदाय बन्नुपर्‍यो, यो पनि पहिलोजतिकै असम्भव छ ।

त्यसोभए व्यावहारतः तेस्रो र एक मात्र सम्भव विकल्प छ । सहअस्तित्व स्वीकार गर्ने । त्यो भनेको दुई राज्य समाधान नै हो ।

इतिहासका २००० वर्षजस्तै आधुनिक इजरायलको अन्त्य होस्, यहुदीहरू फेरि एकपटक ‘राज्यविहीन राष्ट्र’ बनून् भन्ने हमासको चाहना न न्यायपूर्ण हो, न सम्भव छ । तर, हिजोको उत्पीडित समुदाय आज बलियो भयो भन्दैमा इजरायलले प्यालेस्टाइनी जनतामाथि अत्याचार गर्ने र युद्ध थोपर्ने अधिकार भने राख्दैन ।

हमास भन्नु नै समग्र प्यालेस्टाइन हैन । हमासको चाहना नै सबै प्यालेस्टिनीको चाहना हैन । ठीक त्यसै गरी हिज्बुल्लाह भन्नु नै समग्र लेबनान हैन । हिज्बुल्लाहको चाहना नै सबै लेबनानीको चाहना हैन । यो विवादमा इरान पस्नु आवश्यक थिएन ।

मानव सभ्यताहरूका बीच उत्पन्न हुने यस्ता ऐतिहासिक द्वन्द्व, तनाव, सङ्घर्ष र युद्धलाई कसरी बुझ्ने ? सिद्धान्ततः कसैले केही राम्रा उपाय सुझाउला पनि । तर, ती व्यवहारमा आएनन् भने कुनै अर्थ हुँदैन ।

करिब ३००० वर्षदेखि यहुदी र प्यालेस्टिनीको इतिहास, भूमि र नियति साझा छ भने उनीहरूको भविष्य पनि साझा नै हुन्छ । उन्नतिको सम्भावना पनि साझा हुन सक्दछ ।

यहुदीहरूलाई घृणा र इजरायललाई आलोचना गरेर मात्र सायद यो समस्याको समाधान हुँदैन । यहुदीहरूको दुर्भाग्यलाई पनि विश्वले बुझ्न आवश्यक छ ।

हिजो उनीहरूले राज्यविहीनता र नरसंहारको मार भोगे । आज युद्ध र अपजस भोगिरहेका छन् । हमास र हिज्जबुल्लाहजस्ता अतिवादी सङ्गठन नहुने हो भने सायद मध्यपूर्वमा दीगो शान्ति सम्भव हुन्छ । यहुदी र अरब, इजरायली र प्यालेस्टिनीले ‘दुई राज्य समाधान’ स्वीकार गरेर दीगो शान्ति, सहअस्तित्व र साझा भविष्यको खोजी गर्न सक्दछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register