‘मनको लड्डु घ्यूसँग खाँदै’ रवीन्द्र मिश्र !

उनी आफैँ राजा फर्किसकेको परिकल्पना गर्छन्, राजा नारायणहिटीमा विराजमान भएको सपना देख्छन्, राजकीय शासनसत्ता राजाको अधीनमा रहेको कल्पना गर्छन् र आफैँ रमाउँछन् मनमनै ।

Oct 13, 2024 - 06:25
 0
‘मनको लड्डु घ्यूसँग खाँदै’ रवीन्द्र मिश्र !

काठमाडौं । मैले भनेँ- सरकार, यही वर्ष नारायणहिटीमा टीका लगाउन पाइएला भनेको एक वर्ष ढिलो हुने देखियो । अर्को वर्ष त पक्का हुन्छ भन्नेमा विश्वस्त छु !

अनि नभनिकनै मनमनै सोचेँ- राजालाई एक्ल्याएर सबै प्रचण्डमार्गी एकै ठाउँमा उभिँदा त संविधान लेख्न ८ वर्ष लाग्यो । राजा नारायणहिटी फर्किन अलि बढी समय लाग्नु के अचम्म भयो र !

घरमा लगाइयो, धर्म, संस्कृति, परम्पराको टीका ।
निर्मल निवासमा लगाइयो, देशभक्तिको टीका ।

यो साझा पार्टी हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा हाम फालेका रवीन्द्र मिश्रले विजयादशमीको दिन फेसबूकमा राखेको स्टाटस हो ।

स्टाटस राख्नुभन्दा पहिले उनले पूर्वराजा ज्ञानेन्द्रको बाहुलीबाट विजयादशमीको टीका लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्रलाई ढोगिरहेको एक तस्वीरसहित उनले यो स्टाटस राखेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले केही दिन पहिले दक्षिण एसियाली देश भूटानको भ्रमण गरेका थिए । उक्त भ्रमणलाई ‘प्राविधिक कारणले मात्रै राजकीय नभनिएको…’ भनेका रवीन्द्रले चित्त बुझाउँदै भनेका छन्, “… सबै प्रचण्डमार्गी एकै ठाउँमा उभिँदा त संविधान लेख्न ८ वर्ष लाग्यो । राजा नारायणहिटी फर्किन अलि बढी समय लाग्नु के अचम्म भयो र !”

तर, रवीन्द्रलाई लाग्छ कि राजा त आइहाल्छन् ! त्यसैले उनले भनेका छन्- अर्को वर्ष त पक्का हुन्छ भन्नेमा विश्वस्त छु ।

जे होस्, रवीन्द्र स्वैरक्लपित हुने र त्यसैमा रमाउने पात्र हुन्, तुलनात्मक रूपमा उनको यो रमाइ अहिले चुलिँदो छ । यस्तो अवस्था र पात्रलाई समेट्ने हाम्रो नेपाली समाजमा एउटा गजबको उखान छ- मनको लड्डु घ्यूसँग खानू !

अर्थात् रवीन्द्र हिजोआज मज्जैले मनको लड्डु घ्यूसँग खाइरहन्छन् । उनी आफैँ राजा फर्किसकेको परिकल्पना गर्छन्, राजा नारायणहिटीमा विराजमान भएको सपना देख्छन्, राजकीय शासनसत्ता राजाको अधीनमा रहेको कल्पना गर्छन् र आफैँ रमाउँछन् मनमनै ।

त्यसो त मूल प्रश्न हो- के राजा फर्किन्छन् त ? त्यो सम्भव छ ?

सत्य के भने विद्यमान शासन व्यवस्था र राजनीतिक प्रणालीलाई जितेर राजतन्त्र हाबी हुने सम्भावना देखिँदैन । विचार गर्नैपर्ने एउटा कटुसत्य के भने कुनै पनि शासन व्यवस्था वा राजनीतिक प्रणाली उल्टिनका लागि स्वयम् शासन व्यवस्थाभन्दा शक्तिशाली विद्रोह हुनुपर्छ ।

अर्थात् अहिले राजतन्त्र फर्किनका लागि विद्यमान शासन व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा शक्तिशाली विद्रोह हुन आवश्यक छ ।

कि त विद्यमान राज्य/शासन सञ्चालकले स्वत: राजतन्त्रका लागि सम्झौता गर्नुपर्‍यो । त्यो सम्भावना त झन् देखिँदै देखिँदैन । अहिले शक्तिमा रहेका दलका नेता कमसेकम यसमा एकमत देखिन्छन् । यसपछि यो ‘च्याप्टर क्लोज’ भइहाल्यो ।

त्यसोभए के विद्यमान राज्य/शासन व्यवस्थाभन्दा शक्तिशाली विद्रोह हुन सक्छ ? रवीन्द्र वा रवीन्द्रजस्तै अरु पात्रले त्यो गर्न सक्छन् ?

त्यो सम्भावना देखिँदैन । किन ? कारण सोझो छ- त्यो जमनत छैन राजावादीसँग । अहिलेसम्म नेपालमा राजावादीको भोट बढीमा ५/६ प्रतिशतको मात्रै ‘स्पेस’ हो । यसको परपुष्ट्याइँ हरेक चुनावले गरेका छन् ।

यसबाट के पुष्टि हुन्छ भने रवीन्द्रले भनेजस्तो एक, दुई वर्ष वा एक, दुई दशकभित्र राजतन्त्र फर्किने सम्भावना छैन ।

उसो त पछिल्लो संसदीय निर्वाचनमा राप्रपाको मतभार बढेको सत्य हो । अहिले राप्रपासँग प्रतिनिधि सभामा १५ सिट छ । यसअघि जम्माजम्मी एक सिट (राजेन्द्र लिङ्देन) थियो ।

तर, अहिले १४ सिट बढ्यो । यसकारण पनि रवीन्द्रहरू हौसिएका हुनसक्छन् तर, माथि भनिएझैँ विद्यमान शासन व्यवस्थाभन्दा शक्तिशाली विद्रोह हुने सम्भावना देखिँदैन कमसेकम अहिलेको अवस्थामा ।

अर्को कुरा, राजावादीहरूले औँल्याएझैँ अहिलेको मूल समस्या सङ्घीय लोकतान्त्रिक गणतन्त्र समस्या होइन बरु समस्या त भ्रष्टाचार, कुशासन, गरिबी, बेरोजगारी, अल्पविकास, सामाजिक विभेद, शक्तिको केन्द्रिकरणलगायत हुन् ।

त्यसैले यी हरेक समस्यालाई अहिलेको शासन व्यवस्थासँग जोडेर राजा फर्किहाल्नुपर्छ वा आइहाल्छन् भन्नु बचकनाबाहेक अरु होइन । यस्ता हर्कतहरू कमसेकम अहिलेको व्यवस्थामा अशोभनीय हुन् ।

तर, वर्तमान संविधानले यस्ता हर्कतहरूलाई पनि निषेध गर्दैन । यसकारण उनीहरू हौसिन पाएका छन्, बोल्न पाएका छन् र राष्ट्राध्यक्षलाईसमेत गाली गर्न पाएका छन् । अलिक अगाडि रवीन्द्र भन्थे- राष्ट्रपतिबाट टीका लगाउनु अपराध हो ।

अहिलेको व्यवस्थाको ‘ब्यूटी’ यही हो कि यहीँ बसेर त्यसका विरुद्ध गाली बर्साउन पाइन्छ । तर, कतिपय भने यही ब्यूटीभित्र अनेकन् हर्कत गर्छन्, उनीहरूका लागि यो लज्जाको विषय हुनुपर्ने हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register