सङ्घर्ष समितिले आन्दोलन रोकेपछि मेलम्चीको पानी आजदेखि पुन काठमाडौंमा

काठमाडौं । मेलम्चीको पानी आजदेखि पुनर्वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबिच वार्ता सफल भएपछि आज मेलम्चीबाट पानी काठमाडौँ ल्याइएको हो । खानेपानीमन्त्री यादव र मेलम्चीसङ्घर्ष समितिबिच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको मेलम्ची खानेपानी विकास समितिका […]

Oct 8, 2024 - 11:53
 0
सङ्घर्ष समितिले आन्दोलन रोकेपछि मेलम्चीको पानी आजदेखि पुन काठमाडौंमा

काठमाडौं । मेलम्चीको पानी आजदेखि पुनर्वितरण सुरु गरिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबिच वार्ता सफल भएपछि आज मेलम्चीबाट पानी काठमाडौँ ल्याइएको हो ।

खानेपानीमन्त्री यादव र मेलम्चीसङ्घर्ष समितिबिच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो ।

उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले बताए  ।

दशैं अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।

वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो ।

सुरुङभित्र पानी पठाएपछि पानी काठमाडौँ आइपुगेर वितरण प्रणालीमा जोडिएको कार्यकारी निर्देशक लामिछानेले बताए ।

बिसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन ।

२०७८ असार १ गते तथा साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति भएको थियो । त्यसपछि काठमाडौँमा हिउँदयाममा पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको थियो ।

काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।

दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७\१७ करोड लिटर पानी ल्याइनेछ । तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौँ ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन ।

मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमिमध्ये करिब ७ सय किमि पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register