डा. स्वर्णिम वाग्लेको ‘बिल्ला’ !

अर्कोचाहिँ स्वर्णिमले राष्ट्रिय गानमा गोपाल योञ्जनले सङ्गीत भरेको भनेका छन् । जबकि, गोपाल योञ्जनको निधन २०५४ सालमै भइसकेको हो । अहिलेको राष्ट्रिय गान भने २०६४ साउन १८ गतेबाट लागू भएको हो । त्यसभन्दा अगाडि 'श्रीमान् गम्भीर...' राष्ट्रिय गानका रूपमा थियो ।

Oct 9, 2024 - 11:33
 0
डा. स्वर्णिम वाग्लेको ‘बिल्ला’ !

काठमाडौं । अर्थशास्त्रसँग जोडेर हेर्दा डा. स्वर्णिम वाग्ले गह्रुङ्गो नाम हो । विश्व बैंकजस्तो अन्तर्राष्ट्रिय संस्थामा समेत काम गरिसकेका स्वर्णिमले यससम्बन्धी राम्रै विश्लेषण गर्ने क्षमता राख्दछन् ।

र, नेपालले त्यो उनको क्षमतालाई राम्रै भाउ दिएकै पनि हो । त्यसैले उनी राष्ट्रिय योजना आयोका उपाध्यक्षसमेत बने ।

तर, जब उनले आफ्नो ‘बिट’ छाडेर समाज र साहित्यबारे बोले, उनी ‘बिल्ला’को शिकार बने । मुलुको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसदसमेत रहेका स्वर्णिमले केही दिनपहिले पूर्वशिक्षामन्त्रीसमेत रहेकी रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठसँगको कुराकानीमा मूलत: दुईवटा विषयमा अनभिज्ञता छताछुल्ल पारे ।

पहिलो— व्याकुल माइला (प्रदीपकुमार राई) राष्ट्रकवि हुन्, जसले राष्ट्रिय गान लेखे । र, दोस्रो— राष्ट्रिय गानका सङ्गीतकार गोपाल योञ्जन हुन् ।

संवादका क्रममा उनले भनेका छन्, “व्याकुल हो कि के कविजी, राष्ट्रकवि, आयाम भेरी क्यूरियस । ओहो ! जनजाति पृष्ठभूमिको कविले नेपालको राष्ट्रिय गीत गाएर, आई थिङ्क योपाल योञ्जनले म्युजिक भर्नुभएको भन्ने न्यूज पढेपछि गूगल गरेरचाहिँ सोधखोज गरेँ, सयौं थुङ्गा फूलका हामी…।”

स्वर्णिमले २५ सेकेन्डमा यो अभिव्यक्ति दिइसक्छन् । यो भिडिओ अहिले सामाजिक सञ्जालहरूमा भाइरल बनाइएको छ । त्यसका कमेन्टहरू पढिसक्नु छैन, धेरैले स्वर्णिमलाई बिल्ला गरेका छन्, समान्य विषयवस्तुमा सामान्य ज्ञानसमेत नराख्ने भनेर आलोचना गरिरहेका छन् ।

स्वर्णिमले राष्ट्रिय गानका लेखक व्याकुल माइला अर्थात् प्रदीपकुमार राई भनेर सही भनेका छन् । तर, उनले व्याकुल माइलालाई राष्ट्रकवि भनेका छन् ।

जबकि, हामी राष्ट्रकवि भनेर माधवप्रसाद घिमिरेलाई भन्छौँ । अझ उनले राष्ट्रिय गान र राष्ट्रिय गीतलाई एउटै डालोमा हालेर हेरेका छन् । तर, राष्ट्रिय गान र राष्ट्रिय गीत निकै फरक विधा हुन् ।

अर्कोचाहिँ स्वर्णिमले राष्ट्रिय गानमा गोपाल योञ्जनले सङ्गीत भरेको भनेका छन् । जबकि, गोपाल योञ्जनको निधन २०५४ सालमै भइसकेको हो । अहिलेको राष्ट्रिय गान भने २०६४ साउन १८ गतेबाट लागू भएको हो । त्यसभन्दा अगाडि ‘श्रीमान् गम्भीर…’ राष्ट्रिय गानका रूपमा थियो ।

१४ महिनाको रिक्ततापछि २०६४ सालमा ‘श्रीमान् गम्भीर..’को ठाउँमा ‘सयौं थुङ्गा फूलका हामी…’ आएको हो । तर, स्वर्णिमले ८ वर्ष अगाडि नै बितिसकेका गोपाल योञ्जनले नयाँ राष्ट्रिय गानमा सङ्गीत भरेको भनेका छन् ।

यी दुईवटा सन्दर्भलाई लिएर अहिले सामाजिक सञ्जालमा स्वर्णिमलाई उडाइएको छ । स्वर्णिमको अभिव्यक्तिको भिडिओमा एक प्रयोगकर्ता भन्छन्, “यिनीहरूले परीक्षा दिएर पास हुनुपरेको भए खरिदार पनि नहुने रहेछन् ।”

अरु प्रयोगकर्ताहरूले पनि ‘यस्तोलाई विज्ञ मानिदिनुपर्ने ? नेता मानिदिनुपर्ने ?’ भनेर प्रश्न गरेका छन् । धेरैले रास्वपाको ट्यागलाइन ‘जान्नेलाई छान्ने’ जोडेर स्वर्णिमलाई उडाएका छन् ।

त्यसो त स्वर्णिमको शैक्षिक पृष्ठभूमि फिचलोचाहिँ छैन । शैक्षिक जीवनको सुरुवात बूढानीलकण्ठ स्कूलबाट गरेका उनले लन्डन स्कूल अफ इकोनोमिक्सबाट स्नातक र हार्डवर्ड युनिभर्सिटीबाट स्नातकोत्तर गरे भने अस्ट्रेलियन नेशनल युनिभर्सिटीबा पीएचडी ।

स्वर्णिमको यो पृष्ठभूमिसँग दाँजेर धेरैले उनको आलोचना र बिल्ला गरेका छन् । उसो त स्वर्णिमलाई धेरैले ‘अर्थशास्त्रमा अब्बल तर, राजनीतिक तथा सामाजिक क्षेत्रमा सिकारु’ भनेर भन्दछन् । पछिल्लो घटनाले यसलाई थप पुष्टि गरेको छ । अर्थशास्त्रका क्षेत्रमा सामान्य मान्छेले नबुझ्ने शब्द, वाक्यांस र तथ्याङ्कहरू भन्ने उनी समाज र साहित्यबारे थोरै बोल्नेबित्तिकै चिप्लिएका छन् ।

  • सम्बन्धित सामग्री

प्रश्नको घेरामा डा. स्वर्णिम वाग्ले

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register