विपत्तिको घाउमा भारतको राहत ‘मल्हम’

नेपाल-भारतबीचको भाइचारा चाहे प्राकृतिक प्रकोपका बेलामा होस्, चाहे आर्थिक साझेदारी र विकासका मामिलामा नै किन नहोस्, सदा घनिष्ट, मधुर र सौहार्द रहँदै आएको छ ।

Oct 11, 2024 - 09:13
 0
विपत्तिको घाउमा भारतको राहत ‘मल्हम’

काठमाडौं । असोजको दोश्रो साता आकस्मिक रूपमा परेको आरीघोप्टे वर्षाका कारण नेपाललाई अकल्पनीय रूपमा बाढी, पहिरो तथा डुबानको प्रकोपले गाँज्यो । नेपालमा भएको व्यापक जनधनको क्षतिले छिमेकी भारत र भारतीय जनताको मन पनि पिरोलियो । कसरी हुन्छ, नेपाललाई लागेको घाउमा मल्हम दल्न भारत सरकार आतुर देखियो ।

नेपाल र भारतबीचको यही भावनात्मक र संवेदनात्मक सम्बन्धकै आलोकमा असोज १७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीलाई ढाडसले भरिएको पत्र पठाए । पत्रमा मोदीले भनेका थिए, “नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैँ साथ रहनेछ ।”

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका शब्दमा ओलीलाई पठाइएको सहानुभूति पत्रमा नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग रहने कुरा उल्लेख थियो । नभन्दै, मोदीको पत्र आएको केही दिनमै भारतले चरणबद्ध रूपमा राहत सहयोग पठाउन थाल्यो ।

बाढीले नेपालका धेरै राजमार्गमा पुल भत्काएको र यातायात अवरुद्ध भइरहेको वस्तुस्थितिबाट अवगत भारतले असोज २३ गते दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका पार्टपुर्जाको पहिलो खेप पठायो । ३८ करोडभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको हो ।

वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत श्री देवीसहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई यी सामान हस्तान्तरण गरेकी थिइन् ।

भारतले नेपालका बाढी, पहिरो तथा डुबान पीडितका लागि दोस्रो खेपको राहत सामग्री पनि हस्तान्तरण गरिसकेको छ । भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेका हुन् ।

नेपालस्थित भारतीय राजदूतावासले नेपालका बाढी, पहिरो तथा डुबान पीडितलाई आपत्‌कालीन राहत सामग्री हस्तान्तरण गरिसकेको छ ।

टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको मानवीय सहायताको खेप भारतबाट नेपालगञ्ज ल्याइएको थियो ।

बाढी, पहिरो र डुबानबाट प्रभावित परिवारका लागि तत्काल सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट र ब्याग, झुल, गम बुट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, कम्बल, क्लोरिन ट्याब्लेट लगायत २५ टनभन्दा बढी राहत सामग्री उपलब्ध गराइसकेको छ ।

सङ्कटको बेला भारत सदैव पहिलो ‘रेस्पोन्डर’ हो । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न सबैभन्दा पहिले तत्परता देखाएको भारतले बाह्य मुलुकमा ‘अपरेसन मैत्री’ नामक सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गर्दै आएको छ ।

भारतले गत वर्ष जाजरकोटका भूकम्प पीडितलाई पनि राहत सामग्री उपलब्ध गराएको थियो । भारतले भूकम्प प्रभावितलाई प्लाष्टिक तार्पोलिन/त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग एक हजार थान, ब्ल्याङ्केट एक हजार थान, टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य सामग्री (४८ प्रकार) का सहयोग गरेको थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमै सामान लगेर तत्कालीन उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।

भारत सरकारले मात्र हैन, नेपालमा रहेका भारतीय संस्थाहरूले समेत प्राकृतिक विपत्तिका बेला नेपाललाई सहयोग गरेका छन् । यसै मेसोमा नेपाल-भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नं. ६ र १० स्थित टीकाभैरवका बाढी पहिरो पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ ।

परिषद्का अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा १०० घरपरिवारलाई अत्यावश्यक खाद्यान्न, जस्तापाता, ओढ्ने/ओछ्याउनेलगायतका सामग्री प्रदान गरिएको छ ।

नेपाल-भारत मिल्लत परिषद्ले विगतमा महाभूकम्प, कोरोना महामारी, बाढी पहिरो, आगलागीलगायतका विपद्का समयमा गरिब र पीडित समुदायलाई सहयोग गर्दै आएको छ ।

यसैगरी नेपालमा सञ्चालित भारत सरकारको कम्पनी ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी तथा पहिरोबाट प्रभावितलाई राहतस्वरूप १५ लाख सहयोग गरिसकेको छ ।

एलआईसी नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रूपैयाँ सहयोग गरेर घाउमा राहतको मल्हम दलेको छ ।

सङ्कटको भरपर्दो साथी

छिमेकी मुलुक भारत नेपालका लागि सङ्कट पर्दाको भरपर्दो साथी हो । २०७२ को महाभूकम्पका बेला भारतले नै सबैभन्दा पहिला उद्धार र राहतमा तदारुकता देखाएको थियो ।

नेपालमा पुनःनिर्माण अभियानमा भारतको सहयोग अतुलनीय रहेकै बेला हालैको बाढीमा भारत सरकारको सहानुभूति र सहयोगले दुवै देशबीचको मैत्रीलाई अझ सघन बनाएको छ ।

भारतले नेपालको शैक्षिक पूर्वाधार, अस्पताल, राजमार्ग र अन्य सडक, विमानस्थल, रेलवे, ऊर्जाको विकास र विद्युत् प्रशारणमा दूरगामी सहयोग गर्दै आएको छ र यो द्विपक्षीय सहयोगका सकारात्मक परिणाम पनि देखिएका छन् ।

पूर्वपश्चिम राजमार्ग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन राजपथ, हुलाकी सडक, कोशी ब्यारेज, कर्णाली पुल, जनकपुर-जयनगर रेल, एकीकृत भन्सार चौकी, नेपाल-भारत पेट्रोलियम पाइपलाइन, नेपाल भारत विद्युत् प्रसारण लाइन, अरुण तेस्रो परियोजना, राष्ट्रिय ट्रमा सेन्टरको निर्माणमा भारतको सहयोग स्मरणीय छ ।

यसैगरी खानेपानी, विद्यालय तथा अस्पताल भवन र लघु ऊर्जा परियोजना आदि सामुदायिक विकास परियोजनामा पनि भारतले हालसम्म पाँचसय बढी पूर्वाधार निर्माणमा सघाइसकेको छ ।

नेपाल-भारतबीचको भाइचारा चाहे प्राकृतिक प्रकोपका बेलामा होस्, चाहे आर्थिक साझेदारी र विकासका मामिलामा नै किन नहोस्, सदा घनिष्ट, मधुर र सौहार्द रहँदै आएको छ । यही भाइचारा र अन्योन्याश्रित निकटताकै कारण नेपाल र भारतको सम्बन्ध विशेष रहँदै आएको हो ।

हालै मात्र नेपालमा उत्पादित विद्युत् बंगलादेशसम्म निर्यात गर्न नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौता पनि भारतीय सदाशयताकै अर्को आयाम हो, जसले नेपालको जलश्रोत विकासमा सम्भावनाको नयाँ ढोका खोलेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register