बाबा सिद्दिकी : राजनीति र बलिउडमा बलियो प्रभाव भएका नेता

काठमाडौं । भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ । शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउन्ड गोली प्रहार गरिएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ । उक्त घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले […]

Oct 13, 2024 - 07:33
 0
बाबा सिद्दिकी : राजनीति र बलिउडमा बलियो प्रभाव भएका नेता

काठमाडौं । भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउन्ड गोली प्रहार गरिएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।

उक्त घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलनमार्फत् बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरे ।

मुख्यमन्त्री शिन्देले यो घटनामा दुई जनालाई पक्राउ गरिएको र एक फरार रहेको बताए । पक्राउ पर्नेमा एकजना हरियाणा र एक उत्तर प्रदेशका हुन् ।

झन्डै ४८ वर्षदेखि भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध बाबा सिद्दिकी यसै साल फेब्रुअरीमा एनसीपी (अजीत पवार गुट)मा सामेल भएका थिए ।

राजनीति र बलिउड दुवैमा प्रभाव

राजनीतिमा बाबा सिद्दिकीले जति प्रभाव थियो, बलिउडमा पनि उत्तिकै रहेको बताइन्छ ।

उनी १६–१७ वर्षको उमेरदेखि नै कांग्रेससँग निकट रहेका थिए । सन् १९९२ र १९९७ मा उनी कांग्रेसको टिकटमा ‘मुम्बई सिविक बडी’का निम्ति निर्वाचित भए ।

बाबा सिद्दीकी १९९९ मा बान्द्रा (पश्चिम)बाट विधायक निर्वाचित भएका थिए । २००४ र २००९ मा पनि उनले कांग्रेसको टिकटमा सोही सिटबाट चुनाव जितेका थिए । सिद्दीकी २००४ देखि २००८ सम्म महाराष्ट्रको विलासराव देशमुख सरकारमा खाद्य आपूर्तिमन्त्री बनेका थिए ।

उनी सन् २०१४ देखि मुम्बई कांग्रेस कमिटीका उपाध्यक्ष थिए । सिद्दीकी सन् २०००–२००४ सम्म महाराष्ट्र हाउजिङ एन्ड एरिया डेभलपमेन्ट अथोरिटीका अध्यक्ष पनि थिए ।

२०१७ मा ईडीले मनी लाउन्ड्रिङ मुद्दामा बान्द्रामा बाबा सिद्दिकीसँग जोडिएको परिसरमा छापा मारेको थियो । त्यसपछि उनी राजनीतिक रूपमा धेरै सक्रिय भएनन् । उनका छोरा जीशान मात्र बढी सक्रिय थिए ।

२०१४ मा सिद्दीकी बान्द्रा पूर्वबाट भाजपासँग हारेका थिए । तर, २०१९ मा उनका छोरा जीशान सिद्दीकी विजयी भएका थिए ।

बाबा सिद्दिकीको इफ्तार पार्टी

बाबा सिद्दिकी बलिउडसँगको निकटताका कारण पनि प्रायः चर्चामा रहन्थे । उनी बान्द्रा पश्चिमबाट १५ वर्षसम्म विधायक रहे । उक्त क्षेत्रमा धेरै बलिउड सेलिब्रिटीहरू बस्छन् ।

हरेक वर्ष रमजानको महिनामा उनको इफ्तार पार्टी चर्चामा रहन्थ्यो । उनको इफ्तार पार्टीमा राजनीतिज्ञबाहेक शाहरुख खान, आमिर खान, सलमान खानदेखि सञ्जय दत्तसम्मका बलिउड सेलिब्रिटी पनि उपस्थित हुने गरेका थिए ।

शाहरुख खान र सलमान खानका बीच वर्षौँसम्म चलेको मनमुटावलाई अन्त्य गर्न बाबा सिद्दिकीले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

उनी कांग्रेसका वरिष्ठ नेता तथा चर्चित अभिनेता सुनील दत्तको पनि निकट थिए । सञ्जय दत्त र प्रिया दत्तसँग पनि सिद्दीकी परिवारको भरपर्दो सम्बन्ध छ ।

सलमान खान र बाबा सिद्दिकीको मित्रता

सलमान र बाबाको मित्रता निकै पुरानो हो । र, सामाजिक सरोकारका कैयौँ मुद्दामा दुवैजना एकसाथ आउनुको यही कारण हो ।

सन् २०२० र २०२१ मा कोरोना लकडाउनका बेला पनि बाबाका छोरा जीशान सिद्दीकीसँग सलमानको टोलीले खाँचोमा परेका व्यक्तिहरूलाई सहयोग गर्ने व्यवस्था गरेको थियो।

त्यति मात्र होइन, त्यस समयमा उनीहरूले मिलेर अक्सिजनसँग संघर्ष गरिरहेका मानिसहरूलाई सहयोग गरेका थिए ।

खराब समयमा पनि बाबाले सलमानलाई साथ दिए । हिट एन्ड रन केस र कालो हरिण प्रकरणमा सलमान समस्यामा पर्दा बाबा सिद्दिकी उनको साथमा थिए ।

जब पनि सलमान खानको मुद्दाको सुनुवाइ हुन्थ्यो, बाबा सिद्दीकी या त अदालतको कोठामा उनको नजिक हुन्थ्यो वा परिवारसँग उभिन्थे।

हालै लरेन्स बिश्नोई गिरोहले सलमान खानलाई ज्यान मार्ने धम्की दिएपछि बाबाले खेद प्रकट गरेका थिए । उनले सलमानलाई मार्ने धम्की दिनेहरुलाई पक्राउ गर्न माग गरेका थिए ।

सलमान र शाहरुखको मिलापत्र

सन् २०१३ मा भएको इफ्तार पार्टीमा बाबा सिद्दिकीले सलमान र शाहरुख दुवैलाई निम्तो दिएका थिए ।

आज सलमान र शाहरुखलाई सँगै देख्दा कुनै अचम्मको कुरा छैन तर, एक समय थियो जब दुवैले एकअर्कालाई भेट्न पनि मन पराउँदैनथे ।

करिब पाँच वर्षदेखि उनीहरु एकअर्कासँग बोलेनन् र सँगै काम पनि गरेनन् ।

तर, सलमान र शाहरुखबीचको पाँच वर्ष पुरानो दुश्मनीलाई बाबा सिद्दिकीले सन् २०१३ को इफ्तार पार्टीमा दुवैलाई अँगालो हालेर अन्त्य गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register