दोलखा सहरमा खड्गे जात्रा प्रर्दशन (तस्वीरसहित)

दोलखा । दोलखा सहरमा मनाईने परम्परागत खड्गेजात्रा आईतवार सकिएको छ । ऐतिहासीक दोलखा सहरमा पौराणिक कथामा आधारीत यो जात्रा प्रत्येक वर्ष विजया दशमी (टिका) को भोलिपल्ट दिनभर विबिभिन्न टोलमा प्रर्दशन गरिने प्रचलन रहेको छ । खड्ग जात्रा प्रर्दशनको क्रममा सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न […]

Oct 13, 2024 - 14:44
 0
दोलखा सहरमा खड्गे जात्रा प्रर्दशन (तस्वीरसहित)

दोलखा ।

दोलखा सहरमा मनाईने परम्परागत खड्गेजात्रा आईतवार सकिएको छ । ऐतिहासीक दोलखा सहरमा पौराणिक कथामा आधारीत यो जात्रा प्रत्येक वर्ष विजया दशमी (टिका) को भोलिपल्ट दिनभर विबिभिन्न टोलमा प्रर्दशन गरिने प्रचलन रहेको छ ।

खड्ग जात्रा प्रर्दशनको क्रममा सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्ने गरिन्छ । मल्ल कालीन समयदेखि चल्दै आएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दशैँ टीकाको भोलिपल्ट दिनभरि मनाइने परम्परा रहेको स्थानीय प्रविण प्रधानले बताए ।


किंवदन्ति अनुसार दानवहरुले देवदेवी तथा मनुष्यहरुलाई विभिन्न प्रकारले दुःख दिन लागेपछि देवदेवीहरुले युद्ध गरी महिषासुर दानवको बध गरी दुःखबाट पार पाउने निष्कर्ष निकालेर युद्धको साइत जुराई भाद्र पूर्णिमादेखि युद्ध सुरु गरेका थिए ।

युद्ध सुरु हुनुअघि पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि देवदेवीहरु जनै पूर्णिमाको अघिल्लो दिन कालिञ्चोक भगवती भएको ठाँउमा जाने र जनै पूर्णिमाको दिन त्यहीँबाट निसाना लिएर आई दोलखा सहरको राइती भन्ने तीन धारा अगाडि यज्ञको सुरुवात गरी युद्ध गर्ने परम्परा रहेको स्थानीय जेष्ठ नागरिक यज्ञकुमार प्रधानले बताए । जेष्ठ नागरिक प्रधान लामोसमय खड्गजात्रामा याकरगण बनेका थिए ।


देवदेवीले राइतीमा यज्ञ गरेको खवर पाएपछि दानवहरु यज्ञ ध्वस्त गर्न त्यस ठाँउमा आए र यज्ञमा वितण्डा मच्चाउन थाले । दानवहरुको यस्तो कार्यले देवदेवीहरु क्रुद्ध भए र दानव तथा देवदेवीको बीचमा भीषण युद्ध भयो । युद्धमा दानवहरु पराजित भए र विजया दशमीको दिनमा देवदेवीले महिषासुरको शिर छेदन गरी विजय हासिल गरे । यसरी देवदेवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झनाको लागि दोलखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीयको भनाई छ ।

खड्ग जात्रा मनाउन दोलखाको राजकुलेश्वरदेखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीहरुद्वारा चामलको भातबाट चक्रेश्वर वलि राजाको मूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरुद्वारा राँगाको बलि दिने प्रचलन समेत स्थानीय ज्ञानेन्द्र प्रधान बताउछन् ।


भीमेश्वरमा बलि दिने चारवटा राँगा मध्य एउटा राँगाको मासु ताछी घाँटी नछिनाई भीमेश्वरको मन्दिर भन्दा केही तल रहेको त्रिपुरा सुन्दरी मन्दिरमा लाने प्रचलन समेत रहेको छ । त्यसरी लानुको अर्थ ‘महिसासुरलाई यातना दिइएको’ मानिन्छ ।
भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालीको मन्दिर हुँदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको संस्कृतका अध्यता स्थानीय तीर्थनारायण जोशीले बताए ।

बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुँदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाँउमा पुग्ने र भीमेश्वर स्थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिइएको राँगाको टाउको राखी राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन सहित बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ ।

खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ । दोलखा सहर छुट्टै राज्य हुदा हाय हाय राजाको पाला देखिनै प्रचलनमा रहेको खड्ग जात्रालाई मल्ल राजाको पालामा व्यवस्थित गरिएको थियो । अहिले यो जात्रामा बिभिन्न भूमिकामा रहने व्यक्तिहरु क्रमशः नयाँ पुस्तामा हस्तान्तरण हुदै गएको स्थानीय भरत श्रेष्ठले बताए ।


एकथरी किंवदन्ती अनुसार कालिञ्चोक माताले दोलखाको एक जना नेवार, सुनखानीका एक जना शिवाकोटी र बोचका एकजना वस्नेतलाई सपनामा तिमिहरु मेरो असली भक्त हौ मेरो खड्ग तिमिहरुले लगेर पुजागर्नु भनेपछि तीनैजनाले दुुई÷दुईवटा खड्ग लिएर आएको र त्यहि खड्ग दोलखाको जात्रामा प्रयोग गरिएको मानिन्छ ।

(तस्विरः जात्राको क्रममा खड्ग नाच)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register