रविलाई म्याद नै नथपिएको अवस्थामा थप पाँचदिन थुनामा राखिने !

उनलाई भोलि (बिहीबार) अदालतमा उपस्थित गराउनु पर्ने हो । तर, बिहीबारदेखि नै बिदा सुरु हुँदा लामिछानेलाई अब तिहारपछि मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

Oct 30, 2024 - 13:14
 0
रविलाई म्याद नै नथपिएको अवस्थामा थप पाँचदिन थुनामा राखिने !

काठमाडौं । कात्तिक २ गते सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेको रास्वपा सभापति रवि लामिछानेलाई तिहारपछि अदालत पेस गरिने भएको छ ।

कात्तिक २ गते पक्राउ गरेका लामिछानेलाई ८ गते थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको थियो । जसअनुसार उनलाई भोलि (बिहीबार) अदालतमा उपस्थित गराउनु पर्ने हो ।

तर, बिहीबारदेखि नै बिदा सुरु हुँदा लामिछानेलाई अब तिहारपछि मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

तिहारपछि मंगलबार मात्रै सरकारी कार्यालय खुल्ने हुँदा म्याद नै नथपिएको अवस्थामा लामिछाने थप पाँच दिन थुनामा रहने भएका छन् ।

रविलाई छिटो बाहिर ल्याउन पार्टी नेता कार्यकर्ताले हारगुहार गरिरहेका छन् ।

राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरिएको भन्दै रास्वपाका कार्यकर्ताले सडक आन्दोलनसमेत गर्दै आएका छन् ।

मंगलबार बालुवाटार नै पुगेर रास्वपाका नेता कार्यकर्ताले सभापति पक्राउको विरोधमा प्रदर्शन गरेका थिए । विरोधसँगै रास्वापका नेताहरूले औपचारिक रूपमै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेर चाँडो बाहिर निस्कने वातावरण बनाइ दिन आग्रह गरेका छन् ।

तर, प्रधानमन्त्री र गृहमन्त्रीबाट रास्वापका नेताहरूले सकारात्मक जवाफ पाएनन् । मंगलबार बेलुका ओली भेट्न बालुवाटार पुगेका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारलाई ओलीले आफूले केही गर्न नसक्ने जवाफ दिएका छन् ।

लामिछानेले पक्राउ परे लगत्तै सामाजिक सञ्जालबाट ‘सरकार मार्यो, हामीलाई जुठाे पर्‍यो’ भन्दै दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्री र गृहमन्त्री रास्वपासँग रिसाएका छन् ।

चितवनमा आफ्नो पुत्ला जनाएको र प्रदर्शनका क्रममा आफूमाथि भएको गालीगलौजको प्रसङ्ग झिक्दै ओलीले रास्वपा नेताहरूसँगको भेटमा असन्तुष्टि जनाएका थिए । आफूहरूले ३० वर्षअघि गरेको आन्दोलनको स्वरूप नयाँ दलबाट हुनु स्वाभाविक नभएको भन्दै छेडखानीसमेत गरेका थिए ।

सरकारले प्रतिशोध साधेको भन्ने रास्वपाको भनाइप्रति पनि ओलीले आपत्ति जनाउँदै आएका छन् । आफू व्यक्ति केन्द्रित छानबिनको पक्षमा सुरुदेखि नै नरहेकाले छानबिन समिति बनाउन नमानेको प्रसङ्ग झिक्दै अब प्रतिवेदन कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register