नेपाल आएर धुम मच्चाउने रितु चक्मा : जसले बुवा र भाइ गुमाएको पीडा मैदानमा पोख्छिन्

‘अहिले ममाथि धेरै जिम्मेवारी छ । म आफू र मेरी आमालाई सान्त्वना दिने प्रयास गर्छु । मैले धेरै टाढा जानुपर्छ । मलाई थाहा छ, पेशेवर फुटबलरको जीवन यस्तै हुन्छ । म फुटबल मैदानमा पीडा बिर्सने प्रयास गर्छु । जिन्दगी कसैको लागि रोकिँदैन ।'

Nov 1, 2024 - 05:15
 0
नेपाल आएर धुम मच्चाउने रितु चक्मा : जसले बुवा र भाइ गुमाएको पीडा मैदानमा पोख्छिन्

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि यसपटक पनि बंगलादेशले जित्यो । बुधबार राति त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हरायो ।

बंगलादेशलाई मनिका चक्माले सुरुवाती अग्रता दिलाइन् । उनले ५३औं मिनेटमा गोल गरेकी हुन् । तर, त्यसको दुई मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काइन् ।

८२औं मिनेटमा रितु पोर्ना चक्माले गोल गर्दै बंगलादेशको टोलीलाई च्याम्पियन बनाइन् । चक्माले नेपालकी अनिता केसीलाई बिट गर्दै प्रहार गरेको बललाई नेपालकी गोलकिपर एवम् कप्तान एन्जिला तुम्बापो सुब्बाले बाहिर पठाउने प्रयास गरे पनि असफल भइन् । बंगलादेश लगातार दोस्रोपटक च्याम्पियन ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकै कारण रितु सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । बंगलादेशलाई उपाधि दिलाउन उनको महत्त्वपूर्ण भूमिका छ ।

अब जानौँ, नेपालमा आएर उत्कृष्ट प्रदर्शन गर्ने रितुको खेल जीवनबारे :

रितु आफ्नो ड्रिब्लिङ र पासिङ सीपका लागि महिला फुटबलरमाझ चर्चित छिन्, जसले उनलाई राष्ट्रिय उमेर समूहका टोलीका साथै सिनियर टोलीमा नियमित सदस्य बन्न मद्दत गर्‍यो ।

२० वर्षीया रितुको जन्म रंगमाटी जिल्लाको काउखाली उपजिल्लामा सन् २००३ मा भएको हो । उनी सानैदेखि फुटबलमा लागिन् । सन् २०१५ मा उनका बुवा बोलज बासी चक्माको क्यान्सरका कारण निधन भयो ।

उनी घरको जेठी सन्तान त होइनन् तर, मुख्य व्यक्ति नै गुमाएपछि अन्य सदस्यमा पनि स्वाभाविक रूपले जिम्मेवारी बढ्यो ।

“मैले फुटबलबाट कमाएको पैसा मेरो परिवारलाई दिन्छु । मेरा दिदीबहिनीले पनि हाम्रो परिवारलाई अलिकति सहयोग गरिरहनुभएको छ । मैले फुटबल क्याम्पबाट हरेक महिना पाउने १० हजार रुपैयाँमध्ये म आमा र कान्छो भाइलाई ७ हजार पठाउँछु । तीन दिदीबहिनीको विवाह भइसकेको छ,” रितुले पुरानो अन्तर्वार्तामा भनेकी थिइन् ।

“मलाई लाग्छ, यो मेरो लागि ठूलो उपलब्धि हो । किनभने मैले यो उमेरमा मेरो परिवारलाई आर्थिक रूपमा मद्दत गरिरहेको छु । मेरो परिवारले ममा गर्व महसुस गर्छ,” १७ नम्बर जर्सी लगाउने मिडफिल्डर रितुले भनेकी थिइन् ।

रितुले सन् २०१२ देखि फुटबल खेल्न थालेकी थिइन् । सन् २०१३ मा बंगमाता गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दा उनको करियरले गति लियो ।

त्यसपछि उनी सन् २०१६ मा बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठानमा भर्ना भएकी थिइन्, जसमा उनलाई साफ यू-१५ महिला च्याम्पियनसिपको राष्ट्रिय क्याम्पमा बोलाइयो।

मासिक रकम प्रमाणित गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा पाएपछि रितु परिवारलाई सहयोग गर्न पनि अगाडि बढिन् । “बोनसको केही हिस्सा परिवारका गतिविधिमा खर्च हुन्छ र बाँकी मेरो भविष्यका लागि जम्मा हुन्छ,” अन्य महिला फुटबल लिग खेलेर पनि पैसा कमाइरहेकी रितुले भनेकी थिइन् ।

उनका एक शिक्षकले रितुलाई फुटबलमा ल्याएको भए पनि उनका बुबा बोलाज उनको लागि मुख्य प्रेरणा थिए ।

”बुवाको बारेमा सोच्दा मलाई साँच्चै नराम्रो लाग्छ । म अहिले राष्ट्रिय टोलीबाट खेल्दैछु भन्ने मेरो बुबाले हेर्नुभएको भए धेरै राम्रो हुन्थ्यो,” रितु भन्थिन् । रितुलाई पनि आफ्नो आइडल सबिना खातुनजस्तै विदेशी लिग खेल्ने रहर छ ।

”विदेशमा खेल्ने मेरो सपना छ र त्यो पूरा गर्नको लागि म राम्रो फुटबलर बन्नुपर्छ । म बंगलादेशको टोलीलाई पनि उच्च स्तरमा लैजान चाहन्छु,” रंगामाटीकी उत्कृष्ट खेलाडी भन्थिन् ।

भाइको मृत्युको चोट बिर्साउन फुटबललाई बनाइन् औषधि

सन् २०२२ को कुरा हो । नेपालमा साफ च्याम्पियनसिप चलिरहेको थियो । त्यस बेला पनि उनी बंगलादेश टोलीमा थिइन् ।

पाकिस्तानविरुद्ध गोल गरेलगत्तै रितुले आकाशतिर हेरेर प्रार्थना गरिरहेकी थिइन् । बंगलादेश टोलीका उत्कृष्ट मिडफिल्डरमध्येकी एक रितुले त्यो प्रार्थनाका लागि यही गोल उत्सुकतापूर्वक पर्खिरहेकी थिइन् ।

बंगलादेशको पहिलो दुई खेलमा रितु सुरुवाती-११ मा समावेश भएकी थिइनन् । माल्दिभ्सविरुद्ध वैकल्पिक खेलाडीको रूपमा उत्रँदा उनी स्कोर सिटमा परिनन् । दोस्रो खेलमा पाकिस्तानविरुद्ध गोल गर्न आतुर थिइन्, रितु ।

खेलमा पाकिस्तानविरुद्ध बंगलादेशले ५-० को अग्रता लिएको थियो र जितबाट कति पनि टाढा थिएन । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी  रितुले बंगलादेशका लागि छैटौँ र अन्तिम गोल गरिन् । त्यसपछि उनी खुसीसँगै भावुक बनिन् ।

रितुले उक्त गोल आफ्ना दिवङ्गत भाइ परवन चक्मालाई समर्पित गरिन् । सोही वर्षको जुन २९ मा परवनको विद्युतीय करेन्टबाट मृत्यु भएको थियो ।

रितुको अनुहारमा भाइ गुमाएको पीडा अझै देखिन्थो । जीवनभरि भरिपूर्ण र अनुहारमा सधैँ मुस्कान रहने उनी उक्त घटनापछि पूर्ण रूपमा स्तब्ध थिइन् ।

पाकिस्तानविरुद्ध गोल गरेपछि रितु होटल फर्कने क्रममा बसमा रोएकी थिइन् । टिम होटलमा पनि उनी आँखा चिम्लेर रोएकी थिइन् । नेपाल आर्मी हेडक्वार्टर मैदानमा प्रशिक्षण सत्रमा रितुका सहकर्मी रमाइलो मुडमा थिए भने रितु उदास देखिन्थिन् ।

उनका तीन दिदीबहिनी भारती चक्मा, पम्पी चकमा र पुतुली चकमा विवाहित हुन् । परवन चार दिदीबहिनीको एक्लो भाइ थियो र उनीहरुको आँखाको नानी थियो । परवन गुमाउँदा रितु निकै उदास बनेकी थिइन् ।

रितु परवनभन्दा दुई वर्ष जेठी हुन् । सन् २०१७ मा राष्ट्रिय उमेर स्तरीय टोलीमा बोलाइएपछि रितुले खेलेका हरेक खेल परवनले हेर्थे । त्यसैले पाकिस्तानविरुद्ध गोल गरेपछि रितुको दिमागमा परवन आए ।

“म मेरो भाइको बारेमा हरेक सेकेन्ड सोच्छु । मलाई लाग्छ कि ऊ अझै मसँग छ । गोल गरेपछि म धेरै रोएँ । मैदानमा उत्रिनुअघि म दृढ थिएँ कि मैले गोल गर्नुपर्छ, चाहे जस्तोसुकै भए पनि । मैले गोल मेरो भाइलाई समर्पित गरेँ,’ रितुले भनेकी थिइन् ।

सन् २०२१ मा ढाकामा भएको यू-१९ साफ महिला च्याम्पियनसिप बंगलादेशले जितेको थियो । उक्त प्रतियोगितामा रितुले भुटानविरुद्ध एक गोल र श्रीलंकाविरुद्ध दुई गोल गरेकी थिइन् । रितुको गोल सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

साफमा पाकिस्तानविरुद्धको खेलमा रितुले गरेको गोल पनि शानदार रह्यो । तर, यस्तो गोल गरेपछि पनि रितु दुखी भइन् । “यदि मेरो भाइले मैले गरेको गोल देख्न सक्थ्यो भने उसले मलाई खेलपछि बोलाउने थियो । र, भन्ने थियो- दिदि, तिमी भाइरल भयौ, तिमी सेलिब्रेटी हौँ , ” यू-१९ साफ च्याम्पियनसिपपछि उनले भनेकी थिइन् ।

रितुले अन्तिमपटक परवनसँग सो वर्षको २८ जुनमा कुरा गरेकी थिइन् । बंगलादेश फुटबल महासङ्घ (बीएफएफ)ले जुन २३ र २६ मा मलेसियासँगको मैत्रीपूर्ण खेलपछि राष्ट्रिय टोलीको क्याम्प रद्द गरेको थियो । रितु २९ जुनमा ढाकाबाट रंगामाटीको लागि बस चढेकी थिइन् ।

उनले त्यो दिन केही भयानक हुनेवाला महसुस गरिन्, ”उसले (भाइ) सामान्यतया मलाई फोनमा धेरै कल गर्दैन । त्यो दिन उसले मलाई बोलाएर भन्यो- बाई, तिमी कहिले फर्कने ?”

”हामी दुवैले सँगै मतदाता नाम दर्ता गराउनुपर्ने थियो । भोलिपल्ट, मैले बसको टिकट किनेँ । त्यो दिन बसमा बस्दा मलाई बेचैनी लाग्यो । अघिल्लो रात मैले एउटा दुस्वप्न देखेँ । घर जानुअघि मैले मेरो रुममेट तहुरा (खातुन) लाई मलाई केही नराम्रो भयो भने माफ गरिदिन भनेँ ।”

रितु घर जाने क्रममा भाइको दुर्घटना भयो । तर, बाटोमा जाँदा के भयो भनेर उनलाई जानकारी दिइएन । घर पुगेपछि रितुले त्यो भयानक घटनाबारे थाहा पाइन् ।

फुटबलले रितुलाई धेरै देशमा पुर्‍याएको छ । घर फर्किदाँ उनी आफ्नो भाइको लागि चकलेट ल्याउँथिन्, जुन उसलाई मन पर्थ्यो । अब रितु सोचिरहेकी छन्, “यतिबेला म कसको लागि चकलेट ल्याउने ?”

परवनको मनपर्ने फुटबलर लियोनल मेस्सी थिए, रितुको क्रिस्टियानो रोनाल्डो । दुई दिदिबहिनीमा को राम्रो हो भन्ने बहस अन्तहीन हुन्थो । ती सम्झनाले अहिले रितुलाई सताउँछ र उनको आँखामा आँसु ल्याउँछ ।

मलाई यस्तो भएको छ भने आमालाई के भइरहेको छ भन्ने सोचेर रितुलाई झनै नराम्रो लाग्छ ।

“मेरा दिदीबहिनीको विवाह भइसकेको छ । फुटबलका कारण घरबाट टाढा बस्छु । अब, घर छोडेर जाँदा म आफैँलाई नियन्त्रण गर्न सक्दिनँ ।  म मेरी आमाको अगाडि रुन नदिने कोसिस गर्छु तर, म आफ्नो आँसुलाई भित्रै राख्न सक्दिनँ । मेरी आमा अहिले धेरै एक्लो छिन् ।”

फुटबल मैदानमा भाइ गुमाएको दुःख बिर्सन चाहन्छिन् रितु । “अहिले ममाथि धेरै जिम्मेवारी छ । म आफू र मेरी आमालाई सान्त्वना दिने प्रयास गर्छु । मैले धेरै टाढा जानुपर्छ। मलाई थाहा छ, पेशेवर फुटबलरको जीवन यस्तै हुन्छ । म फुटबल मैदानमा पीडा बिर्सने प्रयास गर्छु । जिन्दगी कसैको लागि रोकिँदैन ।”

अहिले उक्त घटनाको दुई वर्षभन्दा बढी भइसकेको छ । उनी त्यो बेलाको भन्दा निकै आफ्नो मानसिक रूपले बलियो भएको देखिन्छ । जुन बुधबार राति मात्र सम्पन्न भएको साफ च्याम्पियनसिपमा समेत प्रष्ट देखियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register