Exclusive : नेरुडे मिर्मिरे लघुवित्तभित्र दिनदहाडै ‘कुर्सीले हानेर कर्मचारी मार्ने प्रयास’, भाग्यले बाँचे निमिष, अभियुक्तहरु फरार !

 काठमाडौँ । साबिकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भई बनेको नेरुडे मिर्मिरे लघुवित्तमा पोष्ट मर्जरले ल्याएको विमतिपछि सिर्जित गतिविधिले मान्छे मार्ने नियत बोकेर कर्मचारी कुटपिट गरिएको पाइएको छ । आन्दोलन सफल बनाउने नाममा साबिकको अर्को संस्थाबाट आएका कर्मचारीहरूलाई ढोका थुनेर मरणासन्न हुनेगरि कुटपिटको घटनामा स्वयम् संस्थाका हाकिमकोसमेत मिलेमतो भएको दाबीसहित […]

Nov 1, 2024 - 12:39
 0
Exclusive : नेरुडे मिर्मिरे लघुवित्तभित्र दिनदहाडै ‘कुर्सीले हानेर कर्मचारी मार्ने प्रयास’, भाग्यले बाँचे निमिष, अभियुक्तहरु फरार !

 काठमाडौँ । साबिकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भई बनेको नेरुडे मिर्मिरे लघुवित्तमा पोष्ट मर्जरले ल्याएको विमतिपछि सिर्जित गतिविधिले मान्छे मार्ने नियत बोकेर कर्मचारी कुटपिट गरिएको पाइएको छ । आन्दोलन सफल बनाउने नाममा साबिकको अर्को संस्थाबाट आएका कर्मचारीहरूलाई ढोका थुनेर मरणासन्न हुनेगरि कुटपिटको घटनामा स्वयम् संस्थाका हाकिमकोसमेत मिलेमतो भएको दाबीसहित अर्थ सरोकारको सम्पर्कमा आएका पिडितका आफन्तले मर्जरमा भएको विमतिका नाममा आफ्नो मान्छेलाई ज्यानमार्ने बदनियत बोकेर ढोका थुनेर मरणासन्न हुनेगरि कुटपिट गरेको र यो प्रकरणमा सिइओको मौनताले थप पीडा दिएको गुनासो गरेका छन् । लघुवित्तको कोशी प्रादेशिक कार्यालयका सहायक निमिष आचार्यलाई कार्तिक १२ गते साबिकको नेरुडेका कर्मचारीहरूले कार्यालयमै सिसिटिभी अफ गरेर, ढोका थुनेर कुटपिट गरेका हुन् ।

भएको के हो ? 

साबिकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक भएपछि संस्थामा विभिन्न असहमति राखेर आन्दोलन भइरहेको थियो । आन्दोलन जारी रहेकै बखत संस्थाले आचार्यलाई कोशी प्रादेशिक कार्यालयमा खटाएको थियो । आचार्य त्यहाँ हाजिर हुँदा साबिकको नेरुडेका कर्मचारीहरू धर्नामै थिए । 

पीडित आचार्यका अनुसार उनी त्यहाँ गएलगत्तै साबिकको नेरुडेका कर्मचारीहरूले उनलाई विभिन्न खालका धम्की दिंदै आएका थिए ।  यतिसम्मकि साबिकको नेरुडेका कर्मचारीहरूले ‘एकजना कर्मचारी सहिद नभएसम्म आन्दोलन सफल नहुने भयो’ भन्दै अभिव्यक्ति दिँदै आएका थिए । 

यही क्रममा कार्तिक १२ गते  साबिकको नेरुडे लघुवित्तका कर्मचारीको एक टोली आएर करिव ४ बजेको समयमा सिसिटिभी अफ गरी, ढोका थुनेर मरणासन्न हुनेगरि कुटेको पीडितको आरोप छ ।    

‘पञ्चानन्द आचार्यले सुरुमा ढोका र झ्याल लगाए । त्यसपछि मेरो फोन खोसे । अनि कसैलाई  मैले मान्छे र फोन नियन्त्रणमा लिएको छु भनेर फोन गरे । त्यो फोन कसलाई गरिएको थियो, मलाई थाहा भएन । पीडित आचार्यले अर्थ सरोकारसँग भने, ‘त्यसबेला आन्दोलनरत कर्मचारीले आचार्यसँगै प्रदेश कार्यालयका मेसेन्जर र शाखा कार्यालय बर्घाचीका फिल्ड कर्मचारी देउकुमारी बस्नेतलाई पनि कार्यालयभित्रै थुनेका थिए । करिब डेढ घण्टापछि उहाँहरूलाई छोडियो, मलाई बाहिर निस्किन दिइएन ।’  

उनका अनुसार भित्र राखेर उनलाई प्रदेश प्रमुखलाई नबोलाए ज्यान नै तल माथि गरिदिने भन्दै धम्क्याएका थिए । 

‘भित्र रहुन्जेल उहाँहरूले प्रदेश प्रमुखलाई बोला, नत्र तेरो खैरियत छैन भन्दै धम्क्याउनुभयो । मैले प्रदेश प्रमुखलाई बोलउन सम्पर्क गर्न खोजेँ, तर, उहाँको फोन लागेन । त्यतिबेलासम्म कार्यालयको गेट अगाडिको सीसीटिभी क्यामेराको लाइन काटिसकिएको थियो ।’, आचार्यले अर्थ सरोकारसँग भने, ‘त्यहीबेला मैले केन्द्रीय कार्यालयका कर्जा शाखामा कार्यरत राजेश श्रेष्ठलाई पनि आफू थुनिएको जानकारी गराएँ ।’ 

उनका अनुसार त्यसपछि कुटपिट गर्ने टोलीले रिसेप्सनमा रहेर फोनमा कुरा गर्दैगर्दा बत्ती निभाउन, सिसिक्यामरा अफ गर्न निर्देशन दिंदै ‘आज यसलाई मार्नुपर्छ’ भन्दै ८-१० जनाले कुर्सीले प्रहार गरिएको थियो । ‘एक्कासी बत्ती निभा, सीसी क्यामेरा अफ गर, यसलाई छोड्नुहुँदैन, मार्नुपर्छ भन्ने आवाज सुनियो । चारैतिरबाट ८–१० जनाले कुर्सीले प्रहार गरे । मैले धेरै रोक्ने प्रयास गरेँ, तर सकिन । बत्ती बन्द भएकाले मान्छे ठम्याउन पनि सकिन ।’ 

तर, आफूलाई कार्यालयमा थुन्नेदेखि सुरुमा कुटपिट हुँदाको सम्झना गर्दै आचार्यले आफूमाथि लघुवित्तका फिल्ड कर्मचारी शिवशंकर साह, राजकुमार शर्मा, अर्जुन राजवंशी, मुकेश यादव, राजधारी शर्माले कुटपिट गरेको बताएका छन् । ‘बत्ति बन्द भएकाले अरुको अनुहार ठम्याउन सकिन । तर ममाथि ८–१० जनाले ने कुसी प्रहार गरेका हुन् ।’ 

कुटपिटबाट अर्धचेत अवस्थामा पुगेका आचार्यलाई पछि कोसही अस्पताल लगिएको थियो । तर, कोशी अस्पतालमा राम्रो उपचार नहुने स्थिति देखेपछि हाल आचार्य थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनी अहिले काठमाडौँमै अस्पतालमा उपचाररत छन् ।

के हो कुटपिटपछिको कारण ?

साबिकको मिर्मिरे र नेरुडे लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा पोष्ट मर्जर लफडा चलिरहेको थियो । मर्जरपछि विभिन्न माग राख्दै नेरुडे लघुवित्तका कर्मचारीहरू आन्दोलनमा थिए । आचार्यका अनुसार आन्दोलनरत साबिकको नेरुडेका कर्मचारीले वार्ता सफल भयो भन्दै समझदारी पत्र बनाएका थिए । समझदारी पत्रमा सबै कर्मचारीको तलब २५०० रुपैयाँ वृद्धि गर्ने उल्लेख थियो । प्रदेश प्रमुख राज किशोर चौधरीले सहमति भनिएको विषयमा चासो राखेपछि उनले सो सहमतिपत्रको फोटो खिचेर प्रदेश प्रमुख चौधरीलाई पठाएका थिए । सोहि अनुमतिपत्र ‘कसलाई सोधेर हाकिमलाई पठाईस् ?’ भन्दै उनीमाथि साबिकको नेरुडेका कर्मचारीले कुटपिट गरेका हुन् । ‘हाकिमलाई किन पत्र पठाइस् ? भनेर धम्क्याइयो, लिखित माफि माग्न पनि लगाइयो । पछि मलाई मार्ने नियतले कुटपिट गरियो ।’

नेरुडे मिर्मिरे कर्मचारी युनियनका महासचिव मोहम्मद मक्सद अन्सारीले साबिकको नेरुडेका कर्मचारीले सुरुवातदेखि नै हेपाहा प्रवृति देखाएको र ज्याननै मार्ने प्रयास हुँदा पनि संस्थाका एचआर प्रमुखले वास्ता नगर्नु दुर्भाग्यपूर्ण रहेको बताए । उनले नेरुडेका कर्मचारीले मिर्मिरेका कर्मचारीलाई हदैसम्म अपमान गर्ने, विभिन्न धम्की दिने गरेको र अहिले ज्यान मार्ने गरी नै कुटपिट गरेको दाबी गरे ।

नेरुडे मिर्मिरे कर्मचारी युनियनका महासचिव मोहम्मद मक्सद अन्सारी

प्रहरीमा पर्यो जाहेरी, कुटपिटमा संलग्नहरु फरार !   

आचार्यले आफूमाथि कुटपिट गर्नेहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरीसमेत दिएका छन् । कुटपिटमा संलग्नहरुमध्ये शिव शंकर शाह संस्थाकै डेपुटी सीइओका आफन्तसमेत रहेको पीडित आचार्यको दाबी छ ।  

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकास जोशीले उक्त घटनामा प्रहरीमा जाहेरी दर्ता भइसकेको र कुटपिटमा संलग्नहरुको खोजीकार्य भइरहेको बताएका छन् । 

‘चार जनाको नाममा जाहेरी परेको छ । पक्राउ गर्ने प्रक्रिया सुरु भइसक्यो, अभियुक्तहरु फरार छन् । हामीले खोजी कार्य जारी राखेका छौँ । अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी जोशीले भने, ‘पक्राउ गरेर थप अनुसन्धान अघि बढ्नेछ ।’

जोशीका अनुसार राजधारी शर्मा, मुकेश यादव, राज कुमार शर्मा, शिव शंकर साहविरुद्ध जाहेरी परेको छ । 

अभियुक्तहरुलाई अनुसन्धानपछि अपहरण, कुटपिट शरीर बन्धक, ज्यान मार्ने उद्योग लगायतका कसुरको मुद्धा लाग्न सक्छ । अभियुक्तहरुको कसुर प्रमाणित भएमा उनीहरुलाई साँढे ८ बर्षसम्म लामो जेल सजाय हुने कानुनी व्यवस्था छ ।   

कर्मचारी कुटिंदा पनि हाकिमलाई छैन चासो, मिलेमतोको आरोप ! 

कार्यालयभित्र मरणासन्न हुनेगरि कुटपिटको घटना भएको एक साता बित्न लाग्दा पनि केन्द्रीय कार्यालयका हाकिहरुले घटनाबारे कुनै चासो नदेखाएको दुखेसो पीडीतको छ । कुटपिटमा संग्लग्नहरु आफ्नै आफन्त परेपछि सकेसम्म यो केस दबाउन हाकिमहरु नै लागेकोसमेत पीडितका आफन्तहरुको आरोप छ ।  

‘मैले घटनाबारे लिखित र फोनमार्फत पनि जानकारी गराएको छु । केन्द्रीय कार्यालयका केही सर भेट्न आउनुभयो तर धेरै विभागीय प्रमुखहरु आउनुभएको छैन ।’

सीइओ भन्छन्– ‘यो बारेमा नबोलौँ’

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्यालले भने उक्त विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै सीईओ बस्यालले उक्त घटनाबारे प्रहरी र लघुवित्तले पनि अनुसन्धान गरिरहेकोले आफु थप नबोल्ने बताए । ‘अहिले यो केस मोरङ प्रहरी कार्यालयमा दर्ता छ । हामीले पनि अनुसन्धान सुरु गरेका छौँ । अहिले नै यो बारेमा प्रतिक्रिया दिन परिपक्व हुँदैन ।’, सीईओ बस्यालले अर्थ सरोकारसँग भने, ‘तपाइँहरुसँग बोलेर यो विषयवस्तुलाई अर्को प्रभाव पर्न सक्छ, त्यसैले धेरै नबोलौँ ।’ 

उनले आफू नै अस्वस्थ भएकाले बिरामीलाई भेट्न जान नपाएको स्वीकार्दै आफूले टिम पठाएको बताएका छन् । उक्त घटना भएदेखि हालसम्मको सम्पूर्ण विषयमा जानकार भएको भन्दै उनले घटनाप्रति आफ्नो चासो भएको र बिरामीको उपचार संस्थाले नै गर्ने दाबीसमेत गरेका छन् । 

(पिडितसँगको भिडियो कुराकानी अर्को अंकमा…’)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register