केरामा भारतकै भरः छठका लागि जनकपुरधाममा मात्रै पाँच करोडको आयात

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार भारतबाट १० चक्काको ट्रकमा एक हजार २०० घरी केरा नेपाल आएको छ । जनकपुरसम्म ल्याउँदाको खर्च प्रतिट्रक बराबर ६ लाख रुपैयाँ पर्छ । बजारमा प्रत्येक केराको घरीलाई ५०० देखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।

Nov 4, 2024 - 03:15
 0
केरामा भारतकै भरः छठका लागि जनकपुरधाममा मात्रै पाँच करोडको आयात

जनकपुरधाम – छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा पाँच करोड रुपैयाँ बराबरको केरा आयात गरिएको छ । उक्त परिमाणको केरा छिमेकी देश भारतबाट आयात गरिएको हो ।

छठमा व्रतालुका लागि केरा अनिवार्य खाद्य पदार्थ हो । छठमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रुपमा चढाउने परम्परासमेत छ ।

केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि स्थानीय उत्पादनले छठ पर्वको मागअनुसार आपूर्ति नपुग्ने अवस्था रहेको फलफूल व्यवसायीहरू बताउँछन् ।

छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उनले स्पष्ट पारे ।

अध्यक्ष यादवले अघिल्लो वर्ष करिब चार करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको जानकारी दिए । ‘यस वर्ष भित्र्याइएका केरा झण्डै ८५ ट्रक छन्,’ उनले भने ।

जनकपुरधाममा गोपाल र वंशीभोग केरा सप्तरीको भारदह र सुनसरीको भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भने भारतको आसाम, गुवाहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए ।

छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको भाउ महगिँएको पूर्वेले बताए । ‘छठ पर्व मनाउने संख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५–३० ट्रक बढी ८५ ट्रकजति केरा मगाइएको छ,’ उनले थपे ।

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार भारतबाट १० चक्काको ट्रकमा एक हजार २०० घरी केरा नेपाल आएको छ । जनकपुरसम्म ल्याउँदाको खर्च प्रतिट्रक बराबर ६ लाख रुपैयाँ पर्छ । बजारमा प्रत्येक केराको घरीलाई ५०० देखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । केरा उत्पादनका लागि तराई–मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । तर केराको आवश्यकता हुने चाडपर्वको समयमा भारतकै भर पर्नुपर्ने अवस्था रहेको सरोकारवालाहरूको गुनासो छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएका छन् ।

सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ । त्यसो त भारतबाट आउने केराको मूल्य भने यहाँको भन्दा सस्तो पर्छ । भारतले किसानका लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register