कमला ह्यारिसबारे थप बुझौँ

“म उसलाई ‘लाफिङ कमला’ भन्छु, तपाईंहरूले कहिल्यै उनी हाँसेको देख्नुभएको छ ? उनी पागलजस्तै हाँस्छिन्, उनी पागल हुन्, झुट हुन् ।” जुलाई २१ मा मिशिगनको एक र्‍यालीमा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसको बारेमा यस्तो भनेका थिए । त्यसबेला डेमोक्रेटिक पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्ने अनुमान गरिएको थियो । डेमोक्रेटिक पार्टीले यो अगस्ट […]

Nov 4, 2024 - 10:27
 0
कमला ह्यारिसबारे थप बुझौँ

“म उसलाई ‘लाफिङ कमला’ भन्छु, तपाईंहरूले कहिल्यै उनी हाँसेको देख्नुभएको छ ? उनी पागलजस्तै हाँस्छिन्, उनी पागल हुन्, झुट हुन् ।”

जुलाई २१ मा मिशिगनको एक र्‍यालीमा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसको बारेमा यस्तो भनेका थिए । त्यसबेला डेमोक्रेटिक पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्ने अनुमान गरिएको थियो ।

डेमोक्रेटिक पार्टीले यो अगस्ट ६ मा गरेको थियो । अब नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले त्यही कमलाको सामना गर्नेछन्, जसलाई उनले ‘पागल’ भनेका थिए ।

भारतीय महिलाको घरमा जन्मिएकी कमला, जसले आफ्नै सन्तान जन्माउनुको सट्टा २ सौतेनी सन्तान हुर्काइन् । जो कालो वर्ण भएकाले अमेरिकाको पुरूषप्रधान राजनीतिमा सबैभन्दा ठूलो पदका लागि दावेदार बनेकी छन् ।

कमलाको जीवन यात्राबारे थप जानौँ-

कमला भारतीय ब्राह्मण आमा र जमैकन बुबाको सन्तान हुन् । अक्टोबर २०, १९६४ मा ओकल्यान्ड, क्यालिफोर्नियामा उनको जन्म भएको थियो । उनी आप्रवासीको परिवारमा जन्मिएकी थिइन् । आमा श्यामला गोपालन स्नातकपछि १९ वर्षको उमेरमा भारतको तमिलनाडुबाट अमेरिका पुगेकी थिइन् ।

यो सन् १९५८ को समय थियो, जतिबेला अमेरिकामा अश्वेतहरू आफ्नो अधिकारको लागि लडिरहेका थिए । त्यहाँ उनले जमैकन केटा डोनाल्ड ह्यारिसलाई भेटिन् । उनीहरू दुबै अश्वेत थिए ।

यसैबीच उनीहरू प्रेममा परे । उनीहरू असमानता र रङ्गभेदीविरुद्धका प्रदर्शनहरूमा सँगै सहभागी हुन थाले । श्यामलाको पढाइ सकेर स्वदेश भारत फर्कने योजना थियो तर, त्यो हुन सकेन । डोनाल्डको मायाले श्यामलालाई अमेरिकामै राख्यो । सन् १९६३ मा विवाह गरे ।

कमला श्यामला र डोनाल्डको पहिलो सन्तान हुन् । न्यूओर्क टाइम्सकाअनुसार कमला सानै छँदा श्यामला र डोनाल्डले उनलाई पालनपोषणमा राखेर प्रदर्शनमा लैजान्थे ।

कमला जन्मेको तीन वर्षपछि बहिनी मायाको जन्म भयो । तर, त्यतिबेलासम्म उनका बाबु-आमाबीच मतभेद बढ्दै गएको थियो ।

एक अन्तर्वार्तामा कमला ह्यारिसले आमा-बुवाबीचको सम्बन्ध ‘तेल र पानी जस्तै’ भएको बताएकी थिइन् । उनीहरू सँगै बस्न सकेनन् । अन्तत: विवाहको ९ वर्षपछि सन् १९७२ मा सम्बन्धविच्छेद गरे । त्यतिबेला कमला जम्मा ७ वर्षकी थिइन् । उनीहरूबीच मुद्दा हालाहालसमेत भयो । मुद्दा आमाले जितिन् ।

कमलाकी बुवाले आफ्नो पुस्तक ‘रिफ्लेक्शन्स अफ ए जमैकन फादर’ मा लेखेका छन्, “त्यसबेला अदालतले आफ्ना छोराछोरीलाई बुवाले हुर्काउन सक्दैनन् भन्ने विश्वास गर्दथ्यो । त्यसमाथि म कालो जातको बुवा थिएँ ।”

सम्बन्धविच्छेदपछि कमला र उनकी बहिनीलाई उनकी आमाले हुर्काइन् । जसका कारण कमलामा भारतीय संस्कृतिको प्रभाव धेरै छ । कमलाकी आमा तमिल ब्राह्मण थिइन् ।

देवीदेवताको पूजा गर्ने संस्कृतिमा महिलाहरू बलियो र साहसी हुन्छन् भन्ने उनको विश्वास थियो । श्रीमान्‌सँग सम्बन्धविच्छेद भए पनि श्यामला गोपालनले आफ्ना छोरीहरूलाई भारतीय मात्र होइन, आफ्ना बुबाको अफ्रिकी संस्कृतिबारे पनि सिकाइन् ।

कमलाले आफ्नो जीवनी ‘द ट्रूथ्स वी होल्ड- द अमेरिकन जर्नी’ मा लेखेकी छिन्, “मेरी आमाले राम्ररी बुझ्नुभयो कि मैले दुई केटीहरू हुर्काउँदै छु भनेर । उहाँले हामीलाई पूर्ण भरोसामा राख्नुभयो ।”

सन् १९५४ मा कमला ५ वर्षकी हुँदा अमेरिकामा रङ्गभेदका कारण अश्वेत र गोरा बालबालिकाका लागि छुट्टाछुट्टै विद्यालय बनाइए । सोही वर्ष यो व्यवस्था असंवैधानिक घोषित भयो ।

जब उनकी आमाले क्यानडामा शिक्षिकाको जागिर पाइन्

कमला ह्यारिस १२ वर्षकी हुँदा उनी अमेरिका छोडेर आमा र बहिनीसँग क्यानडा जान बाध्य भइन् । उनकी आमाले त्यहाँको म्याकगिल विश्वविद्यालयमा शिक्षकको जागिर पाइन् । कमलालाई अमेरिका छाड्न पटक्कै मन लागेको थिएन ।

कमलाले आफ्ना साथीहरूलाई सधैँ सम्झिइन् । उनले आफ्नो जीवनीमा लेखेकी छिन्, “रमाइलो मौसममा क्यालिफोर्निया छोडेर १२ फिट हिउँले ढाकिएको मोन्ट्रियल जानु सहज थिएन ।”

कमलाले क्यानडाका आफ्ना दिनहरूबारे धेरै कम उल्लेख गरेकी छिन् । जहाँ उनले आफ्नो किशोरावस्था बिताए । क्यानडामा बिताएका ५ वर्षमा कमलाले ४ वटा विभिन्न विद्यालयमा अध्ययन गरिन् ।

उनका साथी डीन स्मिथले अङ्ग्रेजी पत्रिका डेली मेललाई बताएकी छिन्, “स्कूलका दिनहरूमा कमलाको प्रेमी थिएन । उनी केटाहरूसँग मित्रताका लागि होइन, पढाइका लागि मात्र विद्यालयमा आएकी थिइन् ।”

क्यानडामा स्कूलको पढाइ पूरा गरेपछि कमला अमेरिका फर्किइन् र हार्वर्ड विश्वविद्यालयमा भर्ना भइन् । त्यही मेसोमा उनले अश्वेतहरूको अधिकारका लागि पनि लडिन्, विभिन्न आन्दोलनहरूमा सरिक भइन् ।

उनी स्पष्ट वक्ता थिइन् । उनी पहिल्यैदेखि आफ्नो विचार व्यक्त गर्न, कसैको तर्कको सामना गर्न नहिच्किकाउने खाले थिइन् । जसका कारण उनले हार्वर्ड विश्वविद्यालयको डिबेट क्लबमा स्थान पाइन् ।

सन् १९८३ मा कमला ह्यारिस विद्यार्थी पत्रिकाका सम्पादकलाई बर्खास्त गरेको विरोधमा विश्वविद्यालय प्रशासन भवन बाहिर विरोधमा बसिन् । यहीँबाट उनले राजनीति र सार्वजनिक जीवन सुरु गरिन् ।

कमलाको व्यक्तिगत जीवन

हार्वर्डबाट राजनीतिशास्त्रमा स्नातक गरेपछि कमलाले सन् १९८९ मा कोलम्बिया विश्वविद्यालयबाट कानूनको अध्ययन पूरा गरिन् । सन् १९९० मा उनी क्यालिफोर्नियाको स्टेट बार काउन्सिलमा सामेल भइन् र सहायकको रूपमा काम गरिन् ।

सन् १९९४ मा उनले ६० वर्षीया विली ब्राउनलाई भेटिन् । त्यतिबेला उनी क्यालिफोर्निया विधान सभाका सभामुख थिए । यस समयमा कमला ३० वर्षकी थिइन् र करियरको प्रारम्भिक चरणमा थिइन् । उमेरमा ठूलो अन्तर भए पनि उनीहरूले दुई वर्ष डेट गरे ।

एक अन्तर्वार्तामा कमलाले विलीसँगको आफ्नो सम्बन्धबारे भनेकी थिइन्, “सायद यो मेरो घाँटीमा मेरो बाँकी जीवनको लागि एक फाँसीको रूपमा रहिरहनेछ ।”

वास्तवमा यही सम्बन्धका कारण कमलालाई विलीकी श्रीमतीसमेत भनिन्थ्यो । जब कमला सन् २०२० मा उपराष्ट्रपतिको उम्मेदवार निर्वाचित भइन्, कमलाले विलीसँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना खेप्नुपरेको थियो । उनलाई ‘अर्काको घरबार बिगार्ने’ महिलाको रूपमा वर्णन गरिएको थियो ।

बढी आलोचना भएपछि यसबारे विली स्वयम्‌ले स्पष्ट पारेका थिए— कमलासँग डेट गर्नुअघि नै मेरी श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो । कमलाका आलोचकहरूले उनलाई विलीको पदको फाइदा उठाएको भनेर आरोप अझैसम्म लगाउँछन् ।

सन् २००३ मा कमला सान फ्रान्सिस्को जिल्ला अधिवक्ताको चुनाव लड्दै थिइन् । यही क्रममा विपक्षीले कमला र विलीबीच ७ वर्षअघि टुटेको सम्बन्ध सार्वजनिक गरेका थिए । कमलालाई राजनीतिमा हराउनका लागि उनका विरोधीहरूले उनको व्यक्तिगत जीवनलाई अदालतमा ल्याएका थिए ।

उनीहरूले कमलाले विलीसँगको सम्बन्ध प्रयोग गरी एकैपटक दुईवटा सरकारी पद प्राप्त गरेको आरोप लगाएका थिए तर, यी आरोपका बाबजुद कमला जिल्ला न्यायाधिवक्ताको निर्वाचनमा विजयी भइन् र क्यालिफोर्नियाबाट यस पदमा निर्वाचित पहिलो अफ्रिकी-एसियाली महिला बनिन् ।

कमलाले सन् २००१ मा सेलिब्रेटी एन्कर मोन्टेल विलियम्सलाई पनि डेट गरेकी थिइन् । मोन्टेलले अमेरिकाको प्रसिद्ध टिभी कार्यक्रम होस्ट गर्थे । उनीहरूबीच पनि ब्रेकअप भयो ।

मोन्टेलले कमला र उनकी छोरीलाई रेड कार्पेट कार्यक्रममा ल्याए । कमलालाई अमेरिकी जनतामा ठूलो कार्यक्रममा चिनाइएको यो पहिलो पटक थियो । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन ।

त्यसपछि कमलाले आफ्नो करियरलाई मजबुत बनाउन थालिन् । सन् २०१० मा उनी क्यालिफोर्निया राज्यको महान्यायाधिवक्ता चुनिइन् । यो स्थान हासिल गर्ने उनी पहिलो अश्वेत महिला थिइन् ।

क्यालिफोर्नियाको वकिल बनेको ३ वर्षपछि कमलाले डगलस एमहफलाई भेटिन् । कमलाको नजिकको साथी क्रिसेट हडलिनले यी दुईको परिचय गराएकी थिइन् ।

हडलिनले कमलालाई ब्लाइन्ड डेटबारे सोधेकी थिइन् तर, जानुअघि नै उनले गुगलमा डगलसलाई सर्च गरिसकेकी थिइन् । डगलस एक सम्बन्धविच्छेद भएका व्यक्ति थिए । उनको पहिलो पत्नी क्रिस्टनसँग सन् १९९२ मा विवाह भयो ।

डगलस पेशाले वकिल थिए । कमला ह्यारिसले एक अन्तर्वार्ताका क्रममा आफू डगलसको सेन्स अफ ह्यूमर मन परेको बताएकी थिइन् । एक वर्ष सम्बन्धमा रहेपछि सन् २०१४ मा विवाह गरे ।

कमलाका आफ्नै सन्तान छैनन् । यस विषयमा विपक्षीहरूले उनलाई हमला गरिरहन्छन् । रिपब्लिकन पार्टीका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले सन् २०२१ मा कमलाको नाम नलिइकन भनेका थिए, “बच्चाबिनाको बिरालोले देश चलिरहेको छ । जसको आफ्नै सन्तान पनि छैन, जसको व्यक्तिगत जीवन ठीक छैन, उनीहरूले देश बिगारिरहेका छन् ।”

तर, कमलाले आफ्ना दुई सौतेनी सन्तान हुर्काउन मद्दत गर्छिन् । डगलस एमहोफका दुवै छोराछोरीले उनलाई ‘मोमाला’ भनेर बोलाउँछन् ।

राजनीतिक जीवन

कमलाले वकालतलाई करियरको रूपमा रोज्दा उनकी आमा खासै खुसी भइनन् तर, उनले बुझाइन् ।

कानूनमार्फत महिला, बालबालिका र अश्वेतको जीवनमा सुधार ल्याउन वकिल बनेको कमला बताउने गर्छिन् । त्यसो त यो पनि सत्य हो कि वकिलहरूले अमेरिकी राजनीतिमा प्रभुत्व जमाएका छन् ।

हार्वर्ड विश्वविद्यालयका अनुसार स्वतन्त्रतादेखि सन् २०१५ सम्मका ६० प्रतिशत अमेरिकी राष्ट्रपतिहरू वकिल थिए । अमेरिकी कांग्रेसमा ४० प्रतिशतभन्दा बढी सांसदहरू वकिल हुन् । कमलाको राजनीतिक करियरको पहिलो चरण वकालत थियो । उनी जिल्ला अधिवक्ताबाट राज्य अधिवक्ता र त्यसपछि सिनेटमा पुगेकी महिला हुन् ।

जिल्ला न्यायाधिवक्ता बनेको एक वर्षमै कमला आफ्नो कार्यशैलीलाई लिएर विवादमा तानिएकी थिइन् । यी विवादहरूले कमलाको लोकप्रियता बढायो । सन् २००४ मा एक आपराधिक गिरोहको एक सदस्यले एक प्रहरी आइज्याक एस्पिनोजालाई गोली हानेर मारे ।

हत्यारालाई मृत्युदण्ड दिनुपर्ने जनताको माग थियो । तर, सरकारी वकिलको हैसियतमा कमलाले मृत्युदण्डको सजाय तोकिनन् । त्यसबाट जनता र प्रहरीले मात्र होइन, क्यालिफोर्नियाका सिनेटरले समेत उनको कार्यशैलीप्रति प्रश्न उठाएका थिए ।

एक वकिलका रूपमा कमलाले मृत्युदण्डको सजाय घटाउने काम गरिन् । ‘न्यायापालिकाले सजाय दिनेभन्दा अपराध रोक्नेतर्फ बढी ध्यान दिनुपर्छ’ उनले भनिन् । उनले सानातिना अपराधहरूको सजाय पनि कम गरेकी छन् ।

कमलाले ‘ब्याक अन ट्र्याक’ कार्यक्रम सुरु गरिन् । जसअन्तर्गत साना अपराध गर्ने व्यक्तिहरूलाई अपराध छाडेर सामान्य जीवनयापन गर्न विद्यालय शिक्षा र रोजगारीसम्बन्धी तालिम दिइएको थियो ।

छोराछोरीलाई शिक्षाका लागि विद्यालय नपठाउने अभिभावकलाई कारबाही गर्न पनि कमलाले ध्यानाकर्षण गराइन् । यो अपराधलाई ‘ट्र्यान्सी’ भनिन्छ ।

यसको सबैभन्दा ठूलो असर अश्वेत जातिमा परेको थियो । जसका कारण कमलाको निकै आलोचना भएको थियो । तर, कमलाका लागि अभियान चलाउनेहरू यसका कारण ट्रान्जेन्सीमा ३३ प्रतिशतले कमी आएको बताउँछन् ।

सहयोग गर्नेहरूलाई कहिल्यै छोडिनन्

कमलाले सन् २०१९ मा पोलिटीको पत्रिकामा राजनीतिबारे लेखेकी थिइन्— सान फ्रान्सिस्कोको चहकिलो विवाहदेखि लिएर परोपकारी कार्यक्रम र ठूला रेष्टुरेन्टहरूमा सहरका धनीहरूसँग सम्पर्क राखेँ, त्यहाँ रहेँ ।

कमला ह्यारिसले सन् २०१६ मा चुनावी राजनीतिमा प्रवेश गरेकी थिइन् । यो त्यही वर्ष थियो, जहाँ डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए । कमलालाई बाराक ओबामा र जो बाइडेनको समर्थन थियो ।

उनी सिनेटमा निर्वाचित दोस्रो अश्वेत महिला बनिन् । सांसद बनेको दुई वर्षपछि कमला ह्यारिस सन् २०१९ मा राष्ट्रपतिको दौडमा सामेल भइन् ।

सन् २०२० मा बाइडनको विजयपछि कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो अश्वेत महिला उपराष्ट्रपति निर्वाचित भइन् । राजनीतिमा प्रवेश गरेको ७ वर्षमै उनी अहिले राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।

न्यूयोर्क टाइम्सका अनुसार उनले तेस्रोपटक राष्ट्रपतिको चुनाव लड्दै गरेका ट्रम्पलाई कडा टक्कर दिइरहेका छन् । एक्जिट पोलहरूअनुसार कमला ह्यारिस ७ मध्ये ५ महत्त्वपूर्ण राज्यमा ट्रम्पभन्दा अगाडि छिन् ।

उनले जितिन् भने अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेर इतिहासमा सदाको लागि आफ्नो नाम दर्ता गराउनेछिन्, त्यो पनि अश्वेत !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register