जर्मन हजामका नाति ट्रम्पको कथा : एक क्यासिनो अपरेटर कसरी राष्ट्रपति बने ?

सन् २०२० को चुनाव हारे पनि कुनै पनि रिपब्लिकन नेताले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा बदल्न सकेनन् । ट्रम्पले पहिले पार्टीमा आफ्ना विपक्षीलाई एकएक गरी पराजित गरे र त्यसपछि सन् २०२४ को चुनावमा राष्ट्रपतिको उम्मेदवारको रूपमा आफ्नो स्थान सुरक्षित गरे ।

Nov 6, 2024 - 11:51
 0
जर्मन हजामका नाति ट्रम्पको कथा : एक क्यासिनो अपरेटर कसरी राष्ट्रपति बने ?

मिति- ६ जनवरी २०२०

स्थान- अमेरिकी संसद्, क्यापिटल हिल, वाशिंगटन डीसी

समय- दिउँसो १ बजे

२ हजारभन्दा बढी मानिसको भीड सुरक्षा अवरोध तोडेर अमेरिकी संसद्‌मा प्रवेश गरेको थियो । तीमध्ये धेरैसँग हतियार थियो । यो त्यही ठाउँ हो, जहाँबाट केही मिनेटअघि अमेरिकी चुनावको आधिकारिक नतिजा सार्वजनिक भएको थियो ।

भीड क्यापिटल हिलमा प्रवेश गर्ने बित्तिकै डराएका सांसद आफूले सक्ने ठाउँमा लुके । तत्कालीन अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई कडा सुरक्षा घेरामा संसद्‌बाट बाहिर निकालियो ।

हिंसात्मक भीडले संसद्लाई ४ घण्टासम्म घेरेको थियो । आन्दोलनकारी सांसदको कार्यालयमा प्रवेश गरे । तोडफोड गरे । अमेरिकाको इतिहासमा पहिलो पटक संसद्‌मा जनताले यसरी आक्रमण गरेका थिए ।

संसद्‌मा भएको यो दंगाको जिम्मेवार व्यक्ति अरु कोही नभई तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थिए । जसले चुनाव पराजयपछि ह्वाइट हाउसको निजी डाइनिङ रुममा बसेर टीभीमा यो सब प्रत्यक्ष हेरिरहेका थिए ।

त्यो दिन संसद्‌मा जे भयो ट्रम्पको भाषणबाट सुरु भयो, जसमा उनले चुनावमा धाँधली भएको दाबी गरेका थिए । यो घटना भएको झण्डै ४ वर्ष बितिसकेको छ, ट्रम्प फेरि राष्ट्रपति विजयी भएका छन् । यसपटक उनले कमला ह्यारिसलाई हराएका छन् ।

जानौं, डोनाल्ड ट्रम्पको परिवारदेखि राजनीतिसम्मको सम्पूर्ण नालिबेली ।

बायाँबाट क्रमश – ट्रम्पका हजुरबुवा फ्रेडरिक, बुवा फ्रेड, डोनाल्ड

बाबु, बाजेको संघर्ष र ट्रम्प साम्राज्य-

ट्रम्प हजामका नाति हुन्, उनका हजुरबुवा फ्रेडरिक जर्मनीबाट भागेर अमेरिका पुगेका थिए ।

फ्रेडरिक ८ वर्षको हुँदा उनको बुवाको मृत्यु भयो । उनी बाल्यकालदेखि नै कमजोर थिए, जसका कारण खेतीपाती गर्न सकेनन् । त्यसपछि उनकी आमाले उनलाई हजाम बन्ने तालिम दिइन् ।

लेखक ग्वेन्डा ब्लेयरले आफ्नो पुस्तक ‘द ट्रम्प्स: थ्री जेनेरेसन्स द बिल्ट एन एम्पायर’ मा लेखेकी छिन्, ”फ्रेडरिक धेरै मेहनती थिए र हप्ताको सात दिन काम गर्थे । तर, १६ वर्षको उमेरमा फ्रेडरिक भागेर अमेरिका जानुपर्‍यो ।”

वास्तवमा त्यतिबेला जर्मनीमा हरेक व्यक्तिले कम्तीमा ३ वर्ष सेनामा भर्ती हुनुपर्ने कानून थियो । यसबाट डराएर फ्रेडरिकले देश छोडे । उनी १० दिनको यात्रापछि अक्टोबर १८८५ मा न्यूओर्क पुगेका थिए ।

अमेरिका आएपछि फ्रेडरिकले हजामको काम गर्न थाले । केही पैसा जम्मा गरेपछि उनले अलास्कामा खानी व्यवसायमा हात हाले । उनको यो व्यापार राम्रो भयो । तिनीहरूको खानीबाट धेरै सुन निस्कियो ।

फ्रेडरिक केही वर्षमै धेरै धनी भए। केही वर्षपछि फ्रेडरिक जर्मनी फर्किए र सन् १९०२ मा एलिजाबेथ क्राइस्ट नामकी केटीसँग विवाह गरे । पछि दुबै अमेरिका फर्किए । तर, एलिजाबेथलाई अमेरिकाको जाडो मन परेन । उनी बिरामी पर्न थालिन् ।

आफ्नी पत्नीको अवस्था देखेर फ्रेडरिक फेरि सन् १९०४ मा जर्मनी आए । तर, उनको आगमन जर्मन सेनाका अधिकारीहरूलाई मन परेन ।

फ्रेडरिकलाई देश छोड्न आदेश दिइयो । फ्रेडरिकले जर्मनीमा टिकटसम्बन्धी केही घोटाला गरेको पनि केही रिपोर्टमा दाबी गरिएको छ । यसबाट रिसाएर बाभेरियाका राजाले उनलाई देश छोड्न आदेश दिएका थिए ।

फ्रेडरिकले आफ्नी गर्भवती पत्नी र जवान छोरीलाई लिएर न्यूओर्क गए । केही महिनापछि एलिजाबेथले डोनाल्ड ट्रम्पका बुवा फ्रेड ट्रम्पलाई जन्म दिइन् ।

फ्रेडले कडा परिश्रम गरेर ट्रम्प साम्राज्य निर्माण गरे, फ्रेडको जन्म ११ अक्टोबर १९०५ मा न्यूओर्कमा भएको थियो । उनका बुवा जर्मनीबाट भएपनि फ्रेड पूर्णतया अमेरिकी थिए र जर्मन भाषा जान्दैनथे ।

उनले अमेरिकामा ट्रम्प परिवारको प्रतिष्ठा निर्माण गर्न निकै मेहनत गरे । फ्रेडलाई बाल्यकालदेखि नै कडा परिश्रम गर्ने रुचि थियो। स्कुलपछि राति नै निर्माणसम्बन्धी प्लम्बिङ, सिकर्मी र बिजुलीको तार लगाउने काम सिके ।

सन् १९१८ मा जब १५ वर्षको हुँदा बुबा फ्रेडरिकको मृत्यु भयो र परिवारको जिम्मेवारी उनीमाथि आयो ।

सन् १९२७ मा फ्रेडले आफ्नी आमाको नाममा ‘एलिजाबेथ ट्रम्प एन्ड सन्स’ नामक रियल स्टेट कम्पनी सुरु गरे । फ्रेड ट्रम्प ठूलो मात्रामा घर निर्माणमा संलग्न थिए, र छोटो समयमा उनी न्यूओर्कका सबैभन्दा सफल युवा व्यापारीमध्ये एक भए ।

विशेष गरी उनले दोस्रो विश्वयुद्धको समयमा सरकारी योजनाको फाइदा उठाउँदै धेरै घर बनाए । उनले ब्रुकलिन र क्वीन्स जस्ता क्षेत्रमा सस्ता घर बनाएर मानिसलाई त्यहाँ भाडामा बस्न दिने गर्थे। उनका परियोजना ठूला थिए, जसले उनलाई राम्रो नाफामा लग्यो ।

यो १९३० को दशक थियो, जब फ्रेड ट्रम्प एक पार्टीमा गए, जहाँ उनले मेरी एनी म्याकलोड नामक स्कटिश महिलालाई भेटे । त्यही रात जब फ्रेड घर फर्के । उनले घोषणा गरे कि उनले आफूले विवाह गर्ने महिला फेला पारेका थिए । त्यसपछि सन् १९३६ मा उनीहरुको विवाह भयो ।

फ्रेडको व्यापार निरन्तर बढ्दै गयो । तर, उनीसँग जोडिएका केही विवाद पनि थिए । १९७० को दशकमा उनीहरूमाथि अश्वेतलाई घर भाडामा नदिएको आरोप लागेको  थियो । यसमा उनीविरुद्ध मुद्दा पनि परेको थियो, जुन पछि टुंगिएको थियो ।

‘चाँदीको चम्चासँग जन्मेका थिए डोनाल्ड ट्रम्प’

डोनाल्ड ट्रम्पको जन्म १४ जुन १९४६ मा न्यूओर्कमा भएको थियो । धनी परिवारमा जन्मेका कारण डोनाल्ड ट्रम्पको बारेमा भनिन्छ कि उनी चाँदीको चम्चा लिएर जन्मेका हुन् ।

डोनाल्ड फ्रेडका पाँच सन्तानमध्ये चौथो हुन् । ट्रम्प आफ्ना भाइ फ्रेड जुनियर र दुई बहिनीभन्दा जेठा थिए । यसबाहेक उनका एक भाइ रोबर्ट ट्रम्प थिए । फ्रेड कडा र अनुशासनात्मक बुवा थिए । आफ्ना छोराछोरी पनि मेहनती र ठूला सपना देखून् भन्ने उनको चाहना थियो । उनको छोरा डोनाल्डलाई पनि विशेष स्नेह थियो ।

न्यूओर्क टाइम्सको रिपोर्टअनुसार डोनाल्ड ३ वर्षको हुँदा उनले बुवाको व्यापारबाट वार्षिक २ लाख डलर कमाउन थालेका थिए । ८ वर्षको हुँदासम्म उनी करोडपति बनेका थिए ।

डोनाल्ड साढे दुई वर्षको हुँदा उनकी आमा बिरामी पर्न थालिन् । जसका कारण उनको पालनपोषणमा ठूलो प्रभाव पारेको थियो ।

भान्जी मेरीले डोनाल्ड हुर्किँदा आमाको माया नपाएको बताइन् । डोनाल्डका जीवनीकार मार्क फिशर भन्छन् कि जब कसैले उनलाई आमाले कसरी माया गरिन् भनेर सोध्यो भने कुनै जवाफ हुँदैन ।

डोनाल्ड ट्रम्पले न्यूओर्कमा ७ कक्षासम्म पढे । उनको व्यवहार स्कुल पढ्दादेखि नै आक्रामक थियो । विद्यालयमा आफूसँगै पढ्ने साथीलाई उनी कुटपिट गर्थे । यसबारे बुवालाई बारम्बार गुनासो आउने गरेको थिइ । डोनाल्डले आफ्नो भाइलाई घरमा पनि धम्की दिन्थे ।

जसबाट हैरान भएका बुवाले उनलाई न्यूओर्क मिलिटरी स्कूलमा भर्ना गराए । १३ वर्षको उमेरमा डोनाल्ड मिलिटरी स्कुल जान बाध्य भए ।

त्यहाँ पनि उनको व्यवहार आक्रामक नै थियो ।  जब उनी मिलिटरी स्कूल पुगे, लाइनबाट बाहिर निस्कँदा कसैलाई थप्पड हाने ।

जीवनीकार मार्क फिशरकाअनुसार डोनाल्ड मिलिटरी स्कुलमा समेत आफ्ना सहपाठीलाई चिच्याउँथे र कराउँथे । आफ्नो बुवाबाट पाएको पालनपोषणले उनलाई स्वाभाविक रूपमा प्रतिस्पर्धी बनाएको थियो । मिलिटरी स्कुलमा पनि उनको यस्तै व्यवहार थियो । यहाँ पनि उनी सबैसँग प्रतिस्पर्धा गर्थे ।

द ट्रम्प्सका लेखिका ग्वेन्डा ब्लेयर भन्छिन्, ”ट्रम्पलाई यो सबै मिलिटरी स्कूलमा गर्न मन पर्थ्यो। तर, यही कारण सहपाठीले उनलाई मन पराएनन् । ट्रम्पले सैन्य विद्यालयबाट आफूभित्रको नेतृत्व क्षमताका साथ उत्तीर्ण गरेका थिए । सन् १९६४ मा सैन्य विद्यालयबाट उत्तीर्ण भएपछि ट्रम्पले फोर्डहम विश्वविद्यालयमा दुई वर्ष अध्ययन गरे ।”

त्यसपछि उनी पेन्सिलभेनिया विश्वविद्यालयमा गए । यहाँ उनले घर जग्गा कार्यक्रममा शिक्षा प्राप्त गरे । यसपछि ट्रम्पले सन् १९६८ मा इकोनोमिक साइन्समा डिग्री लिए ।

ट्रम्पले आफ्नो जेठो दाई फ्रेडलाई धेरै माया गर्थे । अत्यधिक मदिरा सेवनका कारण ४३ वर्षको उमेरमा फ्रेडको मृत्यु भएको थियो । त्यसपछि ट्रम्पले जीवनभर रक्सी र चुरोट त्याग्ने निर्णय पनि गरे ।

सन् १९६० को दशकको उत्तरार्धमा अमेरिका भियतनाम युद्धमा फसेको थियो । यस समयमा अमेरिकामा प्रत्येक जवान मानिसलाई अमेरिकी सेनामा सेवा गर्न आवश्यक थियो । तर, ट्रम्पले त्यसलाई बेवास्ता गरिरहे ।

खुट्टाको रोग र मेडिकल अध्ययनको बहाना बनाएर उनले ५ पटक सेनाको सदस्य हुन अस्वीकार गरे । भियतनाम युद्धको अन्त्यसँगै अमेरिकामा अनिवार्य सैन्य सेवाको अभ्यास पनि समाप्त भयो ।

बुवा र आमासँग ट्रम्प

व्यक्तिगत जीवन

ट्रम्पकी प्रेमिकाले श्रीमतीलाई सोधेकी थिइन्- के तपाई पनि उहाँलाई चाहनुहुन्छ ?

वर्ष-१९७६, स्थान- मैक्सवेल प्लम बार, न्यूओर्क

भ्यानिटी फेयर म्यागजिनका अनुसार यो त्यो ठाउँ थियो, जहाँ मोडलहरूले डेटिङका ​​लागि धनी पुरुष खोज्थे। एक साँझ डोनाल्ड यस बारमा पुगे । यहाँ उनको नजर चेकोस्लोभाकियाकी मोडेल इभानामा पर्यो ।

ट्रम्पले उनलाई १०० गुलाब पठाए र बाहिर घुम्न लगे। इभानाले आफ्नो पुस्तक ‘रेजिङ ट्रम्प’ मा लेखेकी छिन्, ”ट्रम्पले ३ महिनासम्म हरेक दिन फोन गर्थे । दुबैले एकअर्कालाई धेरै महिना डेट गर्यौँ ।”

सन् १९७७ को नयाँ वर्षको पूर्वसन्ध्यामा ट्रम्पले इभानालाई विवाहको प्रस्ताव राखेका थिए । ट्रम्पले भनेका थिए, ”यदि मसँग बिहे गरेनौ भने तिम्रो जीवन बर्बाद हुनेछ ।” इभाना विवाहका लागि सहमत भइन् । दुबैले ९ अप्रिल १९७७ मा विवाह गरे ।

ट्रम्पले आफ्नो एक साथीलाई ५ सन्तान जन्माउन चाहेको बताएका थिए । ताकि कम्तिमा एक बच्चा आफू जस्तै होस् । ट्रम्पले इभानालाई ५ सन्तान जन्माउन मनाउन थाले, ट्रम्पले उनलाई प्रत्येक बच्चाका लागि २.५ लाख डलर दिए ।

इभाना र ट्रम्पका ३ सन्तान थिए । यसमा डोनाल्ड जूनियर, छोरी इभान्का र कान्छो छोरा एरिक समावेश छन् । विवाहको ८ वर्षपछि मात्रै उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो ।

सन् १९८५ मा ट्रम्पले मोडल मार्ला म्यापल्सलाई टेनिस खेलको क्रममा भेटेका थिए । यसपछि अफेयर सुरु भयो ।

सन् १९८९ मा इभाना क्रिसमस बिदा बिताउन एस्पेन, कोलोराडो पुगिन् । मार्ला म्यापल्स पनि त्यहाँ थिइन् । मार्लाले इभानासँग आफ्नो परिचय दिइन् र भनिन्– ”म मार्ला हुँ, म तिम्रो श्रीमान्‌लाई माया गर्छु, के तिमी पनि उसलाई माया गर्छौ ?”

इभानाले आफ्नो पुस्तकमा लेखेकी छिन्– यो प्रश्न सुनेर म छक्क परेँ । मैले तुरुन्तै भनेँ– यहाँबाट जानुहोस् । म मेरो श्रीमान्‌लाई माया गर्छु। मैले मार्लालाई जवाफ दिएँ तर, म स्तब्ध भएँ। केही समयपछि मैले ट्रम्पसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेँ ।

ट्रम्प र इभानाको झगडा देशभर चर्चित भयो । हरेक दिन ट्रम्प, इभाना र मार्लासँग सम्बन्धित समाचार पत्रपत्रिकामा हेडलाइन बने । यसैबीच, अखबारमा एउटा हेडलाइनले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको थियो, जसमा लेखिएको थियो- ‘ट्रम्पसँग मेरो जीवनको सबैभन्दा राम्रो शारीरिक सम्बन्ध थियो’ मार्लाले मिडियालाई बताएकी थिइन् ।

जसका कारण ट्रम्प–इभाना मुद्दा अदालतमा तानिएको थियो । इभानाले ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी थिइन् । उनीहरुको सम्बन्धविच्छेद सन् १९९० को डिसेम्बरमा भएको थियो । त्यतिबेला ट्रम्पले इभानालाई करिब ५० करोड रुपैयाँ तिर्नुपरेको थियो ।

त्यसपछि ट्रम्पले मार्लासँग विवाह गरे । मार्ला त्यतिबेला ७ महिनाकी गर्भवती थिइन् । दुई महिनापछि ट्रम्पको चौथो सन्तान टिफनीको जन्म भयो । तर, मार्ला र ट्रम्पबीचको सम्बन्ध ३ वर्ष मात्र टिक्यो । दुबैले सन् १९९७ मा सम्बन्धविच्छेद गरेका थिए ।

सम्बन्धविच्छेदपछि न्यूओर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा मार्लाले भनिन्, ‘मैले बिहे गर्न चाहेको व्यक्ति डोनाल्ड थिएनन् । ट्रम्प र उनको संसार मेरो लागि एलियन थियो । अलग भएकोमा म धेरै खुसी छु।’

मार्लासँग सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको बेला ट्रम्पले स्लोभेनियाली मोडल मेलानिया नाउसलाई भेटेका थिए । पोलिटिकोको रिपोर्टका अनुसार यी दुईबीच पहिलो भेट सन् १९९८ मा न्यूयोर्कमा एउटा पार्टीको क्रममा भएको थियो । यहाँ ट्रम्पले मेलानियासँग उनको फोन नम्बर पनि मागेका थिए ।

सन् २००४ मा मेट गालामा ट्रम्पले मेलानियालाई प्रस्ताव राखेका थिए । दुबैले २२ जनवरी २००५ मा विवाह गरे । मेलानिया र ट्रम्पको ब्यारोन नामको छोरा पनि छन् । सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेपछि मेलानिया अमेरिकाको प्रथम महिला पनि बनेकी थिइन् ।

ट्रम्पको व्यक्तिगत जीवन निकै विवादमा परेको छ । ट्रम्पको सम्बन्ध मोडलसँग मात्र नभई पोर्न स्टारसँग पनि थियो । उनको निर्दयी मनोवृत्तिका कारण कम्तीमा १८ महिलाले उनीमाथि यौन शोषणको आरोप लगाएका थिए ।

व्यापारिक जीवन – गगनचुम्बी भवनदेखि क्यासिनो व्यवसायसम्म

डोनाल्डले आफ्नो जेठो दाई फ्रेड जूनियरको निर्णयका कारण सबै प्रसिद्धि र विरासत प्राप्त गरे । वास्तवमा जुनियरले आफ्नो बुबाको व्यवसायमा सामेल हुन अस्वीकार गरेका थिए । उनी पाइलट बने । जसका कारण ट्रम्प परिवारको व्यापार सम्हाल्ने सम्पूर्ण जिम्मेवारी कान्छो भाइ डोनाल्ड ट्रम्पको काँधमा पुग्यो । यस समयमा उनी केवल १८ वर्षको थिए ।

ट्रम्पका अनुसार पिताले उनलाई कम्पनीमा आबद्ध हुनुअघि १० लाख डलर ऋण दिएका थिए । कम्पनीमा आबद्ध भएपछि ट्रम्पले आफ्नो बुबालाई न्यूयोर्क शहरमा आवासीय परियोजनामा मद्दत गर्न थाले।

उनले कम्पनीको नाम परिवर्तन गरेर द ट्रम्प अर्गनाइजेसन राखे । २५ वर्षको उमेरमा डोनाल्ड ‘द ट्रम्प अर्गनाइजेसन’को अध्यक्ष बने । राष्ट्रपति बनेपछि सन् १९७० र १९८० को दशकमा ट्रम्प महत्वाकांक्षी घरजग्गा व्यवसायीको रूपमा उभिए ।

ट्रम्पले कम्पनीलाई आवासीय परियोजनाका साथै लक्जरी होटल, क्यासिनो र गगनचुम्बी भवन निर्माणमा लगानी गरेका थिए ।

सन् १९७६ मा ट्रम्पले आफ्नो व्यावसायिक जीवनको सबैभन्दा ठूलो निर्णय लिएका थिए । उनले न्यूओर्कको टाट पल्टिएको कमोडोर होटल किने र त्यसको ठाउँमा विलासी होटल निर्माण गर्न हयात समूहसँग सम्झौता गरे । तर, त्यसबेला ट्रम्पसँग यसका लागि पर्याप्त पैसा थिएन ।

यस समयमा उनले आफ्नो बुबाको राजनीतिक प्रभावको फाइदा उठाए । बुबा डेमोक्रेटिक पार्टीसँग आवद्ध थिए। उनले न्यूओर्कका मेयरसँग सम्झौता गरे र होटल करमा ४० वर्षको छुट पाए । त्यसपछि ट्रम्पको बारेमा भनिएको थियो कि उनी न्यूयोर्कमा जे चाहन्छन् त्यही हासिल गर्छन् ।

यसपछि सन् १९८३ मा ट्रम्पले न्यूयोर्क शहरको म्यानह्याटनको फिफ्थ एभिन्यूमा ५८ तले भवन निर्माण गरेका थिए । यसलाई ट्रम्प टावर भनिन्छ ।

ट्रम्प ८० को दशकमा क्यासिनो व्यवसायमा प्रवेश गरेका थिए । उनले सन् १९८४ मा ट्रम्प प्लाजा र १९९० मा ट्रम्प ताजमहल जस्ता क्यासिनो बनाएका थिए । ट्रम्पले ताजमहल क्यासिनो बनाउन १ अर्ब डलर खर्च गरेका थिए । त्यसपछि उनले यसलाई संसारको आठौं आश्चर्य भने ।

तर, ट्रम्प त्यसो गर्दा टाट पल्टिए भए । उनले आफ्ना दुई कम्पनीलाई टाट पल्टिएको घोषणा गरेका छन् । उनको यो निर्णयका कारण अमेरिकामा उनको निकै खिल्ली उडाइएको थियो ।

केही वर्षपछि न्यूओर्क टाइम्सले ट्रम्पको बारेमा लेख्यो – ट्रम्प सफलताको यति समानार्थी बनेका छन् कि उनका कम्पनीको टाट पल्टाइले पनि उनको प्रतिष्ठा कम गर्न सकेन । हुनसक्छ अरूलाई लागू हुने नियम ट्रम्पमा लागू हुँदैनन्…

सन् १९९९ मा डोनाल्डका पिता फ्रेड ट्रम्पको निमोनियाका कारण मृत्यु भएको थियो ।

घरजग्गा व्यवसायी हुनुका साथै ट्रम्पले आफूलाई सेलिब्रेटीको रुपमा पनि जनतासामु प्रस्तुत गरेका छन् । प्रसिद्धि हासिल गर्न डोनाल्ड ट्रम्पले सन् १९९६ मा मिस युनिभर्स, मिस यूएसए र मिस टिन युएसए गरी तीनवटा सौन्दर्य प्रतियोगिता किनेका थिए ।

मिस युनिभर्स अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुन्छ । संसारभरका मिडिया यसलाई कभर गर्न आउँछन् । यसबाट ट्रम्पले पूरा फाइदा उठाए र विश्व स्तरमा चिनिए ।

तर, सन् २०१५ मा राष्ट्रपति बन्नुअघि ट्रम्पले ल्याटिन अमेरिकीविरुद्ध जातिय टिप्पणी गरेका थिए, जसका कारण टिभी च्यानलहरूले सौन्दर्य प्रतियोगिता कार्यक्रम प्रसारण गर्न अस्वीकार गरेका थिए । यसपछि ट्रम्पले तीनवटै प्रतियोगिता बेचेका थिए ।

ट्रम्प सन् २००४ मा टिभी रियालिटी शो ‘द एप्रेन्टिस’ मार्फत सेलिब्रेटी बनेका थिए । ट्रम्प आफैँले आयोजना गरेका थिए । शोमा छनोट भएका प्रतियोगीले ट्रम्प अर्गनाइजेसनमा म्यानेजमेन्ट ठेक्का पाउँछन् । यसका लागि ट्रम्पले प्रतियोगीलाई प्रश्न गर्थे ।

ट्रम्पले प्रश्नको सही जवाफ दिन नसक्ने जो कोहीलाई तपाईं निकालिएको भन्दै बर्खास्त गर्थे । यो पञ्च लाइनले उनलाई अमेरिकाको हरेक घरघरमा चिनाएको थियो । यस ट्रम्प शोको १४ सिजन प्रसारण गरिएको थियो । यस शो मार्फत ट्रम्प एक प्रसिद्ध मिडिया व्यक्तित्व बने ।

ट्रम्पले हलिउड फिल्म र सिरिजमा पनि अभिनय गरेका छन् । ट्रम्पले पहिलो पटक सन् १९८९ मा ‘गोस्ट्स कान्ट डु इट’ मा अभिनय गरेका थिए । यो फिल्ममा उनले आफ्नै भूमिका निर्वाह गरेका छन् । यसबाहेक उनले ‘होम अलोन २: लस्ट इन न्यूयोर्क’, ‘द लिटिल रास्कल’, सेक्स एन्ड द सिटी जस्ता करिब ३० फिल्म र सिरिजमा काम गरे ।

ट्रम्पले कुस्तीको संसारमा पनि आफूलाई चिनाएका छन् । न्यूओर्क टाइम्सकाअनुसार, उनले १९८८ र १९८९ मा रेसल मनिया प्रायोजित गरे । उनी १९९१ र २००४ मा डब्ल्यूडब्ल्यूईमा पनि देखा परेका थिए ।

यस बाहेक उनी सन् २००७ मा डब्ल्यूडब्ल्यूईका पूर्व सीईओ भिन्स म्याकमोहनसँग बिलियनेयरको युद्धमा पनि लडेका थिए । यस अवधिमा ट्रम्पले म्याकमोहनको टाउको खौरेका थिए। यसरी ट्रम्पले आफूलाई सेलिब्रेटी अनुहारका रूपमा जनतासामु प्रस्तुत गरे ।

राजनीतिक जीवन 

ब्रिटानिकाको रिपोर्टका अनुसार ट्रम्पले सन् १९८० को दशकदेखि नै राष्ट्रपतिको दौडमा सामेल हुने विषयमा बयान दिइरहेका थिए । तर, ट्रम्पका यी भनाइलाई पब्लिसिटी स्टन्टका रूपमा हेरिएको थियो । ट्रम्प सुरुमा रिपब्लिकन पार्टीको दर्ता मतदाता थिए ।

तर, सन् २००० मा ट्रम्पले रिपब्लिकन पार्टीको सट्टा रिफर्म पार्टीमा दर्ता गराए । सन् २००० मा उनले आफूलाई रिफर्म पार्टीबाट राष्ट्रपतिको उम्मेदवार घोषणा गरे । तर, चार महिनापछि नाम फिर्ता लिए ।

ट्रम्प पछि फेरि रिपब्लिकन पार्टीमा सामेल भए । सन् २०१२ मा ट्रम्पलाई एक पटक फेरि राष्ट्रपति पदको उम्मेदवारको लागि बलियो दावेदार मानिएको थियो  ।

ट्रम्पले राष्ट्रपतीय चुनाव लड्ने कुनै घोषणा नगरेपनि बारम्बार तत्कालीन राष्ट्रपति बाराक ओबामाको अमेरिकी जन्मको बारेमा प्रश्न उठाएका थिए । यसबाट ट्रम्पले धेरै हेडलाइन पाए ।

ट्रम्प सन् २०१५ मा आधिकारिक रूपमा अमेरिकी राजनीतिमा प्रवेश गरेका थिए । उनले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा चुनाव लड्ने घोषणा गरे । ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नाराका साथ चुनावी अभियान सुरु गरेका थिए ।

रिपब्लिकन पार्टीको प्राथमिक चुनावमा, ट्रम्पले फेब्रुअरी २०१६ को प्रारम्भमा आयोवामा पराजयको सामना गरे, तर चाँडै उनले पुनरागमन गरे र अन्य राज्यहरूमा प्राइमरी जित्न सफलता पाए ।

मे २०१६ ट्रम्प उनका अन्तिम दुई प्रतिद्वन्द्वी टेड क्रुज र जोन कासिच दौडबाट बाहिरिएपछि रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार बने ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । ट्रम्पले चुनावमा हिलारीको तुलनामा करिब २८ लाख कम भोट पाएका थिए तर, धेरै इलेक्टोरल भोट ट्रम्पको पक्षमा आएका थिए । जसका कारण सन् २०१७ मा ट्रम्प अमेरिकाको राष्ट्रपति बने ।

राष्ट्रपति बनेपछि ट्रम्पले आप्रवासीप्रति कडा रवैया अपनाएका थिए । आफ्नो कार्यकालमा ट्रम्पले अमेरिका र मेक्सिको सीमामा पर्खाल बनाउने योजनामा ​​काम सुरु गरेका थिए ।

राष्ट्रपति हुँदा ट्रम्पले धेरै मुस्लिम देशका आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । ट्रम्पले राष्ट्रपति रहँदा अर्बपतिलाई फाइदा गरेको आरोप पनि लागेको थियो । ट्रम्पले २०१७ मा कर कटौती र रोजगार ऐन लागू गरे । यसमार्फत ठूला कम्पनी र धनी व्यक्तिका लागि कर कटौती गरिएको थियो ।

राष्ट्रपति हुँदा ट्रम्पलाई दुई पटक महाभियोग लगाइएको थियो । सन् २०१९ मा पहिलो महाभियोग युक्रेनका राष्ट्रपतिलाई जो बाइडनमाथि छानबिन गर्न दबाब दिने सम्बन्धमा थियो, जबकि दोस्रो महाभियोग सन् २०२१ मा क्यापिटल दंगापछि उक्साएको आरोपमा थियो । दुबै पटक उनी सिनेटमा निर्दोष भए ।

ट्रम्पले विदेश नीतिमा अमेरिका फर्स्टको नीतिलाई जोड दिएका छन् । उनले पेरिस जलवायु सम्झौता र इरान आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए । राष्ट्रपति रहँदा ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनसँग पनि कुराकानी गरेका थिए ।

ट्रम्प राजनीतिमा आएपछि रिपब्लिकन पार्टीमा धेरै व्यक्ति थिए जसले कुनै पनि हालतमा समर्थन नगर्ने बताएका थिए तर अन्ततः उनीहरूले ट्रम्पलाई समर्थन गर्नुपर्‍यो ।

अमेरिकी राजनीति विशेषज्ञ जेरेमी पिटर्सले आफ्नो पुस्तक ‘इन्सर्जेन्सी’ मा ट्रम्प राजनीतिज्ञ नहुनु नै उनको सबैभन्दा ठूलो हतियार भएको भनेका छन् । ट्रम्पको जस्तो बयान अरु कुनै नेताले दिएको भए उसको राजनीति नै समाप्त हुने थियो ।

वास्तवमा, ट्रम्पलाई राजनीतिको बारेमा राम्रोसँग थाहा थिएन । त्यसैले उनले बिना डर ​​आफ्नो विचार व्यक्त गरिरहे । उनले पहिले आक्रामक बयान दिएर रूढिवादी मतदातालाई अपील गरे । उनले गर्भपतन जस्ता मुद्दामा यस्तो बयान दिए जुन जर्ज बुश र मिट रोमनी जस्ता अनुभवी रिपब्लिकन नेताहरूले चुपचाप आवाजमा पनि भन्न सकेनन् ।

ट्रम्पले अमेरिकामा गर्भपतन अधिकारसम्बन्धी निर्णयलाई उल्टाउने न्यायाधीशहरू नियुक्त गर्ने खुलासा गरे । पछि ट्रम्पले पनि त्यस्तै गरे । यही कारण हो कि लाखौं रिपब्लिकन ट्रम्पको समर्थनमा एकजुट भए ।

यस्तो अवस्थामा सन् २०२० को चुनाव हारे पनि कुनै पनि रिपब्लिकन नेताले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा बदल्न सकेनन् । ट्रम्पले पहिले पार्टीमा आफ्ना विपक्षीलाई एकएक गरी पराजित गरे र त्यसपछि सन् २०२४ को चुनावमा राष्ट्रपतिको उम्मेदवारको रूपमा आफ्नो स्थान सुरक्षित गरे ।

उनी कमला ह्यरिसलाई हराउँदै तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्दै दोस्रो पटक विजयी भए । ह्वाइट हाउसमा उनको दोस्रो कार्यकाल कस्तो हुन्छ ? हेर्न बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register