खटपटको हल्लापछि कांग्रेस-एमालेले संयन्त्र बनाएका हुन् ?

त्यसो त कांग्रेस-एमालेबीच खटपट सुरु भएको चर्चा फैलिन थालेको छ । यसपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्‌‌‌ले ‘कांग्रेस-एमालेबीच कुनै खटपट नभएको र सरकार पूरै अवधि जाने’ भनेर प्रष्टोक्ति दिँदै हिँडेका छन् ।

Nov 7, 2024 - 11:57
 0
खटपटको हल्लापछि कांग्रेस-एमालेले संयन्त्र बनाएका हुन् ?

काठमाडौं । सत्ता चलाइरहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकार सफल बनाउन भन्दै ८ सदस्यीय संयन्त्र बनाएका छन् ।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य आरजू राणा देउवा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल छन् ।

प्रदेशमा समेत संयन्त्र विस्तार गर्ने र त्यसले मूलत: सरकारलाई सफल बनाउन काम गर्ने नेताहरूले बताएका छन् ।

त्यसो त कांग्रेस-एमालेबीच खटपट सुरु भएको चर्चा फैलिन थालेको छ । यसपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्‌‌‌ले ‘कांग्रेस-एमालेबीच कुनै खटपट नभएको र सरकार पूरै अवधि जाने’ भनेर प्रष्टोक्ति दिँदै हिँडेका छन् ।

अर्कोतिर प्रमुख सत्ता साझेदार कांग्रेसभित्र नेतापिच्छेका धारणा छन् । संसद् अधिवेशन अन्त्य नहुँदासम्म कांग्रेस नेताहरूले संसद्‌भित्रै उभिएर सरकारको आलोचना गर्थे । मन्त्रिमण्डलमै रहेका कांग्रेस नेता बद्री पाण्डेले त पार्टी बैठकमा सरकारले जनअपेक्षित काम गर्न नसकेको ब्रिफिङ गरेका थिए ।

यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संसद्‌भित्रै सरकारले बढी कुरा मात्रै गर्न थालेको उल्लेख गर्दै ‘कुरा कम, काम बढी’गर्नुपर्ने बताएका थिए ।

यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयुबारे ‘अनावश्यक’ रूपमा जवाफ दिन खोजिरहेका छन् ।

यसपछि सत्ता साझेदार दुई मुख्य दल कांग्रेस-एमालेबीच खटपट भएको त होइन ? भन्ने आशङ्का सतहमा देखिरहँदा संयन्त्र बनेको छ ।

संयन्त्र खास केका लागि बनेको हो ? कांग्रेस-एमाले नेताहरूले सरकारको सफलताका लागि भनेका छन् । तर, अर्कोतिर खटपट सुरु भएपछि संयन्त्र बनाइएको हो भन्ने चर्चासमेत सुरु भइसकेको छ ।

यसबारे जिज्ञासा राख्दा एमाले नेता राजेन्द्र गौतमले भने, “सरकारमा रहेका दलहरू कांग्रेर र एमालेबीच कुनै खटपट छैन । सरकार स्मूथ्ली चलिरहेको छ र चल्छ । यो संयन्त्रको काम आवश्यक समन्वय गरी सरकारलाई सफल बनाउन सहयोग गर्ने हो ।”

कांग्रेस नेता मीन विश्वकर्मा पनि संयन्त्र मूलत: सरकारकै सफलताका खातिर बनेको बताउँछन् । “सरकारले दलहरूका बीचमा समन्वय गर्ने र सरकारलाई सफल बनाउने हो,” उनले भने ।

उनको थप व्याख्या छ, “दुई ठूला दल मिलेर बनेको सरकार छ । त्यसका प्रति जनतामा अलिक बढी नै अपेक्षा पनि छ । त्यसलाई मर्न नदिन र न्यूनतम साझा कार्यक्रमअनुसार काम गर्नका लागि यो संयन्त्र बनेको हो । हामीले यसबारे पहिल्यै सोचेका थियौँ, अहिले बनेको हो । तर, खटपट सुरु भएपछि बन्यो भन्ने होइन ।”

सरकारलाई संयन्त्रले कसरी सफल बनाउँछ ?

नेताहरू संयन्त्रले असोज २ गते सार्वजनिक न्यूनतम साझा कार्यक्रमअनुरूप काम गर्ने बताउँछन् ।

कांग्रेस महामन्त्री गगन थापा र प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य डा. प्रकाशशरण महत तथा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल सम्मिलित कार्यदलले बनाएको ८ बुँदे न्यूनतम साझा कार्यक्रममा राष्ट्रिय हितको रक्षा, सन्तुलित परराष्ट्र नीति, संविधानको रक्षा, कार्यान्वयन र संशोधन, सुशासनको प्रत्याभूति र गुणस्तरीय सेवा प्रवाह, गतिशील अर्थतन्त्रको विकास, सामाजिक न्याय, हरेक क्षेत्रमा युवालाई प्रोत्साहन, सङ्क्रणकालीन न्यायलाई प्राथमिकता, जलवायु परिवर्तनमा ध्यानलगायत कार्यक्रमलाई मुख्य रूपमा उठाइएको छ ।

यिनै कार्यक्रमलाई जनता र समयसापेक्षित तथा सरकारले चाहेको समयमा लागू गर्न सकिनेखाले वातावरण संयन्त्रले बनाउने प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका संयन्त्रका सदस्य विष्णु रिमालले बताए ।

यसबारे संयन्त्रका अर्का एक सदस्य भन्छन्, “कांग्रेस-एमालेबीच सबै कुरामा एउटै धारणा हुँदैन । फरक पार्टी, फरक एजेन्डा; कहिलेकाहीँ समस्या पनि हुनसक्छ । बाहिरी हल्लाअनुसार नै खटपट भइहाले पनि यो संयन्त्रले थम्थमाउँछ । संयन्त्रले समन्वय गरेर गरिएका बाचाअनुरूप काम गर्न सहयोग गर्छ ।”

  • सम्बन्धित सामग्री

कांग्रेस-एमाले गठबन्धनको औचित्य खै ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register