डेढसय वर्ष पुरानो मन्दिर राजाका पाइलटको नाममा ! भक्तजन निषेध, निकालिए पुजारी

डेढसय वर्ष पुरानो मन्दिर र तीन रोपनी जग्गा अहिले व्यक्तिको नाममा छ । काठमाडौं बबरमहलको जग्गा वीरगन्जबाट राजीनामा पास गरी राजाका पाइलट गोपाल श्रेष्ठको नाममा आएको देखिन्छ । काठमाडौंमा रहेको जग्गा वीरगन्जबाट कसरी राजीनामा पास भयो ?

Nov 16, 2024 - 01:17
 0
डेढसय वर्ष पुरानो मन्दिर राजाका पाइलटको नाममा ! भक्तजन निषेध, निकालिए पुजारी

काठमाडौं । काठमाडौंको मुटु बबरमहल भित्र थापाथली कुरियागाउँमा अवस्थित डेढसय वर्ष पुरानो लक्ष्मीनारायण मन्दिर र जग्गा व्यक्तिको कब्जामा पुगेको छ ।

तत्कालीन गुठीको नाममा रहेको जग्गा अहिले व्यक्तिको कब्जा गरेपछि भक्तजन मन्दिर प्रवेशबाट वञ्चित भएका छन् ।

गुठीको अर्बौँ पर्ने मूल्यवान् जग्गा औपचारिक रूपमै व्यक्तिको नाममा छ । वर्ष दिनअघि जिल्ला अदालत काठमाडौंबाट भएको एक फैसलाले मन्दिरको जग्गा राजीनामा पास भइसकेको भन्दै व्यक्तिकै हुने भनेको छ ।

राजगुठीको लगत भएको सो जग्गा मालपोत कार्यालय वीरगन्जबाट राजीनामा पास गरी राजा वीरेन्द्र शाहको पाइलट गोपाल श्रेष्ठको थियो । अहिले सो जग्गा वीरेन्द्रका पाइटल गोपाल श्रेष्ठको छोरा जयपाल श्रेष्ठको नाममा छ ।

रोचक कुरा त के भने काठमाडौंमा रहेको जग्गा वीरगन्जबाट कसरी राजीनामा पास भयो भन्ने छ । यो विषयमा अदालतको फैसला भने गोलमटोल छ ।

बबरमहल भित्र थापाथली कुरियागाउँमा अवस्थित डेढसय वर्ष पुरानो लक्ष्मीनारायण मन्दिर

गुठीको जग्गा व्यक्तिको नाममा कसरी ?

लक्ष्मीनारायण मन्दिर डेढसय वर्षभन्दा पुरानो हो । ऐतिहासिक मन्दिरसहित त्यस वरपरको करिब साढे तीन रोपनी जग्गा अहिले राजा वीरेन्द्रका पाइलटका परिवारले राज गर्दै आएका छन् ।

नापी कार्यालय काठमाडौंमा सीट नम्बर ११, १०२, ११४५, १८ कित्ता नम्बर ५५, क्षेत्रफल ३ रोपनी ६ आना, ३ दाम ३ पैसा रहेको सो जग्गामा मन्दिर, केही टहरा खाली जमिन र केही रुख बिरुवा छन् ।

मन्दिरको अगाडि बिसं १९४९ सालको शिलालेखमा समेत छ । जहाँ लक्ष्मीनारायणको मन्दिर र त्यसको गुठी रहेको भनी उल्लेख छ । मन्दिर डेढसय वर्ष पुरानो भए पनि शीलालेख अलि पछि बिसं १९४९ सालमा राखिएको बबरमहलका स्थानीयहरू बताउँछन् ।

डेढसय वर्ष पुरानो लक्ष्मीनारायण मन्दिरमा रहेको बिसं १९४९ सालमा राखिएको शीलालेख

काठमाडौंमा रहेको सो जग्गा व्यक्तिका नाममा वीरगन्जबाट राजीनामा पास भएको देखिन्छ । यसले पनि किर्ते गरेर व्यक्तिको नाममा ल्याइएको आशंकालाई बल मिलेको छ ।

२०२० मंसिर ५ गते मालअड्डाबाट पारित लिखतमा लक्ष्मीनारायण रहेको फूलबारीसहितको पर्खाल चारै दिशातिर घेरेको भनी उल्लेख छ  ।

विभिन्न दस्ताबेजअनुसार काबिल मार्ग ब्लक नम्बर ६० स्थित कित्ता ५५ घर जग्गामा रहेको मन्दिर र यस वरपरको जग्गा पूर्वराजा वीरेन्द्रका चालक (पाइलट) गोपाल श्रेष्ठको नाममा नामसारी भएको थियो ।

गोपाल श्रेष्ठबाट उनकी श्रीमती इन्दिरा श्रेष्ठको नाममा आएको रेकर्ड भेटिन्छ । पछि उनका छोरा जयपाल श्रेष्ठका नाममा नामसारी भएको छ ।

श्रेष्ठ परिवारले वर्षौँदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएका थिए । यहाँ भिएस निकेतन, मेरी पपिन्स हुँदै हाल त्रैविद्या शिक्षा सदन भाडामा बस्दै आएका थिए ।

पछिल्लो पटक मेरी पपिन्स स्कुल २०७५ सम्म जयपाल श्रेष्ठसँग भाडा सम्झौता गरेर बसेको थियो । त्यसपछि त्रैविद्या शिक्षा सदन भित्रियो ।

२०७७ मा स्कुलले जयपाल श्रेष्ठसँग सम्झौता गर्न लाग्दा मानेनन् । आपसी मेलमिलाप र विश्वास चल्न भन्दै पन्छिए, मासिक १ लाख ८७ हजार भाडा मात्र लिइरहे । उनले सम्झौता गर्न नमान्नुको कारण जग्गा विवादित थियो । अहिले जयपालले सो जग्गामा बनेको टहरामा रहेको स्कुल हटाएर खाली गरेका छन् ।

लक्ष्मीनारायण मन्दिरको जग्गा व्यक्तिले आफ्नो नाममा ल्याएपछि भवन संरचना बनाएर स्कुललाई भाडामा दिएको थियो ।

भक्तजन निषेध, पुजारी निष्कासन

पुरातात्त्विक महत्त्व बोकेको यो ऐतिहासिक मन्दिर अहिले भक्तजनका लागि बन्द छ । मन्दिरमा पूजा गर्ने पुजारीलाई समेत निकालिएको छ, जसले गर्दा स्थानीयवासी र धर्मावलम्बीहरू आक्रोशित छन् ।

यो जग्गा गुठीकै नाममा ल्याउन पहल भए पनि सुस्त छ । सार्वजनिक जग्गा अतिक्रमण भएको विषयमा गठित जाँचबुझ आयोग उक्त जग्गा गुठीका नाममा ल्याउन गुठी संस्थानलाई निर्देशन दिन सुझाव दिएको थियो  ।

अनधिकृत रूपमा व्यक्तिका नाममा गुठीको जग्गा पारित गर्ने मालपोत कार्यालय, पर्साका कर्मचारीहरू र जमिनको स्वामित्व ग्रहण गर्ने व्यक्तिमाथि भ्रष्टाचारको आरोपमा कारबाही गर्न अख्तियारमा पत्राचार गर्नुपर्ने सुझाव आयोगको थियो ।

सरकारले सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गरेको विरुद्ध कारबाही प्रक्रिया अघि बढाउन मातहतका कार्यालयलाई निर्देशन दिए पनि प्रक्रिया अघि बढेको छैन । १० माघ २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो जग्गा गुठीकै नाममा ल्याउन चारवटा निकायलाई सरकारले पत्र लेखेका थिए ।

लक्ष्मीनारायण मन्दिरको जग्गा व्यक्तिले आफ्नो नाममा ल्याएपछि भवन संरचना बनाएर स्कुललाई भाडामा दिएको थियो ।

वडा नम्बर ११ को वडाध्यक्ष धर्मराज भट्टराई भन्छन्, ‘जग्गा गुठीको भन्ने वडामा कुनै डकुमेन्ट छैन । तर, गुठीले जग्गा हाम्रो हो भनेको अवस्थामा जिल्ला अदालतले फैसला गरेको छ । पुनरावेदनमा गएका छन् । केही निर्णय आउला ।’

मन्दिर र गुठीको जग्गालाई पुरानै स्वरूपमा फर्काउन आफू पनि गुठी संस्थानको दाबी छ । तर, काठमाडौं जिल्ला अदालतको ०८० मङ्सिर २७ गतेको निर्णयले जग्गा ब्यक्तिकै रहेको भनेको छ । अर्बौँ पर्ने सरकारी जग्गा सेटिङको भरमा व्यक्तिको नाममा पुगेको सरोकारवालाको आरोप छ ।

मन्दिरबाट निष्कासित भएका पुजारी केदार पौडेल भन्छन्, ‘ऐतिहासिक प्रमाण र दस्ताबेज भएको मन्दिर कसरी व्यक्तिको नाउमा गयो ? पुनरावेदनमा गाएका छौँ ।’

जबकि काठमाडौँको जग्गा वीरगन्ज मालपोतबाट राजीनामा नै पास हुने कुरा नै किर्ते भएको उनको तर्क छ ।
सो निर्णयविरुद्ध अहिले उच्च अदालत पाटनमा पुनरावेदनमा मुद्दा चलिरहेको छ ।

लक्ष्मीनारायण मन्दिरका भित्रको मूर्ती

पीडित भक्तजन सङ्गठित, मुद्दा पुनरावेदनमा

सयौँ वर्षदेखि मन्दिरमा प्रवेश गर्दै आएका स्थानीयवासी बिहान–बेलुका जान नपाउँदा अहिले भने दुखी छन् । पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस सङ्गठित भएका छन् । उनीहरूले अहिले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

यो मन्दिर ऐतिहासिक घटनासँग सम्बन्धित रहेको पुरुषोत्तमशम्शेरले लखेको पुस्तक ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ नामक पुस्तकमा समेत उल्लेख छ । लखनऊ लुटका नामले चर्चित भारतीय घटनामा त्यहाँका राजा रणजीत सिंह मुसलमानको आक्रमणमा परका थिए ।

उनकी रानीले आफूलाई बचाउन भनी तत्कालीन राणा शासक जङ्गबहादुरसँग हारगुहार मागिन् । जङ्गबहादुरले रानीलाई ल्याएर थापाथलीस्थित प्रसूति गृह नजिकै राखे । तिनै रानीले राजस्थानी शैलीमा लक्ष्मीनारायण मन्दिर बनाएको विषय पुरुषोत्तमशम्शेरले पुस्तकमा उल्लेख छ ।

स्थानीयवासी, सर्वमङ्गल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुट्दै आएका छन् । मन्दिरमा भक्तजन निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register