दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि भएन पूरा

गलकोट । निर्माण व्यवसायीले समयमै काम गरेको भए अहिले बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्र भइसक्थ्यो । गाउँपालिकाले पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि उक्त सडक अझै अधुरै छ । सम्झौताको पाँच वर्ष बित्दा पनि सडक कालोपत्र हुन नसक्दा स्थानीयलाई यात्रा गर्न सास्ती भएको […]

Dec 17, 2024 - 06:27
 0
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि भएन पूरा

गलकोट । निर्माण व्यवसायीले समयमै काम गरेको भए अहिले बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्र भइसक्थ्यो । गाउँपालिकाले पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि उक्त सडक अझै अधुरै छ । सम्झौताको पाँच वर्ष बित्दा पनि सडक कालोपत्र हुन नसक्दा स्थानीयलाई यात्रा गर्न सास्ती भएको छ । उक्त सडक बरेङ–शान्तिपुर जाने यात्रुले पनि प्रयोग गर्दै आएका छन् ।

विसं २०७६ जेठ २६ गते तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथोपटक म्याद थप गर्दा पनि सम्पन्न हुनसकेको छैन । हाल उक्त सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छ । उक्त सडकमा बिच्छयाइएको ग्राभेल बर्खाको पानीले बगाएको हो । उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर नगएको काठेखोला –७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु नौ करोड लागत अनुमान गरिएको सडक कालोपत्रको ठेक्का रु छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो । उक्त सडक कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरवाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठ २६ गते सकिएको निर्माण व्यवसायीले चौथोपटक म्याद थप गरेर आगमी चैतसम्मलाई पुर्याएको छ ।

काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन गरेको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिए । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नफर्किँदा समस्या भएको छ ।

कोरोना, भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काममा ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताए । उनले केही समयमै सडक कालोपत्र गर्ने दाबी गरे । सडकको सुरुआत एक्लेखेतमा रु पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ ।
अहिले रेश जाने सडक धुलाम्मे छभने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा भत्किएको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीयको भनाइ छ । –रासस–

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register