विदेशको जागिर छोडेर नेपालमा च्याउखेती, वार्षिक १२ लाख आम्दानी ! 

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइ कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।  सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन बिताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष […]

Nov 27, 2024 - 02:35
 0
विदेशको जागिर छोडेर नेपालमा च्याउखेती, वार्षिक १२ लाख आम्दानी ! 

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइ कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । 

सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन बिताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको गुप्ताले बताएका छन् । 

उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक रु १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उनीहरुले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन् । च्याउ बजारमा थोकमा प्रतिकेजी रु एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई रु एक सय ५० मा बिक्री गर्ने गरेको उनले बताएका छन् । ‘च्याउ बिक्रीका लागि बजारको समस्या छैन ।’, उनले भने, ‘उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरा लगायतमा पुग्ने गरेको छ ।’ 

तत्कालीन समयमा रु ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ । 

मासिक तलबमा काम गर्नेले मासिक रु १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले रु पाँच सय काम गरिरहेका छन् । ‘व्यापार भएकाले सधैँ एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ ।’, उनले भने, ‘च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।’

च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताए । उनका अनुसार हाल दैनिक तीन सय ५० केजीसम्म च्याउ बिक्री भइरहेको छ । साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उनको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उनले बताए । ‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुृने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न ।’, रोशनले भने ।

उनले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान पाएका थिए भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले रु ९० हजार अनुदान दिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register