नेपाल प्रिमियर लिगको पहिलो संस्करण आजदेखि, भव्य उद्घाटन हुँदै

काठमाडौं । नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण, नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण आजदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २० दिनसम्म चल्ने यो प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एनपीएलको विशेष आकर्षण भनेको नेपालका राष्ट्रिय खेलाडीहरूसँगै १६ विभिन्न देशका ४० अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता हो । भारतीय सुपरस्टार शिखर धवन र अस्ट्रेलियन अलराउन्डर […]

Nov 30, 2024 - 00:47
 0
नेपाल प्रिमियर लिगको पहिलो संस्करण आजदेखि, भव्य उद्घाटन हुँदै

काठमाडौं । नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण, नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण आजदेखि सुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २० दिनसम्म चल्ने यो प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएलको विशेष आकर्षण भनेको नेपालका राष्ट्रिय खेलाडीहरूसँगै १६ विभिन्न देशका ४० अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता हो ।

भारतीय सुपरस्टार शिखर धवन र अस्ट्रेलियन अलराउन्डर बेन कटिङ जस्ता दिग्गज खेलाडीले लिगलाई अझै ग्ल्यामरस बनाएका छन् ।
उद्घाटन खेलमा आज विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
एनपीएलका लागि कीर्तिपुर मैदानको बाउन्ड्री बढाउनेदेखि डिजिटल स्कोर बोर्ड, नयाँ विकेटसम्म बनाइएका छन् ।

एनपीएल आयोजनाले नेपाली समर्थक मात्रै हैनन खेलाडी पनि उत्तिकै उत्साहित छन् ।

मार्की खेलाडीदेखि अक्सनमा खेलाडी लिन हानाथाप नै भएको थियो ।


आठ टोलीको प्रतिस्पर्धा

प्रतियोगितामा सहभागी हुने आठ टोली :

  1. विराटनगर किंग्स
  2. जनकपुर बोल्ट्स
  3. चितवन राइनोज
  4. काठमाडौं गुर्खाज
  5. पोखरा एभेन्जर्स
  6. लुम्बिनी लायन्स
  7. कर्णाली याक्स
  8. सुदूरपश्चिम रोयल्स

सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि मैदानमै खेलिने छन् ।


टिकट मूल्य र प्रसारण

प्रतियोगिताको उद्घाटन खेलको टिकट भिआइपीका लागि ७ सय र साधारणका लागि ३ सय रुपैयाँमा तोकिएको थियो, जुन सबै बिक्री भइसकेका छन्। अन्य खेलहरूको टिकट दर यस प्रकार छ:

  • लिग खेलहरू: साधारण – ३ सय, भिआइपी – ५ सय
  • प्लेअफ खेलहरू: साधारण – ५ सय, भिआइपी – ७ सय
  • फाइनल खेल: साधारण – ५ सय, भिआइपी – १ हजार

लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्क मा हेर्न सकिनेछ भने एक्सन स्पोर्ट्स एचडी युट्युब च्यानलमा पनि उपलब्ध हुनेछ।


पुरस्कार र आकर्षण

विजेता टोलीको पुरस्कार घोषणा हुन बाँकी भए पनि नेपाली खेलाडीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ६२ लाख रुपैयाँ बराबरको ओमोडा इ–५ कार प्रदान गरिनेछ ।

यो पुरस्कारले नेपाली खेलाडीहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।


एनपीएलको महत्व

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो फ्रेञ्चाइज लिग नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय छवि निर्माणका लागि कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

विश्वभरका खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटप्रेमीलाई नयाँ अनुभव दिनेछ भने नेपाली युवा खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा सिक्ने ठूलो अवसर हुनेछ ।

एनपीएलको यो सुरुवातले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने आशा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register