अर्थतन्त्रकै आधार बन्दै आईएमई रेमिट्यान्स, पर्यटनसँगै जलश्रोतमा फड्को मार्दै ढकाल

२०४१ सालमा उच्च शिक्षा पढन काठमाडौं आउँदा उनको साथमा एक सय रुपैयाँ पनि थिएन । २०४५ सालमा वाणिज्यशास्त्रमा स्नातक गरेपछि उनी केही समय राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापाल पनि भए । अन्ततः २०५० सालमा बैंकको जागिर छाडेर उनले व्यवसायमा हात हाले ।

Nov 30, 2024 - 08:17
 0
अर्थतन्त्रकै आधार बन्दै आईएमई रेमिट्यान्स, पर्यटनसँगै जलश्रोतमा फड्को मार्दै ढकाल

काठमाडौं । रेमिट्यान्स, फाइनान्स र केबलकार सेवासँगै चम्किएका व्यवसायी चन्द्रप्रसाद ढकालले अब नेपालका लागि अति आवश्यक जलश्रोतको सदुपयोगतर्फ ध्यान केन्द्रित गरिरहेका छन् ।

पछिल्ला वर्ष विविध आयामका व्यवसायमा झन् बढी रफ्तार र योजनाका साथ सक्रिय उद्योगी-व्यवसायीका नेता ढकालको जोश र सक्रियता लोभलाग्दो मात्र हैन, गर्व गर्नलायक पनि छ ।

तत्काल लाभ हुने क्षेत्रको साटो देशलाई आवश्यक, हितकारी र जनताले खोजेका परियोजनामा जोखिम मोलेरै लगानी गरेर ढकालले आईएमई समूहलाई देशको समग्र अर्थतन्त्रकै दरिलो स्तम्भका रूपमा स्थापित गराएका छन् ।

हुन त एलन मस्क, मार्क जुकरबर्ग, स्टिभ जब्स या मुकेश अम्बानी र अडानीका जीवनी पढेर उनीहरूलाई नै उद्यमी-व्यवसायीका आदर्श मान्नेहरुको यहाँ कमी छैन । ढकालले भने आफ्नै माटोको सुगन्ध मिश्रित सफलताको उदाहरणीय मानक प्रस्तुत गरेका छन् ।

आफ्नो ‘भिजन’, कटिबद्धता, कठोर परिश्रम र निरन्तरताको आधारमा सामान्य आर्थिक अवस्थाबाट फड्को मार्दै कसरी एउटा व्यक्तिले श्रीवृद्धि र सफलताको ‘चन्द्रागिरी’ चुम्छ र एउटा व्यापारिक समूहको पहलबाट समग्र अर्थतन्त्रमै कसरी उल्लेखनीय योगदान पुग्दोरहेछ भन्ने ‘चन्द्र उदाहरण’ले समृद्ध नेपाल निर्माणको आशा पनि सँगसँगै बढाएको छ । ‘समृद्ध नेपालका सारथि, अर्थतन्त्रका अडिलो आधार’का रूपमा ढकालको पहिचान कायम भएको छ, यो खुसीको कुरा हो ।

आइएमई यस्तो समूह हो, जसले देशका लागि आवश्यक योजनालाई प्राथमिकता दिँदै आएको छ । आईएमई समूहको लगानीका क्षेत्र फराकिला हुँदैछन्, जसअन्तर्गत अहिले रेमिट्यान्स, केबलकार, जलविद्युत्, बैंक तथा वित्तीय संस्था, बीमा, होटल तथा रिसोर्ट, पर्यटन पूर्वाधार विकास, सूचना प्रविधि, ट्राभल, उत्पादनमूलक उद्योगलगायतका क्षेत्रमा लगानी विस्तार भएको छ ।

आईएमई अर्थतन्त्रकै आधार

देशको समग्र अर्थतन्त्रकै दरिलो आधार स्तम्भ बनेको रेमिट्यान्स सेवालाई घर-घरमा पुर्‍याउने ऐतिहासिक भूमिका निर्वाह गरेका चन्द्र ढकालले यसका लागि जुन मेहनत गरे, त्यो ‘काबिले तारिफ’ छ । उनको सफलताको कथा उद्योग-व्यवसायमा आउन चाहने हरेक युवाका लागि प्रेरणादायी छ । उनी अब ‘मोटिभेसनल आइकन’ भइसकेका छन् ।

बाग्लुङको अमलाचौर गाविस–४ कुंडहरमा जन्मिएका ढकालले तरुणवय टेक्दै गर्दा पीताको निधन भयो । पारिवारिक जिम्मेवारी सम्हालेका उनले गाउँकै स्कूलबाट एसएलसी परीक्षा उतिर्ण गरे ।

२०४१ सालमा उच्च शिक्षा पढन काठमाडौं आउँदा उनको साथमा एक सय रुपैयाँ पनि थिएन । २०४५ सालमा वाणिज्यशास्त्रमा स्नातक गरेपछि उनी केही समय राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापाल पनि भए । अन्ततः २०५० सालमा बैंकको जागिर छाडेर उनले व्यवसायमा हात हालेका हुन् ।

कोल्ड स्टोर, कार्गो व्यवसायमा सफलता प्राप्त गरेपछि ढकालले सन् २००१ मा ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आईएमई) स्थापना गरे । प्रारम्भिक दिनमा आईएमईले नेपालीका लागि भर्खर कामदार खुला गरिएको मलेसियाको केन्द्रीय बैंकबाटसमेत स्वीकृति लिएर त्यहाँका चार–पाँच ठाउँबाट सेवा सुरु गर्‍यो भने नेपालमा काठमाडौं, पोखरा, बुटवललगायतका मुख्य शहरमा २४ घण्टाभित्र रकम बुझ्ने व्यवस्था मिलाइएको थियो । अहिले नेपाली कामदार भएका सबै मुलुकमा आईएमई सेवा छ । नेपालका चोक, गल्ली, डबली जताततै आईएमईका काउन्टर छन् ।

आईएमई स्थापनाकालको एउटा प्रसँग यहाँ उल्लेखनीय छ । त्यसबेला आईएमईका अध्यक्ष ढकालले मासिक २० लाख डलर रेमिट्यान्स भित्र्याउने भन्दा राष्ट्र बैंकका एकजना वरिष्ठ अधिकृतले सार्वजनिक कार्यक्रममै ‘अति महत्त्वाकाङ्क्षी योजना, डुब्ने खतरा’ भनेका थिए ।

अहिले आईएमईमार्फत मासिक २ सय मिलियन डलर रेमिट्यान्स भित्रिइरहेको छ । सानो काउन्टरबाट आइएमई कम्पनी स्थापना हुँदा सुरुको पुँजी १ करोड मात्रै थियो । अहिले यो पुँजी सय गुणा बढेर १०० करोडभन्दा बढी पुगेको छ । कम्पनीको पुँजीसँगै कारोबार पनि ह्वात्तै बढेको छ ।

अहिले त विप्रेषण (रेमिट्यान्स) देशको समग्र अर्थतन्त्रकै बलियो आधार बनेको छ । नेपाल राष्ट्र बैंकले २०५६ सालतिर रेमिट्यान्स कारोबार गर्न कम्पनीहरुलाई लाइसेन्स बाँडन थाल्दा सुरुमा प्रतिव्यक्ति १५ हजार रुपैयाँ रेमिट्यान्स पठाउँथे भने अहिले प्रतिव्यक्ति १ लाख ५० हजार पुगेको छ ।

राष्ट्र बैंकका अनुसार पहिलो वर्ष बैंकिङ प्रणालीबाट ४७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो, जुन कुल ग्राहस्थ उत्पादनको ११ प्रतिशत थियो । आर्थिक वर्ष २०६२-६३ सम्म पुग्दा वार्षिक करिब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रन थाल्यो । अहिले वार्षिक १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ, जुन जीडीपीको करिब २३ प्रतिशत हो । आर्थिक वर्ष २०५६-५७ मा करिब २४ प्रतिशत घरपरिवारले मात्रै रेमिट्यान्स प्राप्त गर्थे । यो संख्या बढेर अहिले ७६ दशमलव ८ प्रतिशत पुगेको छ ।

२०८१ साउन ३० बाट आइएमईले जीएमई रेमिटलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ । अब नेपाल भित्रिने वार्षिक १४ खर्ब रेमिट्यान्समध्ये ५० प्रतिशत हिस्सा आइएमई समूह अन्तर्गतका संस्थाको रहने देखिन्छ ।

नेपाल भित्रिने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा आइएमई र ग्लोबल आइएमई बैंकको हुने भएकै कारण नेपाल राष्ट्र बैंकले आईएमईलाई ‘धेरैभन्दा धेरै रेमिट्यान्स ल्याउने कम्पनी’का रुपमा सम्मान गरिसकेको छ ।

हिजोआज त ‘आइएमई भनेकै रेमिट्यान्स र रेमिट्यान्स भनेकै आइएमई’जस्तो भएको छ । विप्रेषणतर्फ राज्यलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा पनि आईएमईले सम्मान पाइसकेको छ ।

बैंक र वित्तको बहार

आईएमईपछि चन्द्र ढकालले सफलता पाएको अर्को क्षेत्र हो, बैंक तथा वित्त । कुनैबेला वाणिज्य बैंकमा सहायक लेखापाल रहेका ढकाल अहिले ग्लोबल आईएमई बैंकका अध्यक्ष छन् । यो देशकै ठूलो चुक्ता पुँजी भएको र राज्यको नीतिलाई छिटो कार्यान्वयनमा लैजाने बैंकको रुपमा परिचित छ ।

वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, रेमिट्यान्स, डिजिटल वालेटजस्ता व्यवसायमा आएएमईको उपस्थितिले यो समूहको देशव्यापी नेटवर्क बलियो रहेको स्पष्ट गर्छ ।

२० हजारभन्दा बढी प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिँदै आएको आईएमई समूहले रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको छ ।

ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आईजीआई प्रुडेन्सिएल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालयन पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, मौलाकाली केबलकार, लुम्बिनी केबलकार, पाथीभरा केबलकार, जाल्पादेवी केबलकार, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीमा आईएमई समूहको लगानी छ, जसले समग्र अर्थतन्त्रलाई नै बलियो टेवा प्रदान गरेको छ ।

पर्यटन पूर्वाधारमा फड्को

नेपालमा पर्यटकीय गन्तव्य निर्माणमा निजी क्षेत्रको लगानी खासै देखिँदैन । प्रकृतिले दिएका हिमाल, पहाड, ताल, झर्ना, राष्ट्रिय निकुञ्ज र वन्यजन्तुबाहेक नयाँ पर्यटकीय गन्तव्यको खोज, पहिचान, विकास र विस्तारका अपार सम्भावना छन् । यसैलाई ध्यानमा राखेर पर्यटन पूर्वाधारमा लगानी विस्तार गरिरहेका ढकाल अहिले सातवटै प्रदेशमा केबलकारसहितका नयाँ पर्यटकीय गन्तव्य निर्माणमा सक्रिय छन् ।

काठमाडौंनजिकैको चन्द्रागिरी डाँडा अहिले धेरैको आकर्षण र अवलोकनको केन्द्र बनेको छ । पृथ्वीनारायण शाहले जुन डाँडोमा आएर उपत्यकालाई नियालेका थिए र काठमाडौंलाई राजधानी बनाउने संकल्प गरेका थिए, अहिले सोही डाँडोमा सप्ताहन्त मनाउने या रमाउनेको ताँती लाग्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार केबलकार चढेर चन्द्रागिरीमा सुस्ताउन पुग्छन् र कविताका पङ्क्तिसमेत कोर्छन् । राष्ट्रपति हुँदा विद्यादेवी भण्डारी पनि चन्द्रागिरि पुगेकी थिइन् । भारतीय बाबा रामदेवले त चन्द्रागिरीमै योग प्रशिक्षण शिविर चलाएका थिए । अरबका सेखदेखि अन्य विदेशी पाहुनासमेत एकपटक केबलकार चढेर चन्द्रागिरी पुग्ने गरेका छन् ।

भालेश्वर महादेवको दर्शन, उत्तरतिरका हिम श्रृंखलाको अवलोकन, चित्लाङसम्मको घुमघाम, रिसोर्टमा नाइट क्याम्पसम्मका सम्भावना बढायो, चन्द्रागिरी केबलकारले । थानकोटबाट १२ मिनटमै मानिस यस्तो ठाउँमा पुग्नसक्छन्, जहाँ बादलसँग लुकामारी खेल्न या हिउँमा लडीबुडी गर्न सकिन्छ । केबलकार पुग्नासाथ त्यो समग्र सेरोफेरो नै अहिले व्यस्त पर्यटकीय गन्तव्य बनेको छ ।

केबलकारकै कारण चन्द्रागिरि डाँडा दक्षिणतिरका चित्लाङ, मार्खुको पर्यटकीय सम्भावना बढेको छ । पौराणिक मान्यताअनुसार पिता दक्षप्रजापतिको यज्ञकुण्डमा हाम फालेर जलेकी सतिदेवीको लाश बोकेर महादेव चन्द्रागिरी पर्वत आएका थिए । सतिदेवीको भाल पतन भएर महादेव उत्पत्ति भएको भनिएको ठाउँमा भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ, जसका कारण त्यहाँ धार्मिक पर्यटनले पनि बढावा पाएको छ ।

नेपालमा पर्यटन विकासबारे एउटा परम्परागत सोचबाट हामी अझै मुक्त हुन सकेका छैनौं । ‘पर्यटक भनेका विदेशी मात्र हुन्’ भन्ने सोचलाई केन्द्रमा राखेर सरकारले पनि हरेक वर्ष यति लाख पर्यटक भित्र्याउने भन्दै योजना अघि सार्ने गरेको छ । व्यवसायी चन्द्र ढकालले समुद्र पारीबाट मात्र हैन, सिमा जोडिएका भारत र चीनबाटसमेत पर्यटक ल्याउन सकिने सम्भावनालाई पर्यटनसँग जोडने निधो गरे र नयाँ नयाँ गन्तब्यको सम्भावना खोज्न थाले ।

केबलकार यस्तो माध्यम हो, जसको उतार र चढाव केन्द्र नै पर्यटकीय गन्तव्य बन्न सक्छ । आमजनतालाई सिधै फाइदा वा सेवा पुग्ने, सरकारले प्राथमिकतामा राखेका र व्यवसायको रूपमा अघि बढाउन सम्भावना भएका क्षेत्रमा लगानी गदै आएका ढकालले आन्तरिक र छिमेकी मुलुकका पर्यटकलाई केन्द्रमा राखेर पर्यटकीय गन्तव्यको निर्माणमा ध्यान केन्द्रित गरिरहेका छन् । यही उद्देश्य बमोजिम पूर्वी नवलपरासीको गैंडाकोट, कास्कीको सिकलेस, रुपन्देहीको बुटवलदेखि पाल्पाको वसन्तपुर, प्युठानको स्वर्गद्वारी र कर्णाली चिसापानीको राजडाँडामा केबलकारसहितको गन्तव्य बनाउने योजना साकार हुँदैछ ।

त्यसैगरी पूर्वी नेपालको ताप्जेजुङ्ग जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल पाथिभरामा केबलकार निर्माणको काम सुरु भइसकेको छ । बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्म संचालन भइरहेको लुम्बिनी केबलकारका कारण अहिले त्यो क्षेत्रमै नयाँ रौनक छाएको छ । भारत, गोरखपुरसम्मका पर्यटक गर्मी छल्न बुटवल आउने र केबलकारबाट वसन्तपुर पुगी शीतल हावामा रमाउने क्रम बढ्दो छ । लुम्बिनी केबलकारकै कारण वसन्तपुर क्षेत्र नयाँ पर्यटकीय हब बन्दैछ । केवलकारसँगै वसन्तपुरमा निर्मित कामाक्षा देवीको मन्दिर धार्मिक पर्यटकको आकर्षणको थलो बनिरहेको छ । अहिले त्यहाँ होटल, रेष्टुरेन्ट, फनपार्क सञ्चालनमा छन् ।

एक दिनकै ड्राइभमा बुटवल आएर वसन्तपुर घुमिवरी फर्किन सकिने भएकाले भारतीय पर्यटकको लर्को लागेको देख्न सकिन्छ । भारतीय पर्यटकलाई लक्षित गरेर सीमा आसपास पर्यटकीय गन्तव्य निर्माण गर्ने आईएमई अवधारणा साकार हुने हो भने समग्र पर्यटन विकासमै यसको विशेष योगदान हुने देखिन्छ ।

जलविद्युत् उत्पादनमा जमर्को

नेपालको आर्थिक समृद्धिको अर्को आधार हो, जलश्रोत । नेपालले जलश्रोतको भरपुर उपयोग गरी उत्पादित विद्युत् भारतदेखि बंगलादेशसम्म बिक्री गर्ने सम्भावनाको ढोका खुलिसकेको छ । बंगलादेशमा त विद्युत् निर्यात पनि प्रारम्भ भइसकेको छ । विद्युत् ऊर्जा अब नेपालकै समृद्धिको आधार बन्नसक्ने सम्भावनाको हेक्का राख्दै आईएमई समूहले पनि जलविद्युत् परियोजनामा लगानी गरिरहेको छ ।

आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालिले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित कालीगण्डकी नदीमा ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्दैछ ।

सन् २०२४ बाट निर्माण थालेर चार वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाबाट वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादन बाट २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने बताइन्छ ।

यसैगरी ८६ मेगावाटको तिप्याङ कालिगण्डकी जलविद्युत् आयोजना पनि निर्माणाधिन छ । यसैगरी यो समूहको लगानाीमा हिमालयन पावर पार्टनरमार्फत २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना, माउन्टेन इनर्जीमार्फत ४२ मेगावाटको मास्त्रिखोला जलविद्युत् आयोजना र माउन्टेन इनर्जीमार्फत ५ मेगावाटको नादी जलविद्युत् आयोजना अहिले सञ्चालनमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register