चीनबाट फर्किएलगत्तै भारत भ्रमणको तयारीमा जुटे प्रधानमन्त्री ओली

भारतबाट निमन्त्रणा नआएको कारणले ओली चीनको चार दिने औपचारिक भ्रमणमा निस्किएका थिए । उक्त भ्रमणबाट २० मंसिरमा स्वदेश फर्केलगत्तै उनले भारत भ्रमणको संकेत दिएका थिए ।

Dec 13, 2024 - 15:59
 0
चीनबाट फर्किएलगत्तै भारत भ्रमणको तयारीमा जुटे प्रधानमन्त्री ओली

काठमाडौं । चीन भ्रमणबाट हालै स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा जुटेका छन् । परराष्ट्र स्रोतका अनुसार पुसको तेस्रो वा अन्तिम साताभित्र भारत भ्रमण हुने अपेक्षा गरिएको छ ।

यसअघि भारतले निमन्त्रणा नदिएपछि प्रधानमन्त्री ओलीले चीनलाई प्राथमिकता दिएका थिए ।

यदि भारतबाट निमन्त्रणा आएको भए, उनी पहिलो भ्रमण भारतमै गर्ने तयारीमा थिए ।

तर, निमन्त्रणा नआएको कारणले उनी चीनको चार दिने औपचारिक भ्रमणमा निस्किएका थिए । उक्त भ्रमणबाट २० मंसिरमा स्वदेश फर्केलगत्तै उनले भारत भ्रमणको संकेत दिएका थिए ।

भारतलाई मनाउन ओलीको तयारी

प्रधानमन्त्रीको भ्रमण तयारीलाई सहज बनाउन परराष्ट्रमन्त्री डा. आरजु राणा (देउवा) पुस ३ गते दिल्ली जाने तयारीमा छन् ।

हाल युरोप भ्रमणमा रहेकी राणा त्यहीँबाट भारत जानेछिन् । दिल्लीमा आयोजना हुने इन्डो–नेपाल इकोनोमिक कन्फरेन्सका क्रममा उनी भारतीय विदेशमन्त्री एस. जयशंकरलगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछिन् ।

मुख्य एजेन्डा भने प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी नै रहने बताइएको छ ।

स्रोतले भन्यो, ‘दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा भारतीय विदेशमन्त्रीसँग उच्चस्तरीय भेटघाट गर्ने र प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा छलफल गर्ने कुरो छ ।’

यसअघि परराष्ट्रमन्त्री राणा गत भदौमा भारत भ्रमणमा गएकी थिइन् ।  प्रधानमन्त्री मोदीसँग भएको आधा घण्टाको भेटले दुई देशबीचको सम्बन्धलाई महत्व दिएको संकेत गरे पनि त्यसबेला प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिइएको थिएन ।

ओलीको भ्रमणको तयारीसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि दिल्ली पुगेका छन्। यसले दुई देशबीचको उच्चस्तरीय संवादको वातावरण बन्दै गएको आभास गराएको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल बनाउने लक्ष्यसहित परराष्ट्रस्तरमा गृहकार्य तीव्र पारिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register