०८४ वैकल्पिक राजनीतिको हो !

वैकल्पिक शक्तिका रुपमा अहिले जे हुँदै छ, यी सब प्रयोग हुन् । बालेन, विवेकशील, रास्वपा यी सब प्रयोगमध्ये कुन ०८४ मा सफल हुनेछ, त्यो समयले बताउने छ । तर, ०८४ नयाँ दल, नयाँ अनुहारले हाँक्ने छ । वडादेखि सङ्घसम्म नयाँ अनुहारले हाँक्ने छन् । 

Jan 13, 2025 - 10:56
 0
०८४ वैकल्पिक राजनीतिको हो !

१९६२ मा ई.एम. रोजर्सले ‘डिफ्युजन अफ इनोभेसन’ सिद्धान्तमार्फत समाजमा नयाँ कुरा कसरी स्थापित हुन सक्छ भन्ने विषयलाई व्याख्या गरे । रोजर्सका अनुसार, कुनै पनि परिवर्तनका लागि समाजलाई मुख्यतः पाँच प्रकारका समूहमा विभाजन गर्न सकिन्छ ।

पहिलो समूह– संवाहक (इनोभेटर) हो, जसले कुनै पनि विचार, आइडिया वा मुद्दाको सुरुवात गर्छन् । नेतृत्व लिन्छन् । यो समूहले नै परिवर्तनको थालनी गर्छन् र अभियानको सुरुवात गर्छन् । समाजमा परिवर्तन ल्याउन यो समूहको जनसङ्ख्या करिब २.५ प्रतिशत हुनुपर्छ भनेर रोजर्सले तर्क गरेका छन् ।

दोस्रो समूह– शीघ्र समर्थक (अर्ली एडप्टर) हो, जसले परिवर्तनको विचारलाई सजिलै आत्मसात् गर्छ । परिवर्तन सफल बनाउनका लागि यो समूहको जनसङ्ख्या करिब १३.५ प्रतिशत आवश्यक पर्छ। यिनीहरूसम्म विचार पुर्‍याउन सकेमा धेरै मेहनत गर्नुपर्दैन । यो समूह आफैँ त्यो आइडियासँग जोडिन्छ ।

तेस्रो समूह– सहज बहुमत (अर्ली मेजोरिटी) हो, जसको सङ्ख्या करिब ३४ प्रतिशत हुन्छ । यिनीहरू परिवर्तनलाई सहज रूपमा समर्थन गर्छन् तर, नेतृत्वदायी भूमिका खेल्न खासै इच्छुक हुँदैनन् । यदि कुनै विचारले सफलता पाएको प्रमाण देखेमा मात्रै यिनीहरू समर्थन गर्न अघि बढ्छन् ।

चौथो समूह- असहज समर्थक (लेट मेजोरिटी) हो, जसले परिवर्तन सफल भइसकेपछि मात्रै साथ दिन्छ । समाजमा यो समूह पनि करिब ३४ प्रतिशत हुन्छ ।

अन्तिम समूह- असमर्थक (लागार्ड्स) हो, जसले परिवर्तनलाई स्विकार्न सक्दैन । यो समूह परिवर्तनलाई या त अस्वीकार गर्छ, वा प्रतिरोध गर्छ । यो समूह करिब १६ प्रतिशत हुन्छ ।

यो सिद्धान्तलाई अझ एउटा उदाहरणबाट बुझौँ, जब नयाँ मोबाइल एप, जस्तै टिकटक, सुरुमा बजारमा आउँछ, धेरै थोरै मानिसले मात्र यसबारे थाहा पाउँछन् । यी मानिसलाई “अर्ली एडप्टर” भनिन्छ, जसले नयाँ कुरा पहिले नै प्रयोग गर्न मन पराउँछन् । यो समूह नयाँ प्रविधि र ट्रेन्डप्रति निकै उत्साहित हुन्छ । यो एप बनाउने, आइडिया लगाउनेलाई त संवाहक (इनोभेटर) भनिने भइहाल्यो ।

पछि, “अर्ली मेजोरिटी” भनिने ठूलो समूह सामेल हुन्छ, जसले आफ्ना साथी वा वरपरका मानिसले प्रयोग गरिरहेको देखेर यसलाई अपनाउँछन् । त्यसपछि “लेट मेजोरिटी” अर्थात् ढिलो गर्ने समूह सामेल हुन्छ । यी मानिस सुरुमा नयाँ प्रविधिप्रति शङ्का गर्छन्, तर जब सबैजसोले प्रयोग गरिसकेका हुन्छन्, तबमात्र सामेल हुन्छन् ।

अन्तमा, “लगार्ड्स” अर्थात् यो समूहका मानिसले अझै पनि त्यो विचारलाई प्रतिरोध गरिरहेका हुन्छन् । एपकै हकमा पनि यी मानिस प्रायः प्रविधि वा नयाँ कुराप्रति खासै रुचि राख्दैनन् र यसले समाजमा नकारात्मक प्रभाव पर्छ भनेर यो आइडियाकै विरोध गरिरहेका हुन्छन् ।

यसरी, कुनै पनि नयाँ विचार, प्रविधि, वा प्रवृत्ति बिस्तारै सुरुमा केही मानिसबाट सुरु भएर, समयक्रममा धेरै समूहमा फैलिन्छ ।

यही सिद्धान्तअनुसार पनि यदि साढे दुई प्रतिशत नागरिक सङ्गठित भएर एउटा आइडियामा उभिन सके समाजमा नयाँ कुरा स्थापित हुन्छ । अहिले पनि मोटामोटी रुपमा यो सिद्धान्तलाई आधार मान्न सकिन्छ तर, अहिले कुनै पनि नयाँ कुरा फैलिन लाग्ने समय प्रविधिको कारणले छोटो भएको छ । निकै छोटो भएको छ ।

यो देशमा अहिले केही कुरा निश्चित छैन केवल एउटा कुरा मात्र निश्चित भनिएको छ – त्यो हो, अबको प्रधानमन्त्री, शेरबहादुर देउवा । अनि, कुन युवा उत्साहित भएर देश बस्ने ? किन बस्ने ? अनि, यति धेरै अनिश्चितताबीच आशा जगाउन कुन नेताले, कुन पार्टीले के गरेको छ ? कोहीसँग उत्तर छ ? 

त्यसैले पनि, आजको दिनमा युवाका लागि २०८४ आफैँमा आशा हो । ०८४ पुग्न अघि, वैकल्पिक राजनीतिको चर्चा गरिरहँदा, ६९ सालमा फर्कनै पर्छ, उज्ज्वल थापालाई सम्झिनै पर्ने हुन्छ । ६२/६३ को आन्दोलनपछिको नयाँ राजनीति, नयाँ शक्ति थियो विवेकशील नेपाली । स्व.उज्ज्वल थापाले नयाँ संस्कार सहितको दलका लागी नेतृत्व लिनुभएको थियो । त्यही क्रममा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा ‘वाटर टेस्ट’का निम्ति उज्ज्वल थापासहित ४ जना युवा काठमाडौंका ४ क्षेत्रबाट कुकुर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रूपमा उठे । उनीहरूले करिब ३३ सय मत पाए । कहिले नदेखिएको, समाजमा खासै नभिजेका युवाले ल्याएको यो मत नै आजको स्वतन्त्र र नयाँ दलको मतको आधार थियो भनेर विश्लेषण गर्दा कसैलाई पनि अन्याय नहोला । 

त्यसपछि २०७४ सालमा काठमाडौंमा रञ्जु दर्शना र किशोर थापाले ल्याएको भोट र धनगढीमा गोपी हमालको स्वतन्त्र उम्मेदवारीले झन्डै थुतेको जितले वैकल्पिक राजनीतिलाई मलजल गरेको थियो । त्यस्तै, त्यही साल भएको प्रतिनिधिसभाको निर्वाचनमा विवेकशील साझा पार्टीले सवा दुई लाख मत ल्याएर झन्डैझन्डै राष्ट्रिय दल बनेको थियो । त्यसपछि, ०७९ सालमा बालेनहरूले स्वतन्त्र रूपमा जिते । रास्वपाले ११ लाख समानुपातिक मत ल्याएर २१ सिट जित्यो । ७० सालमा उज्ज्वल थापाले स्वतन्त्र उम्मेदवारका रुपमा कुकुर चुनाव चिन्ह लिएर बजाएको घण्टी र ठटाएको लौरोले आजको ग्राउन्डको आधार बनाएको थियो । 

यो क्रममा डा.बाबुराम भट्टराई र रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिलाई अझ छिटो नागरिकको माझ पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँहरूको सेलिब्रेटी अनुहारले वैकल्पिक राजनीति फैलिएको पनि हो । ०७२ सालमा संविधान बनाएर कांग्रेस-कम्युनिस्ट सफल भएको बेला अनि ७४ को वाम एकताको बेलामा आएको ती भोटको महत्त्व यो चरम निराशाको बेलामा आएको मतसँग तुलना गर्न नमिले पनि ०७० सालको ३३ सय मत, ७४ सालको सवा २ लाख मतको साँवा-ब्याज सहित ७९ सालमा ११ लाख बनेको हो ।

अब, आजको मूल प्रश्न, त्यो ११ लाख मत बढेर अब कति हुन्छ भन्ने नै हो । मत घट्न सक्दैन ? घट्दैन । 

मलाई यो मत घट्छ जस्तो लाग्दैन । अघिल्लो निरन्तर ३ निर्वाचन हेर्ने हो भने बढेकै देखिन्छ । मत, मतदातासँग जोडिएको हुन्छ, यो ३ वटा निर्वाचनको मतदाताको प्याटर्नले पनि देखाउँछ । ०८४ मा त झन् त्यो प्रखर भएर आउने देखिन्छ । आजको दिनमा समेत कुल मतदाताको करिब २१ प्रतिशत हिस्सा ओगट्ने जेनजी पुस्ता अङ्कगणितीय हिसाबले नै पनि निर्णायक शक्ति बनिसकेको छ । ०७८ सालको १२औँ राष्ट्रिय जनगणनाका अनुसार, नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये ४२.५५ प्रतिशत युवा छन्, जसमा जेनजी पुस्ता पनि समावेश छ ।

यो पुस्ता स्मार्ट छ, प्रविधि खेलाउँछ र छिटो बुझ्छ । इन्टरनेटको माध्यमबाट राजनीति नै हल्लाउने साहस राख्ने यो पुस्ताले आगामी ०८४ को निर्वाचनमा निर्णायक भूमिका खेल्दै छ । यो पुस्ताले परम्परागत निर्वाचन प्रणाली र प्रवृत्तिलाई बदल्न सक्ने ल्याकत संसारभरि नै राख्दै छ । जेनजीले सङ्घर्षको गफभन्दा पनि परिणाम खोज्छ । सङ्गठनभन्दा पनि क्षमता हेर्छ । त्यसैले, ०८४ मा कम्तिमा पनि अहिलेको भन्दा डबल मत वैकल्पिक राजनीतिले ल्याउने आकलन गर्न सकिन्छ । यो हावा विश्लेषण होइन, यो सामान्य गणितीय वैज्ञानिक आकलन नै हो ।

वैकल्पिक राजनीतिको मत घट्दैन, तर बाँडिन भने सक्छ । आज स्वतन्त्र उम्मेदवार बालेनहरू, संसद्को चौथो ठूलो दल रास्वपा र हिजोको वैकल्पिक राजनीतिको अगुवा विवेकशीललाई वैकल्पिक दलको रूपमा हेरिँदै छ । ०८४ मा यिनीहरूको स्वरूप कस्तो हुन्छ भन्न अहिले नै सकिँदैन । बालेनहरूले जितेको र रास्वपा स्थापना भएको साढे दुई वर्ष मात्र भयो, अझै ०८४ को निर्वाचन आउन ३ वर्ष बाँकी छ । त्यसैले पनि आजै के हुन्छ भनेर ठोकुवा गर्न सकिदैन ।

आज देशको प्रधानमन्त्रीलाई गएर भोलि के हुन्छ भनेर सोध्यो भने, उहाँले भन्न सक्ने अवस्था छैन । देश त परको कुरा, आफ्नै पार्टी अनि आफ्नै गुटमा के हुन्छ समेत भन्न सक्नु हुन्न । देउवा सरलाई काङ्ग्रेसमा के हुन्छ थाहा छैन । प्रचण्डलाई माओवादीको भविष्य थाहा छैन । रास्वपा अदालतको झ्याल ढुकेर बसेको छ । बालेन मेयरमै उठ्छन् वा पार्टी खोल्छन्, सायद उनलाई नै थाहा छैन भने हामीले पत्रिकामा विश्लेषण गर्न सक्ने कुरा भएन । त्यसैले पनि, देशको प्रत्येक पार्टी, प्रत्येक नेता आफैँ पनि, अहिले देशको राजनीतिक सङ्क्रमणकालमा हराइरहेका छन् ।

तर, ०८१ सालको पुस मसान्तमा बसेर ०८४ लाई नियाल्ने प्रत्यत्न गर्ने हो भने हामीले केही सङ्क्रमणकाललाई बुझ्न जरुरी छ । नेपाली समाज अहिले ३ प्रकारको सङ्क्रमणकालबाट गुज्रिदै छ । 

पहिलो, प्रत्येक घर, हाम्रो समाज र हाम्रो राजनीति पुरानो पुस्ताबाट नयाँ पुस्तामा सर्दै छ । जेनजीको बारे त माथि नै उल्लेख गरिसकेँ । यो पुस्ताले के सोच्छ, कसरी सोच्छ भन्ने कुरा महत्त्वपूर्ण छ । महत्वपूर्ण मात्र होइन, निर्णायक नै बन्दै छ ।

दोस्रो, पुरानो पार्टीबाट नयाँ पार्टीको सङ्क्रमणकाल । हिजोसम्म काङ्ग्रेस, एमाले, माओवादी भन्ने मात्र थियो । आज रास्वपा छ, सिके राउतको पार्टी छ । अन्य पार्टी पनि आउँदै छन् । समाज पुरानो पार्टीबाट नयाँ पार्टी – सङ्गठनमा सर्दै छ । यो कति, कसरी सर्छ भन्ने कुराले पनि धेरै कुरा निर्धारण गर्नेवाला छ ।

त्यस्तै, तेस्रो संसार पुरानो प्रविधिबाट नयाँ प्रविधिमा दिन दुई गुणा, रात चार गुणाको स्पीडमा सर्दै छ । ०८४  सम्म कस्तो प्रविधि आउँछ, त्यो हेर्न बाँकी छ। संसारभरिको राजनीतिमा प्रविधि हाबी हुँदै गरेको त हामीले देखिरहेका नै छौँ । 

यो तीनवटा सिफ्टले नेपालको राजनीतिक सङ्क्रमणकाल कता सोझिन्छ भन्ने निर्धारण गर्ने छ । साथै, ०८४ को ट्रेलर अनुमान गर्न अर्को ४ वटा दलीय प्रश्नको उत्तर पनि खोज्न आवश्यक छ । 

पहिलो, ०८४ को चुनावमा कस्तो वैकल्पिक पार्टीले नेतृत्व गर्छ ? के त्यो रास्वपा हो ? बालेनले पार्टी खोल्छन् वा स्वतन्त्रको के हुन्छ ? विवेकशीलले फेरि कम्ब्याक गर्छ ? वा, यी सबै मिलेर एक ठाउँमा आउँछन् ? यी प्रश्न आजको राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण छन् । यी प्रश्नको उत्तर स्पष्ट भए, वैकल्पिक उम्मेदवारबीच मत विभाजित नभए नेपालको पहिलो ठूलो दल वैकल्पिक दल बन्ने छ । यसमा कुनै द्विविधा छैन । तर, प्रश्न फेरी पनि जटिल छ । वैकल्पिक दल एउटा बनेर वा एउटा शक्तिशाली बनेर (वैकल्पिक अर्को भए निकै कमजोर हुन पर्‍यो) आउन सके ०८४ मा नयाँ अनुहारलाई कसैले रोक्न सक्दैन । 

दोस्रो राजनैतिक प्रश्नको उत्तर काङ्ग्रेसले दिन जरुरी छ । काङ्ग्रेसमा देउवाको विकल्पमा को आउँछ ? गगनहरू आउलान्, की नआउलान् ? गगन नै आए पनि देउवासँग लडेर आफ्नो नेतृत्व देखाउने गगन आउलान् वा शेर बहादुर २.० वाला गगन आउलान् ? यो काङ्ग्रेसका लागि मात्र होइन, पुराना दलको लागि नै महत्त्वपूर्ण प्रश्न हुनेछ। काङ्ग्रेसबाट वाक्क भएका लोकतान्त्रिक मत कता कसरी जान्छ वा काङ्ग्रेसमै थप सङ्गठित हुने माहोल बन्छ, त्यो हेर्न जरुरी छ । 

तेस्रो, वाम एकताको कुरा के हो ? कम्युनिस्ट पार्टीमा नयाँ नेता कोही आउने देखिएको छैन । आए पनि आशा जगाउने कोही देखिएको छैन । त्यसैले कम्युनिस्टको निर्वाचन फन्डा भनेको फेरि वाम एकता हो । त्यो फन्डा वा फन्दाले कति काम गर्न सक्ला, यसै भन्न सकिन्न । 

त्यस्तै, चौथो राजनैतिक प्रश्न भनेको मधेसका क्षेत्रीय दलहरूको के हुन्छ ? नागरिक उन्मुक्ति पार्टीको के हुन्छ ? यी दल कसरी स्थापित – विस्थापित हुन्छन्, त्यसले समेत ०८४ लाई प्रभाव पार्नेछ ।

यसरी ०८४ को निर्वाचन तीनवटा सिफ्ट अनि चार वटा राजनीतिक घटनाक्रममा निर्भर छ । यी प्रश्नको उत्तर जे आउँछ, त्यही हो ०८४ । पुराना दल सच्चिने सम्भावना छैन, बरु त्यहाँ भित्रका नयाँ पनि पुराना भैसकेका छन् । त्यसैले, ०८४ का लागि सशक्त वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हो । 

वैकल्पिक शक्तिका रुपमा अहिले जे हुँदै छ, यी सब प्रयोग हुन् । बालेन, विवेकशील, रास्वपा यी सब प्रयोगमध्ये कुन ०८४ मा सफल हुनेछ, त्यो समयले बताउने छ । तर, ०८४ नयाँ दल, नयाँ अनुहारले हाँक्ने छ । वडादेखि सङ्घसम्म नयाँ अनुहारले हाँक्ने छन् । 

‘डिफ्युजन अफ इनोभेसन’ को थ्योरीअनुसार पनि वैकल्पिक राजनीतिलाई स्वीकार गर्ने १२ प्रतिशत जमात भइसकेको छ । आउँदो निर्वाचनमा, अर्ली एडेप्टर- जेन जी र विश्व बुझ्दै गरेका सहज बहुमत (अर्ली मजोरिटी) को साथले वैकल्पिक राजनीति पहिलो बन्ने छ । ०८४ मा देशको प्रधानमन्त्रीको कुर्सीमा एउटा युवा, एउटा नयाँ अनुहार हुनेछ । किनकि, मिसन चौरासी, ओली बाको वा रास्वपाको होइन, देशको भविष्य कोर्ने जेनजी पुस्ताको हो ।

(पाण्डे, विवेकशील पार्टीका नेता हुन् )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register