साउदीले विश्वकप फुटबल आयोजना गर्ने अवसर पाएपछि उठेका सात प्रश्न

काठमाडौं । सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा आयोजना हुने भएको छ । सन् २०३४ को विश्वकप आयोजनाका लागि साउदीको छनोट फिफाको सबैभन्दा विवादास्पद निर्णयमध्ये एक हो । यसको कारण साउदीमा मानवअधिकारलाई लिएर उठिरहेको प्रश्न हो । तर, फिफा विश्वकप आयोजना गर्ने साउदीको निर्णयले धेरै आलोचकलाई चकित पारेको छ । फुटबलमा साउदीको लगानी र […]

Dec 17, 2024 - 08:19
 0
साउदीले विश्वकप फुटबल आयोजना गर्ने अवसर पाएपछि उठेका सात प्रश्न

काठमाडौं । सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा आयोजना हुने भएको छ । सन् २०३४ को विश्वकप आयोजनाका लागि साउदीको छनोट फिफाको सबैभन्दा विवादास्पद निर्णयमध्ये एक हो ।

यसको कारण साउदीमा मानवअधिकारलाई लिएर उठिरहेको प्रश्न हो । तर, फिफा विश्वकप आयोजना गर्ने साउदीको निर्णयले धेरै आलोचकलाई चकित पारेको छ ।

फुटबलमा साउदीको लगानी र त्यसबाट हुने नाफा कसैबाट लुकेको छैन । त्यसोभए विश्वकप आयोजनाले विश्व स्तरमा यो अरब राष्ट्रको प्रतिष्ठा बदल्छ कि यहाँ सामाजिक परिवर्तन ल्याउँछ ?

प्रतिस्पर्धाको सट्टा राज्याभिषेक ?

साउदीमा हुने विश्वकप फुटबलको आधिकारिक पुष्टि विगत एक वर्षदेखि औपचारिकता मात्रै जस्तो देखियो । अक्टोबर २०२३ मा यो स्पष्ट भयो कि कोही पनि साउदीसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछैन किनकि अस्ट्रेलियाले आफ्नो दाबेदारी फिर्ता लिएको थियो ।

फिफामा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको आलोचक बताउँछन् । सन् २०३० को विश्वकपलाई दुई महादेशमा विभाजन गरिएको छ । स्पेन, पोर्चुगल र मोरक्को उक्त विश्वकपको सह-आयोजक हुनेछन् ।

आलोचकहरूकाअनुसार फिफाको यो निर्णयले एसिया र ओशिनिया मात्रै सन् २०३४ को दौडमा रहेको स्पष्ट देखाएको छ ।

उल्लेखनीय छ कि हालैका समयमा फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनो र साउदी अरबबीच घनिष्ठ सम्बन्ध विकास भएको छ ।

भर्खरै साउदी अरेबियामा क्लब विश्वकप आयोजना भएको थियो र फिफाले साउदीको सरकारी तेल कम्पनी अरामकोसँग महत्वपूर्ण प्रायोजन सम्झौता गरेको छ ।

यसबाहेक साउदी सरकारको सार्वजनिक लगानी कोषले अर्को गर्मीमा फुटबल खेल देखाउने स्ट्रिमिङ प्लेटफर्म ‘DEZN’ मा ठूलो लगानी गर्ने हल्ला पनि छ ।

जब फिफाले गत महिना आफ्नो विश्लेषण रिपोर्ट प्रकाशित गर्‍यो । इन्फान्टिनोका उपमहासचिव म्याटियास ग्राफस्टोर्मले लेखेका थिए, ”यसले साउदी अरेबियाको बोलीलाई पाँच मध्ये ४.२ पोइन्ट दिएको थियो ।”

फिफाले विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगितालाई नयाँ क्षेत्रमा लैजाने आफ्नो जिम्मेवारी हो भन्ने अडान पनि लिन सक्छ ।

अन्य देश के भन्छन् ?

नर्वेको फुटबल महासङ्घले बोलपत्र प्रक्रिया फिफाको आफ्नै सुधारहरूविरूद्ध भएको बताएको छ ।

जर्मन सङ्गठनले ”आलोचनालाई गम्भीरतापूर्वक लिने तर, आगामी वर्षहरूमा स्थिति सुधार गर्न फिफासँग मिलेर काम गर्ने योजना रहेको” बताएको छ ।

बेलायती सङ्गठनले हालसम्म आफ्नो स्थिति स्पष्ट गरेको छैन । धेरैजसो आलोचना खेल मैदान बाहिरबाट भइरहेको छ । मार्चमा बेलायती अखबार गार्डियनले साउदीमा ठूलो संख्यामा बङ्गलादेशी आप्रवासीको अस्पष्ट मृत्युको प्रमाण फेला पारेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

साउदीले आफ्नो नियमको प्रतिरक्षा गरेको छ तर, फिफाले विश्वकप आयोजना गर्नुअघि धेरै ‘सुधार सर्तहरू’ पूरा गर्न दबाब बढाइरहेको छ ।

गत महिना एम्नेस्टीले फिफालाई भन्यो – ”यदि कार्यक्रम साउदीमा आयोजना गरियो भने प्रशंसकले भेदभावको सामना गर्नुपर्नेछ, नागरिकलाई जबरजस्ती निष्कासन गरिनेछ, विदेशी कामदारको शोषण हुनेछ र धेरै मानिसले ज्यान गुमाउनेछन् ।”

फुटबलमा साउदीको बढ्दो प्रभावको पनि विरोध भइरहेको छ । गत अक्टोबरमा सयभन्दा बढी पेशेवर महिला फुटबल खेलाडीले फिफालाई खुला पत्र लेखेर साउदी अरामकोलाई प्रायोजकको रूपमा हटाउन माग गरेका थिए ।

त्यहाँ पनि चिन्ता छ कि धेरै खेलाडीले साउदी प्रो लिगमा आफ्नो सहभागिता खतरामा पर्न सक्ने डरले बाहिर बोलिरहेका छैनन् ।

साउदीमा फुटबल विश्वकप कस्तो हुनेछ ?

साउदी अरेबिया फुटबल महासङ्घकाअनुसार यो कार्यक्रम ‘अत्यन्तै अचम्मको’ हुनेछ । विश्वकप खेलका लागि १५ वटा स्टेडियम बनाइने छ, जसमध्ये तीन निर्माणाधीन र आठ वटा सुरु हुन बाँकी रहेको बताइएको छ ।

यो पाँच शहरमा आयोजना हुनेछ, जसमध्ये एउटा निओम हो, जुन स्टेडियम निर्माण हुन बाँकी छ ।

यो विश्वकप पक्कै जाडो महिनामा हुनेछ । यो कार्यक्रम जनवरीमा वर्षको सुरुमा आयोजित गर्न सकिन्छ ताकि रमजान महिनासँग कुनै विवाद नहोस् ।

पीए समाचार एजेन्सीका अनुसार बेलायती र अन्य युरोपेली लिगले जाडोमा विश्वकप आयोजनाको विरोध गर्नेछन् । यद्यपि, सन् २०२२ मा कतार टूर्नामेन्ट अगाडि धेरै लिगले आफ्नो तालिका परिवर्तन गरेका थिए ।

खेलकुदमा प्रभुत्व स्थापित गर्न खोज्दै साउदी ?

धेरैका लागि साउदीमा विश्वकप आयोजना गर्नु अरू धेरै खेलमा देखाउन चाहेको शक्तिको अभिव्यक्ति हो ।

साउदीले सन् २०२१ देखि विभिन्न खेलकुद प्रतियोगितामा अर्बौं डलर लगानी गरेको छ । त्यस वर्ष राजकुमार मोहम्मद बिन सलमानले ‘भिजन २०३०’ अन्तर्गत देशको अर्थतन्त्रलाई नयाँ आकार दिने घोषणा गरेका थिए ।

त्यसयता देशले फर्मुला वान, स्पेनिस र इटालियन फुटबल कपको फाइनल, क्लब विश्वकप, बक्सिङ, गल्फ र इक्वेस्ट्रियन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

साउदीको सार्वजनिक लगानी कोषले लियो गल्फ शृङ्खला पनि सुरु गर्‍यो र चार साउदी प्रो लिग फुटबल क्लबहरू साथै युके क्लब न्युक्यासल युनाइटेड खरिद गरेको थियो ।

डेनिस संस्था प्ले द गेमको भर्खरैको रिपोर्टअनुसार साउदीमा फुटबल सङ्गठनहरूसँग ९०० भन्दा बढी प्रायोजन सम्झौता र दर्जनौं औपचारिक सम्झौता छन् ।

तर, फुटबल विश्वकप आयोजनाले साउदीको खेलकुद क्रान्तिलाई पूरै नयाँ उचाइमा पुर्‍याउनेछ, जहाँ भविष्यमा ओलम्पिक आयोजना गर्न प्रस्ताव गर्नु असम्भव हुने छैन ।

छवि सुधार गर्ने अवसर ?

आलोचकले साउदीको यो कार्यक्रम आयोजना गर्ने निर्णयलाई फिफाको इतिहासमा फुटबलको सबैभन्दा ठूलो नोक्सान हुने विश्वास गर्छन् । तर, हालैका वर्ष मुलुकमा महिला अधिकारलगायतका क्षेत्रमा उल्लेख्य सुधार भएपनि उनीहरू मतदान अधिकारबाट वञ्चित भइरहेका छन् भन्ने कुरा पनि स्वीकार गर्नुपर्छ ।

सन् २०२३ मा मृत्युदण्ड दिने तेस्रो ठूलो देश साउदी अरेबिया थियो । यो वर्ष तीन सय जनालाई मृत्युदण्ड दिइएको छ ।

अभियान समूह रेप्रियोले एक विज्ञप्तिमा भन्यो – “विश्वको सबैभन्दा क्रूर सरकारले हिंसाबाट ध्यान हटाउन गलत छवि सिर्जना गर्न ठूलो रकम खर्च गरिरहेको छ ।”

सङ्गठनकाअनुसार फाँसीमा झुण्डिएकामा प्रदर्शनकारी र थोरै मात्रामा लागुऔषधसहित पक्राउ परेका मानिस पनि छन् ।

सन् २०३४ मा साउदी अरब भ्रमण गर्न चाहनेले उक्त देशमा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मृत्यु हुनसक्ने कुरामा सजग रहनुपर्ने संस्थाले जनाएको छ ।

अर्कोतर्फ, साउदी अधिकारीहरूले सुधार ल्याइरहेको बताएका छन् । सन् २०१८ मा महिलालाई साउदी अरेबियामा स्टेडियममा खेल हेर्न अनुमति दिइएको थियो ।

त्यसयता व्यावसायिक महिला फुटबल लिग र राष्ट्रिय टोली बनेका छन् र ७० हजारभन्दा बढी महिला खेलाडीले फुटबल खेलिरहेका छन् ।

विश्वकपका कारण साउदीमा परिवर्तन होला ?

सन् २०१० को विश्वकप कतारले आयोजना गर्ने अधिकार पाएपछि फिफा नेतृत्व छक्क परेको थियो । यसपटक फिफा अध्यक्षले साउदी अरेबियामा हुने विश्वकपलाई समर्थन गर्दैछन् ।

कतार जस्तै दक्षिण एसियाली आप्रवासीले साउदी अरबमा काम गर्नेछन्, जहाँ १० मिलियनभन्दा बढी आप्रवासी बस्छन् ।

फिफाको आफ्नै प्रतिवेदनकाअनुसार सन् २०१० देखि २०२२ सम्म कतारमा विश्वकपसँग सम्बन्धित धेरै कर्मचारीको मानवअधिकार प्रभावित भएको थियो र मृत्युको अतिरिक्त बिरामी, तलब र ऋण नतिरेको गुनासो थिए ।

गत वर्ष राजकुमार अब्दुलअजीजले आश्वासन दिएका थिए – “कतार जस्तो अवस्था साउदी अरबमा हुनेछैन । हामीसँग दश वर्ष छ, धेरै ठाउँमा काम थालिसकेका छौँ, त्यसैले काम राम्ररी गर्न धेरै समय छ ।”

फिफाको निर्णयले के भन्छ ?

साउदीमा विश्वकप आयोजना हुनु भनेको खेलकुदको संसारमा परिवर्तन भएको शक्ति र मध्यपूर्वतर्फ सरेको सङ्केत हो । हालसम्म यो अकल्पनीय थियो कि सानो कतार र छिमेकी साउदी अरबले मात्र १२ वर्षमा विश्वकप आयोजना गर्दैछन् ।

साउदीले हालैका वर्ष अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम आयोजना गर्ने आफू एक मात्र विवादास्पद देश होइन भन्न सक्छ ।

विश्वकपबाहेक पछिल्लो दुई दशकमा रूसमा ओलम्पिक पनि आयोजना हुँदै आएको छ । चीनले ग्रीष्म र शीतकालीन ओलम्पिक आयोजना गरेको छ ।

सन् २०३० को विश्वकपको सह-आयोजक मोरक्कोमा समलिङ्गी सम्बन्ध गैरकानूनी छ र कतारमा पनि यस्तै कानून छ ।

साउदीमा आयोजना गर्नाले विश्व फुटबलमा मानवअधिकारको चेतनामा हानि पुर्‍याउने भनि आलोचना पनि भइरहेको छ । फिफा र साउदीसँग अब अर्को मेगा इभेन्ट कलङ्कित नहुने प्रमाणित गर्न एक दशकको समय बाँकी छ ।

-बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register