माघे सङ्क्रान्तिमा खाने चाकुको परम्परा टोखाले विदेशमा पनि फैलाउँदै छ

काठमाडौं । विशेष गरी मध्य जाडोको मौसममा प्रयोग गरिने चाकु माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्तिका दिन हरेक घरमा विशेष परिकार बनाएर खाने गरिन्छ। यसले मानिसको सरिरमा तापक्रम बढाउने र जाडो महिनामा शरीरमा तापक्रम कम हुने हुनाले घिउ, चाकु,तिल, तरुल, फुरौला, सेल रोटी लगायतका परिकार बनाई खाने परम्परा छ। यो मसिना जातको उखुको रस वा सखर […]

Jan 14, 2025 - 03:40
 0
माघे सङ्क्रान्तिमा खाने चाकुको परम्परा टोखाले विदेशमा पनि फैलाउँदै छ

काठमाडौं ।

विशेष गरी मध्य जाडोको मौसममा प्रयोग गरिने चाकु माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्तिका दिन हरेक घरमा विशेष परिकार बनाएर खाने गरिन्छ। यसले मानिसको सरिरमा तापक्रम बढाउने र जाडो महिनामा शरीरमा तापक्रम कम हुने हुनाले घिउ, चाकु,तिल, तरुल, फुरौला, सेल रोटी लगायतका परिकार बनाई खाने परम्परा छ।

यो मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका–चाका पारी जमाइएको गुलियो खाद्यपदार्थ हो । “चाकु“ शब्द नेपाल भाषा अर्थात् नेवारी भाषाको शब्द हो । नेवारी समुदायमा चाकुलाई विभिन्न परिकार बनाई प्रयोग गर्ने गरिन्छ । यमोरी पुन्हेका दिन यमोरीमा पनि चाकु राखेर बनाइन्छ ।

चाकुको खानीका रूपमा चिनिएको टोखामा नेवा गुठी टोखाको आयोजनामा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा माघे सङ्क्रान्तिका दिन माघ १ गते चाकु दिवस तथा परम्परागत सांस्कृतिक दिवस मनाइन्छ । उक्त दिवसमा टोखाको परम्परागत हस्तकला, चाकु, विभिन्न परम्परागत बाजाको प्रदर्शनी गरिने चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ बताउनुहुन्छ।
उखु खेती हुने टोखामा लिच्छवि कालको ५१९ देखि चाकु बनाउन थालेको किम्बदन्ती रहेको छ । टोखामा १४ वटा चाकु उद्योग रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

मौसमी चक्र अनुसार मध्ये जाडोमा माघे सङ्क्रान्ति आउँछ । यो अत्यन्तै चिसो दिनमा पर्छ । मकर सङ्क्रान्तिका दिन बाँडीचुडी कन्दमुल खाने दिनका रूपमा पनि लिइन्छ । माघे सङ्क्रान्तिका दिन चाकु, घिउ, तिलको लड्डु, फापरको पिठोको फुरौला, सागपात, खाना, तरुल, पिँडालु दान गर्ने, खाने गरिन्छ । यसरी खाँदा शरीरमा तापक्रम बढ्ने वैज्ञानिक मान्यता छ । यसरी सबै कुरा मिलाएर खानाले शरीरमा ऊर्जा मिल्छ ।

माघे सङ्क्रान्तिका दिन देवघाट, दोललघाट, पनौती लगायतका दोभानहरूमा नुहाउने र पूजाआजा गरी फलार खाने गरिन्छ। अझ विशेष गरी एक दिन अगाडि नै तरुल पकाएर माघ १ गते खाने गरिन्छ । उखुको रसलाई पखाएर सख्खर बनाइन्छ र त्यसलाई पनि ३६० डिग्रीभन्दा बढी तापक्रममा पकाएर सेलाएपछि चाकु बन्छ । टोखा चाकुको लागि चर्चित स्थान हो। यो परिकार बनाउन बढी नेवारी समुदायबाट सुरु भएको मानिन्छ।

टोखामा नेवार समुदायकै बसोबास बढी रहेको छ । पुस महिना लागेपछि यहाँका अधिकांश घरमा चाकुका विभिन्न मिठाईका परिकार बन्छन्। यहाँका बासिन्दाले यस्ता परिकार आफूले मात्र प्रयोग गर्दैनन् देश विदेशमा रहेका नेपालीहरूलाई समेत पठाउने गर्छन्। नेपाल एउटा त्यस्तो देश हो जहाँ हरेक विषयको छुटै महत्त्व बोकेको छ। नेवारी समुदाय र चाकुको प्रयोग पनि स्वास्थ्यका हिसाबले पनि निकै महत्त्वपूर्ण मानिन्छ।

टोखा यति बेला चाकुको परिकार मात्र नभै परम्परागत धर्म, संस्कृतिको जगेर्नाका लागि संस्थागत रूपमै अघि बढेको चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ बताउनुहुन्छ। उहाँको बाजे बराजुको पाला देखिनै चाकु व्यवसाय सुरु भएको र आफूले पनि यसलाई निरन्तरता दिँदै आएको कृष्ण श्रेष्ठ बताउनुहुन्छ। यति बेला आफूले समय सापेक्ष चाकु व्यवसायलाई परिमार्जित र गुणस्तरीय ढङ्गले अघि बढाएका कारण बजारको माग बढ्दो छ। बर्सेनि उत्पादन भन्दा माग बढ्ने र माघे सङ्क्रान्तिका दिन सम्म स्टकनै नरहने अवस्था रहेको बताउनुहुन्छ।

उहाँका जिजु हजुरबुवाको पालादेखि उहाँको परिवार यस व्यवसायमा लागेको इतिहास सुनाउनुहुन्छ । यति बेला कृष्ण श्रेष्ठको ब्रान्डेड चाकुका परिकार खाद्य अनुसन्धान विभागमा श्रीकृष्ण चाकु प्रोडक्सन प्रालिको नामबाट दर्ता गरी विश्व बजारमा पुर्‍याउँदै आएका छन्।

टोखाको पहिचान जोडिएको चाकु व्यवसायमा संलग्न अन्य १४ व्यवसायीहरूलाई पनि सङ्गठित गरी उहाँको अध्यक्षतामा टोखा राष्ट्रिय चाकु व्यवसायी सङ्घको स्थापना गरिएको छ। कृष्ण श्रेष्ठले सख्खरको पाकमा खुवा, दूध, अदुवाको रस, नरिवल, ल्वाङ्ग, सुकुमेल आदि मिसाएर वा केही नमिसाई सादा चाकु पनि बनाउने गरेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ चाकु राखेर बनाइने चाकु वासः –(औषधि) सुत्केरीलाई खुवाउँदा सुत्केरीको शरीर, पाठेघर बलियो हुन्छ, जीउ बाँध्छ भन्ने मान्यता पनि छ । यसका साथै सुत्केरीको दूध फुटाउन पनि मदत गर्छ । यसले आमा र बच्चा दुबैलाई फाइदा पुग्छ ।
चाकुको परिकार अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, हङ्गकङ्ग लगायतका देशमा पठाउने गरेको कृष्ण श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, थुप्रै देशमा नेपालीहरू विभिन्न पेसा व्यवसाय र उच्च शिक्षाका लागि पुगेका छन् । यो परिकार आफन्तहरूले कोसेलीको रूपमा पठाउने गर्छन् । यति मात्र नभै यसलाई आयुर्वेदिक औषधिको रूपमा पनि प्रयोग हुने हुँदा चाकुको परिकारको बजार बाह्रै महिना हुन्छ ।

चाकु व्यवसायले नेपाली युवालाई स्वदेशमै आफ्नै देशको उत्पादनको विविध परिकार बनाएर विदेशमा निर्यात गरी छुटै पहिचान बनाउने अवसरका साथै दिगो रोजगारी पनि मिलेको छ । यसले स्वदेशको उत्पादनलाई गुणस्तरीय बनाएर आर्थिक विकास गर्न सकिन्छ । यति मात्र नभै स्वदेशमै रोजगारीको अवसर जुटाउन पनि मदत मिल्ने श्रेष्ठ बताउनुहुन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register