प्रधानमन्त्री ओली : भ्रष्टाचारको प्रश्नमा मौन, पूर्वाधारबारे जवाफ

काठमाडौं । ‘भ्रष्ट्राचारीको मुख हेर्दिनँ,’ ‘भ्रष्ट्राचारमा शून्य सहनशिलता’ भन्दै भाषण गरिरहने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा यतिखेर घुस डिल गर्ने मन्त्रीसमेत सामेल छन् । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलियाबीच घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि सदनदेखि सडकसम्म प्रश्न उठिरहेको छ । कास्कीको भूमि समस्या समाधान आयोगमा नियुक्ति र कास्की मालपोत कार्यलयमा कर्मचारीको सरुवाको […]

Jul 14, 2025 - 13:54
 0
प्रधानमन्त्री ओली : भ्रष्टाचारको प्रश्नमा मौन, पूर्वाधारबारे जवाफ

काठमाडौं । ‘भ्रष्ट्राचारीको मुख हेर्दिनँ,’ ‘भ्रष्ट्राचारमा शून्य सहनशिलता’ भन्दै भाषण गरिरहने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा यतिखेर घुस डिल गर्ने मन्त्रीसमेत सामेल छन् ।

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलियाबीच घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि सदनदेखि सडकसम्म प्रश्न उठिरहेको छ । कास्कीको भूमि समस्या समाधान आयोगमा नियुक्ति र कास्की मालपोत कार्यलयमा कर्मचारीको सरुवाको विषयमा मन्त्री र बिचौलियाबीच कुराकानी भएको अडिओमा सुनिएको छ ।

यो घुस डिल प्रकरणको अडिओमा सामान्य प्रशासनमन्त्री गुप्ताको त आवाजै सुनिन्छ । मन्त्री गुप्ताले र बिचौलियाले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीको घुस डिलका क्रममा नाम लिएका छन् ।

अधिकारीले सोमबार संसद्‌मा बोल्दै आफू यो प्रकरणमा सामेल नभएको प्रष्टीकरण दिएका छन् । ‘मन्त्री वा मन्त्रालयका कुनै व्यक्तिले कुनै डिल गरेको थाह पाउनुभयो भने, प्रमाणसहित ल्याउनुहोस् म कारबाही सहन तयार छुँ । कुनै पनि व्यक्तिले कहिँ कतै त्यस्तो डिल गरेको रहेछ भने तपाईंहरूले प्रमाण ल्याइदिनुहोस कारबाही गर्न र भोग्न तयार छौं,’ मन्त्री अधिकारीले सोमबार संसदमा भने ।

संसद्‌मा सोमबार विशेष सम्बोधन गरेका प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो अडिओ प्रकरणबारे प्रश्न उठाए । उनले संसद्‌मा भने, ‘सुशान कामय गर्न सक्षम नियामक संस्थामा हाकाहाकी भएको कमिसनको डिल, भूमाफियालाई सहयोग पुग्नेगरी कानुन निर्माण र मन्त्रीबाट लाखौँको घुस डिल सार्वजनिक हुँदासम्म पनि कुनै कदम नचालिनुले सुशासन आयोगको हविगत के रहेछ भन्ने प्रष्ट भएन र ?,’ प्रचण्डको प्रश्न छ ।

नेकपा एमालेकै सांसद किरणकुमार साहले पनि सोमबार संसद्‌मा सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरे । ‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडिओ सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? दुनियाँले सुनेको अडिओ सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्,’ संसदमा साहले भने ।

यो अडिओ प्रकरण सार्वजनिक भएको चार दिन भइसकेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस विषयमा हालसम्म कुनै जवाफ आएको छैन । शुक्रबारदेखि यो विषय सार्वजनिक भए पनि त्यसयता अनेकौँ विषयमा भाषण दिइरहेका प्रधानमन्त्री ओली मौन छन् । उनी सोमबार पनि दुईवटा सार्वजनिक कार्यक्रममा सहभागी भए । त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन र त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिक उत्सव समारोह उनी प्रमुख अतिथि थिए । उनले यी कार्यक्रममा नेपालमै सबैभन्दा पहिला शल्यक्रिया भएकोदेखि चरक ऋषिबारे वर्णन गरे । तर, सामान्य प्रशासनमन्त्रीको अडिओबारे बोलेनन् ।

तर, प्रधानमन्त्री ओली आफूमाथि उठेको सबै प्रश्नमा मौन भने बस्दैनन् । उनी विषय छनोट गरेर जवाफ दिन्छन् । सोमबार संसद्‌मा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले त्रिवि क्रिकेट मैदानबारेको प्रश्नमा भने ओलीको जवाफ तुरुन्तै आयो ।

ओलीले सामाजिक सञ्जालबाटै प्रचण्डलाई जवाफ फर्काए । संसद्‌मा प्रचण्डले भनेका थिए, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरमा रहेको क्रिकेट रंगशाला निर्माणको काम अघि बढायो । फ्लड लाइट जडान गर्न ठेक्का पनि भयो । तर, त्यही बेला हामी बाहिरिनुपर्‍यो । अनि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुईतिहाइको सरकार बनेपछि उहाँले प्रतिष्ठाकै विषय बनाउँदै पहिलो निर्णय नै ३०० दिनभित्र फ्लड लाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गर्नुभयो । तर, आज एक वर्ष बित्यो, जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ?’

प्रधानमन्त्री ओलीले यसको जवाफमा फेसबुकमा लेखेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ । तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन । तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’

000

यसअघि विवादित मन्त्रीले दिएका थिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफ्नो मन्त्रीमण्डलका मन्त्रीहरू विवादमा परेपछि विदा गरेको इतिहास छ । यसपटक मौन रहेका ओलीले २०७४ मा प्रधानमन्त्री बनेपछिको कार्यकालमा दुई जना मन्त्रीलाई विदा गरेका थिए ।

गोकुल बाँस्कोटा

सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि तत्कालीन सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । २०७६ को फागुनमा राजीनामा दिदैं उनले भनेका थिए, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’ बाँस्कोटाले राजीनामा दिँदा प्रधानमन्त्री थिए केपी शर्मा ओली ।

शेरबहादुर तामाङ

बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने नेपाली छात्राहरूका बारेमा अशोभनीय टिप्पणी गरेपछि तत्कालीन कानून न्याय तथा संसदिय मामिलामन्त्री शेरबहादुर तामाङ विवादमा आए । महिलामाथि अपाच्य टिप्पणी गरेको भन्दै उनको चौतर्फी आलोचना भयो । त्यसपछि २०७५ को साउनमा मन्त्री तामाङले पदबाट राजीनामा दिए । यतिखेर पनि प्रधानमन्त्री थिए केपी शर्मा ओली ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register