यी हुन् ट्रम्पले राष्ट्रपति पद सम्हाल्नेबित्तिकै लिएका ठूला निर्णय

काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ लिएलगत्तै डोनाल्ड ट्रम्पले अध्यागमन, जलवायु सम्झौता र माफीलगायतका धेरै प्रमुख कार्यकारी आदेश जारी गरेका छन् । राष्ट्रपतिले सङ्घीय सरकारलाई जारी गरेको लिखित आदेश कार्यकारी आदेश हो । जसलाई काङ्ग्रेसको स्वीकृतिको आवश्यकता पर्दैन । यी आदेशहरू नीति उल्टाउनेदेखि लिएर कुनै पनि साधारण सरकारी कामसम्म हुन सक्छन् । सन् २०१७ […]

Jan 21, 2025 - 08:39
 0
यी हुन् ट्रम्पले राष्ट्रपति पद सम्हाल्नेबित्तिकै लिएका ठूला निर्णय

काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ लिएलगत्तै डोनाल्ड ट्रम्पले अध्यागमन, जलवायु सम्झौता र माफीलगायतका धेरै प्रमुख कार्यकारी आदेश जारी गरेका छन् ।

राष्ट्रपतिले सङ्घीय सरकारलाई जारी गरेको लिखित आदेश कार्यकारी आदेश हो । जसलाई काङ्ग्रेसको स्वीकृतिको आवश्यकता पर्दैन । यी आदेशहरू नीति उल्टाउनेदेखि लिएर कुनै पनि साधारण सरकारी कामसम्म हुन सक्छन् ।

सन् २०१७ मा दुई विवादास्पद तेल पाइपलाइन निर्माणको लागि ट्रम्पको स्वीकृति र त्यसभन्दा पहिले सन् २०१५ मा क्रिसमसको पूर्वसन्ध्यामा सरकारी विभागहरूको लागि आधा दिनको बिदाको लागि बाराक ओबामाको निर्देशन यसका केही उदाहरण हुन् ।

कार्यकारी आदेश जारी गर्ने अधिकार अमेरिकी संविधानको धारा दुईमा दिइएको छ । ‘कार्यकारी शक्ति राष्ट्रपतिमा निहित हुनेछ ।’ यस धारामा भनिएको छ ।

सरकारी नीतिमा आफ्नो छाप छोड्न चाहने कुनै पनि अमेरिकी राष्ट्रपतिका लागि कार्यकारी आदेश एउटा महत्त्वपूर्ण अस्त्र हो । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका राष्ट्रपति ट्रम्प कुनै समय समय खेर फाल्न चाहँदैनन् ।

राष्ट्रपति बनेयता उनले लगभग २०० कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । यसमा कानूनी रूपमा बाध्यकारी आदेशहरू र सामान्यतया बाध्यकारी नभएका केही घोषणाहरू समावेश छन् । हेरौँ, उनले हस्ताक्षर गरेका ठूला निर्णयहरु –

आप्रवासन

-सीमानामा सङ्कटकाल 

ओभल अफिसमा ट्रम्पले अमेरिकाको दक्षिणी सीमानामा सङ्कटकाल घोषणा गर्ने निर्देशनमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि ट्रम्पले भने, ”यो ठूलो कुरा हो ।”

उनले अमेरिकामा जन्मेका आप्रवासीहरूका बच्चाहरूलाई स्वचालित अमेरिकी नागरिकताको प्रावधानलाई पनि लक्षित गरेका छन् ।

ट्रम्पले अमेरिकाको शरणार्थी पुनर्वास योजनालाई चार महिनाका लागि रोक्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । यद्यपी यस सम्बन्धमा प्रष्ट जानकारी भने आउन सकेको छैन ।

-सीमा बन्द गर्न आदेश

ट्रम्पले सेनालाई ‘सीमाना सिल’ गर्न आदेश दिएका छन् । सीमा क्षेत्रबाट अवैध लागुऔषध ओसारपसार हुने, मानव बेचबिखनलगायतका अपराध हुने गरेको उनले बताए ।

आतङ्कवादसँग सम्बन्धित सूचीमा धेरै समूह र गिरोह समावेश छन् ।

राष्ट्रपतिले लागुऔषध कारोबारी र अन्तर्राष्ट्रिय गिरोहलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गर्ने निर्देशनमा पनि हस्ताक्षर गरेका छन् ।

एल साल्भाडोरको आप्रवासी गिरोह एमएस-१३ र भेनेजुएलाको गिरोह ट्रेन डे अरागुआ अब सूचीमा थपिनेछ, जसमा पहिले नै अल-कायदा, इस्लामिक राज्य र हमास समावेश छ ।

-मेक्सिको सीमामा फेरि पर्खाल बनाइने

अमेरिकाको दक्षिणी सिमानामा सङ्कटकालको घोषणा गर्दै ट्रम्पले अधिकारीहरूलाई ‘दक्षिणी सीमानामा थप अवरोध निर्माण गर्न’ प्रयास पुनः सुरु गर्न निर्देशन दिएका छन् । यद्यपि यी निर्देशनहरू कार्यकारी आदेशहरू होइनन् र यस्ता प्रयासहरूको लागि पैसा कहाँबाट आउँछ भन्ने स्पष्ट छैन ।

ट्रम्पको पहिलो कार्यकालमा पनि यो मुद्दा सबैभन्दा ठूलो अवरोध सावित भएको थियो ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेपछि उनले मेक्सिकोसँगको सीमानामा पर्खाल बनाउने आदेश दिएका थिए । यो नाकाको सानो भाग निर्माण भइसकेको भएपनि अधिकांशको निर्माण अधुरो रह्यो ।

ट्रम्पले मेक्सिकोबाट आउने शरणार्थीका लागि कार्यकारी आदेश पनि जारी गरेका छन् । पहिलो कार्यकालमा शरण खोज्ने करिब ७० हजार गैर-मेक्सिकन मानिसहरू यस प्रावधानअन्तर्गत फर्किएका थिए ।

-आप्रवासी प्रतिबन्ध

यस आदेशमा ट्रम्पले बाइडनको कार्यकालमा आप्रवासीहरूका लागि ठूलो योजनामा ​​प्रतिबन्ध लगाएका छन् ।

यो योजनाअन्तर्गत क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका करिब ३० हजार आप्रवासीलाई अमेरिका आउन स्वीकृति दिइएको थियो ।

यो नीतिलाई CHNV भनिन्छ । बाइडन प्रशासनले अवैध रुपमा सीमा पार गर्नेहरुको सङ्ख्या घटाउने उद्देश्यले ल्याइएको जनाएको छ ।

विश्व स्वास्थ्य संस्था

ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बाट अमेरिका बाहिरिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्दा ट्रम्पले भने, ”ओहो, यो ठूलो निर्णय हो ।”

ट्रम्पले डब्लूएचओबाट बाहिरिने आदेश दिएको यो दोस्रो पटक हो ।

ट्रम्पले कोरोना महामारीसँग लड्न डब्लूएचओले चालेको कदमको आलोचना गर्दै आएका छन् । उनले यही महामारीकै बेला डब्ल्यूएचओबाट बाहिरिने प्रक्रिया सुरु गरेका थिए । तर, पछि जो बाइडनले राष्ट्रपति बनेलगत्तै यो आदेश उल्टाए ।

टिकटक

ट्रम्पले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल कम्पनी टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने कानूनमा पनि हस्ताक्षर गरेका छन् । साथै, अब टिकटकमा प्रतिबन्ध ७५ दिनको लागि स्थगित गरिएको छ ।

टिकटकले यस मामिलामा ट्रम्पको वाचाको स्वागत गरेको छ र अमेरिकामा आफ्नो सेवाहरू पुनर्स्थापित गरेको छ । ट्रम्पको शपथ ग्रहण गर्नुअघि टिकटक अमेरिकामा केही समयका लागि बन्द थियो ।

ट्रम्पले आफ्नो आदेशमा टिकटकको मूल कम्पनीलाई अमेरिकामा साझेदार खोज्न थप समय दिइने बताएका छन्, जसले यस कम्पनीको सबैभन्दा ठूलो हिस्सा खरिद गर्नेछन् ।

यसअघि ट्रम्पले टिकटकमा प्रतिबन्धको समर्थन गरेका थिए । तर, चुनावी प्रचारका क्रममा उनको भिडियोलाई अर्बौं पटक हेरिएपछि उनले आफ्नो नीतिमा परिवर्तनको सङ्केत गर्न थाले ।

सरकारी सुधार

-सरकारी दक्षता विभाग र मस्क

ट्रम्पले सरकारी दक्षता विभागको निर्माण सम्बन्धी निर्देशनहरूमा हस्ताक्षर गरेका छन् । यो नयाँ विभाग हुनेछ, जसले सरकारी खर्च घटाउन सुझाव दिनेछ । अर्बपति इलोन मस्कले यसको नेतृत्व गर्न सक्छन् ।

ट्रम्पले टेस्ला र स्पेसएक्सका मालिकले २० जना कर्मचारीसहितको कार्यालय पाउने बताएका छन् ।

-सरकारी नियुक्ति रोकियो

ट्रम्पले सैन्य र केही अन्य भर्तीबाहेक सबै सङ्घीय भर्ती फ्रिज गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । यो प्रतिबन्ध ट्रम्प प्रशासनले पूर्णरूपमा आफ्नो हातमा नआएसम्म जारी रहनेछ ।

ट्रम्पले उक्त कागजातलाई हरियो सङ्केत पनि दिएका छन्, जसअन्तर्गत सबै सङ्घीय कर्मचारीहरूले काम गर्न कार्यालयमा आउनुपर्नेछ र घरबाट काम गर्न दिइने छैन ।

-सेन्सरशिप

ट्रम्पले महान्यायाधिवक्तालाई न्याय मन्त्रालय, सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन र फेडरल ट्रेड कमिसनजस्ता एजेन्सीका अधिकारीहरूमाथि छानबिन गर्न निर्देशन दिने आदेश पनि जारी गरेका छन् ।

यो आदेश ट्रम्पको अघिल्लो कार्यकालमा पनि जारी गरिएको थियो ।

अमेरिकाका नयाँ राष्ट्रपतिले ‘राजनीतिक प्रतिद्वन्द्वीहरू विरुद्ध सरकारी सेनाको हतियार’ निषेध गर्ने कागजातमा हस्ताक्षर गरेका छन् । यद्यपी यस सम्बन्धमा अन्य कुनै जानकारी भने खुलाइएको छैन ।

-बाइडनका नीति उल्टाउन आदेश

राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडनका लागि करिब ८० नियम र नियमहरूलाई प्रभावहीन बनाउने दस्तावेजमा हस्ताक्षर गरेका छन् । यद्यपी ट्रम्पले यसमा कुन–कुन नियम समावेश छन् भन्ने कुरा भने खुलाएका छैनन् ।

यसका साथै ट्रम्पले सबै सङ्घीय एजेन्सीहरूलाई नयाँ नियम जारी गर्नबाट रोक्न निर्देशन पनि दिएका छन्, जुन ट्रम्प प्रशासनले पूर्ण रूपमा आफ्नो जिम्मेवारी सम्हाल्न नसकेसम्म लागू हुनेछ ।

ट्रम्पले लैङ्गिक विषयमा के भने ?

ट्रम्पले कार्यकारी आदेशमार्फत अमेरिकामा पुरुष र महिला दुई लिङ्गलाई मात्र मान्यता दिने घोषणा गरेका छन् । यस आदेशले राहदानी र भिसाजस्ता सरकारी कागजातहरूलाई असर गर्नेछ ।

छुट्टै कार्यकारी आदेशमा ट्रम्पले सङ्घीय सरकारभित्र ‘विविधता, समानता र समावेशीकरण (DEI)’ जस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाएका छन् ।

सबै सङ्घीय एजेन्सीहरू यस आदेशको दायराअन्तर्गत आउँछन् । सरकारी खर्च लिने वा सरकारसँग कुनै सम्झौता गर्नेहरू पनि ।

मेक्सिकोको खाडीको नाम फेरियो

एक कार्यकारी आदेशमा ट्रम्पले गृह सचिवलाई मेक्सिकोको खाडीको नाम बदलेर ‘गल्फ अफ अमेरिका’ राख्न आदेश दिएका छन् ।

सोही आदेशमा अमेरिकाका २५औं राष्ट्रपति विलियम म्याककिन्लेको सम्मानमा अलास्काको माउन्ट डेनालीको नाम परिवर्तन गरी माउन्ट म्याककिन्ले राख्न निर्देशन पनि दिइएको हो ।

ट्रम्पले म्याककिन्लेको ट्यारिफ-सम्बन्धित नीतिहरूको धेरै प्रशंसा गरेका छन् । बाराक ओबामाले राष्ट्रपति हुँदा माउन्ट म्याकिन्लेलाई माउन्ट डेनाली नाम दिएका थिए ।

यहाँ बसोबास गर्ने आदिवासी समुदायले उत्तर अमेरिकाको सर्वोच्च शिखरलाई यही नामले सम्बोधन गर्ने उनले बताए ।

जलवायु र ऊर्जा

ट्रम्पले बढ्दो विश्वव्यापी तापक्रमसँग जुध्न अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् ।

यो ट्रम्पले सपथ लिएपछि हस्ताक्षर गरेको पहिलो कागजात हो ।

ट्रम्पले सन् २०१७ मा पहिलो पटक पेरिस सम्झौताबाट पछि हटेका थिए । तर, २०२१ मा जो बाइडनले यो निर्णय उल्टाए र अमेरिका फेरि सम्झौतामा सामेल भयो ।

यस सम्झौताबाट बाहिरिएसँगै ट्रम्पले संयुक्त राष्ट्रसङ्घलाई पठाइने पत्रमा पनि हस्ताक्षर गरेका छन् । यसमा अमेरिकाले सम्झौताबाटपछि हट्नुका कारणहरू विस्तृत रूपमा व्याख्या गरिएको छ ।

क्यापिटल हिल हिंसा

राष्ट्रपति बन्ने बित्तिकै ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाको आरोपमा गिरफ्तार गरिएका आफ्ना १५०० समर्थकहरूलाई माफी दिए ।

ट्रम्पले यस मामिलामा पक्राउ परेका मानिसहरूलाई पटकपटक ‘बन्धक’ भनेका छन् । यस हिंसापछि करिब ६०० जनालाई सरकारी अधिकारीमाथि आक्रमण गरेको वा बाटो अवरुद्ध गरेको आरोप लागेको थियो ।

सजाय माफी भएका १,५०० व्यक्तिहरूमध्ये अति दक्षिणपन्थी समूह ओथ किपर्स र प्राउड ब्वाइजका सदस्यहरू छन् । उनीहरूका सदस्यहरू क्यापिटल हिंसा सम्बन्धी मुद्दामा देशद्रोहको षड्यन्त्र जस्ता मुद्दामा दोषी पाइएका छन् ।

पूर्व प्राउड ब्वाईज नेता हेनरी तारीलाई हिंसाको आरोपमा २२ वर्षको जेल सजाय सुनाइएको थियो । अब उनका वकिलले हेनरीलाई पनि रिहा गर्न सकिने बताएका छन् ।

अर्थव्यवस्था

ट्रम्पले उक्त निर्देशनमा पनि हस्ताक्षर गरेका छन्, जसमा अमेरिकी सङ्घीय विभाग र एजेन्सीहरूलाई आम जनताको जीवनयापनको बढ्दो लागतमा ध्यान दिन भनिएको छ । यद्यपि यस कागजातसँग सम्बन्धित धेरै जानकारी बाहिर आएको छैन ।

ऊर्जा आपत्‌कालीन

डोनाल्ड ट्रम्पले पनि राष्ट्रिय ऊर्जा आपत्‌काल घोषणा गरेका छन्, ताकी उनले रणनीतिक तेल भण्डारहरू भर्न सकून् ।

उनले अलास्कामा तेल र ग्यास र अन्य प्राकृतिक स्रोतहरूसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका छन् । उनले अमेरिकामा इन्धनका लागि थप ड्रिल गर्ने वाचा पनि गरे ।

ट्रम्पले बाइडन प्रशासनको समयमा ल्याइएको ‘ग्रीन न्यू डील’ लाई पनि प्रतिबन्ध लगाए । उनले अमेरिकाले पवन फार्महरू भाडामा दिन बन्द गर्ने बताए ।

-बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register