नागरिक आफैँले यसरी जोगाए दक्षिण कोरियाली लोकतन्त्र

सबै कुराले के देखाउँछ भने दक्षिण कोरियाली लोकतन्त्रको गुणस्तरमा प्रश्न उठाउन सकिने गतिला र पर्याप्त कारण छन् । प्रष्ट छ कि यहाँ त्यस्ता थुप्रै काण्ड छन्, जसले लोकतन्त्रको स्वास्थ्यलाई राम्रो देखाउँदैन ।

Jan 29, 2025 - 06:45
 0
नागरिक आफैँले यसरी जोगाए दक्षिण कोरियाली लोकतन्त्र

अन्य उन्नत लोकतान्त्रिक मुलुकको तुलनामा दक्षिण कोरियाली लोकतन्त्र अझै आलोकाँचो नै छ । दक्षिण कोरियाले सन् १९८७ मा मात्र तानाशाहीबाट लोकतान्त्रिक शासनमा सङ्क्रमण गरेको थियो ।

डिसेम्बर ३ मा कोरियालीले स्वीकार गरेका राजनीतिक स्वतन्त्रता र विश्वास अचानक चकनाचुर भए, जब राष्ट्रपति यून सुक यउलले मार्सल ल घोषणा गरे ।

केही राजनीतिक नेताले उनले त्यसो गर्नु पर्ने कारण राज्यविरोधी गतिविधि र उत्तर कोरियासँगको सहकार्य बताएका थिए । तर, उनको यस्तो कार्यले देशलाई स्तब्ध बनायो । सांसदहरू तुरुन्तै राष्ट्रिय सभामा भेला भए । यसो गर्नु मार्सल लको अवज्ञा थियो । मार्सल लले राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएको थियो ।

त्यो रात संसद् भवनमा ३०० मध्ये १९० जना सांसद उपस्थित थिए । संसद् भवन वरिपरि विशेष सुरक्षा बलको घेराबन्दी थियो । तिनले राष्ट्रपतिले घोषणा गरेको मार्सल ल खारेजीको पक्षमा मतदान गरे । राष्ट्रपतिले तुरुन्तै मार्सल ल फिर्ता गरे ।

राष्ट्रपतिविरुद्ध महाअभियोगको माग गर्दै राष्ट्रिय सभा भवन वरिपरि दशौँहजार सर्वसाधारण नागरिक उत्रिएका थिए । सांसदको पुग्दो सङ्ख्यासहित राष्ट्रपतिमाथिको महाअभियोग पारित गर्न दुईपटक प्रयत्न र मतदान गर्नु पर्‍यो ।

राष्ट्रपति यूनलाई महाअभियोगको कठघरामा देख्दा त्यो दिन दक्षिण कोरियाली लोकतन्त्रको कालो दिनजस्तो लाग्दछ । तर, यथार्थमा यी घटनाले दक्षिण कोरियाली नागरिकलाई लोकतन्त्रप्रतिको नयाँ आशा दिएको छ ।

राष्ट्रपति यून आफ्नै शैली भएका एक प्रियतावादी नेता थिए । यी घटनाका बाबजुद उनी शासन गर्ने प्रयत्नमा लागे । कानुनतः उनलाई कसरी सत्ताबाहिर निकाल्ने भन्ने पक्ष जीवित थियो । यद्यपि, उनको सरकार अल्पमतमा परिसकेको थियो ।

प्रथम महिला किम कियोन हिसँग जोडिएका अन्त्यहीन घोटाला काण्डले युनको शासन वैधतालाई त्यसअघि नै ध्वस्त पारिसकेको थियो । त्यसमाथि, सन् २०२४ को शरदमा मियुङ ताई क्यूनको कथा सर्वत्र भयो ।

मियुङ ती ‘राजनीतिक दलाल’ हुन् जसले एक मतदान कम्पनी चलाउँथे । सेप्टेम्बरमा यिनको कम्पनीलाई समाचारपत्रले अप्रमाणित सर्वेक्षण नतिजा प्रकाशित गरेको र गैरकानुनी तवरले निर्वाचनलाई प्रभावित गरेको आरोप लगाए ।

त्यसपछि मियुङसँग राष्ट्रपति यून, प्रथम महिला किम र अन्य पीपीपी उम्मेदवारसँग  दलालीपूर्ण ‘डिल’ गरेका फोनवार्ता अभिलेख सार्वजनिक भए । यसले धेरै कोरियालीलाई सन् २०१७ को ‘प्रायोजित–प्रभाव काण्ड’ स्मरण गरायो । यो काण्डको विरोधमा भएको राष्ट्रव्यापी प्रदर्शनले तत्कालीन राष्ट्रपति पार्क गूयेन हेको महाअभियोगलाई अघि बढाएको थियो ।

यूनले आफूले कुनै पनि अनुचित काम नगरेको दाबी गरिरहे । तर, उनीमाथि महाअभियोग र जवाफदेहिता माग गर्दै एकपछि अर्को जनप्रदर्शन भए ।

राजनीतिक रणमैदानमा तानिएका यून र उनका मुख्य सहयोगीहरू, मन्त्री, पूर्वरक्षामन्त्री र सुरक्षा संयन्त्रका उच्च पदमा नियुक्तहरूले सत्तामा टिक्न एक ‘स्व-कु’, फेरि मार्सल ल र अवैध शासनको खेल खेल्नतिर लागे ।

राजनीतिक वर्णपटमा चरम दक्षिणपन्थीहरूको एउटा अल्पमत समूह सोलका सडक, युट्युब र सामाजिक सञ्जालमा मुखरित भयो ।

जनवरी १९ तारिख आइतबार सोलको पश्चिमी जिल्ला अदालतमा प्रदर्शनकारीहरूको एक हुलले आक्रमण गर्यो । तिनले केही प्रहरी अधिकृतलाई चोट पुर्‍याए, सार्वजनिक सम्पत्ति नष्ट गरे, तीमध्ये दर्जनौं गिरफ्तारीमा परे ।

यूनका समर्थकको उद्देश्य राजनीतिक बहसलाई अतिरञ्जित र अतिवादीकरण गर्नु थियो । विपक्षी दलका नेता ली जे म्युङलाई बदनाम गर्नु थियो, जो आफैँ कतिपय काण्डमा अनुसन्धानको घेरामा छन् ।

यूनको दल पीपीपीले संसद्मा उपस्थित हुन र महाअभियोगबारे मतदानमा भाग लिन अस्वीकार गर्यो । यसो गरेर पीपीपीले आम जनताको थकानमा अन्त्यहीन द्वन्द्व र काण्डको राजनीतिक जुवा खेलिरहेको थियो ।

यी सबै कुराले के देखाउँछ भने दक्षिण कोरियाली लोकतन्त्रको गुणस्तरमा प्रश्न उठाउन सकिने गतिला र पर्याप्त कारण छन् । प्रष्ट छ कि यहाँ त्यस्ता थुप्रै काण्ड छन्, जसले लोकतन्त्रको स्वास्थ्यलाई राम्रो देखाउँदैन ।

साथै, यहाँ गहिरा सामाजिक–आर्थिक असमानता छन्, जसलाई ‘स्क्वीड गेम’ देखि ‘प्यारासाइट’ सम्मका कोरियन नाटक र सिनेमाले राम्रो चित्रण गरेका छन् ।

यसले निक्कै गम्भीर राजनीतिक उथलपुथल निम्त्याएको छ । सैन्य शासन फर्किने जोखिमलाई बढाएको छ । सडकमा विपरित राजनीतिक शक्ति र समूहबीचको झडपले अवस्थालाई झनै खराब बनाएको छ । तर, यी सबै चिन्ताजनक सङ्केतका बाबजुद अझै आशावादी हुन सकिने कारण फेला पार्न सकिन्छ ।

यति गहिरो राजनीतिक सङ्कटको समयमा पनि दक्षिण कोरियाली लोकतान्त्रिक संस्था बलिया छन् । 

पहिलो– संसद्ले मार्सल ल हटाउन तुरुन्तै काम गर्‍यो । तानाशाही सरकारले दिनसक्ने पीडादायी राज्यहिंसाको स्मरणमा बाँचिरहेका सर्वसाधारणले संसद्लाई समर्थन गरे ।

दोस्रो– संवैधानिक अदालतमा सुनुवाइ जारी छ । राजनीतिक पात्रको भनाई र चाहना जेसुकै होस् कानुनको उच्चता कायम राख्नै पर्दछ । उच्च पदस्थ अधिकारीहरूले गर्ने भ्रष्टाचार र शक्ति दुरुपयोगको अनुसन्धान गर्ने निकाय सीआईओले मार्सल ल लागू गर्न खोज्नु देशद्रोहको कार्य हो कि भनेर अथक अनुसन्धान गरिरहेको छ ।

यूनलाई गिरफ्तार गर्ने पहिलो असफल घटना सीआईओको अप्रभावकारिता थिएन बरु राष्ट्रपति यूनको सुरक्षामा रहेका शसस्त्र टुकडी, अभियोजक कार्यालयका कर्मचारी र प्रहरी अधिकारीबीच हुन सक्ने हताहतिको जोखिमलाई कम गर्ने प्रयास थियो । 

तेस्रो कुरा– सेना, प्रहरी र राष्ट्रपति निवासमा सुरक्षा दिइरहेका सैन्य बलजस्ता कानुन पालनाका लागि जिम्मेबार निकायले तनावपूर्ण र अवरोधक अवस्थामा पनि स्पष्ट संयम देखाए । प्रमुख तहका शीर्ष नेताहरू पक्राउ पर्नुले मध्य र तल्लो तहका अधिकारीले कानुनको पालना गर्नु, गराउनु पर्ने आफ्नो लोकतान्त्रिक कर्तव्यलाई नछोडेको देखिन्छ ।

मार्सल लको समयमा सैनिक–सिपाहीका पिताहरूले सन् १९८० मेको दक्षिण – पश्चिमी शहर ग्वान्जुमा भएको नरसंहारको सम्झना गराउँदै यो अँध्यारो समयको दायित्व पूरा गर्दा सर्वसाधारणलाई हानी पुग्ने गरी कुनै काम नगर्न आग्रह गरे ।

लोकतान्त्रिक संस्था भनेका तिनले काम सञ्चालन गर्नु पर्ने सामाजिक तथा सांस्कृतिक सन्दर्भबाट टुटेका अमूर्त र अवैयक्तिक संरचना मात्र हैनन् । ती संस्था सर्वसाधारण दक्षिण कोरियालीबाटै बनेका हुन् ।

तिनमा आफ्नै लोकतान्त्रिक शिक्षा र संस्कृति समाहित छ, जसमा तिनले गर्व गर्छन् र रक्षा गर्न उत्सुक हुन्छन् । 

राष्ट्रपतीय कारबाहीको विरुद्धमा भएका लोकप्रिय अवज्ञा र व्यापक जनप्रदर्शनलाई धन्यवाद दिनै पर्छ । धेरै जसो संस्थाहरूले प्रदर्शन र प्रवर्द्धन गरेको लोकतान्त्रिक संस्कृतिका लागि पनि धन्यवाद दिनै पर्छ । यसमार्फत दक्षिण कोरियाली लोकतन्त्रले अहिलेसम्म एक भरपर्दोपन कायम राखेको छ ।

(द गार्जियनबाट अनूदित )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register