नेपाली चियाको स्वाद फैलाउन कस्सिएको फिक्कलको जोडी

काठमाडौं । काम गर्ने मानिसले जहाँ पनि सम्भावना देख्छन् र स्थापित हुन सक्छन् भन्ने बलियो उदाहरण हुन्, रौनियार दम्पती । रौनियार दम्पती त्यी जोडी हो, जसले देशमै बसेर सम्भावनाको गोरेटो खनिरहेको छ – ‘अरोमा टी’ मार्फत । इलामको फिक्कल निवासी यो जोडीले हाल आफूमात्र स्वरोजगार नभएर अरुलाई रोजगारीसमेत दिएको छ । ‘अरोमा टी’ र रौनियार […]

Feb 1, 2025 - 01:22
 0
नेपाली चियाको स्वाद फैलाउन कस्सिएको फिक्कलको जोडी

काठमाडौं । काम गर्ने मानिसले जहाँ पनि सम्भावना देख्छन् र स्थापित हुन सक्छन् भन्ने बलियो उदाहरण हुन्, रौनियार दम्पती ।

रौनियार दम्पती त्यी जोडी हो, जसले देशमै बसेर सम्भावनाको गोरेटो खनिरहेको छ – ‘अरोमा टी’ मार्फत । इलामको फिक्कल निवासी यो जोडीले हाल आफूमात्र स्वरोजगार नभएर अरुलाई रोजगारीसमेत दिएको छ ।

‘अरोमा टी’ र रौनियार दम्पती

‘अरोमा भनेको चाहिँ फ्लेवर भयो, क्वालिटी भयो, सुगन्ध भयो । फेरि चिया भनेको पनि एक किसिमको फ्लेवर नै हो । त्यसैले यही ‘ब्रान्ड नेम’ बनाउन वेस्ट हुने भएकाले अरोमा टी राखेका हौँ ।’

चिया व्यवसायी राजेश राैनियार बताउँछन् । राजेशका अनुसार सन् २०१५ मा ग्लोबल कलेज पढिरहेकी निकिता नेपालबाट जन्मिएको थियो, ‘अरोमा टी’ ।

जागिरभन्दा व्यापार व्यवसायमा झुकाव रहेकी निकिताले एमबीए तहको पढाई सकेपश्चात औद्योगिक क्षेत्रमा पाइला चालेकी थिइन् । त्यसै दाैरान निकिता र राजेश विवाहबन्धनमा बाँधिए ।

विवाहपश्चात निकिताको सपनालाई राजेशले टेको हाले । त्यसपश्चात् निकिताकाे व्यवसायलाई थप विस्तार गर्न आफूहरु नयाँनयाँ आइडियामा काम गर्न थालेको राजेश सुनाउँछन् ।

आफूलाई सानैबाट जागिर गर्नभन्दा पनि व्यापार गर्न मनपर्ने निकिताको भनाइ छ । अराेमा टीभन्दा अगाडी ग्यास सिलिन्डर बिक्रेतादेखि कुर्ता सुरुवाल हुँदै पेपर बिक्रेतासम्मको अनुभव बटुलेकाे उनी बताउँछिन् ।

व्यवसाय सुरु गर्दाका सङ्घर्ष सुनाउँदै उनी भन्छिन् ‘मैले एकदमै ग्रास लेभलबाट काम गर्दै आएकी हुँ । ग्यास सिलिन्डर बेचेर, कुर्ता सुरुवाल बेचेर, पेपर बेचेर लगायतका विभिन्न काम गर्दै पैसा जम्मा गरेर मैले होस्टेल खाेलेकी थिए ।’ उनले थपिन्, ‘होस्टलको नाम अरोमा थियो । त्यहि नामबाट कन्भर्ट गरेर अरोमा प्याकेजिङ इन्ड्रष्टिज र नेपाल अरोमा ट्रेडर्सको नामबाट अरोमा चियाको सुरुवात गरेका हाैँ ।’

उनी इलाममा धेरै चिया उत्पादन हुने भएकाले पनि चिया व्यवसाय गर्न आफू प्रेरित भएको सुनाउँछिन् ।

राजेश आफैँले पनि काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन् । हाल उनी एमबिएका विद्यार्थीलाई अध्यापन गराउने फ्याकेल्टीका प्राध्यापक पनि हुन् ।

‘(ब्यानरमा लेखिएको अरोमा टी) यो देखाउँदै मेरो श्रीमतीको कन्सेप्ट हो । उहाँले देख्नुभएको सपनालाई मैले साथ दिएको हुँ । आज हाम्रो सपना सफलता बनेको छ ।’ राजेश बताउँछन् ।

निकिताको कन्सेप्टलाई ब्रान्डमा स्थापित गर्न आफूले भूमिका निभाएको सम्झन्छन् राजेश । हाल इलामको फिक्कलस्थित सूर्योदयमा छ उनीहरूको चिया उद्योग । त्यहीबाट अरोमा टी ब्याग उत्पादन र प्याकिङ हुने उनीहरू बताउँछन् ।

सात सय रोपनी चिया बगान

राजेश भन्छन्, ‘हाम्रो चाहिँ फिक्कलमा ६, ७ सय रोपनी जग्गा छ । जसमा अरोमा इन्ड्रष्टीजको लागि चिया खेती हुन्छ । त्यसबाहेक, अलैँची, किवी र ब्रुम खेती पनि गर्छौँ ।’ उद्योगको लागि चाहिने सम्पूर्ण कच्चा पदार्थ फिक्कलबाटै जुटाउने उनी बताउँछन् ।

उनीहरूको कारखानाबाट विभिन्न प्रकारका ग्रीन टी, अथ्रोडक्स ब्ल्याक टी, गोल्डेन टी, सिल्भर टी, सीटीसी लगायतका उत्पादन हुन्छन् । जसलाई ब्यागमा प्याक गरेर बजारमा पठाइन्छ ।

अर्थोडक्स चिया फिक्कलको आफ्नै उत्पादन भए पनि सीटीसी भने झापाको बिर्तामोडबाट ल्याउने गरेको राजेशको भनाइ छ ।  उनी भन्छन्, ‘सीटीसी चिया किनेर मसलामा मिसाएर टी ब्याग बनाइ बेच्छौँ । उचाइको कारणले सीटीसी फिक्कलमा उत्पादन हुँदैन त्यसैले किन्न पर्छ ।’ मान्छेलाई चिया भन्नेबित्तिकै इलामको याद आउने भए पनि सीटीसी यहाँ उत्पादन गर्न नसकिने उनी जनाउँछन् ।

व्यावसायिक अनुभव

आफूसँग व्यापारिक योजना भएर मात्र नपुग्ने राजेशको धारणा छ । उनी भन्छन्, ‘उत्पादनभन्दा चुनौतीको विषय बजारीकरण हो । यो मेहनत नगरी हुँदैन । मार्केट आफैँ बनाउनु पर्छ ।जसको लागि आफ्नो प्रोडक्टको विशेषता र महत्त्व ग्राहकलाई बुझाउन सक्नुपर्दछ ।’

प्रतिस्पर्धात्मक बजारमा केही प्रिमियम निकाले मात्र सफल भइने उनी बताउँछन् । ग्रीन टी र ब्ल्याक टीको मिसावटरहित २२ वटा फ्लेवरमा टी ब्याग बनाएको पहिलो कम्पनी सायद आफूहरूकै रहेको उनको दाबी छ । विश्व परिवेशलाई नियाल्ने हो भने नेपाली चिया भनेर स्थापित भएको कुनै चिया नरहेको पनि उनको जिकिर छ ।

दार्जिलिङ चियालाई ब्रान्ड बनाएर इन्डियाले बेचिरहेको उदाहरण दिँदै उनले भने ‘न्युओर्क टाइम्समा आएको अध्ययन प्रतिवेदनअनुसार दार्जिलिङको भन्दा नेपालको इलामको चिया राम्रो छ ।’

चीन, भारतजस्ता छिमेकी मुलुकबाट पनि नेपालको अर्थोडक्स चियाको माग भएको उनी बताउँछन् । अन्तर्राष्ट्रियस्तरमा अरोमा टीको बजार विस्तार गर्न आफूहरू लागिपरिरहेकाे राजेशको भनाइ छ ।

निकिता आफैँ पनि चिया सम्बन्धी विभिन्न तालिम लिन देश विदेश घुम्ने गरेकी छिन् ।

चीनमा चियासम्बन्धी तालिम लिँदै निकिता नेपाल

लगानी गरेपछि पाँच वर्षसम्म मूनाफा खोज्नु हुँदैन

नेपालमा सम्भावना नै छैन भन्नेमा आफू सहमत नरहेको उनी बताउँछन् । कोभिडपछि थोरै खस्किएपनि नेपालमा व्यवसायको राम्रो वातावरण रहेको उनको दाबी छ । ४०-५० लाख, एक करोड पैसा लिएर विदेश जानुको सट्टा दश बीस लाखमा देशमै केही गरे त्यहाँबाट बढी फाइदा हुने उनले बताए ।

लगानी गर्नेबित्तिकै प्रतिफल खोज्ने बानीले मानिसलाई व्यापारमा सफल हुन नदिने उनको धारणा छ । उनी भन्छन्, ‘केही कुरा पनि आजको भोलि रिटर्न हुँदैन । लगानी गरिसकेपछि पाँच वर्षसम्म मुनाफा हैन, स्टाफको खर्च, सरकारलाई कर, अपरेसन खर्च मात्र हेर्नुपर्छ ।’

पाँचवर्षपछि बिस्तारै व्यवसायले लगानी फिर्ता गर्ने उनको भनाइ छ । व्यवसायीको लागि नेपालको आर्थिक अवस्थालाई जबरजस्ती सुधार्ने प्रयास सही नहुने भन्दै उनी थप्छन्, ‘नेपालको आर्थिक अवस्था जस्तो छ त्यस्तै, चल्नुपर्छ ।’

सुरुवाती चरणमा एक हजार किलो चिया पनि बेच्न नसकेको आफ्नै अनुभव सुनाउँदै उनी भन्छन्, ‘अहिले मैले त्योभन्दा निकै धेरै अन्तर्राष्ट्रिय स्तरमा अरोमा चिया बेचिरहेको छु ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register