नेसपा (नयाँ शक्ति)को आसन्न महाधिवेशन र बाबुरामको बाटो

समयक्रमले देखायो कि बाबुराम हरेकचोटि सही सावित भएका छन् । उनले देखेको सत्य आम मानिसले दश वर्षपछि देख्दा रहेछन् । बाबुरामको वैकल्पिक बाटोको सत्य अब अन्तिम मोडतिर आएको स्पष्ट देखिन थालेको छ ।

Feb 3, 2025 - 07:48
 0
नेसपा (नयाँ शक्ति)को आसन्न महाधिवेशन र बाबुरामको बाटो

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन यही माघ २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ । बाबुराम सकियो भन्नेहरूका लागि यो महाधिवेशन एउटा राम्रो जवाफ हुन सक्नेछ । नेपाली राजनीतिमा सिद्धान्त, विचार, दर्शनभन्दा पनि नेतृत्व पक्ष बढि प्रभावी देखिँदै आएकोले यस लेखमा बाबुरामकै बारेमा वस्तुगत विश्लेषण गर्ने प्रयास हुनेछ ।

कुनै पनि समाजमा यथास्थितिवाद र गतिशीलता दुवैपक्ष हुन्छन् । कहिले एक पक्ष प्रभावी हुन्छ भने कहिले अर्को । नेपाली समाजमा पनि त्यही हो । बाबुरामको आलोचना गर्नेहरूले माओवादीमै रहिरहेको भए कस्तो राम्रो हुन्थ्यो भन्छन् । यद्यपि, के कुरा राम्रो हुन्थ्यो र कसरी हुन्थ्यो भन्ने कुराको जवाफ उनीहरूसँग हुँदैन । नेपाली मनोविज्ञानमा यथास्थितिवाद देखिन्छ । खाइपाइ आएको कुरा छोड्नुहुँदैन, रमाउनुपर्छ भन्ने आग्रह स्पष्ट छ ।

आम मनोविज्ञान यस्तै हुन्छ । सुविधाको संसार (कम्फर्ट जोन)मा क्रमभङ्गता चाहँदैन । व्यवस्था (अर्डर)को एउटा ढाँचा खडा भएपछि त्यसको अधिकतम दोहन गर्ने समूहले आफूअनुकूल आम मनोविज्ञान निर्माण गर्छ । तर, नेतृत्व त्यो हैन जो हावाको बहावसँग बग्छ । नेतृत्व त्यो हो जसले हावाको बहाव निर्माण गर्छ ।

बाबुराम ति हुन्, जसले हरेक चोटी हावाको बहावलाई निर्धारण गरेका छन् । विद्यावारिधि गरेर नाम दाम कमाउनतिर नलागी नेतागिरीमा लाग्दा पनि चिने जानेकाले अनेक प्रश्न गरेका थिए । २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनपछि सत्ताको रसस्वादनमा रमाइरहेका दलहरूलाई ४० बुँदे ज्ञापनपत्र थमाउँदा पनि आलोचना खेपेका थिए । संविधानसभा र  गणतन्त्रलाई बटमलाइन बनाउँदा पनि प्रचण्डले श्रम शिविरमा हालेका थिए र झण्डै भौतिक सफाया गरेका थिए । र संविधान २०७२ जारी गरेपछि पुराना दलहरूको औचित्य सकियो भन्दै माओवादीबाट एक्लै बाहिरिँदा पनि अनेक लाच्छना सहेका थिए ।

तर, समयक्रमले देखायो कि बाबुराम हरेकचोटि सही सावित भएका छन् । उनले देखेको सत्य आम मानिसले दश वर्षपछि देख्दा रहेछन् । बाबुरामको वैकल्पिक बाटोको सत्य अब अन्तिम मोडतिर आएको स्पष्ट देखिन थालेको छ । कुनै पनि पदार्थ वा अवधारणा चीरस्थायी हुँदैन । पुराना दलहरू पनि अमर, अजर, अविनाशी हैनन् ।

समयक्रममा आफूलाई अद्यावधिक (अपडेट) गरेन भने जस्तोसुकै वस्तु वा प्रविधि सोनी क्यामेराजस्तै लोप हुनसक्छ । नेपालका पुराना दलहरू काङ्ग्रेस, एमाले र माओवादी शास्त्रीय सूत्र (क्लासिकल फर्मुला) भट्याउँदै खाने भनेको त्यै केही अरू थप समय न हो । तर, त्यसले न नेपालको विकास सम्भव छ न गुणात्मक परिवर्तन । पुराना मेसिनलाई जति डेन्टिङ पेन्टिङ गरे पनि त्यसको आफ्नो सीमा र हद हुन्छ । अहिले पनि बेलारुसी ट्रयाक्टरले खेत जोत्ने भनेको पिछडिएका समाजमा मात्र हो । जसैजसै समाज शिक्षित र आधुनिक बन्दै जान्छ, यी बेलारुसी ट्रयाक्टर विस्थापित हुने निश्चित जस्तै हो ।

बाबुरामले भनेको र गरेको एउटा पक्षको चर्चा अहिले ओझेलमा छ । बाबुरामले अर्थमन्त्री र प्रधानमन्त्री हुँदाताका नेपालको विकास र समृद्धिका लागि एउटा ढाँचा (फ्रेमवर्क) तयार गरिदिएका थिए । उनको कार्यकाल छोटो थियो, तर त्यो समयको अधिकतम सदुपयोग गरे र गणतन्त्र नेपाललाई एउटा खाँचा (सेट अप)मा ल्याइ छोडे । उनका ति निर्णयहरू सबै दीर्घकालीन महत्त्वका थिए ।

कुरा फेरि बाबुरामकै । बाबुरामले भनेको र गरेको एउटा पक्षको चर्चा अहिले ओझेलमा छ । बाबुरामले अर्थमन्त्री र प्रधानमन्त्री हुँदाताका नेपालको विकास र समृद्धिका लागि एउटा ढाँचा (फ्रेमवर्क) तयार गरिदिएका थिए । उनको कार्यकाल छोटो थियो, तर त्यो समयको अधिकतम सदुपयोग गरे र गणतन्त्र नेपाललाई एउटा खाँचा (सेट अप)मा ल्याइ छोडे । उनका ति निर्णयहरू सबै दीर्घकालीन महत्त्वका थिए ।

अहिले ओली सरकारले जश लिन खोज्ने इपीजी होस् वा सामाजिक सुरक्षा कोष, यी काम बाबुरामले सुरु गरेका थिए । प्रचण्डले जश लिन खोजेका लगानी बोर्ड होस् वा नागरिक लगानी कोष वा बुढीगण्डकी जलविद्युत् आयोजना वा लोडसेडिङ अन्त्य, यी काम पनि बाबुरामले नै सुरु गरेका थिए । काङ्ग्रेसले देशको ढुकुटी र राजश्वलाई पुस्तैनी ठान्छ, त्यो राजश्वलाई पनि इतिहासमा पहिलोपल्ट बाबुरामले नै छलाङ दिएका थिए ।

बालेन शाहले सडक विस्तार, सरसफाइ र सौन्दर्यको काम गरी लोकरिझ्याइँ र पब्लिसिटी स्टन्ट गरिरहन्छन्, तर त्यो राजधानी सडक विस्तार, नदी करिडोर र बागमती सफाइ अभियानजस्ता काम पनि बाबुरामले नै सुरु गरेका थिए । अरू कम्युनिष्टहरू सादगी र समाजवादी आचरणका कुरा गरिरहन्छन्, तर बाबुरामले जनतासँग प्रधानमन्त्री, मुस्ताङ म्याक्स र हेल्लो सरकारजस्ता उत्तरदायित्वपूर्ण पहल गरी उदाहरण पेस गरेका हुन् ।

भट्टराईले नेपालको प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा धेरै महत्त्वपूर्ण निर्णयहरू गरेका थिए । प्रधानमन्त्रीको रूपमा उनले सन् २०११ देखि २०१३ सम्म दीर्घकालीन महत्त्वका काम फत्ते गरेका थिए । जस्तो कि उनले माओवादी द्वन्द्वकालीन शान्ति प्रक्रियालाई पूर्णता दिन महत्त्वपूर्ण भूमिका खेले । उनको नेतृत्वमा माओवादी सेनाको एकीकरण र पुनर्वास प्रक्रिया अघि बढ्यो । उनले संविधान सभाको कार्यकाल बढाउने र संविधान निर्माण प्रक्रियालाई अघि बढाउने प्रयास गरे । तर, उनको कार्यकालमा संविधान निर्माण पूरा भएन । तथापि संविधान निर्माणका सम्पूर्ण आधारहरू निर्माण गरिदिए र नयाँ जनादेशका लागि बाटो खोलिदिए ।

बाबुरामले भारतसँग विद्युत् खरिद सम्झौता गरे, जसले नेपाललाई भारतबाट बिजुली आयात गर्न सजिलो भयो र नेपालको लोडसेडिङ हटाउने कामको सुरुवात भयो । भारत भ्रमणको क्रममा उनले बिप्पा सम्झैता पनि गरे र वैदेशिक लगानीको वातावरण तयार गर्ने कोसिस गरे । चीनसँग पनि यस्तै सम्झौता गर्नुपर्ने कुराको पनि उनले वकालत गरे ।

उनले आर्थिक सुधारका लागि पनि धेरै नीतिहरू ल्याए । उनले कर सुधार, राजस्व सङ्कलन र विदेशी लगानी बढाउने प्रयास गरे । उनले मधेसी, दलित, महिला र आदिवासी जनजातिजस्ता समुदायहरूको अधिकार र समावेशीकरणका लागि अनेक काम गरे ।

बाबुरामले २००८ देखि २००९ सम्म अर्थमन्त्रीको रूपमा काम गर्दा आर्थिक विकासका लागि धेरै नीतिहरू ल्याए । उनले गरिबी निवारण, रोजगारी सिर्जना र आर्थिक सुधारमा आफ्नो प्रयास केन्द्रित गरे । उनले विदेशी लगानीलाई पनि प्रोत्साहन दिन धेरै नीतिहरू ल्याए र नेपालमा विदेशी लगानी बढाउने प्रयास गरे । उनले कर सुधारका लागि नीतिहरू ल्याए र राजस्व सङ्कलन बढाउने प्रयास गरे जसमा उनी सफल पनि भए ।

बाबुराम सकियो भन्नेहरूलाई एउटै जवाफ छ, तपाईंका हरेक बहसहरू (डिस्कोर्स)मा बाबुराम अहिले पनि केन्द्रमा हुन्छ, अनि सकियो भनेर कसरी भन्न सक्नुहुन्छ ? तपाईंका दिलमा, दिमागमा र काममा हरेक ठाउँमा बाबुराम छ । तपाईंका प्रशंसामा, आलोचनामा र घृणामा पनि बाबुराम नै छ । अनि सकियो भनेर कसरी भन्न सक्नुहुन्छ ?

आधारभूत संरचना विकासमा जोड दिएर सडक, विद्युत् र सिँचाइ जस्ता क्षेत्रहरूमा लगानी बढाउने प्रयास पनि गरे । र सामाजिक सुरक्षा योजनाहरू ल्याए, जसअन्तर्गत उनले गरिबी रेखामुनिका परिवारलाई सहयोग पुर्‍याए । अति सीमान्तकृत र लोपोन्मुख समुदायका परिवारलाइ भत्ताको व्यवस्था गरे र उनीहरूको मूलप्रवाहिकरणमा लक्षित समुह केन्द्रित (फोकस्ड एप्रोच) तरिका अपनाएर देखाए । यसैगरी साना किसानहरूको ऋण पनि माफ गरी गरीबीको रेखामुनि रहेको ठूलो समुदायलाई गुन लगाए । 

बाबुराम सकियो भन्नेहरूलाई एउटै जवाफ छ, तपाईंका हरेक बहसहरू (डिस्कोर्स)मा बाबुराम अहिले पनि केन्द्रमा हुन्छ, अनि सकियो भनेर कसरी भन्न सक्नुहुन्छ ? तपाईंका दिलमा, दिमागमा र काममा हरेक ठाउँमा बाबुराम छ । तपाईंका प्रशंसामा, आलोचनामा र घृणामा पनि बाबुराम नै छ । अनि सकियो भनेर कसरी भन्न सक्नुहुन्छ ?

२०५२ सालदेखि यो देश एक जनाको एजेण्डामा चलिरहेको छ । ४० बुँदे, १२ बुँदे, गणतन्त्र र नयाँ संविधानको सेरोफेरोमा रहेको यो देशमा बाबुरामलाई राजावादीहरू यसकारण घृणा गर्छन् कि उनी सफल भए र उनका हरेक कुरा सत्य सावित भए । उनलाई घृणा गर्ने अर्कोथरी भारतीय संस्थापन पनि छन्, जो यो सोच्दछ कि बाबुरामले भारतलाई पनि छक्याए, उपयोग गरे र नेपाललाई भारतको पकड (ग्रीप)बाट मुक्त गरिदिए, नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइदिए । 

बाबुरामलाई प्रेम र घृणा दुवै एकसाथ गर्ने माओवादीहरू पनि छन्, जो यो सोच्दछन् कि उनले पार्टी छोड्नु हुँदैनथ्यो र प्रचण्डसँग मिलेर नै यो देशको श्रीसम्पत्तिको ठूलो भागमा ढलिमली गर्नुपर्थ्यो । तर, माओवादीहरूले के भुल्नु हुँदैन भने यो बाबुराम नै हो, जसको हठ या अडान जे भने पनि हुन्छ, ले नै माओवादी आन्दोलन सफल अवतरण भएको हो । अन्यथा प्रचण्ड वा वैद्यको चञ्चलताले सामूहिक आत्मदाह वा जल समाधिमा जाने निश्चित प्रायः थियो ।

यो बाबुराम नै हो, जसले माओवादीलाई हतियार मोहबाट रातारात मुक्त गरिदियो र शान्ति प्रक्रियाको बाटो क्लियर गरिदियो । र, यो बाबुराम नै हो, जसले हरेक माओवादी लडाकुसँग न्याय गर्न प्रयास गर्‍यो र उचित क्षतिपूर्तिको व्यवस्था भयो । अन्यथा काङ्ग्रेस एमाले नेतृत्वको सरकार भएको भए यत्रो क्षतिपूर्ति रकमको व्यवस्था हुने थिएन वा दिन मान्ने थिएन । तैपनि ढुकुटी सिध्याए भनेर कोकोहोलो त गरेकै हुन् ।

काङ्ग्रेस एमालेसँग बाबुरामलाई डाहा गर्ने र उनी देखेर मुर्मुरिनेबाहेक अर्को कुनै उपाय छैन । त्यो किनभने बाबुरामले दुवै ठूला अजङ्गका बडेमान पार्टीरूलाई आफ्नो एजेण्डामा पछिपछि कुद्न बाध्य पारिदिएका छन् । काङ्ग्रेस एमालेसँग कुनै मौलिकता बाँकी छैन । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता बाबुरामका एजेण्डामा आउनुपर्दा काङ्ग्रेस एमालेहरू कुण्ठामा छन् । अझ प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिकता, लोकपाल र पहिचानका मुद्दामा बाबुरामले घिसार्दा यी पुरातनपन्थी दललाई रबर तन्काए सरी दुखाइ हुन्छ ।

संविधान २०७२ जारी पछि बनेका हरेक सरकार हेरौँ, सबैले बाबुरामले नै सुरु गरेका काम अंश अंशमा अगाडि बढाउन खोज्छन् र जश लिन हल्लाखल्ला गर्छन् । सकारेपनि नकारेपनि हरेक दल व्यक्ति र समूह बाबुरामकै विचार पछ्याउन बाध्य छन् । र, अब आउने ३० देखि ४० वर्षसम्म पनि यही वैचारिक राजमार्गमा सारा नेपाल कुद्नुपर्ने बाध्यता देखिन्छ । यसको सुरुवात वैकल्पिक राजनीतिबाट हुन गइरहेको देखिन्छ ।

नेपालमा वैकल्पिक राजनीतिको सम्भावना ठूलो देखाइरहेको छ । परम्परागत राजनीतिक दलहरूले जनताको विश्वास गुमाएका छन् र नयाँ विकल्पको माग बढ्दै गएको छ । यस्तोमा डा. बाबुरामको वैकल्पिक राजनीतिको भाष्य एकचोटी फेरी मूर्तिकृत हुन गइरहेको देखिन्छ । तर, यसको ठुलो शर्त के हो भने विचार र कार्यक्रममा निरन्तरता हुनुपर्छ ।

तीनचार वटा वस्तुगत परिस्थितिको कारण वैकल्पिक राजनीति फस्टाउने कुरा घामजत्तिकै छर्लङ्ग छ । नेपालको राजनीतिक परिदृश्य पछिल्ला केही दशकदेखि निरन्तर परिवर्तनशील रहेको छ । २०४६ को जनआन्दोलन, २०६३ को द्वन्द्वकालीन अवस्था, २०६५ को गणतन्त्र स्थापना र २०७२ को संविधान निर्माण जस्ता ऐतिहासिक घटनाहरूले नेपाली राजनीतिलाई नयाँ आयाम दिएका छन् । तर, यी परिवर्तनका बाबजुद पनि नेपालको राजनीतिमा पारदर्शिता, जवाफदेहिता र समावेशीकरणको अभाव छ । यसले गर्दा नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता र सम्भावना बढ्दै गएको छ ।

परम्परागत राजनीतिको असफलता यस्तो सम्भावनाको सबभन्दा ठुलो कारण हो । नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्र जस्ता परम्परागत राजनीतिक दल देशको आर्थिक विकास, सामाजिक न्याय र सङ्घीय व्यवस्थाको कार्यान्वयनमा असफल भएका छन् । यिनीहरूको नेतृत्वमा भ्रष्टाचार, अराजकता र जनताको आकाङ्क्षा पूरा नहुने भएकाले जनतामा रोष बढेको छ ।

त्यसैगरी नेपालको युवा पुस्ता, जसले देशको जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको छ, परम्परागत राजनीति अस्वीकार गर्दै नयाँ विकल्पको माग गर्दैछ । युवाले पारदर्शिता, रोजगारी र समान अवसरको माग गरेका छन् । नेपालको संविधानले समावेशीकरण र सङ्घीय व्यवस्थाको आधारमा नयाँ राज्य संरचना स्थापना गरेको छ । तर, यसको कार्यान्वयनमा ढिलाइ र असमानताले गर्दा मधेसी, दलित, आदिवासी, महिलाजस्ता समुदायले आफ्नो अधिकार र अवसरको लागि सङ्घर्ष गर्दैछन् । वैकल्पिक राजनीतिले यी समस्या समाधान गर्न सक्छ ।

र अर्को महत्त्वपूर्ण कुरा नेपालको आर्थिक विकास धीमा र सुस्त छ । बेरोजगारी, गरिबी र पलायन जस्ता समस्याले देशलाई ग्रस्त बनाएको छ । वैकल्पिक राजनीतिले आर्थिक नीतिहरूमा केन्द्रित गरी देशलाई आत्मनिर्भर बनाउने दिशामा काम गर्न सक्छ ।

वैकल्पिक राजनीतिको सम्भावनाको कुरा गर्दाखेरी नयाँ संविधान जारी भए यताका केही राजनीतिक विकासक्रम पनि हेर्नुपर्ने हुन्छ । पछिल्ला केही वर्षमा नेपालमा धेरै नयाँ राजनीतिक दलहरूको उदय भएको छ । यी दलहरूले परम्परागत राजनीतिलाई चुनौती दिँदै नयाँ विचार र नीतिहरू प्रस्तुत गर्दैछन् । डा. बाबुराम भट्टराईको नयाँ शक्ति, विवेकशील साझा, रास्वपा, जनमत, राउपा र अन्य केही दल र स्वतन्त्र समूहहरूले वैकल्पिक राजनीतिको आधार तय गरिदिएका छन् ।

नेपालमा नागरिक समाज (सिभिल सोसाइटी) र जनआन्दोलनहरूले पनि राजनीतिमा ठूलो भूमिका खेलेका छन् । यिनीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउने, पारदर्शिता माग्ने र जनताको अधिकारको लागि सङ्घर्ष गर्ने काम गरेका छन् । यिनीहरूले पनि वैकल्पिक राजनीतिको लागि मजबुत आधार दिएका छन् ।

यसैगरी वैकल्पिक राजनीतिले प्राविधिक र आर्थिक विशेषज्ञतालाई केन्द्रमा राख्न सक्छ । अर्थशास्त्री, वकिल, पत्रकार, डाक्टर, इन्जिनियर र अरू विशेषज्ञले नेपालको आर्थिक सामाजिक नीतिहरूमा हस्तक्षेप र सुधार गर्न सक्छन् । युवा नेतृत्वको उदयले पनि वैकल्पिक राजनीतिको लागि नयाँ ऊर्जा र दिशा दिनेछ । युवाहरूले प्रविधि, नवीनता र समावेशीकरणलाई प्राथमिकता दिन सक्छन् ।

यी सबै आधारहरूले नेपालमा वैकल्पिक राजनीतिको सम्भावना ठूलो देखाइरहेको छ । परम्परागत राजनीतिक दलहरूले जनताको विश्वास गुमाएका छन् र नयाँ विकल्पको माग बढ्दै गएको छ । यस्तोमा डा. बाबुरामको वैकल्पिक राजनीतिको भाष्य एकचोटी फेरी मूर्तिकृत हुन गइरहेको देखिन्छ । तर, यसको ठुलो शर्त के हो भने विचार र कार्यक्रममा निरन्तरता हुनुपर्छ ।

गणतन्त्र नेपालको संविधान निर्माणपछि बाबुरामका पछिल्ला नौ वर्ष अनेक प्रयोग र मोडहरू पार गर्दै बितेका देखिन्छन् । कतिपय प्रयास असफल पनि भए । खासगरी मधेसकेन्द्रित दलहरूसँग गर्न खोजिएको एकता । ती क्षेत्रीय दलहरू खासमा सत्ता साझेदारीमै रमझम भैरहेको बेला परम्परागत दलका वैकल्पिक उत्तराधिकारी बन्नेतिर ध्यान नै गएन । एकातिर वैकल्पिक शक्ति बन्नेतिर बाबुरामको वृहत् बुझाइ थियो भने अर्कोतिर मधेसकेन्द्रित दलहरूले आफ्नो मौजा छाडेर बाहिर निस्किने आँट नै गर्न सकेनन् ।

बाबुरामको अर्को पहल समाजवादी मोर्चाको देखिन्छ । प्रचण्डलाई गोर्खा निर्वाचन क्षेत्र सुम्पेर माओवादीलगायतका अरू पनि कम्युनिष्ट नामधारी शक्तिलाई रूपान्तरणको मौका उपलब्ध गराएकै हुन् बाबुरामले । तर, प्रचण्ड हुन् कि माधव नेपाल, ती सबै पुराना राजनीतिक नेतृत्वहरू संसदीय खालमा यसविधि रूपान्तरण भैसकेका रहेछन् कि अब उनीहरू थाकिसकेका घोडाजस्ता मात्र देखिए । उनीहरूमा उर्जा र सृजनशीलता मरिसकेको पुष्टि भइसकेको छ । 

यी सबै आरोह अवरोह पार गर्दै नेसपा (नयाँ शक्ति)को महाधिवेशनसम्म आइपुग्दा बाबुराम सिद्धियो होला भन्ठानेकाहरू निराश हुनुपर्ने अवस्थामा छन् । यो महाधिवेशनबा बाबुराम अझ शुद्ध र खारिएर निस्कने अवस्थामा आइपुगेका छन् । बाबुरामका प्रस्तुतीहरू हेर्दा प्रष्ट देखिन्छ, उनी अब यो अन्तिम पारिको राजनीतिमा स्पष्ट छन् । आफ्नो वैकल्पिक बाटोमा झनै प्रष्ट र पहिलाभन्दा बढि आत्मविश्वासले भरिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register