‘कमान्डर’ दुर्गा प्रसाईं : ज्ञानेन्द्र शाहको अन्तिम गल्ती !
दुर्गा प्रसाईंका अराजक गतिविधिले ज्ञानेन्द्र शाह थप अप्ठ्यारोमा परेका छन् । स्थितिलाई थप उत्तेजक हुन नदिन उनले आफ्ना नाजायज महत्वाकाङ्क्षा र गतिविधि स्थगन गर्न उचित हुन्छ । अन्यथा प्रसाईंको 'कमान्डरी' पूर्वराजाशाहको अन्तिम गल्ती सावित हुन सक्दछ ।

काठमाडौं । भलै कि पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकाल निरङ्कुश, अधिनायकवादी र क्रूर थियो, उनीमाथि अनेक आरोप थिए, तर, बाह्य चरित्रमा भने उनी ‘शिष्ट, शालीन, धैर्यवान र मर्यादित’ देखिन खोज्थे । यद्यपि, उनले त्यस्तो आवरण कायमै राखेका छन् तर, राजावादी प्रदर्शनको कमान्डर भने त्यस्तो व्यक्तिलाई रोजेका छन्, जसमा उपरोक्त कुनै गुण छैन ।
धेरैको बुझाईमा माहोल बन्दै गएजस्तो देखिएको राजावादी प्रदर्शनको पारो चैत्र १५ गतेको तीनकुने हिंसापछि ओरालो लागेको छ । दुर्गा प्रसाईंलाई कमान्डर बनाउने ज्ञानेन्द्र शाहको निर्णय यसका लागि जिम्मेवार रहेको धारणा सामाजिक सञ्जालमा बाक्लै देखिन्छ । दुर्गा प्रसाईंको अराजक व्यवहारकै कारण त्यो दिनको राजावादी प्रदर्शन र सभा बिथोलिएको धारणा बढ्दो छ ।
पत्रकार बबिता बस्नेतले दुर्गा प्रसाईंको छनोटलाई पूर्वराजाको अन्तिम गल्ती भनेकी छन् । सामाजिक सञ्जालमा उनी लेख्छिन् –‘जब मुलुकमा राजकाज गरिरहेका नेताले धर्म छोड्न थाल्छन्, असल मानिस राजनीतिबाट टाढा हुन्छन्, अनि दुर्गा प्रसाईंहरूको जन्म हुन्छ । यस्ता अराजक र गैरजिम्मेवार व्यक्तिलाई आन्दोलनको कमान्डर बनाएर पूर्वराजा ज्ञानेन्द्रबाट सम्भवतः जिन्दगीको अन्तिम गल्ती भएको छ ।’
शुक्रबारको हिंसात्मक प्रदर्शनको एक दिन अघि निर्मल निवासमा दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि राजावादी प्रदर्शनको कमान्डर बनाइएको समाचार आएको थियो ।
पत्रकार विजयकुमार पाण्डेले पनि ठीक त्यस्तै धारणा व्यक्त गरेका छन् । एक्समा उनले लेखेका छन् –‘अरुले हैन, आदरणीय पूर्वराजाले स्वयं बुझ्न पर्छ, नेपालमा कदाचित राजसंस्था फर्काउने नै हो भने पनि यस्तो कमान्डरले किमार्थ सक्दैन, जो आफ्नो गाडी प्रहरीमाथि हुइँक्याएर निषेधित घेरा तोड्छ र तथानाम गाली गलौज गर्दै मैदानबाट भाग्छ । कमान्डर पनि कस्तो ? चार जना पुलिसले खोज्ने बित्तिकै फरार हुने मान्छे पनि कमान्डर हुन्छ ?’
शुक्रबारको हिंसापछि प्रसाईं फरार छन् ।
नेकपा कालमा उनी दुवै कम्युनिष्ट अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नजिक देखिएका थिए । दुवै अध्यक्षलाई एउटै टेबलमा राखेर भोजन गराएको तस्वीर सार्वजनिक भएपछि उनले ‘मार्सी भात’ सञ्ज्ञा पाएका थिए । ‘मार्सी भात’ प्रसाईंको उपनामजस्तो ‘ब्रान्डिङ’ भएको थियो । उनी सार्वजनिक चर्चाको पात्र बनेको यही घटनापछि हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र पुनर्स्थापनाका लागि प्रदर्शन गर्न कमान्डर बनाएका प्रसाईं खासमा ‘राजावादी’ पनि हैनन् । देशमा माओवादी युद्ध चलिरहेका बेला उनी त्यसकै समर्थक थिए । उनकै भनाइमा गणतन्त्रका लागि सैनिक हिरासतमा बसेका थिए ।
नेकपा (नेकपा) कालमा उनी दुवै कम्युनिष्ट अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नजिक देखिएका थिए । दुवै अध्यक्षलाई एउटै टेबलमा राखेर भोजन गराएको तस्वीर सार्वजनिक भएपछि उनले ‘मार्सी भात’ सञ्ज्ञा पाएका थिए । ‘मार्सी भात’ प्रसाईंको उपनामजस्तो ‘ब्रान्डिङ’ भएको थियो । उनी सार्वजनिक चर्चाको पात्र बनेको यही घटनापछि हो ।
नेकपाको विभाजनपछि उनी केही समय नेकपा (एमाले) को केन्द्रीय सदस्य भए । २०७९ सालको आम निर्वाचनसम्म उनी एमाले थिए । यसरी गणतन्त्रवादी माओवादी आन्दोलनदेखि एमाले र राजावादीसम्म हुन केही वर्ष नलाग्ने उनको चरित्रलाई धेरैले ‘अराजनीतिक र अवसरवादी’ ठान्दछन् ।
राजनीतिक विश्लेषक मुमाराम खनाल लेख्छन्–‘दुर्गा प्रसाईंको मतियार पुष्पकमल दाहाल हुँदा पनि विरोध गरियो । खड्ग ओली हुँदा पनि विरोध गरियो र ज्ञानेन्द्र शाह हुँदा पनि विरोध गरियो । यी तीनवटा शक्ति भनेको दुर्गा प्रसाईंको स्तरभन्दा पनि तल्लो स्तरका रहेछन् । यस्ता तल्ला स्तरका मान्छेले न गणतन्त्र रक्षा गर्छन् न राजतन्त्र ल्याउन सक्दछन् ।’
ज्ञानेन्द्र शाहका कमान्डर प्रसाईंबारे यस्तो धारणा बन्नुको कारण भने स्वयं उनका अभिव्यक्ति नै हुन् । उनले बेलाबेला स्वयं पूर्वराजा र राजावादी पार्टीका अन्य नेतालाई पनि बाँकी राख्दैनन् । केही दिन अघि मात्र राप्रपालाई उनले ‘एमालेको भातृसङ्गठन’ भनेका थिए ।
राजावादी खेमाका अन्य नेतासँग उनी बारम्बार ‘इरिटेसन’ व्यक्त गर्दछन् । कमल थापा र राजेन्द्र लिङ्देनलाई मान्छे गन्दैनन् । पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीजस्ता पाका पुराना पूर्वपञ्चलाई पनि सम्मान गर्दैनन् । प्रसाईंलाई लाग्छ कि राजावादी धारको राजनीति उनैले धानेका छन् । उनी ज्ञानेन्द्र शाहका ‘अर्जुन’ बन्ने प्रयत्नमा छन् ।
प्रसाईं अहिलेसम्म राप्रपा प्रवेश गरेका छैनन् । जबकी देशको एक मात्र राजावादी राजनीतिक दल राप्रपा नै हो ।
प्रसाईंले केही समय आफ्नो भिन्नै अभियान चलाए । उनको अभियान बैङ्क, लघुवित्त, सहकारी तथा मिटर ब्याज पीडितको न्यायका लागि भनेर सुरु भएको थियो । प्रारम्भमा उनी वित्तीय नीतिमाथि प्रश्न गर्थे । विस्तारै राजनीतिक मुद्दामा प्रवेश गर्न थाले । अन्ततः राजावादी बन्न पुगे । जबकी अभियानको प्रारम्भिक चरणमा उनी आफूलाई ‘राजावादी हैन, राष्ट्रवादी’ भन्ने गर्थे ।
पार्टी सदस्य समेत नभएको व्यक्तिलाई विधान विपरित सीधै केन्द्रीय सदस्य बनाएको भनेर एमालेमा चर्को आलोचना भयो । प्रसाईंको कारण अध्यक्ष ओली समेत अप्ठ्यारोमा परे । एमालेमा अरुले अध्यक्ष ओलीलाई ‘केपी बा’ भन्दै गर्दा प्रसाईंले भने ‘हजुरबा’ भन्ने गर्थे । तर, ‘हजुर बा’ र ‘नाति’ को सम्बन्ध त्यति धेरै लामो टिकेन ।
प्रसाईंको चरित्र कुनै एक राजनीतिक शक्तिकेन्द्रलाई मान्ने र त्यसको वरिपरि रहेर अराजकता प्रदर्शन गर्ने देखिन्छ । सुरुमा उनी माओवादी अध्यक्ष प्रचण्डको नजिक थिए । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नजिक भए । यी दुवै शक्तिकेन्द्रसँग उनी के कारणले असन्तुष्ट भए भन्ने प्रष्ट छैन । प्रसाईंको अराजकता र उग्रमहत्वाकाङ्क्षा ‘अनुशासित’ मानिने कम्युनिष्ट पार्टीहरूका लागि सायद मिल्दो थिएन ।
पार्टी सदस्य समेत नभएको व्यक्तिलाई विधान विपरित सीधै केन्द्रीय सदस्य बनाएको भनेर एमालेमा चर्को आलोचना भयो । प्रसाईंको कारण अध्यक्ष ओली समेत अप्ठ्यारोमा परे । एमालेमा अरुले अध्यक्ष ओलीलाई ‘केपी बा’ भन्दै गर्दा प्रसाईंले भने ‘हजुरबा’ भन्ने गर्थे । तर, ‘हजुर बा’ र ‘नाति’ को सम्बन्ध त्यति धेरै लामो टिकेन । त्यसपछि उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शक्तिकेन्द्र स्थापना गरे ।
प्रसाईं आफैँले आफैलाई ‘आठ कक्षा पास’ भन्ने गर्दछन् । तर, संसारको ‘सबै दिव्य ज्ञान’ आफूमा भएको दाबी गर्छन् । सार्वजनिक जीवनमा बोल्न नमिल्ने कयौँ अश्लिल र अपशब्द बोल्छन् । विशेष गरी लैङ्गिक समानता विपरित महिला लक्षित गरी उनले कयौँ आपत्तिजनक शब्द प्रयोग गरिरहेका हुन्छन् । त्यस्ता शब्द प्रयोग गर्दा उनमा कुनै ग्लानि, लज्जा र पश्चाताप देखिँदैन । बरु उल्टै हाँस्दै, फुर्किदैँ, उत्साहित र गौरवान्वित भइरहेका हुन्छन् ।
ज्ञानेन्द्र शाहले प्रसाईंलाई राजावादी प्रदर्शनको कमान्डर किन बनाए होलान् ? त्यसको उत्तर पनि प्रसाईंले आफैँ दिने गरेका छन्–‘दूध दिने गाईको लात्ती सहनु पर्दछ ।’ प्रसाईको दाबी छ कि उनले मात्रै ज्ञानेन्द्र शाहको गुमेको राजपाठ र श्रीपेच फिर्ता गर्दिन सक्दछन् । प्रसाईं जति सक्रियतापूर्वक खट्न सक्छन्, मास प्रभावित गर्न सक्छन्, अरु राजावादी नेतामा त्यो क्षमता छैन । प्रसाईंका सामु सबैजसो पुराना राजावादी नेता ‘बेत बसेका गाई’ जस्ता भएका छन् ।
यसरी प्रसाईंले राजावादी खेमाका पुराना नेतालाई बडो अप्ठ्यारोमा धकेलिदिएका छन् । उनीहरू प्रसाईंको भूमिका र आवश्यकतालाई अस्वीकार गर्न पनि सक्दैनन् । खुला हृदयले स्वीकार पनि गर्न सक्दैनन् । प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहकै छनोटमा परेपछि अरुले भन्नु केही बाँकी रहेन ।
२०५८ को नारायणहिटी दरबार हत्याकाण्डमा वीरेन्द्र शाहको वंश विनाशपछि संयोगले ज्ञानेन्द्र शाह राजा भए । त्यसो त उनी २००७ सालमा पनि राजा भएका थिए। अर्को ऐतिहासिक संयोगले । तत्कालीन राजा त्रिभुवन शाहले सपरिवार भारतमा शरण लिएपछि छुटेका ज्ञानेन्द्र शाहलाई राणा शासक मोहन शमशेरले राजा घोषणा गरेका थिए ।
११ पुस्ता र २४० वर्ष टिकेको शाहवंशीय राजतन्त्र आफ्नो शासन अवधिमा समाप्त भएको पीडा र पश्चाताप सायद ज्ञानेन्द्र शाहको हृदयमा बाँकी नै छ । जीवनको उत्तरार्धतिर पुगेका शाहले सहज राजनीतिक प्रक्रियाबाट पुनर्स्थापित हुने आशा मारिसकेको हुनु पर्दछ ।
देशमा गणतन्त्र आएको १७ वर्ष लाग्यो । ज्ञानेन्द्र शाहको श्रीपेच फर्किने राजनीतिक सम्भावना कहिँ कतै देखिन्न । सम्भवत यही कारणले शहरिया विद्रोहको बाटोबाट एक अन्तिम प्रयास गर्ने सोच शाहमा आएको हुन सक्दछ । ‘बोल्ड म्यान इन अ हरी’ भने जस्तो हतास मनस्थितिमा उनले प्रसाईंजस्ता सारथी रोजेका हुन सक्छन् ।
ज्ञानेन्द्र शाहको श्रीपेच गुम्नु स्वयं उनकै गल्तीहरूको सञ्चित परिणाम थियो । राजा भएदेखि नै उनले एकपछि अर्को गल्ती गर्दै गएका थिए । संवैधानिक राजाको सीमा नाघेर जब उनले २०६१ माघ १९ गतेको कदम चाले र आफैँ प्रत्यक्ष शासन गर्न थाले त्यसले निम्त्याएको नयाँ राजनीतिक ध्रुवीकरणले २४० वर्षे शाहवंशीय राजतन्त्र समाप्त भएको थियो ।
राजतन्त्र अन्त्यको सङ्क्रमणकाल संसारका धेरै मुलुकमा निर्मम हुने गरेको इतिहास छ । त्यसका तुलनामा यहाँ सहज प्रक्रिया अवलम्बन गरिएको थियो । २०६५ ज्येष्ठ १५ गते निर्वाचित संविधानसभाले राजतन्त्र अन्त्य गर्ने निर्णय गरेपछि ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छोड्न बाध्य भएका थिए । उनलाई गणतान्त्रिक राज्यले नै सुरक्षा र आवासका लागि नागार्जुन दरबार दिएको थियो ।
गणतान्त्रिक राज्यले ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यमाथि कुनै प्रकारको ज्यादती, दमन वा निर्मम व्यवहार गरेको छैन । इतिहासको जटिल सङ्क्रमण सहज बनाउने अभ्यासलाई कतै ज्ञानेन्द्र शाहले कमजोरीका रुपमा बुझेको त हैन भन्ने प्रश्न समेत उठेको छ ।
दुर्गा प्रसाईंका अराजक गतिविधिले ज्ञानेन्द्र शाह थप अप्ठ्यारोमा परेका छन् । उनी आफ्नो गलत छनोटको शिकार आफैँ हुँदैछन् ।
ज्ञानेन्द्र शाहको श्रीपेच गुम्नु स्वयं उनकै गल्तीहरूको सञ्चित परिणाम थियो । राजा भएदेखि नै उनले एकपछि अर्को गल्ती गर्दै गएका थिए । संवैधानिक राजाको सीमा नाघेर जब उनले २०६१ माघ १९ गतेको कदम चाले र आफैँ प्रत्यक्ष शासन गर्न थाले त्यसले निम्त्याएको नयाँ राजनीतिक ध्रुवीकरणले २४० वर्षे शाहवंशीय राजतन्त्र समाप्त भएको थियो ।
अहिले शाहलाई दिइदै आएका राजकीय सुविधा खोसिनु पर्ने जन दबाब चर्को हुँदै गएको छ । सरकारले त्यसका लागि केही साङ्केतिक निर्णय समेत गरिसकेको छ । शुक्रबारको घटनाका लागि जिम्मेबार बनाउँदै ज्ञानेन्द्र शाहलाई पक्राउ गरी मुद्दा चलाउनुपर्ने माग सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेको छ । राजनीतिक दलले तीनकुने हिंसाका लागि शाहलाई जिम्मेवार करार गरेका छन् । काठमाडौं महानगरपालिकाले शाहको नाममा जरिवाना पत्र काटेको छ ।
यी सबै कुराले शाहको बाँकी बचेको प्रतिष्ठा र ओजलाई थप सस्तो, हल्का र फितलो बनाइदिएका छन् ।
स्थितिलाई थप उत्तेजक हुन नदिन ज्ञानेन्द्र शाहले आफ्ना नाजायज महत्वाकाङ्क्षा र गतिविधि स्थगन गर्न उचित हुन्छ । एक ऐतिहासिक र सम्मानित परिवारका रुपमा सहज, शान्तिपूर्ण नागरिक जीवन व्यतीत गर्नु शाहका लागि सबैभन्दा उत्तम उपाय हो ।
अन्यथा पत्रकार बबिता बस्नेत भनेजस्तै दुर्गा प्रसाईंको ‘कमान्डरी’ पूर्वराजा ज्ञानेन्द्र शाहको अन्तिम गल्ती सावित हुन सक्दछ ।
What's Your Reaction?






