मुक्तिनाथ विकास बैंकमा नक्कली ऋण काण्ड, फिल्मको कहानीजस्तो ठगी ! (भिडियो)

काठमाडौँ । यो देशको सिष्टम नै यस्तो छ, जहाँ पावरमा बसेकाहरुलाई पावर दुरुपयोग गरेर कमाउने लालचा छ । यो समाज नै यस्तै भइसक्यो, मान्छेमा धैर्यता भन्ने चीज हराउँदै गएको छ । कसरी हुन्छ, आज हजार नभएको मान्छे भोलि लाखमा खेल्न चाहन्छ, पर्सि करोड पति बन्न चाहन्छ । करोड कमाएको दिन उसको सपना अर्बको हुन्छ । […]

Feb 11, 2025 - 02:00
 0
मुक्तिनाथ विकास बैंकमा नक्कली ऋण काण्ड, फिल्मको कहानीजस्तो ठगी ! (भिडियो)

काठमाडौँ । यो देशको सिष्टम नै यस्तो छ, जहाँ पावरमा बसेकाहरुलाई पावर दुरुपयोग गरेर कमाउने लालचा छ । यो समाज नै यस्तै भइसक्यो, मान्छेमा धैर्यता भन्ने चीज हराउँदै गएको छ । कसरी हुन्छ, आज हजार नभएको मान्छे भोलि लाखमा खेल्न चाहन्छ, पर्सि करोड पति बन्न चाहन्छ । करोड कमाएको दिन उसको सपना अर्बको हुन्छ । र अर्वको सपनासम्म पुगेको उ ब्युँझिँदा उसको बास जेलको कालो कोठामा भइसकेको हुन्छ । यहाँ पैसा आउँछ भनेपछि बैंकर दलाल बन्न बेर लाग्दैन, दलाल, बैंकर बन्न बेर लाग्दैन । पैसा भनेपछि मान्छे यतिसम्म क्रूर हुँदैछ समाजमा कि उसले के सही के गलत छुट्याउनु त परकै कुरा, यो गलत हो भन्ने जान्दाजान्दै पनि गलत काम गर्छ । पैसाको लालचमा रमाएको मान्छेले आफ्नो परिचय त नक्कली बनाउँछ भने कागजको के कुरा भो र ? र आज हामी त्यस्तै एउटा घटनाको नालीबेली खोतल्दैछौँ, जहाँ मुक्तिनाथ विकास बैंकमा नक्कली जग्गाधनीको श्रेस्ता बनाई बैंकबाट ऋण झिकिएको छ । सो ऋण प्रकरणमा स्वयम् बैंकका कर्मचारी पक्राउ परेका छन् ।

आम मान्छेले केही नयाँ काम गर्छु भन्दा, सक्कली जग्गा राखेर २० ठाउँमा ल्याप्चे लगाउँछु भन्दा पनि आयको स्रोत, किस्ताको आधार, अनेक हेरेर, किड्नी नै दिएजस्तो व्यवहार गर्ने मुक्तिनाथ विकास बैंकले नक्कली जग्गा धनी श्रेस्ताकै आधारमा ऋण दिएको एउटा घटना आज प्रस्तुत गर्दैछौँ । जहाँ, यस्तो गलत काममा संलग्न भएको आरोपमा मुक्तिनाथ विकास बैंक बाँके शाखा प्रबन्धक अशोक कोइरालासहित थप तीन जना पक्राउ परेका छन् । बैंकको ऋण शाखामा कार्यरत राजन थापा र जिल्ला मालपोत कार्यालय बाँकेमा लेखनदासको काम गर्ने महिला श्रीधरा वलीलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । बैंकको ऋण शाखामै कार्यरत कर्मचारी संजय यादवलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

भएको के हो ?
मुक्तिनाथ विकास बैंकको यो नक्कली धितो काण्ड बुझ्न बाराका फिरोज लामासम्म पुग्नुपर्छ । उनी काठमाडौँमा रहेर गार्मेन्ट व्यवसाय गर्ने व्यक्ति हुन् । एक दिन उनको भेट बाराकै दिलिपकुमार सिंहसँग हुन्छ । दिलीपले फिरोजलाई जुम्लाको चन्दननाथ नगरपालिका ८ बस्ने रेश्मा श्रेष्ठको नाममा रहेको बाँकेको डुडुवा गाउँपालिका–५ मा रहेको कित्ता नम्बर १५१ र १५२को ३३ कट्ठा जग्गा बैंकबाट लिलाम हुन लागेको कुरा सुनाउँछन् । 

दिलिपले भने, ‘बैंकले रेश्माको जग्गा लिलाम गर्न खोजेको छ । अहिले रेश्मालाई ६० लाख रुपैयाँ रेश्मालाई ऋण दिउँ । उसले ब्याजसहित पैसा फिर्ता तिरीहाल्छिन् । ऋण तिरिनन् भने उनको नाममा रहेको करिव डेढ करोड रुपैयाँ पर्ने जग्गा तिम्रो हुन्छ ।’

यो तराईतिर चलिआएको चलन पनि थियो । फिरोजले यसो दिमाग घुमाए । ऋण तिर्न सके ब्याज पनि आयो, तिर्न नसके डेढ करोडको जग्गा आफ्नो भयो । जग्गा बैंकमा राखे बैंकले ऋण पनि दिईहाल्छ, त्यहि पैसा रेश्मालाई ऋण दिने, ऋण नतिरे डेढ करोडको जग्गा आफ्नो भयो ।  यहाँ त रेश्माले ऋण तिर्दा भन्दा नतिर्दा फाइदा पो हुने भयो । उनले ६० लाख ऋण तिर्न नसके डेढ करोडको जग्गा आफ्नो हुने भयो ।

दिलीपसँगै २२ वर्षीय केटो गौरव कार्की पनि सँगै थिए । उनी काभ्रेका हुन् । दिलिप र गौरव र मालपोतमा काम गर्ने कर्मचारी मिलेर एउटा ग्याङ्ग बनाएका थिए । जसको काम नै लामो समयदेखि कारोबार नभएको जग्गा खोज्ने र अरुलाई फसाउने थियो । दिलीपले फिरोजलाई हौसाउँदै गर्दा दिलिपको कुरामा गौरबले पनि होमा हो थपे । ६० लाख लगानी, डेढ करोड आम्दानी भनेर फिरोजलाई दुवै मिलेर हौसाए ।

अव उनीहरुको मुख्य प्लान सुरु भयो । फिरोजलाई दिलिप र गौरबको जोडीले बाँकेको डुडुवा गाउँपालिका–५ मा आकर्षक जग्गा देखाए । हेर्दा चट्ट परेको, रुमाले जग्गा देखेपछि फिरोज पनि हौसिए । उनीहरुले रेश्मा श्रेष्ठको रुपमा खडा हुने एक महिलालाई पनि तयार गरिसकेका थिए । बाँकेमा लेखनदासको काम गर्ने महिला श्रीधरा वली नभन्दै रेश्मा श्रेष्ठ भन्दै सँगै आइन् । ती महिलाले एक बैंकबाट लिएको ऋण तिर्न नसकेकाले आफ्नो जग्गा लिलाम हुन लागेको भन्दै अनुनय विनय गरिन् । ’६० लाख रुपैयाँ तिर्न नसक्दा मेरो डेढ करोडको जग्गा बैंकले खाने भो । दुई चार पैसा पनि हुन्छ, धर्म पनि लाग्छ’ भन्दै ती महिलाले अनुनय विनय गर्न थालिन् । बैंकले खानु भन्दा त तपाईं आफ्नै मान्छेको साथी हुनुहुँदो रहेछ भनेर यो मौकाको फाइदा उठाउन र आफुलाई पनि बचाउन भन्दै उनले पनि फिरोजलाई उक्साईन् । सबैले सहमति गरे । सबै कुरा मिल्यो ।

यता दिलिप र गौरबको टोलीले मालपोतका कर्मचारी र जमिन धितो रहेको भनिएको मुक्तिनाथ विकास बैंकका केही कर्मचारीलाई पनि प्रभावमा पारेर राखेका थिए । के हजारमा खेल्छौ यार, हामीसँग संगत गर लाख हुँदै करोडमा खेल्ने हुन्छौ भनेर उनीहरु मुक्तिनाथ विकास बैंकका कर्मचारीलाईसमेत उक्साउँथे । दिनहुँको टर्चर, हाकिमको गाली, टार्गेटको प्रेसर र थोरै तलव । यो भन्दा त लाख–लाख कमाउने सपना मिठो थियो उनीहरुका लागि ।  

अव प्लानअनुसार काम गर्ने समय आयो । मालपोतको कार्यालय अगाडी चौरमा बसेर दिलिप र गौरबले सबै सेटिङ्ग मिलाए । मालपोतका कर्मचारीले सक्कली लालपुर्जा हेरेर नक्कली लालपुर्जा बनाए । ‘मालपोत त मेरै साथीको अड्डा हो, हाकिम नै मेरो साथी हो, छाप ल्याप्चे सबै यहीं गरेर जाने हो’ भन्दै दिलिप र गौरबले आफुहरु ठुलो मान्छे रहेको ढाडस दिए । दिलिप र गौरबको मास्टर प्लान अनुसार नै डुडुवा–५ को १५१ र १५२ कित्ता नम्बरको ३३ कट्ठा जमिनको फेक कारोबार हुने भयो । २०७९ फागुन १५ गते जुम्लाको चन्दननाथ नगरपालिका–८ की रेश्मा श्रेष्ठको नामको जग्गा, नक्कली लालपुर्जा बनाएर बाराका फिरोज आलमको नाममा पास भयो । मालपोतमा खासै केही झन्झट भएन, कारण सबै सेटिङ्गमै चलिरहेको थियो ।

फिरोजको नाममा लालपुर्जा आयो । र सोहि लालपुर्जा राखेर फिरोजले बैंकको काठमाडौं लगनटोलस्थित शाखाबाट एक करोड २० लाख रूपैयाँको कर्जा स्वीकृत गराए । सबै काम सेटिङ्गमा भएकाले बैंकबाट ऋण निकाल्न अफ्ट्यारो भएन । साइट हेरेको, सबै ठिक रहेको भन्दै बैंकका शाखा प्रबन्धकले सही ठोके । त्यसपछि ऋण ननिस्किने कुरै भएन । अर्थात नक्कली पुर्जाकै आधारमा मुक्तिनाथ विकास बैंकले ऋण दियो ।

केही समयपछि फिरोजलाई ऋणको सिमा बढाउन मन भयो । दुई पक्षबीच सुरूमै ऋणको सीमा बढाउन पाउने सहमति भएकाले फिरोजले बैंकबाट फेरि ऋणको सीमा बढाउन खोजे । ऋणको सिमा बढाउन आवश्यक कागजात लिन उनी पुनः मालपोत गए । तर मालपोत पुगेर आफ्नो जग्गाको विवरण खोज्दा त उनको नाममा जग्गाको विवरण नै फेला परेन । हातमा लालपुर्जा छ, बैंकमा ऋण छ, पैसा अरुले पनि चलाएका छन् तर मालपोतमा जग्गाको विवरण नै छैन । उनले तुरुन्त आफ्ना साथीभाइलाई फोन गरे तर रेस्पोन्स आएन । फिरोज मालपोतबाट निस्के । यति बेलासम्म बैंकमा नक्कली कागज बनाएर ऋण लिएको खबर मालपोत पुगिसकेको थियो । ऋण नियमित नभएपछि बैंकले जग्गा खोज्दै जाँदा पुर्जा नै नक्कली भएको देखियो । र बैंकले यस विषयमा मालपोतमा जानकारी गराएको दाबी बैंकको छ । यहि बेला मालपोतका कर्मचारीहरुले फिरोज मालपोतमा आएको र नक्कली लालपुर्जा बनेको विषयको घटना प्रमुख जिल्ला अधिकारीलाई भेटेर जानकारी गराए । मालपोतले दिएको आधार र बयानका आधारमा सिडिओ कार्यालय हुँदै केस जिल्ला प्रहरी कार्यालयमा पुग्यो । फिरोज पक्राउ परे । र यो फिल्मी शैलीको घटनामा प्रहरीले थप अनुसन्धान सुरु गर्यो । पछि अदालतले फिरोजलाई धरौटीमा छोड्न आदेश दियो ।

मालपोत कार्यालयमा अहिले पनि सो जग्गा सक्कली धनी चन्दननाथ–८ की रेश्मा श्रेष्ठकै नाममा छ । आफ्नो नाममा रहेको जग्गाको केही कित्ता काट भएर केही कित्ता बिक्रीसमेत श्रेष्ठले गरिसकेकी छिन् । प्रहरीले थप अनुसन्धान गर्दै गयो । अनुसन्धानकै क्रममा थाहा भयो कि दिलीप र गौरवसहितको यो ठगी गर्ने समूहले पोखरामा पनि यसैगरी ठगेको रहेछ ।

यो ठगी केसमा गौरब मात्र होइन गौरबको खाताबाट उनकी आमा आमाको नाममा पनि पैसा गएकाले उनकी आमा पनि पक्राउ परिसकेकी छिन् । दिलीप माघ ८ गते नै पक्राउ परेका थिए । घटनाको पोल खुलेपछि बुद्धनगर र कोटेश्वरमा लुकीछिपी बसिरहेको स्थितिमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेपछि प्रहरीमा उनीहरुले दिएको बयानमा उनीहरुले बैंककै कर्मचारीको मिलेमतोमा आफुहरुले यस्तो काम गरेको बताएपछि प्रहरीले मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई पनि पक्राउ गरेको छ ।

के भन्छ बैंक ?
नक्कली पूर्जा राखेर मिलेमतोमा करोड बढी ऋण दिएको अभियोगमा यति बेला मुक्तिनाथ विकास बैंकका कर्मचारी प्रहरी हिरासतमा छन् । मुक्तिनाथ विकास बैंकमा यस्ता काण्ड अरु पनि छन् । कामना सेवा विकास बैंकको घोटाला काण्डमा मुछिएका व्यक्ति पनि मुक्तिनाथमा निस्फिक्री काम गरिरहेका छन् । यो घटना क्रमबारे भने बैंक के भन्छ त ? हामीले मुक्तिनाथ विकास बैंकका डेपुटी सीइओ दिलबहादुर गुरुङसँग कुराकानी गरेका छौँ । गुरुङको दाबी छ, नक्कली पुर्जा राखेर बैंकबाट ऋण गएको रहेछ भन्ने तथ्य हामीले नै पत्ता लगाएका हौँ । अहिले हाम्रा कर्मचारीहरु पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अहिले घटनालाई प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । बैंकमा टाइ शुट लगाएर ठगहरुसँग मिलेको प्रमाणित भए बैंकर नामका ती फटाहाहरुलाई काराबास जानबाट कसैले रोक्न सक्दैन, र रोक्नु हुँदैन पनि । पर्फर्मेन्समा मुक्तिनाथ विकास बैंक बलियो भए पनि यस्ता फटाहा काम गर्ने कर्मचारी राख्ने नाममा मुक्तिनाथ विकास बैंक अगाडी नै छ । परिणाम, पूर्वमा कामना सेवा विकास बैंकको घोटाला प्रकरणमा परेका व्यक्ति मुक्तिनाथमा निस्फिक्री जागिर खान्छन्, पश्चिम तिर कमिसनको जालो उस्तै छ । परिणाम, दुर्गा प्रसाईंका कार्यकर्ताहरुले बैंकको यहि कमजोरी समातेर सिष्टममाथि प्रहार गरिरहेका छन् । बैंकमै यस्ता कर्मचारी भएपछि बैंकबैंकर दुवै निरीह छन् । यस विषयमा मुक्तिनाथ हुनुपर्ने जति सिरियस छैन । खैर, हाम्रो भन्नु त यति हो, दोषी उम्कनु भएन, कोहि निर्दोष छन् भने उनीहरुको जिन्दगी सकिनु भएन । गलत गर्नेले सजाय भोग्ने हो, हामी त सबैलाई मुक्तिनाथ बाबाले सबैको रक्षा गर्नुहोस् बाहेक अरु के नै भन्न सक्छौं र ! (भिडियो) 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register