बालबालिकालाई तातो पन्युले डामेर यातना दिने शिक्षिकालाई के कारबाही होला ?
काठमाडौं । विद्यालय बालबालिकाको दोस्रो घर हो । उनीहरूको दिनचर्याको आधा समय विद्यालयमा शिक्षक शिक्षिकासँग बित्ने गर्छ । छोराछोरी विद्यालय गएपछि सुरक्षित हुन्छन् भन्ने महसुस बुबाआमालाई हुन्छ । तर, के हुन्छ जब बालबालिका विद्यालयमै असुरक्षित बन्छन् । तनहुँ जिल्लामा यस्तै एउटा घटना बाहिरिएको छ । जिल्लाको भिमाद नगरपालिका वडा नं. ६ मा रहेको प्रभात एकेडेमी […]

काठमाडौं । विद्यालय बालबालिकाको दोस्रो घर हो । उनीहरूको दिनचर्याको आधा समय विद्यालयमा शिक्षक शिक्षिकासँग बित्ने गर्छ । छोराछोरी विद्यालय गएपछि सुरक्षित हुन्छन् भन्ने महसुस बुबाआमालाई हुन्छ । तर, के हुन्छ जब बालबालिका विद्यालयमै असुरक्षित बन्छन् ।
तनहुँ जिल्लामा यस्तै एउटा घटना बाहिरिएको छ । जिल्लाको भिमाद नगरपालिका वडा नं. ६ मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलकी एक शिक्षिकाले चार जना विद्यार्थीलाई चरम यातना दिएको खुलासा भएको हो ।
गत मङ्गलबार स्कुलकी लेखापाल तथा शिक्षिका रहेकी सुष्मा श्रेष्ठले ती विद्यार्थीलाई तातो पन्युले डामेर चरम यातना दिएकी हुन् ।
विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकाअनुसार ती विद्यार्थी कक्षा ४ मा पढ्छन् । शिक्षिकाले भनेको नमानेको र नाम काढेर बोलाएपछि विद्यार्थीलाई यातना दिएको पाइएको प्रधानाध्यापक श्रेष्ठले बताए । यातना दिने सुश्मा प्रधानाध्यापक कृष्णदेवकै छोरी हुन् ।
होहल्ला गरेको विषयमा पन्युले डामेको सूचना पाएपछि ३४ वर्षीया शिक्षिका सुष्मा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।अहिले विद्यालयले पनि उनलाई कारबाही गरेर निकालेको छ ।
प्रधानाध्यापक श्रेष्ठले भने, “विद्यालयले गर्ने कारबाही गरिसक्यो सरकारको हातमा परिसक्यो । कानुन अनुसारको सजाय हुन्छ । सुश्मा सानो बालकको आमा भएको कारणले गर्दा बालअधिकारको कुरा पनि छ ।”
प्रहरी निरीक्षक अधिकारीकाअनुसार सुष्मालाई जिल्ला सरकारी वकिल कार्यालय तनहुँबाट ५ दिनको म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
उनलाई बालबालिका सम्बन्धी कसुरमा १ वर्षसम्म कैद सजाय र ५० हजार जरिवाना हुन सक्ने छ । बालबालिकालाई उपचार पछि परिवारको जिम्मा लगाइएको छ ।
भिमाद नगरपालिका वडा नं ६ का वडाध्यक्ष श्याम सुन्दर जोशीले घटना संवेदनशील रहेको बताए । उनले भने, “बालबालिकाको अधिकार हनन् भयो, बच्चाले गल्ती गरे पनि त्यसरी डाम्न हुने थिएन । यो जघन्य अपराध भयो, ४ जनामा एक जनालाई अलि बढी डामेको छ । त्यसको सजाय उनले पाउनुपर्छ । यदि बच्चा नै बढी चकचके र अराजक थियो भने अभिभावक बोलाएर काउन्सिलिङ गर्नुपर्ने थियो ।”
नेपालको प्रचलित कानुन २०७५ को बालबालिकाको हकअधिकार सम्बन्धी कानुनको दफा ६६ को खण्ड ङ मा बालबालिकालाई शारीरिक चोट पटक वा असर पुर्याउने, आतङ्कित पार्ने, धम्काउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्लाउने वा मानसिक पीडा दिनुलाई बालबालिकाविरुद्धको कसुर मानिएको छ ।
यस बमोजिमको कुनै कार्य गरेमा पचास हजार जरिवाना र एक वर्षको कैद सजाय तोकिएको छ । नेपालमा बालबालिकाको हकमा बलिया कानुन भए तापनि बेला–बेलामा यस्ता घटना बाहिर आउने गर्छन् ।
What's Your Reaction?






