आमाको हौसलाले कोरेको अनुको फुटबल यात्रा, प्रशिक्षकका रुपमा खन्दैछिन् नयाँ गोरेटो

‘आमाले मेरो खेल जीवनमा धेरै साथ दिनु भयो । आमा अहिले बित्नु भइसक्यो,’ भावुक हुँदै उनले थपिन्, 'तर मेरो खेल जीवनमा आमाको अतुलनीय साथ र माया थियो । उहाँले गर्दा नै म यहाँसम्म पुगेको हो । गाउँमा त धेरै नै कुरा काट्ने मान्छे थिए । छोरीलाई खेल्ने अनुमति हुँदैनथ्यो।' 

Feb 16, 2025 - 06:30
 0
आमाको हौसलाले कोरेको अनुको फुटबल यात्रा, प्रशिक्षकका रुपमा खन्दैछिन् नयाँ गोरेटो

काठमाडौं हरेक खेलाडीको जीवनमा खेल नै महत्त्वपूर्ण हुने गर्छ । खेलाडीले जितको लागि मात्र नभई जीवन्त हुनका लागि पनि खेल्छन् । तर, सबै खेलाडीले चाहेर पनि जीवनभर खेल जीवनलाई निरन्तरता दिन सक्दैनन् । खेलाडीले जीवनमा एउटा यस्तो क्षणको सामना गर्नु पर्छ जब उसले मनोबल उच्च भएपनि शारीरिक क्षमताको आधारमा अप्रिय निर्णय गर्नु पर्ने हुन्छ । 

खेल जीवनबाट बिदाइको निर्णय लिन कुनै पनि खेलाडीलाई सहज भने पक्कै हुँदैन । तर, खेल जीवनको एउटा अध्याय अन्त्य गरेर अर्को अध्याय खेल क्षेत्रमै लगाउनु पनि कम महत्वपूर्ण भने छैन । 

यस्तै, एक खेलाडी हुन् फुटबलर अनु लामा । एन्फा महिला लिगको फाइनलपछि घरेलु टोलीबाट खेल जीवनको अन्त्य गरेकी अनु अहिले नयाँ अध्याय सुरु गर्ने क्रममा छन् । २ दशकभन्दा लामो खेल जीवनको दौरान १८ वर्ष एपीएफ क्लबमै व्यतीत गरेकी अनुलाई सन्यास लिन कम कठिन थिएन । 

नेपालभ्युजको ‘भ्युजटक’मा आफ्नो यात्रा सम्झिँदै उनले भनिन्, ‘भर्खरभर्खरै जागिर खाएर खेल्न थालेको जस्तो लाग्छ । २०६० सालमा सुरु गरेको करिब २१ वर्ष नै भयो । हिजो सुरु गरेको जस्तो लाग्छ ।’

केही दिन अघि मात्र आफ्नो गृह जिल्ला रौतहट पुगेर अनुले बाल्यकालका सम्झना ताजा गरिन् । ‘जब घर जान्छु, छुट्टै महसुस हुन्छ । बाल्यकालमा गरेको आधारभुत तालिम याद आउँछ । आफू पढेको स्कुल, सबै सुरुवाती दिन याद आउँछन्,’ अनुले भनिन्, ‘शेरबहादुर दर्लामी गुरुसँग सिकेको स्मरण हुन्छ, उहाँ बित्नु भयो । तर, उहाँले दिएका ज्ञान सधैँसँगै रहने छन् ।’

रौतहटमा हुर्किएकी अनुलाई फुटबलमा करिअर बनाउन अनुकुल वातावरण भने थिएन । टिभी नभएको बेला पत्रिका पढ्दै रेडियोमा खेलकुद समाचार सुन्दै उनी हुर्किएकी हुन् । धेरै पछि मात्र ‘ब्ल्याक एन्ड ह्वाइट’ टिभी घरमा आएको थियो ।

त्यस्तो वातावरणमा भने मनोरञ्जनका लागि बालबालिका खेलकुद नै रुचाउँथे । जसमध्ये फुटबल पनि एक थियो । अनुले गाउँघरमा आफ्ना दाइहरूलाई नै देखेर फुटबल खेल्न सुरु गरेकी थिइन् । 

‘त्यो बेला धेरै गाह्रो थियो नि केटीहरूलाई । केटाहरूलाई स्वतन्त्रता थियो जे गर्न पनि,’ आफ्नो बाल्यकाल सम्झिँदै अनुले बताइन् ।

अनु लामाको मैदानमा सुरुवाती दिन

खेल मात्रै होइन महिलाका लागि अरू पनि थुप्रै चुनौती थिए । ‘पढ्न पनि गाह्रो । बस्तुभाउ हेर्नु पर्ने घरको काम पनि गर्नु पर्ने । हाम्रो लागि त धेरै चुनौती थियो । आफ्नो क्षमता देखाउन पनि खेलहरू हुँदैनथ्यो । तैपनि हामी लागेका थियौँ ।’ उनले भनिन् ।

सुरुवातमा दाइहरूसँग खेल्ने साथीलाई चोट लाग्दा आफूले पनि खेल्न नजानु भनेर घरबाट चेतावनी पाउने गरेको अनु सम्झन्छिन् । ‘सुरुवातमा फुटबल खेल्छु भनेर त गाह्रो नै भएको हो । दाइ त सुरुवातमा गाउँको वडास्तरीय खेल्नु हुन्थ्यो नै । अब उहाँहरूको साथीको हात भाँचिएको देख्दा मलाई खेल्नु नजानु भनेर भन्नु हुन्थ्यो । तैपनि मेरो खेल जीवनमा आमाले धेरै समर्थन गर्नु भयो,’ अनु भन्छिन् । 

अनुका आमाबुबा

आफ्नो खेल जीवनमा आमाको अह्म भूमिका रहेको उनले बताइन् । ‘आमाले मेरो खेल जीवनमा धेरै साथ दिनु भयो । आमा अहिले बित्नु भइसक्यो,’ भावुक हुँदै उनले थपिन्, ‘तर मेरो खेल जीवनमा आमाको अतुलनीय साथ र माया थियो । उहाँले गर्दा नै म यहाँसम्म पुगेको हो । गाउँमा त धेरै नै कुरा काट्ने मान्छे थिए । छोरीलाई खेल्ने अनुमति हुँदैनथ्यो।’ 

फुटबल खेल्न त सुरु गरियो तर अब कसरी यस क्षेत्रमा अघि बढ्नेबारे अनु अनभिज्ञ थिइन । आफ्नो क्षमता देखाउने ठाउँ पनि थिएन । उनलाई नेपालमा महिला टोली हुन्छ भन्ने पनि थाहा थियो । ‘हामी त सीमित ठाउँमा थियौँ । गाउँघरमा स्थानीय स्तरमा नै थियौँ । त्यो अवस्थामा पनि आमाले मलाई साथ दिनु भएको हो ।’ अनुले भनिन् । 

बुबा भने सुरुमा छोरी फुटबल खेलेकोमा सन्तुष्ट नभएको तर, पछि भने साथ दिएको उनले सुनाइन्, ‘सुरुवातमा अरुले कुरा काटेको देख्दा बुबा कराउनु हुन्थ्यो । पछिपछि आफ्नो प्रतिभा देखाएर राम्रो भइसकेपछि बुबाले पूर्ण रुपमा सपोर्ट गर्नु भएको हो ।

बहिनीसँग अनु

आफूसँगै खेल्दै हुर्किएकी बहिनीसँगको सुरुवाती दिन पनि अनुले सम्झिइन् । ‘बहिनी र म चाँहि सँगै नै खेलेको हो । उसले त सर्पोट गरि हाल्छ । दशैंमा भाउजूहरू घर जाँदा खाना बनाउने कोही पनि मान्छे नहुने भएपछि बहिनीले खेल्न छाडिन् । अनुले भनिन् । 

आफ्नो खेल जीवनको यात्रामा सबैभन्दा मुख्य भूमिका परिवारको भएको अनुले बताइन् । ‘परिवारको साथ नभएको भए धेरै अगाडि नै छोडिसक्थेँ होला । एपीएफमा पनि पुग्थिन होला । जिल्लामा मात्र सीमित हुने थिएँ । एपीएफमा जोडिएपछि खेलमा जोगिन सहज भयो । निरन्तरता दिन सकेँ । यो यात्रा परिवारको साथ र सहयोगमा सम्भव भएको हो ।’ उनी भन्छिन् ।

खेल जीवनमा अघि बढ्न एकदमै सहज भने थिएन । अनुलाई यू–१९ टोलीमा पर्न र आफ्नो क्षमता देखाउन पनि धेरै नै मेहनत गर्नु परेको थियो । 

गोल गरेपछि अनुको सेलिब्रेसन

‘यू–१९ टोलीमा पर्न पनि चुनौतीपूर्ण थियो । मेरो लागि त पहिलो छनोट थियो । फरक अनुभव थियो,’ विगत सम्झँदै अनु भन्छिन्, ‘राष्ट्रिय टोलीमा जाँदा हामीभन्दा सिनियर दिदीहरू पनि हुनुहुन्थ्यो३–४ वर्षदेखि खेलिरहेको खेलाडी थिए । मेरो लागि त्यो नयाँ वातावरण थियो ।’

छनोट अवधि भर नै अनुको प्रदर्शन राम्रो भयो । र, उनी प्लेइङ ११ मा परिन् । त्यसपछि उनले खासै पछि फर्किएर हेर्नु परेन । 

३५ गोल गरेकी अनु नेपालको महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल सन् २०१० मा भएको ११ औँ दक्षिण एसियाली खेलमा मालदिभ्सविरुद्ध गरेकी थिइन । त्यहाँ
पाकिस्तानविरुद्ध अनुले ह्याट्रिक नै गरेकी थिइन् । 

त्यो बेलाको अनुभव उनले यसरी सुनाइन, ‘पहिलो गोल हानेपछि फरकपन महसुस भएको थियो । एउटा छुट्टै माहोल, एक्साइटमेन्ट भयो । टिममा परेर पहिलो चोटि गएको थिएँ । गोल हान्दा त एकदमै खुसीको अनुभूति भएको थियो ।’ 

सन् २०१० र २०१६ मा अनुले कप्तानको भूमिका निर्वाह गरेकी थिइन् । उनले भनिन्, ‘कप्तानी निकै गाह्रो भूमिका हो । खेलाडीभन्दा पनि जिम्मेवार हुन्छ । खेलाडी भएपनि नेतृत्व गर्नु पर्ने भएकोले थप चुनौतीपूर्ण हुन्छ । पहिले अरु कप्तानको मातहतमा बसेर काम गर्नु भन्दा आफैँ नेतृत्व भएर काम गर्न धेरै फरक हुन्छ ।’

फरक खेलाडीलाई फरक शैलीमा व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुने उनले बताइन् । ‘एउटा खेलाडी एक किसिमको अर्को खेलाडी अर्को किसिमको हुने । कोही कराउँदा रिसाउने कोही बल पाएन भनेर रिसाउने । मैदान भित्र र बाहिर दुवै ठाउँमा सबैको ख्याल गर्नु पर्ने हुन्छ । २२ खेलाडीबीच सन्तुलन बनाएर लैजान सजिलो भने हुन्न रहेछ,’ अनुले कप्तानी गर्दाको अनुभव सुनाइन । 

सन् २०१८ मा हिरो कपमा खेलेपछि उनले आफ्नो अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य गरिन् । एन्फा महिला लिगमा एपीएफलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी अनुले पछि घरेलु खेल जीवनमा पनि पूर्णविराम लगाइन् ।

अबका दिनमा फुटबलमा आफूले बटुलेको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना बनाउँदैछिन् अनु । प्रशिक्षकको भूमिकामा रहेर टोलीलाई फरक शैलीमा मैदान उतार्न गृहकार्य गर्दैछिन् ।

करिब २१ वर्षको खेल जीवनमा हस्तीका रुपमा आफूलाई स्थापित गरेकी अनु अब सफल प्रशिक्षक बन्ने यात्रामा छन् । एउटा यात्राको अन्त्य नै अर्को यात्राको सुरुवात हो भन्दै उनले प्रशिक्षकका रूपमा नयाँ अध्याय सुरु गर्दैछिन् । यसमा पनि उनी पक्कै सफल हुनेछिन् । 

भिडिओमा हेर्नुहोस् अनुसँगको अन्तरवार्ता :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register