काका–काकीको हत्या गरेर प्रहरी बोलाए, बाबुले मारेको बयान दिए

काठमाडौं, १२ फागुन । प्युठानको माण्डवी गाउँपालिका २ रातापानीको एक दम्पती घर भित्रै मृत फेला पर्‍यो। वर्ष ६० का रामबहादुर परियार र उनकी पत्नी वर्ष ५६ की हुकुमा परियार मृत भेटिएको खबर प्रहरीले पायो। खबर गर्ने व्यक्ति परियार दम्पतीकै भतिज ३४ वर्षका पंकज परियार थिए। शनिबार दिउँसो साढे १२ बजेतिर खबर आएपछि जिल्ला प्रहरी कार्यालय [...] The post काका–काकीको हत्या गरेर प्रहरी बोलाए, बाबुले मारेको बयान दिए appeared first on Jhapa Online.

Feb 23, 2025 - 23:43
 0
काका–काकीको हत्या गरेर प्रहरी बोलाए, बाबुले मारेको बयान दिए

काठमाडौं, १२ फागुन । प्युठानको माण्डवी गाउँपालिका २ रातापानीको एक दम्पती घर भित्रै मृत फेला पर्‍यो। वर्ष ६० का रामबहादुर परियार र उनकी पत्नी वर्ष ५६ की हुकुमा परियार मृत भेटिएको खबर प्रहरीले पायो। खबर गर्ने व्यक्ति परियार दम्पतीकै भतिज ३४ वर्षका पंकज परियार थिए।

शनिबार दिउँसो साढे १२ बजेतिर खबर आएपछि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी दिपेश बस्यालको टोली घटनास्थलतर्फ लाग्यो। प्रहरीलाई पंकजले नै घटनास्थल देखाइदिए। घरभित्रै भुइँमा ओछ्यानमा मृत फेला परेका दुवैजनाको टाउकोमा चोट लागेको थियो। उनीहरूको हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान सुरु गर्‍यो।

प्रहरीले प्रारम्भिक रूपमा ७ जनासँग सोधपुछ गर्‍यो। प्रहरीलाई खबर गरेका पंकज पनि सुरुबाटै प्रहरीको निगरानीमा परेका थिए। प्रहरी घटनास्थलमा पुग्दा उनी नजिकबाट नियालिरहेका थिए।

‘उनको हाउभाउ र प्रहरीले सोधेका प्रश्नको जवाफ स्वाभाविक थिएन। तर उनैले घटनाका बारेमा खबर गरेकाले हत्या गरेका हुन् भन्ने अवस्थामा पनि हामी सहजै पुग्न सकेनौँ,’ डीएसपी बस्यालले भने। ७ जनासँग पालैपालो सोध्दै एकअर्काका कुरा भिडाउँदै प्रहरीले अनुसन्धान गरिरहेको थियो। प्राविधिक रूपमा पनि थप प्रमाण खोज्ने काम सँगसँगै भइरहेको थियो।

शनिबार दिनभरको अनुसन्धानपछि प्रहरीले तीनजनालाई भने प्रहरी चौकी लिएर गयो। पंकजलाई पनि लगिएको थियो। अरुले पनि केही कुरा ढाँटेपछि प्रहरीले उनीहरूलाई पनि निगरानी गरिरहेको थियो।

चौकी लगिएकामा पंकजकै परिवारका थिए। उनका बुबा, आमा, माइजू र पंकजलाई प्रहरीले चौकी लगेको थियो। प्रहरीले फरकफरक कोणबाट सोधपुछ गर्दा पंकज पसिनाले खलखली भिज्थे। एउटै प्रश्नको फरकफरक जवाफ दिन्थे। प्रहरीले झुट बोलेको पत्ता लगाएपछि उनलाई ढाकछोप गर्न गाह्रो परिरहेको थियो।

उनले बयानका क्रममा आफ्ना बाबु र माइजूले हत्या गरेको आफूले देखेको पनि बताए। तर प्रहरीले उनीहरूसँग बुझ्दा हत्या गरेको भन्ने देखिँदैनथ्यो। पटक टक यसरी अनुसन्धान गर्दै जाँदा पंकज बोल्नै नसक्ने अवस्थामा पुगे। अन्ततः आफैँले हत्या गरेको स्वीकार गरे। उनले हत्या कसरी र किन गरेको भन्ने पनि बताए।

प्युठान प्रहरी प्रमुख बस्यालका अनुसार पंकजको काका–काकीसँग सम्बन्ध राम्रो थिएन। रक्सी खाएर झगडा गर्न पुगिरहन्थे। उनीहरू पनि रक्सी खान्थे। पटक–पटक झगडा पर्थ्यो। एक साताअघि काका र काकीले नै आफूलाई बिहे गर्न नसकेको, पहिले गरेकी श्रीमतीलाई पनि घरमा राख्न नसकेको भनेकाले आफूले सहन नसकेर हत्या गर्ने योजना बनाएको पंकजलले प्रहरीलाई बताएका छन्।

पहिले बिहे गरे पनि पंकजकी श्रीमतीले डेढ वर्षपहिले छाडेकी थिइन्। यही कुरालाई लिएर काकाकाकीले आफूलाई हेपेको उनले बताए।

‘अप्रेसन माण्डवी’ नाम दिएर अनुसन्धान सुरु गरेको प्रहरीले उनले नै हत्या गरेको निष्कर्ष निकालेसँगै हत्यामा प्रयोग गरेका सामान समेत बरामद गरेको छ। मृतक दम्पतीका चार भाइ छोराहरू वैदेशिक रोजगारीका लागि भारतमा छन्। तीनजना छोरीहरू पनि विवाह गरेर गएकाले घरमा उनीहरू मात्रै थिए।

शुक्रबार राति साढे १० बजे नै उनीहरूको हत्या भएको खुलेको छ। रक्सी खाएका पंकज राति साढे १० बजे रामबहादुरको घरमा पुगेका थिए। तर ढोका बन्द गरेर उनीहरू सुतिसकेका रहेछन्। पंकज दोस्रो तलाको झ्यालबाट भित्र छिरे। भर्‍याङबाट तल झर्दा दुवैजना निदाइरहेको देखे।

ढोकाको छेउमा रहेको घनले दुवैजनाको टाउकोमा प्रहार गरेर आफूले हत्या गरेको पंकजले प्युठान प्रहरीलाई बताएका छन्। उनले हत्यामा प्रयोग गरेको घन रक्तामे अवस्थामा घटनास्थलभन्दा ५० मिटर टाढा फेला पारेको छ। सोही स्थानमा रगत पुछेको ब्ल्याङ्केट पनि फेला परेको छ।

घटना घटाउँदा पंकजले लगाएको स्विटर पनि उनको घरमा फेला परेको छ। जसमा रगत लागेको छ। हुकुमा परियारको हत्या गरेपछि उनको पटुकीमा रहेको २२० रूपैयाँ पनि पंकजले लगेको खुलेको छ। त्यसमध्ये २ सय रूपैयाँ खर्च गरिसकेको र २० रूपैयाँ बरामद भएको डीएसपी बस्यालले बताए।

पंकजविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। नेपाल खबरबाट साभार

The post काका–काकीको हत्या गरेर प्रहरी बोलाए, बाबुले मारेको बयान दिए appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register