प्रदूषित हावाबाट जोगिन सकिन्छ ?

काठमाडौं । तपाईं हामी सबैलाई ताजा हावामा सास फेर्न मनपर्छ । तर, दुर्भाग्य हामीले सास फर्ने हावा कुनै न कुनै रुपमा प्रदूषित हुन्छ । हावाको गुणस्तर स्थान र दिनअनुसार फरक-फरक हुन्छ । तर, विश्वका करिब ९९ प्रतिशत जनसङ्ख्या कुनै न कुनै समयमा अति प्रदूषित हावामा सास फेर्न बाध्य छ । यो प्रदूषित हावा वर्षेनी ७० […]

Feb 28, 2025 - 11:58
 0
प्रदूषित हावाबाट जोगिन सकिन्छ ?

काठमाडौं । तपाईं हामी सबैलाई ताजा हावामा सास फेर्न मनपर्छ । तर, दुर्भाग्य हामीले सास फर्ने हावा कुनै न कुनै रुपमा प्रदूषित हुन्छ ।

हावाको गुणस्तर स्थान र दिनअनुसार फरक-फरक हुन्छ । तर, विश्वका करिब ९९ प्रतिशत जनसङ्ख्या कुनै न कुनै समयमा अति प्रदूषित हावामा सास फेर्न बाध्य छ । यो प्रदूषित हावा वर्षेनी ७० लाख मानिसको मृत्युको कारण बन्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ ।

विश्वका सबैभन्दा धेरै प्रदूषित शहरहरु भारतको नयाँ दिल्ली, बङ्गलादेशको ढाका, थाइल्यान्डको बैङ्कक, र इन्डोनेसियाको जकार्तामा बस्ने लाखौँ मान्छेका लागि प्रदूषित हावाबाट जोगिनु लगभग असम्भव जस्तै छ ।

यद्यपि, प्रदूषित हावाबाट केही मात्रामा जोगिन सकिन्छ । प्रदूषित हावाबाट जोगिने सबैभन्दा पहिलो तरिका हो, प्रदूषणबारे बुझ्नु ।

भारतस्थित शिकागो विश्वविद्यालयको ऊर्जा नीति संस्थानकी तनुश्री गांगुलीकाअनुसार धुम्म आकाश देखिँदैमा हावा प्रदूषित भएको मान्नु गलत हुन्छ । “तर, सफा निलो आकाश देखिँदैमा हावा स्वच्छ भन्न सकिदैँन,” उनी भन्छिन् ।

वायु प्रदूषक र तिनका स्रोत

वायु प्रदूषण गर्ने तत्वहरु प्रायः मानिसहरूले विभिन्न सामग्री जलाउँदा उत्पन्न हुन्छन् । जस्तैः बिजुली र यातायातका लागि कोइला, प्राकृतिक ग्यास, डिजेल र पेट्रोल । कृषि प्रयोजनका लागि बाली वा रूखहरू जलाउँदा पनि प्रदूषण हुन्छ । र, डढेलो ।

यी सबैबाट साना कणहरु निस्कन्छन् । जुन सासको माध्यमबाट हाम्रो शरीरमा छिर्छन् । सबैभन्दा साना कणलाई (पार्टिकुलेट म्याटर) पीएमः २.५ भनिन्छ, किनभने ती २.५ माइक्रोनभन्दा साना हुन्छन् । यी कणहरू साससँगै फोक्सोमा पुग्छन् । यस्ता कणहरु इन्धन जलाउँदा निस्कन्छन् ।

त्यसैगरी, तुलनात्मक रूपमा ठूला कणहरूलाई पीएम १० भनिन्छ । यस्ता कणहरु कृषि, सडक, खानी वा हावाले उडाएको धुलोमा हुन्छन् ।
हावा प्रदूषण गर्ने अन्य खतरनाक प्रदूषकहरूमा नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता ग्यासहरू हुन् । यी ग्यासहरु पनि इन्धन जलाउँदा निस्कने बताउँछिन्, नयाँ दिल्लीस्थित साइन्स एन्ड इनभाइरोन्मेन्ट सेन्टरकी वायु प्रदूषण विशेषज्ञ अनुपमितारोय चौधरी ।

विभिन्न शहर र मौस अनुसार वायु प्रदूषणका स्रोत र यसको तीव्रता फरक हुन्छ । उदाहरणका लागि जकार्तामा पुराना मोटरसाइकलहरू र औद्योगिक धुवाँ प्रमुख प्रदूषण कारक हुन् । थाइल्याण्ड र भारतका शहरहरूमा कृषिजन्य सामग्री जलाउँदा निस्कने धुँवा वायु प्रदूषणको मुख्य कारण हो ।

बङ्गलादेशको राजधानी ढाकामा कोइला जलाउने इँटा भट्टाहरूले प्रदूषण बढी फैलाएका छन् । त्यस्तै, ब्राजिल र उत्तर अमेरिकामा हरेक वर्ष लाग्ने डढेलोले वायु प्रदूषणको समस्या निम्त्याउँछ ।

वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या

‘हेल्थ इफेक्ट इन्सटीट्युसन’ले हालै प्रकाशिन गरेको रिर्पोटअनुसार उच्च रक्तचाप पछि वायु प्रदूषण अकाल मृत्युको दोस्रो ठूलो कारण हो ।

वायु प्रदूषणले दम हुनसक्छ र यसैका कारण हृदयाघात पनि हुनसक्छ । वृद्धहरु र पहिलेदेखि नै स्वास्थ्य समस्या भएकालाई यसको जोखिम बढी हुन्छ । लामो समयसम्म प्रदूषित हावामा सास फेर्दा मुटु र फोक्सोका गम्भीर रोग लाग्ने जोखिम हुन्छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष(युनिसेफ)को अध्ययनअनुसार पूर्वी एसिया र प्रशान्त क्षेत्रका ५० करोडभन्दा बढी बालबालिकाले अस्वस्थ हावामा सास फेर्ने गर्छन् । र, यही कारण हरेक दिन पाँच वर्षमुनिका १०० बालबालिकाको मृत्यु हुने गर्छ ।

युनिसेफकी क्षेत्रीय निर्देशक जुन कुनुगीकाअनुसार प्रदूषित हावाले बालबालिकाको विकासमा असर पार्छ, फोक्सोलाई हानि गर्छ र मानसिक क्षमतामा प्रभाव पार्छ । “हरेक सास महत्वपूर्ण हुन्छ, तर धेरै बालबालिकाका लागि हरेक सासले नोक्सानी निम्त्याइरहेको छ,” उनले भनिन् ।

हावा प्रदूषित छ कि छैन भन्ने कसरी थाहा पाउने ?

हाल ११७ देशका ६,००० भन्दा बढी शहरहरूले वायुको गुणस्तर निगरानी गर्ने गर्छन् । र, अधिकांश मौसमसम्बन्धी जानकारी दिने मोबाइल एपहरूमा वायु गुणस्तर सम्बन्धी जानकारी उपलब्ध हुन्छ । तर, यी एपमा देखाउने तथ्याङ्क हेरेर हावाको प्रदूषणको स्थिति बुझ्न सबैलाई सजिलो छैन ।

त्यसैले धेरै देशहरूले वायु गुणस्तर सूचकाङ्क (एअर क्वालिटी इन्डेक्स, एआईक्यू) अपनाएका छन् । यसले सङ्ख्यात्मक रुपमा हावाको गुणस्तर देखाउँछ । जति धेरै सङ्ख्या हुन्छ, उति हावाको गुणस्तर खराब हुन्छ । तर, देशअनुसार हावाको गुणस्तरको मापदण्ड फरक छ ।

हावाको गुणस्तर खराब हुँदा हावाको प्रत्यक्ष सम्पर्कमा नआउनु नै मुख्य उपाय हो । यसका लागि घरभित्र बस्ने र मास्क लगाउनु सबैभन्दा राम्रो उपाय हो ।

तर, सधैँ घरभित्र बस्न सम्भव हुँदैन । घरभन्दा बाहिर काम गर्नेहरुलाई हावा प्रदूषित हुँदा घरभित्र बस भन्न मिल्दैन । वर्ल्ड रिसोर्स इन्स्टिच्युटका वायु गुणस्तर अनुसन्धानकर्ता डेनी जारुमकाअनुसार “घरबाहिर काम गर्ने मानिसहरूका लागि बाहिर ननिस्कनु आर्थिक रूपमा सम्भव हुँदैन ।”

बैङ्ककका एक कार्यालय कर्मचारी पाकाफोल असावाकोमोलनन्त भन्छन्, “म हरेक दिन मास्क लगाउँछु र अफिस जानका लागि मोटरसाइकल चढ्नबाट जोगिने प्रयास गर्छु । बिहान काममा आउँदा मास्क लगाउन बिर्सेको दिन घाँटी दुख्न थाल्छ । घरभित्रै पनि खाना पकाउने ग्यास, अगरबत्तीजस्ता चिजले पनि घरभित्रको हावा प्रदूषित गर्न सक्छ ।”

हावा सफा गर्ने मेसिन कति प्रभावकारी ?

हावा सफा गर्ने मेसिनहरुले घरभित्रको वायु प्रदूषण कम गर्न सक्छन् । तर, यिनको प्रभावकारिता सीमित हुन्छ । यस्ता उपकरणले कोठामा जम्मा भएको हावा तान्छ, त्यसलाई फिल्टरमार्फत सफा गर्छ, र फेरि बाहिर निकाल्छ । त्यसैले यस्ता मेसिनहरु सानो कोठाका लागि मात्र प्रभावकारी हुन्छ ।

सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयका शहरी वायु गुणस्तर विशेषज्ञ राजशेखर बालासुब्रमण्यम भन्छन्, “यदि ठूलो कोठामा सानो हावा सफा गर्ने मेसिन राखियो भने त्यसले प्रभावकारी काम गर्न सक्दैन ।”

यसबाहेक हावा सफा गर्ने मेसिन सबैको पहुँचमा छैन । विकासशील देशका मान्छेका लागि यस्ता मेसिन खरिद गर्नु निकै महङ्गो पर्न जान्छ । वर्ल्ड रिसोर्स इन्स्टिच्युटका अनुसन्धानकर्ता डेनी जारुम भन्छन्, “वायु प्रदूषणबाट प्रभावित अधिकांश मानिसहरूले हावा सफा गर्ने मेसिन किन्न सक्दैनन् ।”

-एपीन्युजबाट भावानुवाद

काठमाडौंलाई विश्वकै प्रदूषित सहर यसकारण भन्न मिल्दैन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register