पटक-पटक यस्तो चमत्कार गर्छन् करण केसी

काठमाडौं । करण केसीको ब्याटबाट छक्का प्रहार भइरहन्छ, नेपालले जितिरहन्छ । सधैँ यस्तो हुन सक्दैन, तर करण केसीले यस्तो चमत्कार गरिरहन्छन् । उनले मैदानमा पटकपटक नेपालका लागि कुनै चमत्कारभन्दा कम प्रदर्शन गरेका छैनन् । सोमबार राति भएको विश्वकप लिग–२ को स्कटल्यान्ड सिरिजमा करणले स्कटल्यान्डविरुद्ध चामत्कारिक प्रदर्शन गरे । ओडीआईमा आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने क्रममा […]

Jun 3, 2025 - 07:28
 0
पटक-पटक यस्तो चमत्कार गर्छन् करण केसी

काठमाडौं । करण केसीको ब्याटबाट छक्का प्रहार भइरहन्छ, नेपालले जितिरहन्छ । सधैँ यस्तो हुन सक्दैन, तर करण केसीले यस्तो चमत्कार गरिरहन्छन् । उनले मैदानमा पटकपटक नेपालका लागि कुनै चमत्कारभन्दा कम प्रदर्शन गरेका छैनन् ।

सोमबार राति भएको विश्वकप लिग–२ को स्कटल्यान्ड सिरिजमा करणले स्कटल्यान्डविरुद्ध चामत्कारिक प्रदर्शन गरे । ओडीआईमा आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने क्रममा उनले नटआउट ६५ रन बनाए । त्यसक्रममा उनले ४ छक्का र ३ चौका प्रहार गरे । उनले ब्याटबाट रन मात्र बनाएका थिएनन्, स्कटल्यान्डलाई उसकै घरेलु मैदानमा जितिसकेको खेल खोसेर नेपाललाई ऐतिहासिक जित दिलाएका थिए । नेपालले २९७ रनको लक्ष्य एक बल बाँकी रहँदा एक विकेटले जित्यो । यो जित विदेशी भूमिमा यो नेपालको सबैभन्दा ठूलो रन चेसमा आएको हो ।

स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर घरेलु टिमलाई पहिला ब्याटिङका लागि बोलाए । स्कटिस ब्याटरले आक्रामक ब्याटिङ गर्दै ठूलो स्कोर बनाउने लक्षण देखाए । जबकि नेपालका लागि रिजन ढकालले पहिलो विकेट तेस्रो ओभरमै लिएका थिए । २.२ ओभरमा १६ रन बनाउँदा स्कटल्यान्डले पहिलो विकेट गुमाएको थियो । तर, चार्ली टियरले आक्रामक ८० रन बनाए । उनलाई कप्तान रिची ब्रिंटन र फिन्ले म्याक्राथले राम्रो साथ दिए । स्कटल्यान्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो ।

नेपालका अगाडि २९७ रनको विशाल लक्ष्य थियो, ओपनिङमा आयो नियमित जोडी । कुशल भुर्तेल र आसिफ शेखको जोडीले पहिलो ओभरमा ब्याटबाट रन बनाउन सकेन । वाइडबाट २ रन टिमको स्कोरकार्डमा जोडियो । दोस्रो ओभरमा पनि रन बनेन । तेस्रो ओभरमा हात खोल्न थालेका कुशलले लगातार चौका प्रहार गरे । उनले हेर्दाहेर्दै ४४ बलमा ५३ रन बनाए । त्यसक्रममा उनले ११ चौका प्रहार गरेका थिए । कुशल र आसिफबीच ७२ रनको साझेदारी भयो । यो, स्टार्ट विशाल लक्ष्य पाएको नेपालका लागि उत्कृष्ट थियो । अब मध्यक्रमले सम्हाल्नुपर्ने थियो । तर, आसिफ २० रन बनाएर आउट भएलगत्तै कुशल पनि आउट भए । ७८ रनको स्कोरमा नेपालले दोस्रो विकेट गुमाएको थियो ।

छिटो छिटो दुई विकेट गएपछि क्रिजमा रोहितकुमार पौडेल र भीम सार्की दुवै नयाँ ब्याटर थिए । तर, दुवैले सम्हालिएर मात्र खेलेनन्, रन गतिलाई पनि लक्ष्यअनुसार कायम राखे । रोहित र भीमबीच महत्वपूर्ण ७४ रनको साझेदारी भयो । ४० रन बनाएका भीम आउट हुँदा नेपालले २९ औँ ओभरमा १५२ रन बनाइसकेको थियो । यतिबेलासम्म खेलमा नेपालको पकडड थियो । तर, त्यसपछि लगातार अन्तरालमा नेपालको विकेट पतन भयो । हेर्दाहेर्दैै, ३९ औँ ओभरमा १९२ रन बनाउँदा नेपालको सात विकेट डाउन भयो । अब भने खेल नेपालको पकडबाट फुत्किएको जस्तो बन्यो ।

३९ औँ ओभरमा सोमपाल कामी आउट भएसँगै जहाँबाट नेपालको जित्ने सम्भावना कम भएको थियो, करण केसीको आगमनले एक आशा पनि अंकुरायो । गुल्शन झाले ठूला–ठूला सर्टहरू हान्न थाले । करणले शान्त भएर साथ दिइरहे ।

गुल्शन र करणबीच ६० रनको साझेदारी भयो, मात्र ४२ बलमा । यहाँ गुल्शनले आफ्नो क्षमता देखाए । उनले ३० बलमा ४२ रन बनाउँदा ३ छक्का र ३ चौका प्रहार गरे । गुल्शनले ठूला सर्टहरू प्रहार गरेपछि नेपालले जित्ने आशा पलायो । तर, ४६ औँ ओभरमा २५२ रन बनाएको अवस्थामा गुल्शन आउट भए । अँझै नेपाललाई जितका लागि २६ बलमा ४५ रन आवश्यक थियो । अब कुनै चमत्कारले मात्र नेपाललाई जिताउन सक्थ्यो । क्रिजमा न विषशेज्ञ ब्याटर थिए न बल नै धेरै । अब हरेक बललाई सीमा रेखा कटाउनुपर्ने थियो, तर जोखिम उठाउँदा अलआउट हुने खतरा पनि ।

करणले चमत्कार गरे । जोखिम उठाए । यसअघिका स्पेलमा नेपाललाई रन बनाउनबाट रोकेका स्टकटिस फास्ट बलर सफियान सरिफ बलिङ गर्न आए । उनले यसअघिका ७ ओभरमा २९ रन मात्र दिएका थिए । खेल ४९ औँ ओभरको हुँदै थियो । नेपाललाई १२ बलमा जितका लागि २५ रन आवश्यक थियो । विकेट पनि मात्र दुई बाँकी । यस्तो अवस्थामा करणले ४९ औँ ओभरको पहिलो बलमै सफियानलाई छक्का प्रहार गरे । मैदानमा रहेका नेपाली दर्शक उत्साहित भए । त्यसपछि लगातार दुई चौका । बाँकी तीन बलमा थप चार रन । करणले यो ओभरमा १८ रन जोडे । अब खेल नेपालको पकडमा आयो ।

अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने क्याच भए । सबैभन्दा अनुभवी स्कटिस स्पीनर माइकल लिस्क अन्तिम ओभर गर्दै थिए । पहिलो बलमै विकेट गयो । अब भने नेपाललाई जित निकाल्न मुस्किल बनिरहेको थियो । तर, जित लड्नेहरूको हुन्छ भनेजस्तै भयो । दोस्रो बल लिस्कले वाइड फ्याँके । नेपालले एक रन पायो । अब ५ बलमा ६ रन आवश्यक थियो । स्ट्राइकमा रहेका रिजन ढकालले दोस्रो बल डट खेले । तेस्रो बलमा एक रन लिएर करणलाई स्ट्राइक दिए । करणले लामो सर्ट प्रहार गरे । तर, स्कटिस फिल्डरले बल सीमा रेखाबाटै नियन्त्रणमा लिए, मात्र दुई रन बन्यो । अब दुई बलमा तीन रन आवश्यक थियो ।

करणले फेरि पाँचौँ बलमा दुई रन बनाए । अब एक बल, एक रन । माइकल लिस्कले बल फ्याँके । करण बिट भए । किपरले पनि बल कलेक्ट गर्न सकेनन् । नन स्ट्राइका रिजन रन लिन कुदे । तर, उनी क्रिजभित्र नपुग्दै स्कटिस किपरले बल स्टम्पमा हानिसकेका थिए । लाग्यो, खेल टाइ भयो । तर, क्लाइमेक्स बाँकी थियो । अम्पाएर रायन मिल्नले बल वाइड दिए । रन लिने बेला करणले अम्पाएरतिर हेरिरहेका थिए । वाइडको इसारा देखेपछि उनी खुसी भए । तर, रिजनले जितको अली ढिलो थाहा पाए । अनि मैदानमै ओइरिए नेपाली समर्थक ।

करण केसीले दोस्रोपटक नेपाललाई अविश्वनीय जित दिलाए । यसअघि २०१८ मा करणले डिभिजन टुको खेलमा क्यानडाविरुद्ध यस्तै अविश्वनीय पारी खेलेर नेपाललाई एकदिवसीयको मान्यता दिलाएका थिए । २०१८ फेब्रुअरी १४ का दिन नामिबियाको विन्डहक मैदानमा नेपालले जिते ओडीआई मान्यता पाउँथ्यो, हारे डिभिजन टु मै रहथ्यो । यस्तो अवस्थमा उनले जित दिलाएका थिए । १ सय ९५ रनको लक्ष्य पाएको नेपालले १ सय ४४ रन बनाउँदा ९ विकेट गुमाएको थियो । करणले यही स्थितिबाट नेपालाई लक्ष्यसम्म पुर्‍याएका थिए । त्यतिबेला उनलाई अर्को इन्डबाट सन्दीप लामिछानेले विकेट जोगाएर साथ दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register