पुजा र कविता एक्स्ट्राटेक ओभलको ‘ब्रान्ड एम्बासडर’
बुटवल । नेपाली महिला क्रिकेट यू–१९ टोलीकी कप्तान पूजा महतो र सिनियर टिमकी सदस्य कविता कुँवर एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । तिलोत्तमा १७ स्थित क्रिकेट मैदान परिसरमा आइतबार खेलाडीद्वय र एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुवँरले सम्झौतापत्रमा हस्ताक्षर गरे । एक्स्ट्राटेक ओभलले महतो र कुँवरलाई आगामी २ वर्षका लागि एम्बासडर नियुक्त […]

बुटवल । नेपाली महिला क्रिकेट यू–१९ टोलीकी कप्तान पूजा महतो र सिनियर टिमकी सदस्य कविता कुँवर एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
तिलोत्तमा १७ स्थित क्रिकेट मैदान परिसरमा आइतबार खेलाडीद्वय र एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुवँरले सम्झौतापत्रमा हस्ताक्षर गरे । एक्स्ट्राटेक ओभलले महतो र कुँवरलाई आगामी २ वर्षका लागि एम्बासडर नियुक्त गरेको जनाएको छ ।
सम्झौतापश्चात् खेलाडी महतोले यो नियुक्तिले आफूलाई हौसला थपेको र खेलमा केन्द्रित हुने अवस्था निर्माण गरेको बताइन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई महिला खेलाडी एक्स्ट्राटेकको ब्रान्ड एम्बासडर बनेको बताए । उनले यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एक्स्ट्राटेकका निर्देशक तथा सञ्चालक विनोद कुँवरले नेपाली महिला क्रिकेट खेलमा सानो भएपनि योगदान गर्ने उद्देश्यले ब्रान्ड एम्बासडर नियुक्त गरिएको बताए ।
निर्देशक कुँवरले खेलाडीलाई खेल खेलेरै जीवन धान्न सकिन्छ भन्ने देखाउन र उनीहरूको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने विश्वाससमेत व्यक्त गरे ।
एक्स्ट्राटेक ओभलले नेपालका लिजेन्ट क्रिकेटर शक्ति गौचनलाई यस अघि नै ब्रान्ड एम्बासडर नियुक्त गरिसकेको छ ।
What's Your Reaction?






