‘ट्वेल्थ फेल’ पारस खड्काको एमबीएसम्मको यात्रा

काठमाडौं । व्यक्तिगत विषयमा कमै खुल्छन्, पारस खड्का । पोखराको लिटरेचर फेस्टिबलमा उनी निकै खुले । कार्यक्रमको सेसन थियो, ‘फ्री हिट एनपीएलभन्दा पर’। आफ्नो पढाइ र क्रिकेटिङ करिअरबारे ‘फ्री हिट’ शैलीमै निष्फिक्री गफिए पारस । पारसको सपना इन्जिनियर बन्ने थियो । अवसरले उनलाई अन्तै मोड्यो । १० कक्षाको पढाइपछि उनी क्रिकेटमा जोडिए । कक्षा १२ […]

Mar 5, 2025 - 09:23
 0
‘ट्वेल्थ फेल’ पारस खड्काको एमबीएसम्मको यात्रा

काठमाडौं । व्यक्तिगत विषयमा कमै खुल्छन्, पारस खड्का । पोखराको लिटरेचर फेस्टिबलमा उनी निकै खुले । कार्यक्रमको सेसन थियो, ‘फ्री हिट एनपीएलभन्दा पर’। आफ्नो पढाइ र क्रिकेटिङ करिअरबारे ‘फ्री हिट’ शैलीमै निष्फिक्री गफिए पारस ।

पारसको सपना इन्जिनियर बन्ने थियो । अवसरले उनलाई अन्तै मोड्यो । १० कक्षाको पढाइपछि उनी क्रिकेटमा जोडिए । कक्षा १२ सम्म सेन्ट जेभियर्समा पढ्ने र त्यसपछि इन्जिनियर वा आर्किटेक्ट बन्ने उनको धोको थियो । जुन दिन कक्षा ११ को प्रवेश परीक्षा थियो, त्यसदिन उनी खेलका लागि पाकिस्तान उड्नुपर्‍यो । यहीँबाट पारसको नेपाली क्रिकेटमा आर्किटेक्टको उडान सुरु भयो ।

“सानैदेखि सेन्ट जेभियर्समा पढ्ने इच्छा थियो । इन्जिनियर बन्छु भन्ने थियो । आर्किटेक्ट बन्ने इच्छा थियो । जुन दिन प्रवेश परीक्षा थियो, त्यही दिन पाकिस्तानको फ्लाइट थियो,” उनले भने ।

तस्वीर स्रोतः नेपाल लिटरेचर फेस्टिभल/युट्युब

सन् २००३ मा पारस सहितको टोली शक्ति गौचनको कप्तानीमा यू-१९ यूथ एशिया कप खेल्न पाकिस्तान उड्यो । खेलका लागि पाकिस्तान उड्दा उनले प्रवेश परीक्षा गुमाए ।  त्यसबेला नेपालले पहिलोपटक विदेशी भूमीमा ट्रफी जितेको स्मरण गर्छन्, पारस ।  ट्रफी जितेर फर्किएपछि उनको मनमा प्रश्न उब्जियो, “अब के गर्ने त ?”

पाकिस्तानबाट आएपछि उनले अध्ययनका लागि कलेज खोज्न थाले । यहीक्रममा उनलाई हिमालय ह्वाइटहाउसले छात्रवृत्ति दियो । उनलाई धेरैले विज्ञान विषय नरोज्न सुझाएका थिए । “म क्रिकेटमा लागेकाले धेरैले साइन्स लिएर नपढ्नु है भने । म आफूलाई राम्रो विद्यार्थी मान्दिनथेँ । मैले विज्ञान नै पढेँ,” उनले सुनाए ।

कलेज भर्ना भएपनि उनी कक्षाभन्दा बढी क्रिकेट मैदानमै हुन्थे ।  यसकारण उनीसँग स्वअध्ययनबाहेक विकल्प भएन । परीक्षाको दुई महिनाअघि पारसले गाइड पढे । संयोग उनले जे-जे पढेका थिए, परीक्षामा त्यही आयो । नियमित कक्षा जाने विद्यार्थी फेल हुँदा आफू पास भएको पारस सुनाउँछन् । “एसएलसी पछिको कलेज थियो । दुई महिनामात्रै कलेज गएँ होला । ११ मा गाइड पढेको जे जे पढेँ त्यही आयो म पास भएँ,” उनले स्मरण गरे ।

मुस्किलले कलेज आउने पारस पास भएपछि साथीहरू अचम्मित भए ।  गाइड पढेकै भरमा पास हुँदा पारसको  मनोबल बढ्यो । “नियमित कलेज जाने विद्यार्थी भने फेल भए । उनीहरु–तँ कसरी पास भइ्स–भन्छन्। मेरो मनोबल झन उच्च भयो । अनि म जे पनि गर्न सक्छु भन्ने महसुस पनि भयो,” उनले भने ।

११ पास भएपछि १२ मा पनि उनी नियमित कलेज गएनन् । १२ कक्षाको परीक्षा पनि ११ कोझैँ गाइड पढेर तयारी गरे । यसपटक उनको सुत्र काम लागेन । उनले जे-जे पढेका थिए, ठीक विपरीत प्रश्न आए ।  परीक्षाको नतिजा सुनाउँदै पारस भन्छन्, “अङ्ग्रेजी पास, नेपाली पास, फिजिक्स, केमेस्ट्री, गणित फेल, ठ्याक्क उल्टो-उल्टो प्रश्न आयो । परीक्षा हलमा ३ घण्टा कसरी बिताउने जस्तो भएको थियो ।”

पारससँगै १२ कक्षा पढेका साथीहरू विदेशिन थाले । विदेश जाने तयारी गरेकाहरूले उनीप्रति सहानुभूति देखाउँथे, “अब क्रिकेटमा त तेरो भविष्य  छैन । तँ के गर्छस् ?” उनीहरूको प्रश्न हुन्थ्यो ।

साथीहरूले खेलमा भविष्यमा छैन भनेपनि पारसले क्रिकेटमै सङ्घर्ष जारी राखे। क्रिकेट मैदान र अध्ययन दुवै नछोड्ने निधोमा पारस पुगे । १२ कक्षाको परीक्षा उनले दोस्रोपटक दिए । दोस्रो पटक पनि फेल भए । साथीहरूले फेरि उनलाई हतोत्साही गर्न खोजे । “तैँले तेरो जिन्दगी बर्बाद नै गरिस् । अब केही पनि हुँदैन,” उनीहरु भन्थे ।

साथीहरूको भनाइपछि पारस पनि द्विविधामा परे । “नेपालको लागि खेलेपनि कसैले चिनिरहेको थिएन । यता पढाइ पनि खस्कियो । साथीहरूको कुराले द्विविधा पनि भयो,” उनले सुनाए ।

द्वविधाकाबीच अध्ययन र क्रिकेट दुवैबाट हार नमान्ने अठोट लिए पारसले । १२ कक्षामा तेस्रोपटक परीक्षा दिन उनले ट्युसन पढे । ट्युसन पढ्न जान उनलाई असहज हुन्थ्यो । जसरी पनि १२ कक्षा पार लगाउनुपर्ने भएपछि उनी मास्क लगाएरै ट्युसन जान थाले । “सिनियर भइसकेको थिएँ । सानो-सानो भाइबहिनीहरुले अलि अलि चिन्नुहुन्थ्यो । पारस दाई तपाईं ट्युसन पढ्नु आउनु भएको हो ? भन्थे । आफूलाई लाज लाग्थ्यो । मास्क लगाएर जान्थेँ,” उनी बताउँछन् ।

तेस्रोपटकमा उनले १२ पास गरे । १२ पास गरेपछि उनले विदेशीएका साथीहरूलाई आफू पनि अमेरिका, अष्ट्रेलिया आउने सुनाए । “तेस्रो वर्ष ट्युसन पढेर नै कक्षा १२ सकाएँ । अनि साथीहरुलाई अमेरिका अष्ट्रेलिया आउँदै छु भनेर मेसेज पनि गरेँ,” पारसले सुनाए ।

त्यसो भए पारस किन विदेश गएनन् ?

पारसले आफ्नो अघि राखिएको पानीको बोतल उठाए । एक घुट्को पानी निले र मुस्कुराउँदै भने, “भिसा लागेन ।”

तस्वीर स्रोतः नेपाल लिटरेचर फेस्टिभल/युट्युब

पारसले सन् २००४ मा राष्ट्रिय टिमको सिनियर टोलीमा डेब्यू गरेका थिए । त्यसको तीन वर्षपछि पारस उपकप्तान भए । यो टोली सन् २००८ मा इङ्ग्ल्याण्डको ब्रोन्जीमा डिभिजन फाइभको म्याच खेल्न गएको थियो । डिभिजन फाइभको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भयो । नेपालले तेस्रो र चौथो खेल भने अमेरिकासँग खेलेको थियो । नेपालले अमेरिकाविरूद्धका दुवै खेल जित्यो ।

अमेरिकासँगको खेल जितेपछि  ड्रेसिङ रूममै पारसलाई कप्तान बन्ने प्रस्ताव आयो । तत्कालीन प्रशिक्षक रोय डायसले उनलाई कप्तानमा प्रस्ताव गरे । “पारस हामी डिभिजन-४ मा क्वालिफाइ हुन सकेनौँ । सायद टोलीलाई  परिवर्तनको आवश्यकता छ । के तिमी नेपाल क्रिकेट टिमको नेतृत्व गर्छौ,” डायसले पारसलाई सोधेका थिए ।

डायसको प्रस्तावलाई उनले नकारे । “सर म अष्ट्रेलिया जाँदै छु । मलाई यो जिम्मेवारी चाहिँदैन,” उनले जवाफ दिएका थिए ।

डायसलाई जवाफ दिँदा अष्ट्रेलिया जाने मुडमा थिए, पारस । नेपाल फर्किएपछि पारसले अष्ट्रेलिया जाने प्रक्रिया सुरु गरे । पारसलाई अष्ट्रेलिया पठाउन कन्सल्टेन्सीले नक्कली वित्तीय विवरण तयार गरेको थियो । “यही कारण होला मेरो भिसा लागेन,” कन्सल्टेन्सीलाई पारसले मञ्चबाटै धन्यवाद दिए, “त्यो बेला सबैको भिसा लाग्थ्यो । मेरो भिसा लागेन । म कन्सल्टेन्सीलाई धेरै-धेरै धन्यवाद भन्न चाहन्छु।”

अष्ट्रेलियाको भिसा नलागेपछि पारससँग क्रिकेटबाहेको विकल्प थिएन ।  सन् २००९ मा उनले राष्ट्रिय टोलीको कप्तानी सम्हाले । क्रिकेटबाट जब-जब उनी टाढिन खोज्थे, परिस्थितिले उनलाई क्रिकेटतर्फै धकेल्थ्यो ।  “जब-जब नेपाली क्रिकेटबाट टाढिन खोजेँ, तब परिस्थितिले नेपाली क्रिकेटसँग जोडिने मौका दियो । नेपाली क्रिकेटको लागि केही गर्नुपर्छ भनेर जन्मिएको  जस्तो महसुस हुन्छ,” उनले भने ।

असफलतामा आत्तिन नहुने पारस सुनाउँछन् । अष्ट्रेलियाको भिसा नलागेको प्रसङ्ग टुङ्गाउँदै पारस भन्छन्, “कुनै कुरा प्रयास गर्दा असफल भइन्छ । तर, समाधान पनि निकाल्न सकिन्छ ।”

नयाँ पुस्तालाई हौसला नगुमाउन सुझाव

पढाइ र विदेश जाने योजनामा पटक-पटक असफल हुँदा पनि पारस विचलित भएनन् । नयाँ पुस्तालाई उनी हौसला नगुमाउन सुझाव दिन्छन् । चुनौतीको सामाना गर्दै कमजोरी सुधार गरेमा सफल भइने उनको भनाइ छ ।  “लाइफमा धेरै चुनौती हुन्छ । ती चुनौतीहरुलाई स्वीकार्दै आफ्नो कमी कमजोरीमा सुधारमा सङ्कल्पित भए ढिलो वा चाँडो नतिजा आफ्नो फेभरमा आउने छ,” उनी सुझाउँछन् ।

पारसले विभिन्न चुनौती पार गर्दै कक्षा १२ को परीक्षा तेस्रो पटकमा उत्तीर्ण गरे । हाल व्यवस्थापन सङ्कायअन्तर्गत एमबीए गरेका छन् । क्यानको सचिव पदमा रहेका उनी संस्थागत व्यवस्थापन चुस्त बनाउँदै क्रिकेट सुधारमा सक्रिय छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register