के राजतन्त्र र पञ्चायतकालमा देश ‘स्वर्ग’ थियो ?

'राजा र पञ्चको शासन राम्रो थियो, लोकतन्त्रवादी वा गणतन्त्रवादी दलको शासन भ्रष्ट भयो । तसर्थ, अब फेरि राजतन्त्रतिरै फर्किनु पर्दछ ।' आफैँ नभोगेको, जीवन व्यवहारबाट अनुभव गर्न नपाएको पङ्क्तिलाई राजावादीहरूको यस्तो भाष्य र प्रचार सही हो कि जस्तो लाग्न सक्दछ । पञ्चायतकालीन नेपाल कस्तो थियो ? भनेर नयाँ पुस्तालाई अनुभव बाँड्नु हाम्रो पुस्ताको कर्तव्य हो ।

Mar 14, 2025 - 08:44
 0
के राजतन्त्र र पञ्चायतकालमा देश ‘स्वर्ग’ थियो ?

२०६५ ज्येष्ठ १५ गते २४० वर्षे शाहवंशीय राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको १७ वर्ष भयो । त्यसयता जन्मिएका नेपाली वयस्क भइसके । आगामी निर्वाचनमा यी मतदाता हुने छन् । यिनलाई निरङ्कुश राजतन्त्रको शासनको भोगाइ, व्यवहारिक अनुभव हुने कुरै भएन ।

गणतन्त्र अघि २०६० को दशक वा जनआन्दोलन २०६२-२०६३ को सेरोफेरोमा जन्मिएकाहरू आगामी आम निर्वाचनमा २०–२५ को उमेर समूहभित्र हुने छन् । ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको अनुभव यो जनसङ्ख्या पङ्क्तिलाई पनि छैन ।

२०५० को दशकमा जन्मिएकाहरू २०५८ को दरबार हत्याकाण्ड, असोज १८, २०६१ माघ १९ र ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा नाबालक नै थिए । राजतन्त्रको प्रत्यक्ष अनुभव यो जनसङ्ख्या अनुपातलाई पनि हुने छैन । आगामी निर्वाचनमा यो पङ्क्ति ३५ वर्ष मुनिको उमेर समूहमा हुनेछ ।

२०४० को दशकमा जन्मिएकाले निर्दलीय पञ्चायती व्यवस्था कस्तो थियो भनेर बुझ्न सक्ने छैनन् । २०४६ सालमा पञ्चायतको अन्त्य हुँदा ती राजनीति बुझ्नसक्ने भइसकेका थिएनन् । यो पुस्ताले दरबार हत्याकाण्ड र ज्ञानेन्द्र शाहको शासनकाललाई भने अनुभव गरेको छ । आगामी निर्वाचनमा यो जनसङ्ख्या अनुपात ४५ वर्ष मुनिको उमेर समूहमा हुनेछ ।

निर्दलीय पञ्चायत, निरङ्कुश राजतन्त्र र ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल दुवैको राम्रो व्यवहारिक ज्ञान र अनुभव हासिल गरेको जनसङ्ख्या पङ्क्ति भनेको २०३० को दशक वा त्यस अघि जन्मिएको उमेर समूह हो । यो उमेर समूह अहिले देशको नेतृत्वमा भए पनि यसको जनसङ्ख्या अनुपात निरन्तर कम हुँदैछ ।

भनिन्छ– देशको करिब ३० प्रतिशत जनसङ्ख्या अहिले १६ वर्ष मुनिको छ । ५६ प्रतिशत जनसङ्ख्या ३० वर्षभन्दा मुनिको छ । करिब ६० प्रतिशत ४५ वर्षभन्दा मुनिको छ ।

यी तथ्याङ्कको मोटामोटी अनुमान–२०८४ को आम चुनावसम्म करिब ६५ प्रतिशत मतदाता निर्दलीय पञ्चायत र निरङ्कुश राजतन्त्रबारे प्रत्यक्ष अनुभव वा गहिरो ज्ञान नभएका हुनेछन् । र, अहिले ‘राजावादी आन्दोलन’ले यी मतदातालाई लक्षित गरी केही भ्रामक भाष्य निर्माण र प्रचारबाजी गरेको देखिन्छ । युवा मतदातालाई भविष्यमुखी दूरदृष्टिपूर्ण चिन्तनबाट विमुख गराएर भूतमुखी बनाउन चाहनेहरूले गरेको सबैभन्दा ठूलो प्रचार यही हो कि राजतन्त्र र निर्दलीय पञ्चायतकालमा देश स्वर्ग थियो । सबै राम्रो थियो । अहिले नराम्रो भयो । 

राजा र पञ्चहरूको शासन राम्रो थियो, लोकतन्त्रवादी वा गणतन्त्रवादी दल र नेताहरूको शासन भ्रष्ट भयो । तसर्थ, अब फेरि राजतन्त्रतिर फर्किनु पर्दछ । आफैँ नभोगेको, जीवन व्यवहारबाट अनुभव गर्न नपाएको पङ्क्तिलाई राजावादीहरूको यस्तो भाष्य र प्रचार सही हो कि जस्तो लाग्न सक्दछ । राजतन्त्रकालीन तथा पञ्चायतकालीन नेपाल कस्तो थियो त भनेर नयाँ पुस्तालाई अनुभव बाँड्नु सायद हाम्रो पुस्ताका मान्छेको कर्तव्य हो ।

यो आलेखमा मैले नारायणहिटी दरबार हत्याकाण्डपछिको ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाललाई उल्लेख गरेको छैन । २०३३–२०४६ बीचको नेपाल, जो मैले स्मरण गर्न सक्छु, पञ्चायती व्यवस्थाको मूल अवधि पनि यही थियो, जस्ताको तस्तै चित्रण गर्न प्रयत्न गरेको छु । यी कुनै ऐतिहासिक तथ्याङ्क हैनन्, अनुभवजन्य आधारमा जस्ताको त्यस्तै राख्दैछु । त्यो पनि पूर्वी नेपालको तराईको अनुभवमा आधारित भएर ।

हाम्रो पुस्ता बाल्यकालमा हुँदा वीरेन्द्र शाह राजा भइसकेका थिए । तर, राज्यको प्रचार र नायकत्व निर्माणको प्रयास भने महेन्द्र शाहमै केन्द्रित थियो । रेडियो नेपालले अधिकांशः महेन्द्र शाह रचित गीत बजाउँथ्यो । थुप्रै कविहरूले महेन्द्र शाहलाई नायक बनाएर काव्य, खण्डकाव्य, महाकाव्य लेखेका थिए, तिनको आज कसैले चर्चा गर्दैन ।

राजा महेन्द्रको शासनकाल कस्तो थियो, मलाई अनुभवजन्य ज्ञान छैन । म २०२७ साल मङ्सिर ३० गते जन्मेको हुँ । करिब १४ महिनापछि २०२८ साल माघ १७ गते राजा महेन्द्र बितेका थिए । तर, हाम्रो बाल्यकाल राजा महेन्द्रबारेका कथा, किम्वदन्ती सुन्दै हुर्किएको थियो ।

हाम्रो पुस्ता बाल्यकालमा हुँदा वीरेन्द्र शाह राजा भइसकेका थिए । तर, राज्यको प्रचार र नायकत्व निर्माणको प्रयास भने महेन्द्र शाहमै केन्द्रित थियो । रेडियो नेपालले अधिकांशः महेन्द्र शाह रचित गीत बजाउँथ्यो । थुप्रै कविहरूले महेन्द्र शाहलाई नायक बनाएर काव्य, खण्डकाव्य, महाकाव्य लेखेका थिए, तिनको आज कसैले चर्चा गर्दैन ।

हरेक विद्यालय वा सरकारी कार्यालयमा महेन्द्र शाहका महानवाणी भनेर ‘कोटेसन’ लेखिएका हुन्थे । ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ र ‘ भन्छिन् आमा रोई कराई सक्दिनँ देख्न सन्तान थरिथरिका’ ती मध्ये मुख्य थिए, जो जताततै हुन्थे ।

हाम्रो गाउँघरतिर विद्यालय भर्खरै बन्न थालेका थिए । अधिकांश विद्यालयमा कच्ची भवन थिए । डेस्क बेन्च पर्याप्त थिएनन् । बोरा बोकेर स्कुल जानु पर्थ्यो । स्कुल र बस्तीहरूको दूरी टाढा हुन्थ्यो । तराईमा १–३ घन्टासम्म स्कुल आइजाइमा समय लाग्यो । बच्चालाई खाजा दिने कुनै सोच वा प्रचलन थिएन । बिहान ८ बजे खाना खाएर बच्चा स्कुल जान्थे । बेलुका ६–८ बजेबीच भोकले खलतरान भएर घर फर्किन्थे ।

शिक्षण सिकाइ एकदमै कमजोर थियो । किताब, कागज पर्याप्त पाइँदैनथ्यो । अधिकांशले धुले पाटी वा कालोपाटीबाट अक्षराम्भ गर्थे । मैले पनि २०३३ सालमा त्यही गरेको हुँ । परीक्षामा प्रथम श्रेणी ६० प्रतिशत अङ्क कटाउने विद्यार्थी दुर्लभ हुन्थे । कक्षा ४ देखि सरकारी स्कुलमा पनि शुल्क तिर्नु पर्थ्यो । गृहकार्य गर्न कपीको अभाव हुन्थ्यो ।

प्रावि स्कुल ३ कक्षासम्मका हुन्थे । १ वर्ष शिशु कक्षा हुन्थ्यो । ४ वर्ष पढेर जान पर्ने ५ देखि ७ कक्षाको निमावि स्कुल झन् टाढा हुन्थे । ८ देखि १० सम्मका माध्यमिक स्कुल जिल्लाभरिमा ५-१० वटा हुन्थे । ती अपायक र टाढा हुने हुँदा धेरैले निमाविपछि पढाई छोड्थे । महिला विद्यार्थी त ९० प्रतिशतले निमावि पनि पढ्दैनथे । केटाहरू पनि माध्यामिक तह पढ्न घर छोडेर डेरा बस्न पर्थ्यो । बिरलै स्कुलमा छात्रवास थिए । ती पनि गोठजस्ता । घरबाट दालचामल आफैँले लिएर जानु पर्थ्यो ।

हातमुख धुन साबुन प्रचलित भइसकेको थिएन । रिठ्ठो र गङ्गटोले उठाएको पहेँलो माटो हात धुन प्रयोग गरिन्थ्यो । खड्कुलोमा खरानी हालेर आगोमा पकाएर लुगा धोइन्थे । अधिकांशले दाँत माझ्दैनथे । दाँत माझ्न कर्ची वा दत्तिउन प्रयोग हुन्थ्यो । दन्तमन्जन भर्खरै बजार आउन थालेका थिए । कमैले प्रयोग गर्थे । शौचालय बनाउने प्रचलन थिएन । खोला, मैदान र जङ्गल जाने चलन थियो ।

९० प्रतिशत मान्छेका खुट्टामा जुत्ता वा चप्पल हुँदैनथे । अधिकांशका खुट्टा पटपटी फुटेका, चिरिएका, फुस्रा र हरिनाठले खाएका हुन्थे । म ७ कक्षासम्म हाफपाइन्ट र खाली खुट्टा स्कुल गएको हुँ । जाडोमा ज्याकेट वा कोट बिरलै मान्छेसँग हुन्थे । हातले आफैँले घरमा बुनेका स्विटर हुनु भाग्यको कुरा हुन्थ्यो ।

घरहरू फुस र परालको छानोले बनेका हुन्थे । पानी पर्ने र हावाहुरीको मौसममा अधिकांश घरको छाना चुहुने र हुरीले उडाउने गर्थ्यो । टिनको छानो हुनु सम्पन्नताको प्रतीक मानिन्थ्यो । करिब १०० घरको गाउँमा मुस्किलले २–३ घरको छानो टिनले छाएको हुन्थ्यो । इँट्टाको पक्की घर शहरमा मात्र त्यो पनि सीमित हुन्थे ।

५ गाउँ पञ्चायत बराबर एउटा स्वास्थ्य केन्द्र हुन्थ्यो । निक्कै सिकिस्त नभइकन मान्छे अपायक र टाढा पर्ने अस्पताल जाँदैनथे । गाउँमै झारफुक र धामीझाँक्री गर्थे । धामीझाँक्रीमा विश्वास गर्ने प्रचलन व्यापक थियो । लुतो र झाडापखाला आम रोगजस्तै थिए ।

पहाडतिर प्राकृतिक धारा थिए होलान् । तराईतिर साझा इनार हुन्थे, त्यो पनि लकाठमा डुडले बनेको, भ्यागुता पौडी खेल्ने इनारको पानी खान पर्थ्यो । पक्का इनार हुनु सम्पन्न गाउँको प्रतीक थियो । ट्युबेल गाड्ने प्रचलन भर्खरै सुरु भएको थियो । आँगनमा निजी ट्युबेल हुने घर १० प्रतिशत हुन्थे । बाँकीले छिमेकीको घर वा साझा ट्यूबेलबाट पानी खान्थे । खानेपानी थाप्ने निहुँमा झगडा र मनमुटाव हुन्थ्यो ।

अस्पताल केही ठूला शहरमा मात्र थिए । ५ गाउँ पञ्चायत बराबर एउटा स्वास्थ्य केन्द्र हुन्थ्यो । निक्कै सिकिस्त नभइकन मान्छे अपायक र टाढा पर्ने अस्पताल जाँदैनथे । गाउँमै झारफुक र धामीझाँक्री गर्थे । धामीझाँक्रीमा विश्वास गर्ने प्रचलन व्यापक थियो । लुतो र झाडापखाला आम रोगजस्तै थिए । डीडीटी पाउडरको कारणले मलेरिया भर्खरै नियन्त्रण भएको थियो । टाइफाइट, दादुरा र अन्य विभिन्न प्रकारका ज्वरोले मान्छे थलिन्थे । ज्यान नै जान्थ्यो । 

आम मानिससँग आम्दानीका दुई मात्र विकल्प थिए– खेतीपाती र पशुपालन । जागिर गर्नेहरू थोरै हुन्थे । गाउँभरिमा २–४ जना । हो, लाहुर जाने प्रचलन भने खुबै थियो । ब्रिटिश आर्मीमा जागिरे हुनु सम्पन्नताको उच्चतम् प्रतीक मानिन्थ्यो । गाउँका स्थानीय जमिन्दार र साहुहरू पनि लाहुरेको जीवनस्तरको डाहा गर्थे ।

उज्यालोको लागि मट्टीतेलको टुकी बाल्न पर्थ्यो । बिजुली देशभरि केही सीमित शहरमा मात्र थियो । गाउँमा बिजुली दिनु हुँदैन, यो शहरी सुविधा हो भन्ने सोच थियो । जस्तै ठूला र बाक्ला गाउँमा पनि बिजुली हुँदैनथ्यो । लालटिन प्रयोग गर्नु सम्पन्नता मानिन्थ्यो । गाउँका सबैभन्दा ठूला वा धनीले पेट्रोम्याक्स प्रयोग गर्थे ।

इन्धनको मुख्य स्रोत दाउरा थियो । यसका लागि वनजङ्गलमा निर्भर हुनु पर्थ्यो । वनजङ्गल टाढा भएका बस्तीमा सन्ठीमा गोबर टाँसेर गुइँठा बनाइन्थे । वनजङ्गल वरिपरि गाउँले र वनपालेको झगडा दैनिक जसो हुन्थ्यो । घर बनाउन काठ किन्ने ठाउँ थिएन । जिल्ला वन पैदावार समिति वा टिम्बर कर्पोरेसनमा आम जनताको पहुँच हुँदैनथ्यो ।

घर बनाउन वनपालेलाई घुस खुवाउनु पर्थ्यो । हाँस, कुखुरा र खसी दिनु पर्थ्यो । वनका कर्मचारी सर्वाधिक भ्रष्ट मानिन्थे । वनको जागिरे हुनु अहिले भन्सार, मालपोत, यातायात र आन्तरिक राजस्व कार्यालयको कर्मचारी हुनु जस्तै कमाईको ठाउँ मानिन्थ्यो ।

एउटा घर बनाइसक्दा मान्छे वनपालेलाई घुस खुवाउँदा खुवाउँदै हैरान हुन्थे । २०३६ सालमा वनको व्यापक फँडानी गरिएको थियो । पछि राष्ट्रियस्तरमा वन भारततिर बेचेर जनमत सङ्ग्रहमा निर्दल पक्षका लागि चुनाव खर्च जुटाउन राज्यले नै वन तस्करी गराएको चर्चा चल्यो । पञ्चायतकालमा वनको सघन क्षेत्र करिब ३२ प्रतिशतमा झरेको थियो । अहिले ४६ प्रतिशत पुगेको छ ।

राजमार्ग र केही शहरबाहेक कालोपत्रे सडक कतै थिएन । राजमार्गमा प्रति १ घन्टामा एउटा बस चल्थ्यो । गाउँमा सबै कच्ची सडक थिए । कही कतै जानु पर्दा लामा लामा पैदल यात्रा गर्नु पर्थ्यो । पहाडका गाउँबाट तराई झर्नेहरूले ३ देखि ७ दिनसम्म हिँडेका कथा सुनाउँथे । ग्राभेल सडक हुनु भाग्यको कुरा थियो । गाउँमा सडकमा वर्षामा गजगजी हिलो हुन्थ्यो । पुलपुलैसा सबैजसो काठे, बाँसका वा अस्थायी हुन्थे । तिनलाई वर्षेनी बाढीले बगाउँथ्यो । बर्सेनी श्रमदान गरेर बनाउन पर्थ्यो ।

गाउँगाउँ पुग्ने सञ्चारमाध्यम त्यही एउटा रेडियो थियो । मान्छेहरू रेडियो नेपाल, भारतका अल इन्डिया रेडियो र बीबीसी सुन्थे । २०३६ अघि रेडियोको लाइसेन्स सीडीयो कार्यालयबाट लिनु पर्थ्यो । पछि गाउँ पञ्चायतलाई रेडियो राखेबापत कर तिर्नु पर्थ्यो । एउटा गाउँमा मुस्किलले २–३ घरमा रेडियो हुन्थे । फुर्सदमा त्यही घर आँगनमा जम्मा भएर मान्छे रेडियो सुन्थे ।

गाउँ पञ्चायतमा विकास बजेट असाध्यै न्यून हुन्थ्यो । त्यतिखेर हाम्रो गाउँघरतिर सुने अनुसार वार्षिक ५ हजार हुन्थ्यो । हटिया, मेलाको बट्टी र घरधुरी करबाट पञ्चायत चल्थे । कृषि कार्यमा ट्याक्टरको प्रयोग दुर्लभ थियो । केही धनी जमिन्दारले मात्र प्रयोग गर्थे । पशु धनमध्ये धेरै दूध दिने गाईभैंसी र बलिया हल गोरु सबैभन्दा महङ्गा हुन्थे । अधिकांश परिवारलाई वर्षमा ६ महिनाजस्तो अनिकाल लाग्थ्यो । पुराना जातका धान र अन्य बालीको कारण श्रम धेरै र उब्जाउ कम हुन्थ्यो ।

गाउँगाउँ पुग्ने सञ्चारमाध्यम त्यही एउटा रेडियो थियो । मान्छेहरू रेडियो नेपाल, भारतका अल इन्डिया रेडियो र बीबीसी सुन्थे । २०३६ अघि रेडियोको लाइसेन्स सीडीयो कार्यालयबाट लिनु पर्थ्यो । पछि गाउँ पञ्चायतलाई रेडियो राखेबापत कर तिर्नु पर्थ्यो । एउटा गाउँमा मुस्किलले २–३ घरमा रेडियो हुन्थे । फुर्सदमा त्यही घर आँगनमा जम्मा भएर मान्छे रेडियो सुन्थे ।

पत्रपत्रिका शहर त्यसमा पनि विशेषतःः काठमाडौंमै सीमित थियो । गोर्खापत्र गाउँ पञ्चायतसम्म पुग्न हप्तौँ वा महिनौँ लाग्थ्यो। स्थानीय पत्रकारिताको कल्पना मोफसलका शहरमा सुरु भएपनि व्यावसायिक पत्रकारिताको कुनै सम्भावना थिएन । काठमाडौंबाट छापिएर जाने साप्ताहिकका २० प्रतिशत भाग सेन्सर लेखेरै खाली हुन्थे । कयौँ लेख अन्तर्वार्ताका प्याराग्राफ सेन्सर गरिएका हुन्थे ।

राजनीतिमा मण्डलेतन्त्रको बिगबिगी थियो । २०३६ सालपछि क्याम्पसमा स्ववियु चुनाव हुन थालेको थियो तर, प्रहरीका घुमन्ते र जासुसले विद्यार्थी नेतालाई हैरान गर्थे । शान्ति सुरक्षा, राजकाज र राजद्रोहको कानुनअन्तर्गत हजारौं राजनीतिक कार्यकर्ता जेलमा हुन्थे । तिनलाई अदालतले छोडे अदालत परिसरबाटै फेरि पक्राउ गरिन्थ्यो । सीडीओ, अञ्चलाधिस र थानेदार भन्ने पद असाध्यै बलियो थियो । मण्डले विचार र प्रवृत्तिको प्रधानपञ्च भए यिनीहरूसँग साँठगाँठ हुन्थ्यो । इतर विचारका प्रधानपञ्च र वडाध्यक्षले समेत प्रशासनको हैरानी खेप्नु पर्थ्यो ।

सबै कम्युनिष्ट समूह भूमिगत थिए । नेपाली काङ्ग्रेस प्रतिबन्धित थियो तर, भूमिगत थिएन । यी पार्टीका अलिकति नाम चलेका नेताकार्यकर्ता कि जेलमा हुन्थे, कि मुद्दा धाइरहेका हुन्थे, कि मारिन्थे, कि स्थानीय प्रशासन र पञ्चहरूद्वारा दबाबमा राखिन्थे ।

युवा विद्यार्थीलाई सबैभन्दा ठूलो चिन्ता प्रहरी रिपोर्टको हुन्थ्यो । प्रहरी रिपोर्ट बिग्रियो भने लोकसेवा पास भएर पनि नियुक्ति पाइँदैनथ्यो । सरकारी सेवामा जान चाहने अधिकांश प्रतिभाशाली विद्यार्थी यही कारणले लोकतान्त्रिक राजनीतिसँग डराउँथे । तर, जागिरमा नियुक्त भइसकेपछि भित्रभित्रै लोकतान्त्रिक आन्दोलनलाई सहयोग गर्थे । शिक्षक कर्मचारीमा यसरी भित्रभित्रै काङ्ग्रेस–कम्युनिष्ट भरिँदै गए । पञ्चहरूले चाहेर पनि रोक्न सकेनन् ।

सेना प्रहरीमा भने राजा र पञ्चायत समर्थक नै बढी थिए । खैरो युनिफर्म भएको हुँदा प्रहरीलाई आम जनताले ‘खैरे मामा’ भन्थे । तिनलाई देख्दै डरलाग्दो पार्न जुँगा पाल्न लगाइन्थ्यो र त्यसबापत भिन्नै भत्ता दिइन्थ्यो । प्रहरीसँग सर्वसाधारणको सातो जान्थ्यो । एउटा जुँगे हबल्दारले एउटा डन्डी घुमाएको भरमा कुनै गाउँलाई पूरै त्राहिमाम पार्न सक्थ्यो ।

जमिनमा द्वैध स्वामित्व थियो । जमिन्दारहरू मोही किसानबाट कुत लिएर पनि भरपाई गर्दिन मान्दैनथे । केही वर्षसम्म कुत भरपाई नभए मोही बेदखली हुन्थे । मोही बेदखली गर्न जमिन्दारले अनेक षड्यन्त्र गरिरहेका हुन्थे । हरेक मङ्सिरमा धान काट्ने बेला बाली लुटालुट र कुटपिटका घटना हुन्थे । भूमिसुधार कार्यालय र अदालत यस्तै मुद्दाले भरिएका हुन्थे ।

यसबारे मदनकृष्ण श्रेष्ठ– हरिवंश आचार्यले ‘लालपूर्जा’ नामको एक लोकप्रिय टेलिश्रृङ्खला नै बनाएका छन्, जसले पञ्चायतकालीन भूमिव्यवस्थाका समस्या राम्रो चित्रण गर्दछ ।
जनताले नगदको अनुहार बिरलै देख्थे । गाउँघरको आर्थिक जीवन अैचोपैचो, अर्मपर्म आदि एक प्रकारको वस्तु विनिमय प्रणालीको प्रधानता थियो ।

जमिन्दार, सुन पसले वा स्थानीय सुदखोर साहुकहाँ ऋण काढ्न पर्थ्यो । चक्रवृद्धि ब्याजदर लाथ्यो । अहिलेको मिटरब्याज जस्तै सयकडा ५ रुपैयाँ अर्थात् ६० प्रतिशतसम्मको चक्रवृद्धि ब्याज तिर्न पर्थ्यो । सन्तानको बिहेमा अलि धक खोलेर खर्च गर्नेहरूको घरखेत उठिबास लाग्थ्यो ।

कुनै ठूलो भरअभरको काम मूलतः सन्तानको बिहेबारी र ठूलो बिमारी पर्दा मानिस ऋण काढ्न बाध्य हुन्थे । ऋण बचत सहकारी थिएनन् । बचत समूहको चलन सुरु भएकै थिएन । साझा संस्था भनिने सरकारी सहकारी प्रभावहीन र टाट पल्टिएका थिए । मल बिउँ बेच्नेबाहेक तिनले आम जनतालाई वित्तीय पहुँच दिन सक्दैनथे ।

त्यो बेला पनि रासायनिक मलको व्यापक अभाव हुन्थ्यो । दशैं र तिहार छेक अधिकांश वर्ष चिनीको अभाव हुन्थ्यो, पञ्चायत गएर कुपन काट्ने र बजारमा कोटा तोकिएको पसलबाट किन्ने गर्नु पर्थ्यो ।

जमिन्दार, सुन पसले वा स्थानीय सुदखोर साहुकहाँ ऋण काढ्न पर्थ्यो । चक्रवृद्धि ब्याजदर लाथ्यो । अहिलेको मिटरब्याज जस्तै सयकडा ५ रुपैयाँ अर्थात् ६० प्रतिशतसम्मको चक्रवृद्धि ब्याज तिर्न पर्थ्यो । सन्तानको बिहेमा अलि धक खोलेर खर्च गर्नेहरूको घरखेत उठिबास लाग्थ्यो ।

लोकसेवा आयोग बाहेकका सबै जागिरमा भनसुन व्यापक थियो । प्रत्येक शक्तिशाली नेता वा मन्त्रीले सरकारी उद्योग वा निगममा आफ्ना कार्यकर्तालाई ठाडो तोक आदेशमा नियुक्त गर्थे । शिक्षक सेवा आयोग बिल्कुलै पक्षपातपूर्ण हुन्थ्यो । पञ्चायतको उत्तरार्धतिरबाटै सार्वजनिक संस्थानमा ‘ओभर स्टाफिङ’ हुने र घाटा लाग्ने क्रम सुरु भइसकेको थियो ।

हो, २०३६ सालको जनमत सङ्ग्रहपछि सुधारिएको पञ्चायतको नाममा बालिग मताधिकार आधारित चुनाव सुरु भएको थियो । २०४३ पछि इतर पक्षले पनि पञ्चायतमा चुनाव लड्न र अलिअलि जित्न थालेका थिए ।

नेपाललाई त्यतिखेर इथियोपियापछिको संसारकै दोस्रो गरिब देश भनिन्थ्यो । इथियोपियाको नाम अक्सर नेपालीले त्यतिखेरै सुनेका थिए । २०४० पछि भूमिगत गिरोहको चर्चा चुलिएको थियो । मूर्ति चोरी र गैँडाको खाग लगायत निषेधित वस्तुहरूको व्यापार व्यापक थियो । त्यही बेला नमिता-सुनिता काण्ड र पदम ठकुराठी गोली काण्ड भएका थिए ।

नयाँ पुस्ताका मित्रहरू ! यी यथार्थलाई आजसँग आफैँ तुलना गर्नुस् के राजावादीहरूले भन्ने गरेको ‘स्वर्ग’ यही थियो ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register