युद्धविरामको सम्झौता तयारीबीच गाजामा आक्रमण, बन्धकको ज्यान खतरामा
काठमाडौं । इजरायलले गाजा पट्टीमा भीषण आक्रमण गरेसँगै हमास समूहको बन्धकमा रहेका बन्दीहरुको ज्यान जोखिममा परेको छ । इजरायली सेनाले सोमबार राति व्यापक हमला गरेको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा २२० जनाको मृत्यु भएको जनाएको छ । जसमा एक मन्त्री छन् भने बाँकी सर्वसाधारण हुन् । यो जनवरी १९ मा युद्धविराम सुरु भएदेखि […]

काठमाडौं । इजरायलले गाजा पट्टीमा भीषण आक्रमण गरेसँगै हमास समूहको बन्धकमा रहेका बन्दीहरुको ज्यान जोखिममा परेको छ ।
इजरायली सेनाले सोमबार राति व्यापक हमला गरेको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा २२० जनाको मृत्यु भएको जनाएको छ । जसमा एक मन्त्री छन् भने बाँकी सर्वसाधारण हुन् ।
यो जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको सबैभन्दा ठूलो घटना हो ।
आक्रमणले बन्धकको ज्यान खतरामा परेको हमासले जनाएको छ । हमासले युद्धविराम सम्झौता उल्ट्याएकोमा इजरायललाई विश्वासघात गरेको आरोप लगाउँदै आक्रोशित प्रतिक्रिया जनाएको छ । इजरायलले गाजामा रहेका बाँकी बन्धकहरूको ‘अज्ञात भविष्य’लाई जोखिममा पारेको बीबीसीले उल्लेख गरेको छ ।
तर, हमासले अझै युद्ध पुनः सुरु गर्ने घोषणा गरेको छैन, बरु मध्यस्थकर्ताहरू र संयुक्त राष्ट्र सङ्घलाई हस्तक्षेप गर्न आह्वान गरेको छ।
टाइम्स अफ इजरायलका अनुसार हमासको कब्जामा अझै २४ जना जीवित बन्धक छन् । जसमा २२ जना इजरायली, १ जना थाइल्याण्डका नागरिक र एक नेपाली विद्यार्थी विपिन जोशी छन् ।
युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धक रिहा भएका थिए । तर, जोशीसहित २४ जना छुटेनन् ।
दोस्रो चरणको युद्धविरामको सम्झौता गर्न दुवै पक्षबीच छलफलको तयारी भइरहेको थियो । तर, यसबीचमै इजरायलले आक्रमण गरेपछि युद्धविरामको सम्झौता तत्काल टरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यता, इजरायल रक्षा बलले हमाससँग सम्बन्धित ‘आतङ्कवादी लक्ष्यहरू’लाई लक्षित गरिरहेको बताएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले आक्रमणको आदेश दिएको प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
“हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले बारम्बार अस्वीकार गरेको साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीव विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरूलाई अस्वीकार गरेको पछ्याउँदै यो निर्णय गरिएको हो । इजरायलले अबदेखि हमास विरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्नेछ,” विज्ञप्तिमा उल्लेख छ ।
आक्रमणको योजना सप्ताहन्तमा प्रस्तुत गरिएको थियो र राजनीतिक नेतृत्वद्वारा अनुमोदित गरिएको थियो ।
राष्ट्रसङ्घका लागि इजरायलका राजदूत ड्यानी डानोनले हमासलाई सबै बन्धकहरूलाई रिहा गर्न चेतावनी दिँदै भने, “हामी हाम्रा शत्रुहरूलाई कुनै दया देखाउने छैनौं ।”
What's Your Reaction?






