सडकमा गणतन्त्र भर्सेस राजतन्त्र, सम्भावित मुठभेड रोक्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं । देशमा आज (शुक्रबार) गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ । गणतन्त्र र राजतन्त्र पक्षधर दुवैले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । भृकुटीमण्डपमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा राजसंस्था पक्षधरले प्रदर्शन गर्दैछन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन […]

Mar 28, 2025 - 01:04
 0
सडकमा गणतन्त्र भर्सेस राजतन्त्र, सम्भावित मुठभेड रोक्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं । देशमा आज (शुक्रबार) गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ ।

गणतन्त्र र राजतन्त्र पक्षधर दुवैले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् ।

भृकुटीमण्डपमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा राजसंस्था पक्षधरले प्रदर्शन गर्दैछन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेका हुन् ।

बिहीबार मात्रै समितिका संयोजक सुवेदीले प्रसाईंलाई आन्दोलनको कमान्डर तथा स्वागत नेपाललाई प्रवक्ता तोकेका थिए । दुवै पक्षले आज सडकमा विशाल जनसागर उतार्ने दाबी गरिरहेका छन् ।

समितिका संयोजक सुवेदी बिहीबार राजसंस्था पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले निर्णायक आन्दोलन थालिएको बताएका थिए । आफ्ना माग पूरा नभए अझ कडा आन्दोलन गर्ने उनको चेतावनी थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजसंस्था पक्षधर समूह पनि गत फागुन २५ गतेदेखि आन्दोलनरत थिए । अहिले भने आन्दोलनको कमान्ड दुर्गा प्रसाईंमा गएको छ ।

यसैगरी समाजवादी मोर्चाले पनि आज भृकुटीमण्डपमा गणतन्त्र बनाउन हुने प्रदर्शनमा हजारौंको सङ्ख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ । यसलाई माओवादी केन्द्रको युवा सङ्गठन वाईसीएलले पनि सघाउने जनाएको छ ।

यसर्थ सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा तीन हजार ५०० प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।

काठमाडौं परिसरमै कमान्ड सेन्टर बनाएर प्रहरी खटाइने व्यवस्था मिलाइएको छ । कमान्ड सेन्टरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसमेत उपस्थित हुनेछन् ।

सुरक्षाकर्मीले पूर्वराजाका समर्थकलाई रिङरोडमै जुलुस रोक्ने रणनीति लिएको छ । समाजवादी मोर्चाका समर्थकलाई भने भक्तपुरतिरबाट कोटेश्वर हुँदै बालकुमारीतर्फ ‘डाइभर्ट’ गरिने प्रहरीको भनाइ छ । सुरक्षा कमान्डर अधिकारीले शान्ति सुरक्षामा प्रहरी नचुक्ने बताएका छन् । “सकभर मुठभेड हुन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन,” एसएसपी अधिकारीले भने ।

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिपुरेश्वरबाट प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ ।

राजावादी र गणतन्त्रवादीबीचको मुठभेड रोक्न ३५ सय सुरक्षाकर्मी परिचालन हुँदै

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register