के राजावादीले भनेजस्तो बेलायतमा राजतन्त्र फर्किएको हो ?

बेलायतको उदाहरणबाट कहिलेकाहीँ मान्छे भ्रमित हुने गरेका छन् । के बेलायतको अहिलेको राजतन्त्र त्यसरी नै फर्किएको हो, जसरी नेपालका राजावादी भन्ने गर्छन् ? के बेलायतमा गणतन्त्र घोषणाको केही वर्षपछि पुनश्च: अपदस्थ राजा फर्किएका हुन् ? के हो बेलायती राजतन्त्रको इतिहास ? 

Apr 3, 2025 - 05:37
 0
के राजावादीले भनेजस्तो बेलायतमा राजतन्त्र फर्किएको हो ?

जननिर्वाचित संविधानसभाको अत्यधिक बहुमतबाट गणतन्त्र स्थापना भएको १७ वर्षपछि नेपालका राजावादी राजतन्त्र पुनर्स्थापित गर्ने भन्दै प्रदर्शनमा लागेका छन् । तिनको तर्क छ–राजतन्त्र फर्किन सक्दछ ।

प्रकृतिमा यस्ता कतिपय नियम छन् – जो हुन्छ वा भइसक्छ, त्यसलाई पुरानो अवस्थामा फर्काउन सकिँदैन । जस्तो कि– जन्मिएको बच्चा आमाको गर्भमा फर्किँदैन । उम्रिएको बिउको टुसा फेरि दानामा गएर समेटिँदैन । बगेको खोलाको पानी फेरि मुहानमा पुग्दैन । निस्केको टुथपेस्ट उसै गरी ट्युबमा फिर्ता हुँदैन ।

प्रकृति विज्ञान र समाज विज्ञानमा केही भिन्नता अवश्य हुन्छ । तसर्थ, राजतन्त्रको अन्त्य माथिका उदाहरणजस्तै उत्तिकै दृढ नियम हो भन्न सकिन्न । किनकि राजनीति ‘शुद्ध विज्ञान’ हैन, ‘व्यावहारिक विज्ञान’ हो । तर, समाज विज्ञानमा प्रकृति विज्ञान र व्यवहारिक विज्ञानमा शुद्ध विज्ञानका नियम क्रियाशील नै नहुने हैन । ठूलो अंशमा त्यही हुन्छ । समाज विज्ञानमा अपवादका रूपमा केही फरक पनि हुन सक्दछ ।

नेपालको इतिहास हेर्दा अन्त्य भएको कुनै पनि व्यवस्था, वंश वा प्रणाली जस्तोको त्यस्तै फर्किएको छैन। अर्थात नेपालको राजनीतिक नियम ‘शुद्ध विज्ञान’ जत्तिकै दृढ छ । गोपाल–महिषपाल वंश फर्किएन । किरात वा लिच्छवीकाल फर्किएन । सेन वा मल्लकाल फर्किएन । राणा शासन फर्किएन । निर्दलीय पञ्चायत फर्किएन । २०४७ सालको संविधान नै पनि जस्ताको त्यस्तै फर्किएन । २०३६ सालको जनमत सङ्ग्रह फर्किएन । २४० वर्षपछि विधिवत अन्त्य भएको शाहवंशीय राजतन्त्र चाहिँ किन, कसरी र कुन नियमले फर्किएला त ?

राजावादी भन्छन्– फर्किन्छ । फर्केको इतिहास छ । 

कहाँ छ त त्यस्तो इतिहास ? तिनको उत्तर हुन्छ– बेलायत । बेलायतमा राजतन्त्र फर्किएको हो ।

बेलायतको उदाहरणबाट कहिलेकाहीँ मान्छे भ्रमित हुने गरेका छन् । के बेलायतको अहिलेको राजतन्त्र त्यसरी नै फर्किएको हो, जसरी नेपालका राजावादी भन्ने गर्छन् ? के बेलायतमा गणतन्त्र घोषणाको केही वर्ष पश्चात पुनश्च: अपदस्थ राजा फर्किएका हुन् ? के हो बेलायती राजतन्त्रको इतिहास ? यो विषयको चर्चा फेरि एकपटक सान्दर्भिक भएको छ ।

नेपालका किरात, लिच्छवी, मल्ल, सेन–ठकुरी, शाहजस्तै बेलायतमा पनि एङ्ग्लो–साक्सन, नोरम्यान, प्यानटाजेनेट्स, लाङ्कास्टर, योर्क, ट्युडर, स्टुअर्ट, हानोवर जस्ता थुप्रै राजवंश भए ।
नेपालमा बेलायतमा राजा फर्किएको चर्चा गर्ने गरिएको घटना भने स्टुअर्ट वंशको हो । यो वंशबाट बेलायतमा जम्मा ४ राजा भए – जेम्स प्रथम, चार्ल्स प्रथम, चार्ल्स द्वितीय र जेम्स द्वितीय ।

स्टुअर्ट वंश सन् १६०३ मा सत्तामा आएको थियो र सन् १६८८ सम्म रह्यो । सन् १६८८ को ‘गौरवमय क्रान्ति’ले यो वंशसँगै निरङ्कुश राजतन्त्रको पनि अन्त्य गरेको थियो ।

त्यसअघि ट्युडर वंशकी एलिजावेथ प्रथम महारानी थिइन । सन् १६०३ मार्च २४ मा उनको निधन भयो । उनी निसन्तान थिइन । उनको परिवारभित्र कोही उत्तराधिकार थिएन । तसर्थ, उनका नजिकका नातेदारको खोजी गर्दा जेम्स प्रथमले राजा हुने अवसर पाए । जेम्स एलिजावेथ प्रथमकी आफन्तका छोरा र स्कटल्याण्डका राजा थिए । यसरी ट्युटर वंशको अन्त्य र स्टुअर्ट वंशको सुरुवात भएको थियो ।

बेलायती राजतन्त्रमा परम्परागत सामाजिक संरचना, धार्मिक पन्थ र जमिनदारी अर्थतन्त्रको एकीकृत शक्ति थियो । तसर्थ, त्यहाँको राजतन्त्रको कुरा गर्दा धार्मिक पन्थहरूको सङ्घर्ष, मूलतः क्याथोलिक, प्रोटेस्टेन्टप्युरिटनबीचको सङ्घर्ष पनि जोडिन्छ । त्यसैगरी परम्परावादी पदसोपनीय समाज र उदारवादी आधुनिक खुला समाजको चाहानाबीचको सङ्घर्ष पनि जोडिन्छ । अर्थ प्रणालीका रूपमा जमिनदारी प्रथा र आधुनिक औद्योगिक क्रान्ति तथा सामन्ती प्रणाली र पुँजीवादी प्रणालीबीचको सङ्घर्ष जोडिन्छ ।

सामाजिक, धार्मिक र आर्थिक प्रणालीबीचका यी सङ्घर्ष राजनीतिमा भने ‘राजतन्त्र’ र ‘संसद्’को शक्तिमा विभक्त हुन्छन् । राज्यशक्ति कहाँ हुनु पर्दछ ? दरबारमा कि संसद्मा ? यो बेलायती राजनीतिको शताब्दीऔं लामो भीषण सङ्घर्षको केन्द्रीय विषय थियो । सन् १२१५ को म्याग्नाकार्टाको पृष्ठभूमिदेखि नै यो सङ्घर्ष थियो ।

स्टुअर्ट वंशको पालमा यो सङ्घर्ष सबैभन्दा तीव्र र पेचिलो भयो । सन् १६२५ मा जेम्स प्रथमको निधनपछि उनका छोरा चार्ल्स प्रथम सत्तामा आए । यी दुवै राजाको पालामा संसदवादी शक्तिसँग सङ्घर्ष यति तीव्र भयो कि चार्ल्स प्रथम संसद्सँग सम्झौता गर्न बाध्य भए । सन् १६२८ को अधिकारपत्र (पेटिसन अफ राइट्स) त्यसैको परिणाम थियो ।

तर, चार्ल्स प्रथमले ‘पेटिसन अफ राइट्स’को व्यापक उल्लङ्घन गरे । उनी दैवी शक्तिको सिद्धान्तमा विश्वास गर्ने निरङ्कुश राजा थिए । राजा भनेकै शासन गर्नका लागि जन्मिने हुँदा उसमा असीमित अधिकार हुनु पर्दछ भन्ने उनको सोच थियो । उनी व्यवहारमा पनि त्यही दाबी गर्थे । त्यस्तै निर्णय र काम गर्थे ।

चार्ल्सको यही सोचका कारण ‘गृहयुद्ध’ भड्कियो । सन् १६३९– १६५१ को समयलाई त्यहाँ गृहयुद्धको अवधि भनिन्छ । यो अवधिमा राजाको शक्ति र संसद्को सर्वोच्चता मान्ने दुई सेनाबीच भीषण सङ्घर्ष भयो ।

ओलिभर क्रमबेलको उदय यही क्रममा भएको हो । यही सङ्घर्षको चरमोत्कर्षमा राजा चार्ल्स प्रथमलाई सन् १६४९ जनवरी ३० मा फाँसी दिइएको थियो । संसद् पक्षधर सेना प्रमुखका रूपमा क्रमबेलले चार्ल्सलाई फाँसी दिने निर्णय कार्यान्वयन गरेका थिए ।

चार्ल्स प्रथमलाई फाँसीमा चढाएपछि भयभीत भएका उनका छोरा चार्ल्स द्वितीय देश छोडेर भागे । क्रमबेलले ‘लर्ड प्रोटेक्टर’ को पद घोषणा गरी सन् १६५८ सम्म तदर्थवादी र सङ्क्रमणकालीन शासन गरे । उनको निधनपछि यो पद छोरा रिचार्ड क्रमबेलले पाए । रिचार्डमा बुवाको जस्तो राजनीतिक क्षमता थिएन । तसर्थ, इङ्ग्ल्याण्डको संसद्ले निर्णय गरेर नै चार्ल्स द्वितीयलाई सन् १६६० मा फिर्ता बोलायो र राजा बनायो ।

नेपालका राजावादीहरूले ‘बेलायतमा राजा फर्कियो’ भनेको यसैलाई हो । त्यहाँ सन् १६४९ देखि १६६० सम्म ११ वर्ष राजा पद निस्क्रिय बसेको थियो ।

यो घटनाको विश्लेषणमा जानुभन्दा पहिले घटनाक्रमकै चर्चा सकौँ । पितालाई फाँसी दिएको देखेको, फ्रान्समा ९ वर्ष लामो निर्वासित जीवन बिताएको, संसद्ले नै निर्णय गरेर फिर्ता बोलाएको हुँदा चार्ल्स द्वितीयले संसद्को शक्तिसँग धेरै टसल गरेनन् । सन् १६८५ मा उनको निधन भयो ।

त्यसपछि उनका भाइ जेम्स द्वितीय राजा भए । किनकि दाजु चार्ल्स द्वितीय निसन्तान थिए । यिनको चरित्र र नियति भने धेरै हदसम्म नेपालका ज्ञानेन्द्र शाहसँग मिल्दोजुल्दो छ । किनकि यी दुवै ‘भाइ राजा’ हुन् । यिनै भाइ राजाको अवधिमा बेलायतमा ‘गौरवमय क्रान्ति’ भयो र स्टुअर्ट वंशकै अन्त्य भयो । गौरवमय क्रान्तिको कारण उनी देश छोडेर भागे । निर्वासित भएको देश फ्रान्समै उनको निधन भयो । फ्रान्स तिनको मावली देश थियो । जेम्स प्रथमले फ्रान्सकी राजकुमारीसँग बिहे गरेका थिए ।

जेम्स द्वितीय धर्मले क्याथोलिक, राजनीतिमा निरङ्कुश र सामाजिक व्यवहारमा अत्याचारी राजा थिए । उनले प्रोटेस्टेन्ट धर्मावलम्बीमाथि व्यापक दमन गरे । संसद्को शक्तिलाई अनदेखा गरे । यहाँसम्मकी छोरी-ज्वाइँ विलियम र मेरीसमेत उनका आलोचक र राजनीतिक विरोधी भए ।

मेरीको बिहे हल्याण्डका राजा विलियमसँग भएको थियो । जेम्स द्वितीयसँग शक्ति सङ्घर्ष बढ्दै गएपछि बेलायतको संसद्ले छोरी र ज्वाइँलाई राजगद्दी सम्हाल्न आव्हान गर्‍यो । १५ हजार सेनासहित विलियम र मेरी हल्याण्डबाट इङ्ग्ल्याण्ड आए । कसैले साथ नदिने निश्चित भएपछि जेम्स फ्रान्स भागे । संसद्ले विलियम र मेरी नै बेलायतका संयुक्त राष्ट्रध्यक्ष हुन् भन्ने प्रस्ताव पारित गर्‍यो ।

त्यसपछि दरबार र संसदबीचको सङ्घर्ष सधैँलाई समाप्त भई ‘संवैधानिक राजतन्त्र’ सुरु भयो, जुन अहिलेसम्म जारी छ । यद्यपि, विलियम र मेरीकी छोरी महारानी एन्ने सम्मलाई कतिपयले स्टुअर्ट वंश मान्छन् तर विलियम स्टुअर्ट वंशका सन्तान हैन, ज्वाइँ थिए ।

बेलायती राजतन्त्रको उतारचढावको मुख्य घटनाक्रम यत्ति नै हो । अब यसको विश्लेषणमा जाउँ ।

पहिलो कुरा – यी सबै सत्रौँ शताब्दी अर्थात करिब ४०० वर्ष अघिका घटनाक्रम हुन् । सत्रौँ शताब्दीका घटनाक्रमलाई एक्काईसौँ शताब्दीका घटनाक्रमसँग तुलना गर्नु आफैँमा नमिल्दो हो । बेलायतको राजतन्त्रले सन् १६८८ यता ३ शताब्दीभन्दा लामो समयदेखि संवैधानिक सीमा उल्लङ्घन गरेको छैन । त्यसैले त्यो टिकेको छ ।

ज्ञानेन्द्र शाहले २०५८ असोज १८ र २०६१ माघ १९ नगरेको भए सायद उनी पनि टिक्न सक्थे होलान् । बेलायती राजतन्त्रले त्यति लामो समयदेखि किन संवैधानिक राजतन्त्रको नियम, मर्यादा र सीमा पालना गर्‍यो, नेपालको शाहवंशले किन त्यस्तो नियम कहिल्यै पालना गरेन ? यो प्रश्न अहं बन्छ ।

दोस्रो कुरा – चार्ल्स प्रथमको फाँसीपछि त्यहाँ नेपालमा जस्तो संविधानसभाको निर्वाचन भएर गणतन्त्रको स्थापना र गणतान्त्रिक संविधानको घोषणा गरिएको थिएन । बुवाको फाँसीपछि चार्ल्स द्वितीय आफैँ डरले भागेका थिए । ओलिभर क्रमबेलले आफूलाई ‘राष्ट्रपति’ घोषणा गरेका थिएनन् । न त उनी निर्वाचित नै थिए । उनका छोरा रिचार्ड क्रमबेलमा राजनीतिक नेतृत्वको क्षमता नदेखेपछि संसद्ले प्रस्ताव पारित गरेरै चार्ल्स द्वितीयलाई बोलाएको थियो ।

नेपालमा निर्वाचित संविधानसभाले विधिवत गणतन्त्र घोषणा गरेको हो । त्यसयता ३ वटा राष्ट्रपतिको निर्वाचन भइसकेको छ । चार्ल्स द्वितीय कुनै राजावादी आन्दोलनले पुनर्स्थापित भएका राजा हैनन् । ओलिभर क्रमबेलको निधन र उनका छोराको अक्षमतापछि संसद्ले नै प्रस्ताव पारित गरेर बोलाएको हो ।

तेस्रो कुरा– जुन राजासँग संसद् र जनताको सङ्घर्ष भएको हो, तिनै व्यक्ति राजाका रुपमा फिर्ता भएका हैनन् । मुख्य तनाव चार्ल्स प्रथम र जेम्स द्वितीयसँग भएको हो । दुवै सत्तामा फेरि फर्किएनन् । चार्ल्स प्रथमलाई फाँसीको सजाय दिइयो भने फ्रान्स भागेका जेम्स द्वितीय त्यही मरे ।

नेपालमा राजतन्त्र र गणतन्त्रको निर्णायक सङ्घर्ष ज्ञानेन्द्र शाहसँग भएको हो । ज्ञानेन्द्र शाह चार्ल्स द्वितीय वा विलियम–मेरी हैनन्, चार्ल्स प्रथम वा जेम्स द्वितीयजस्ता हुन् ।

चौथो कुरा– संवैधानिक राजतन्त्रको नियमको पालना ट्युडर वा स्टुअर्ट वंशको नियमित उत्तराधिकारले गरेको थिएन । त्यस्तो परम्परा र प्रचलन विलियम र मेरीले स्थापित गरेका थिए, जो आफ्नै पिता–सुसुरा जेम्स द्वितीयका राजनीतिक आलोचक, कट्टर विरोधी थिए । उनीहरु संसद्को प्रस्ताव र सहयोगमा १५ हजार सेना लिएर जेम्स द्वितीयसँग लड्न आएका थिए । निरुपाय जेम्स देशै छोडेर भागेका थिए । यहाँ शाहवंशमा त्यस्तो कोही क्रान्तिकारी छोरी ज्वाइँ कोही छैन ।

पाँचौँ – बेलायती राजतन्त्रमा छोरीलाई पनि महारानी हुने अधिकार थियो । अधिकांश पुरुष राजा अहङ्कारी, विलासी, निरङ्कुश र अत्याचारी हुन्थे । तर, महारानी संसद्सँग मिलेर हिँड्ने, दयालु र नरम चरित्रका हुन्थे । छोरी राष्ट्रप्रमुख हुने आशाले पनि त्यहाँका जनता राजतन्त्रप्रति आक्रामक हुँदैनथे । जेम्स द्वितीयको छोरा जन्मिनुलाई गौरवमय क्रान्तिको एक मुख्य कारण मानिन्छ, जो बाभन्दा बढी अत्याचारी र नालायक हुनेछन् भन्ने जनधारणा थियो ।

हाम्रोमा दयालु छोरी महारानी हुने प्रचलन नै थिएन तर, अत्याचारी र नालायक छोराहरूले सताउने परम्परा भने रह्यो ।

छैटौँ– बेलायतको राजतन्त्र एक अपवाद पनि हो, जो सबै युरोपेली देशमा लागू भएको छैन । राजतन्त्रसँगको कठोर र बारम्बारको सङ्घर्षपछि फ्रान्स, जर्मनी, इटाली, रुसजस्ता कयौँ युरोपेली देशले गणतन्त्रकै बाटो रोजेका छन् ।

सातौँ– शताब्दीऔं लामो अभ्यास र परम्पराले त्यहाँको राजतन्त्र अब ‘शक्तिकेन्द्र’ हैन, ‘सांस्कृतिक संस्था’ मात्रै बाँकी रहेको छ । राजसंस्थाबाट लोकतन्त्रलाई जोखिम छैन भन्ने त्यहाँका जनतालाई विश्वास छ । यदि लोकतन्त्रका लागि जोखिम भयो वा हानी पुर्‍यायो भने त्यहाँ पनि राजतन्त्र टिक्दैन । टिक्न सम्भव नै छैन । नेपालमा जस्तो कुनै अवाञ्छित कार्य, निर्णय गर्ने हो भने त्यहाँ राजतन्त्र एक दिन पनि टिक्न सक्दैन ।

नेपालको शाहवंशीय राजतन्त्रको चरित्र बेलायतको विलियम–मेरी परम्पराको भन्दा बिल्कुलै फरक र उल्टो हो । यहाँ राजतन्त्रले एकपटक, दुईपटक हैन, बारम्बार लोकतन्त्रमाथि घात गर्‍यो । २००७ सालमा त्रिभुवनले, २०१७ सालमा महेन्द्रले, २०३६ सालमा वीरेन्द्रले र २०५८ पछि ज्ञानेन्द्र शाहले लोकतन्त्रमाथि आक्रमण र विश्वासघात गरे ।

नेपालमा शाहवंशीय राजतन्त्र भन्नेबित्तिकै संवैधानिक, शृङ्गारिक वा सांस्कृतिक राजा भन्ने बुझिदैन, बरु निरङ्कुश, अधिनायकवादी चरित्रकै राजा बुझिन्छ । र, व्यावहारिक सत्य पनि त्यही नै हो ।

आठौँ र अन्तिम कुरा– बेलायतमा राजावादी पार्टी पनि राजाको निरङ्कुशताको विरुद्धमा हुन्थे । जस्तो कि टोरी दल (अहिलेको कन्जरभेटिभ पार्टी ) लाई त्यहाँ राजावादी मानिन्छ । तर, त्यसले पनि गौरवमय क्रान्तिको समर्थन गरेको थियो । टोरी, ह्वीङ, लेबर कुनै पनि दलले राजालाई निरङ्कुश हुन उक्साउँदैनन् ।

तर, नेपालका राजावादी शक्ति र दल संवैधानिक राजा र निरङ्कुश राजाबीचको भेद बुझ्दैनन् वा बुझ्न चाहँदैनन् । राजाका जस्तासुकै कदमलाई साथ दिन्छन्, समर्थन गर्दछन् । जस्तो कि राप्रपाले राजा ज्ञानेन्द्रको असोज १८ र माघ १९ दुवै कदमलाई समर्थन गर्‍यो । असोज १८ पछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री खान कुदे । कमल थापा माघ १९ पछि ज्ञानेन्द्र शाहको गृहमन्त्री भए । बेलायतका टोरी नेताले यस्तो गल्ती गर्दैनन् ।

अहिलेका राजावादीको प्रदर्शनमा पनि त्यही झल्किन्छ । किनकि ती राजाहरूले गरेका गल्ती र संवैधानिक राजतन्त्रको मर्यादा विपरीतको कदमको कहिल्यै विरोध वा आलोचना गर्दैनन् । अहिले पनि यहाँका राजावादीहरूको आदर्श महेन्द्र शाह हुन्, जसले निर्वाचित संसद् विघटन गरी प्रधानमन्त्रीलाई नै लामो समय जेलमा थुनेका थिए । यिनले भन्ने गरेको संवैधानिक राजतन्त्रको कुरामा कसैले विश्वास गर्दैन । यी अप्ठ्यारो बेला त्यस्तो अडानमा बस्दैनन् । अन्ततः यी सबैले निरङ्कुशताकै समर्थन गर्दछन् ।

तसर्थ, यो बुझ्न जरुरी छ कि नेपाल र बेलायतको सन्दर्भ बिल्कुलै अतुलनीय हो । आग्रा र घाग्राका कुरा भनेजस्तो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register