हितेन्द्रदेवको प्रशंसा गर्दै मन्त्री खड्काले भने – एसियाकै अब्बल इञ्जिनियर

काठमाडौं । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताए । उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको […]

Apr 9, 2025 - 11:45
 0
हितेन्द्रदेवको प्रशंसा गर्दै मन्त्री खड्काले भने – एसियाकै अब्बल इञ्जिनियर

काठमाडौं । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् ।

रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताए । उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे ।

आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिए ।

प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गरे । उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताए ।

नेपालमा जलविद्युत् क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्राधिकरणमा थप सुधार गरेर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न चाहेको मन्त्री खड्काले उल्लेख गरे । आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उनले स्पष्ट पारे ।

मन्त्री खड्काले जलविद्युत् क्षेत्र सरकारको मुख्य प्राथमिकतामा रहेकाले उत्पादनसँगै निर्यातमा पनि काम गरिरहेको बताए । उनले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिसकेको अवस्थामा उत्पादन भएको विद्युत् खेर नजाने भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्र र दातृ निकायलाई आग्रह गरे । जलविद्युत् आयोजना निर्माणसँगै दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक समृद्धि र रोजगारी सिर्जना भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे । उनले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register