कांग्रेसबाट आलोचित ओली, सरकार बदनाम भएको देउवाको स्वीकारोक्ति

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर सत्ता साझेदार नेपाली काङ्ग्रेसबाटै आलोचना बढ्न थालेको छ । सरकारको प्राथामिकतालाई बेवास्ता गर्दै सडकमा शक्ति प्रदर्शन गर्न लागेको, संविधान संशोधन प्रक्रियालाई प्राथामकिता नदिएको र सरकारको कामको गतिमा ध्यान नदिएको भन्दै काङ्ग्रेस नेताहरूबाट ओलीको आलोचना बढ्न थालेको हो । काङ्ग्रेसका दोस्रो तहका नेताबाट प्रधानमन्त्री ओलीमाथि यसअघि पनि पटक-पटक प्रश्न […]

Apr 12, 2025 - 17:03
 0
कांग्रेसबाट आलोचित ओली, सरकार बदनाम भएको देउवाको स्वीकारोक्ति

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर सत्ता साझेदार नेपाली काङ्ग्रेसबाटै आलोचना बढ्न थालेको छ ।

सरकारको प्राथामिकतालाई बेवास्ता गर्दै सडकमा शक्ति प्रदर्शन गर्न लागेको, संविधान संशोधन प्रक्रियालाई प्राथामकिता नदिएको र सरकारको कामको गतिमा ध्यान नदिएको भन्दै काङ्ग्रेस नेताहरूबाट ओलीको आलोचना बढ्न थालेको हो ।

काङ्ग्रेसका दोस्रो तहका नेताबाट प्रधानमन्त्री ओलीमाथि यसअघि पनि पटक-पटक प्रश्न उठ्ने गरेको थियो । अरू नेताहरूले आलोचना गरे पनि सभापति  शेरबहादुर देउवा भने ओलीप्रति मौन देखिने गरेका थिए । तर, शनिबार उनले पनि सरकार बदनाम बन्दै गएको टिप्पणी गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अनावश्यक खर्च रोक्न नसक्दा सरकार बदनाम भइरहेको बताएका हुन् ।

सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै देउवाले भनेका छन्, ‘सरकारको नाममा अहिले धेरै ठूलो बदनाम भइरहेको छ, यो नहोस् भन्ने चाहन्छु ।’ ‘सरकारले जनताको पैसा दुरूपयोग गर्न नहुने भन्दै उनले प्रधानमन्त्री ओलीलाई सचेत गराएका छन् ।

सत्तामा रहेर सडक प्रदर्शन गर्ने प्रधानमन्त्रीको कार्यशैलीप्रति काङ्ग्रेस नेताहरूको असन्तुष्टि देखिन्छ ।

प्रधानमन्त्री ओली वैशाख ११ गतेको कार्यक्रमलाई लक्षित गर्दै शक्ति कस्तो हुन्छ देखाउने बताइरहेका छन् । काङ्ग्रेस नेताहरू सत्तामा रहेका दलले सरकारको गति बढाउन शक्ति लगाउनुपर्नेमा सडकमा शक्ति प्रदर्शन गर्ने काम उचित नहुने बताइरहेका छन् । सडकमा शक्ति प्रदर्शन गर्नुको सट्टा सरकारको काम कारबाहीलाई द्रुत बनाउन शक्ति खर्चिन काङ्ग्रेसका महामन्त्रीहरूले प्रधानमन्त्रीलाई सुझाइ रहेका छन् ।

शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले सरकारका प्राथामिकता छोडेर प्रधानमन्त्री सडकतिर व्यस्त हुनु उचित नभएको बताए । ‘प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यानकेन्द्रित गर्न जरुरी छ,’ उनले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपर्थ्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नु भो ।’

प्रधानमन्त्री ओली शनिबार जागरणसभा सम्बोधनका लागि झापा पुगेका थिए ।

सरकारले कामको गति बढाउन नसक्दा गणतन्त्रप्रतिको वितृष्णा मलजलमा सहयोग पुगिरहेको महामन्त्री शर्माको टिप्पणी छ । शर्मा गणतन्त्रप्रति जनताको भरोसा जगाउन प्रधानमन्त्रीले आफ्नो शक्ति सरकारलाई प्रभावकारी बनाउन खर्चिनुपर्ने बताउँछन् । ‘सडक प्रदर्शन हामी दलहरूले गरौँला । प्रधानमन्त्रीज्यूले सरकारको काम गर्ने क्षमताको दोब्बर प्रदर्शन बढाउनुस् । तब गणतन्त्रप्रति जनताको समर्थन दोब्बर बढ्नेछ,’ उनले भने ।

सरकारलाई नीतिगत हिसाबले सफल बनाउने उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका अर्का महामन्त्री गगन थापाले पनि प्रधानमन्त्री सभासम्मेलना बढी व्यस्त भइरहेको भन्दै आलोचना गरेका छन् । युद्धस्तरमा काम गर्नुपर्ने सरकारको नेतृत्व डुलिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिरहेका छन् । सरकारको गति सुस्त भएको उनको अवलोकन छ । ‘हामी भन्छौँ – तिमी युद्धको मनोविज्ञानले १८ घण्टा काम गर, २० घण्टा काम गर । कहीँ उद्घाटन र भाषण गर्न नजाऊ, प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु,’ महामन्त्री थापाले भने, ‘मैले उहाँहरूलाई अनुरोध गरिरहेको छु – तपाईंहरू डुल्ने र घुम्ने गर्न छाडिदिनुस् । काम गर्नुस्, तपाईंहरूले गरेको कामको प्रचार हामी देशभरि गर्छौं ।’

प्रधानमन्त्री आफ्नो प्राथामिकताप्रति जिम्मेवार नदेखिएको उनको भनाइ छ । सरकारलाई सफल बनाउन र कार्यशैली सुधारमा झक्झक्याए पनि प्रधानमन्त्री ओली स्वयं त्यसमा गम्भीर नदेखिएको उनको निष्कर्ष छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै थापाले भनेका छन्, ‘बिँड मात्र तातेर नहुँदो रहेछ, ताप्के पनि तात्नुपर्ने रहेछ ।’

शनिबार सभापति देउवाकै सामुन्ने काङ्ग्रेसका नेता शेखर कोइरालाले एमालेलाई नसच्याउने हो भने काङ्ग्रेसलाई समेत अप्ठ्यारो पर्ने परिस्थित सिर्जना भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले प्राथामिकता बिर्सिँदा असन्तुष्टि झन् बढ्ने खतरा रहेको उनले बताए । संविधान संशोधनको प्रक्रियामा भइरहेको ढिलाईले सडकमा झन् आक्रोश बढाउने भन्दै उनले प्रधानमन्त्रीको कार्यशैली सच्याउने विषयमा गम्भीर बन्न सभापति देउवाको ध्यानाकर्षण गराए । ‘हामी सत्तामा छौँ, तर सरकारमा छैनौँ । एमालेलाई सच्याउन खबरदारी नगर्ने हो भने त्यसले काङ्ग्रेसलाई समेत अप्ठ्यारोमा पार्ने छ । संविधान संशोधनलाई अब पनि ढिलाई गर्ने हो भने सडकमा आक्रोश झन् बढ्नेछ,’ उनले भने ।

काङ्ग्रेस र एमाले गठबन्धनको मूल मुद्दा संविधान संशोधन ओझेलमा पर्दा सरकार गठनको औचित्प नै पुष्टि हुन नसकेको भन्दै नेता कोइरालाले खबरदारी गर्दै आएका छन् । सात बुँदे सहमतिमा संविधान संशोधन उल्लेख गरेका काङ्ग्रेस एमालेले सरकार गठनको नौ महिना बित्दा समेत यसका लागि प्रारम्भिक छलफल समेत गर्न सकेका छैनन् । संविधान संशोधनको विषय तयार गर्न कार्यदल गठन गर्नुपर्ने भएपनि उनीहरूले दुई दलीय कार्यदल समेत गठन गरेका छैनन् ।

आफ्नो आलोचनाबारे के भन्छन् ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सभा सम्मेलनमा व्यस्त भएको कुरामा आलोचना बढ्न थालेको औँल्याएका छन् । शुक्रबार बुटवलको जागरणसभामा उनले भनेका थिए, ‘म अहिले तपाइँहरू समक्ष छु । प्रधानमन्त्री घुमिरहेको छ । डुलिरहेको छ भनेर आलोचना भइरहेको छ । सबै ठाउँ त पुग्न सक्दिँन, तर महत्वपूर्ण ठाउँमा त जानै पर्‍‍यो,’ उनले भनेका छन् ।

एमाले र आफुविरूद्ध अहिले चौतर्फी घेराबन्दी भइरहेको उनको बुझाइ छ । आफू र एमालेविरूद्धका घेराबन्दीबाट नडराउने बरू सशक्त समाना गर्ने उद्घघोष उनले जागरणसभामा गर्दै आएका छन् । शनिबार झापा पुगेका प्रधानमन्त्री ओलीले एमाले कसैको दया मायाले नबनेको भन्दै घेराबन्दीबाट नतर्सिने बताए । कसैले ढ्याङ्ग्रो वा नाङ्लो ठटाउँदैमा एमाले तर्सिने वाला छैन,’ उनले भने ‘एमाले हुरी बतास, घाम पानी, दमन चक्रहरूसँग भिडेर आएको पार्टी हो । कुनै माया दयाले, कृपाले किस्तीमा सजाएर सफलता दिएको पार्टी होइन । बलिदानपूर्ण संघर्ष गरेर सफलता खोसेर लिएको पार्टी हो । फेरि पनि यो त्यसैगरी अगाडि बढ्न सक्छ र बढ्नेछ।’

ओलीले एमाले नेतृत्वको कामकारबाहीको प्रचारमा सामर्थ्य नलगाउँदा पार्टीलाई हानी भइरहेको बताएका छन् । उनले सक्रिय रूपमा कामकारबाहीको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘नेकपा एमालेले गरेका राम्रा कामको प्रचार नेकपा एमाले आफैंले गर्नुपर्छ,’ ओलीले भने, ‘तर, आपसमा छासछुस हान्नका लागि फेसबुकको प्रयोग गर्ने, एसएमएसको प्रयोग गर्ने, टिकटकको प्रयोग गर्ने, तर पार्टीको पक्षमा प्रचार गर्न, राम्रा काम, राम्रा विचार, राम्रा नीति र सफलताको प्रचार गर्न आफ्नो शक्ति, सामर्थ्य नलगाउने कुराले हामीलाई पछाडि पार्छ ।’

एमालेलाई कसैले पनि कमजोर पार्न नसक्ने जिकिर उनले गरेका छन् । एमालेलाई सिध्याउन श्रृंखलावद्ध प्रयत्न भइरहेको टिप्पणी गर्दै उनले विगतमा पनि यो प्रयास असफल भएकाले अहिले पनि सार्थकता नपाउने बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register