खमेरुजले मच्चाएको नरसंहारलाई ५० वर्षपछि फर्किएर हेर्दा

सन् १९७५ अप्रिल १७ । कम्बोडियाको राजधानी नोम पेनमा खमेरुजले कब्जा जमाएको दिन । ठीक ५० वर्ष पूरा भयो । देशमा जारी लामो गृहयुद्ध अन्ततः समाप्त हुन्छ भन्ने विश्वास गरिरहेको भीडले त्यो दिन सडकमा गुडिरहेका सैनिक ट्याङ्कको जयजयकार गर्‍यो । तर, कसैले सोचेको थिएन कि २०औं शताब्दीको सबैभन्दा डरलाग्दो नरसंहारमध्ये एक कारण त्यही बन्ने छ […]

Apr 18, 2025 - 08:14
 0
खमेरुजले मच्चाएको नरसंहारलाई ५० वर्षपछि फर्किएर हेर्दा

सन् १९७५ अप्रिल १७ । कम्बोडियाको राजधानी नोम पेनमा खमेरुजले कब्जा जमाएको दिन । ठीक ५० वर्ष पूरा भयो ।

देशमा जारी लामो गृहयुद्ध अन्ततः समाप्त हुन्छ भन्ने विश्वास गरिरहेको भीडले त्यो दिन सडकमा गुडिरहेका सैनिक ट्याङ्कको जयजयकार गर्‍यो । तर, कसैले सोचेको थिएन कि २०औं शताब्दीको सबैभन्दा डरलाग्दो नरसंहारमध्ये एक कारण त्यही बन्ने छ ।

खमेरुजले त्यसपछि कम्बोडियामा ४ वर्ष क्रूर शासन गर्‍यो । यो कट्टर साम्यवादी– राष्ट्रवादी विचारधाराको शासनकालमा मृत्युदण्ड, जबरजस्ती श्रम र भोकमरीले १६ देखि ३० लाख मानिसको हत्या भयो । जुन तत्कालीन समयको कुल जनसङ्ख्याको एक चौथाइ थियो ।

५० वर्ष बितिसक्दा पनि खमेरुजको विरासतले कम्बोडियालाई राजनीतिक, आर्थिक, सामाजिक र भावनात्मक रूपमा आकारित गरिरहेकै छ । यो मेरोसहित प्रत्येक कम्बोडियालीको हड्डीमै गडेको छ ।

मेरो यो लेख एक प्राज्ञिक तथा अवलोकनकर्ताको मात्र होइन, त्यो नरसंहारबाट उम्केको जीवित व्यक्तिको हो । मेरो बुबा खमेरुजको श्रम शिविरमा बाध्यात्मक श्रम, झाडापखाला र कुपोषणको सिकार हुनुभयो ।

हाम्रो परिवारलाई बचाउन आमाले भियतनामी भएको नाटक गर्नु पर्‍यो । मेरो आमा सन् १९७६ मा आफ्ना ५ बालबच्चासहित कम्बोडियाबाट भागेर भियतनाम हुँदै सन् १९७८ मा फ्रान्स पुग्नुभयो । त्यसपछि सन् १९८५ मा अमेरिका पुग्नुभयो र हामी बाँच्न सफल भाग्यमानीमध्ये हुन पायौँ ।

आज कम्बोडिया भौतिक रूपमा सन् १९७० को दशकको बमवारिबाट भएको ध्वंस र मानव शून्यता क्षेत्रजस्तो छैन । नोम पेन गगनचुम्बी भवन र सुविधा सम्पन्न मलले चम्किएको छ । तर, यो चमकधमकको मुन्तिर एक निन्दनीय शोषण र मौनताको विगत दबेर बसेको छ ।

अन्योल, निराशा, भ्रष्टाचार, गृहयुद्ध र ग्रामीण आक्रोशको लहरले खमेरुजलाई सत्तामा ल्याएको थियो । वर्षौँको बमवारि, सन् १९७० मा राजकुमार नोरोदम सिंहानुकलाई अपदस्थ गर्ने अमेरिका समर्थित विद्रोह र त्यसपछि स्थापित अत्यन्तै अलोकप्रिय अमेरिकी सैन्य गठबन्धन शासनले खमेरुजको उदयको आधार तयार गरेको थियो ।

धेरै कम्बोडियालीहरूले विशेषतः ग्रामीण इलाकामा कट्टर साम्यवादी र कम्बोडियाली अति राष्ट्रवादी विचारधाराको सम्मिश्रण भएको खमेरुजलाई मुक्तिदाताका रूपमा स्वागत गरे । खमेरुजले नागरिक अमनचैन र राष्ट्रिय मर्यादा पुनर्स्थापित गर्ने वाचा गरेको थियो ।

तर, त्यसपछिका ४ वर्ष खमेरुजले आफ्ना डरलाग्दा नेता पोल पोटको नेतृत्वमा विचार धारात्मक सफाइ, बाध्यात्मक श्रम, अल्पसङ्ख्यक समूहको जातीय नरसंहार र व्यापक अनिकाल निम्त्याउने नीति लियो ।

सन् १९७९ मा भियतनामी सेनाले कम्बोडियामाथि आक्रमण गर्दा खमेरुज शासन ढल्यो । नोम पेनमा नयाँ भियतनाम समर्थक सरकार बन्यो ।  त्यसको छाया अझै पनि छँदै छ ।

विगत ४ दशकभन्दा बढी समयदेखि सत्तामा रहेको कम्बोडियाली पिपुल्स पार्टीले देशको शासनमाथिको आफ्नो पकडलाई त्यही नरसंहारको मानसिक आघातमा टेकेर जायज ठहर्‍याउँछ ।

‘शान्ति र स्थायित्व’ असहमतिलाई दबाउन प्रयोग गरिने मन्त्र बनेको छ ।

कोम्बोडियाका प्रत्येक चुनाव नीतिगत छनौट मात्र नभई देशलाई युद्धमा फर्किनबाट बचाउने जनमत संग्रह बन्न पुग्दछन् । शासकहरूको आलोचना गर्नेलाई शान्ति र एकताको खतराका रूपमा प्रस्तुत गरिन्छ ।

विपक्षी दलहरू विघटितजस्ता छन् । राजनीतिक अभियन्ताले जेल भरिएका छन् । सञ्चार माध्यमको घाँटी दबाइएको छ ।

भयको यो राजनीतिक संस्कृति ठाडो हिंसालाई छोडेर खमेरुजको ‘प्ले बुक’ बाट लिइएको हो । शासकीय आघातले मान्छेलाई एक अर्काप्रति अविश्वास गर्न, चुप लाग्न र शिरन निहुर्‍याएर बाँच्न सिकाएको छ । आज पनि यही भावनाले कम्बोडियाली नागरिकको सार्वजनिक जीवन आकारित छ ।

खमेरुजकालीन न्याय धेरै ढिलो भयो, अझै पूरा भएको छैन । कम्बोडियाली अदालतमा खमेरुज न्यायालयका असाधारण कक्षहरू छिट्टै बन्द गरिनु पर्ने थियो । त्यस्तो केही भयो पनि, तर सुरु हुनै दशकौँ लाग्यो । सन् १९७५–१९७९ को नरसंहारका लागि ३ वरिष्ठ खमेरुज नेताहरूलाई दोषी ठहर गर्न मात्रै न्यायिक प्रक्रियामा ३०० मिलियन अमेरिकी डलरभन्दा बढी खर्च भयो ।

धेरै मध्यम र तल्लो तहका आरोपी अहिले पनि खुलेआम हिँड्छन् । केही त अझै सरकारी पदमा नै छन् । पीडित परिवारका बाँचेका सदस्यका छिमेकी छन् ।

राष्ट्रको बहुमत जनसङ्ख्या सन् १९७९ पछि जन्मेकाहरूको भइसकेको छ । खमेरुज अत्याचारबारे तिनलाई शिक्षा दिने र सार्वजनिक हिसाब माग्न सक्ने बनाउने कुरामा ठूलो खाडल छ । कम्बोडियाको विद्यालय पाठ्यक्रममा अझै पनि यो अवधिको पर्याप्त पढाई हुँदैन ।

धेरै युवाका लागि यो त्यस्तो घटना हो, जसका बारेमा तिनका आमाबुबा कुरै गर्न चाहँदैनन् । राज्य पनि छनौटपूर्ण प्रसङ्ग मात्र उल्लेख गर्न खोज्छ ।

अङ्कमा हेर्ने हो भने कम्बोडियाको आर्थिक विकासको प्रगति पछिल्लो दुई दशकमा प्रभावशाली छ । तर, यथार्थमा यो असमान र कमजोर छ । कोभिड–१९ अघि औसत ७ प्रतिशतको वार्षिक जिडिपी वृद्धिदर थियो । अहिले सहरहरू विस्तार भएका छन् । वैदेशिक विशेष गरी चीनबाट लगानी आएको छ । तर, आर्थिक वृद्धिको धेरैजसो अंश अनिश्चित छ ।

कम्बोडियाको अर्थतन्त्र अझै पनि तयारी पोसाक निर्यात, पर्यटन र निर्माणमा आधारित छ । यसलाई बाह्य जोखिमले झट्का दिने गर्दछ । जस्तो कि अहिले स्थगन गरिए पनि ट्रम्प प्रशासनले कम्बोडियाली सामान निर्यातमा ४९ प्रतिशत शुल्क लगाएको छ ।

दिगो र विविधिकृत अर्थतन्त्र निर्माण गर्नुको साटो कम्बोडिया लगानीमा चीन र निर्यातमा अमेरिकासँग निर्भर छ । आफ्नै मानवीय पुँजीमा पर्याप्त लगानी गर्न सकेको छैन ।

मलाई लाग्छ– यो पनि खमेरुजकै विरासत हो । किनकि खमेरुजले देशको बौद्धिक, पेसागत र व्यावसायिक क्षेत्रलाई ध्वस्त पारेको थियो ।

नरसंहारको मनोवैज्ञानिक असर समयसँगै हराउँदैन । आघात सर्दै जान्छ । बाँचेकाले आफ्नो शरीर र मस्तिष्कमा त्यसका दाग बोकेर हिँडेका छन् । त्यो उनीहरूका छोराछोरी र नातिनातिनामा पनि सर्छ । तिनले कतिपय त्यस्तै व्यवहार गर्छन्, जो आघात व्यहोरेका अभिभावकले गर्छन् ।

नरसंहारपछिको कम्बोडियामा गरिएका अध्ययनले बाँचेकाहरू र तिनका सन्तानमा आघातपछिको तनाव विचलन र डिप्रेसन दर बढी देखाएका छन् । मानसिक आघातको प्रभाव अन्तर पुस्ता छ।

कम्बोडियामा मानसिक स्वास्थ्य सेवा पर्याप्त छैन । आघातप्रति निजी व्यवहार गरिन्छ । उपचारको साटो मौनता र सहनलाई जोड दिइन्छ ।

बुद्धिज्म देशको प्रमुख धर्म हो । यसले उपचार, पुनर्जन्म, क्षमा दानका लागि परम्परागत तरिका प्रस्ताव गर्छ । त्यो प्रणालीगत मानसिक स्वास्थ्य पूर्वाधारका लागि विकल्प होइन ।

अझ खराब कुरा– हिजोआज नरसंहारका स्मरणलाई राजनीतिकरण गर्न थालिएको छ । केही नेताले यसलाई असन्तुष्टि दबाउने हतियारका रूपमा प्रयोग गर्छन् । अरूले राष्ट्रवादी भाष्यका लागि सहवरण गर्दछन् ।

इमानदार र आलोचनात्मक चिन्तनको स्थान थोरै छ । केही स्वतन्त्र पहलकदमीहरू भएका छन् । जस्तो कि अन्तर पुस्ता संवाद कार्यक्रम र डिजिटल अभिलेखमार्फत यस्तो खाडल पुर्ने प्रयास भएको छ । तर, यसले पाएको समर्थनको दायरा सीमित छ।

मलाई लाग्छ यो दोस्रो त्रासदी हो । जुन देशले आफ्नो विगतको बारेमा स्वतन्त्रतापूर्वक बोल्न सक्दैन, त्यो देश साँच्चै अगाडि बढ्न सक्दैन ।

कम्बोडियामा अप्रिल १७ मा राष्ट्रिय बिदा दिइँदैन । यसलाई बिर्सने जोखिम पनि छ । यो दिन कुनै औपचारिक स्मरणोत्सव हुँदैनन् । सरकार नोम पेन खमेरुजको हातमा परेको दिन स्मरण गर्न चाहँदैन ।

तर, मेरो विचारमा त्यस्तो केही हुनुपर्छ । घाउ कोट्याउने अर्थमा होइन– कम्बोडियालीहरूलाई न्याय, स्वतन्त्रता र लोकतन्त्र किन महत्त्वपूर्ण छन् भनेर सम्झाउन त्यस्तो गरिनु पर्दछ ।

अब कम्बोडिया कुनै दिन फेरि खमेरुजको समयमा फर्किने खतरा छैन । तर, अधिनायकवादलाई अस्थिरताका रूपमा जायज ठहर्‍याउने, इतिहाससँग चालबाजी गर्ने, विकासलाई अन्यायमाथि खडा गर्ने जोखिम छ ।

संसारले खमेरुज उदयको ५०औँ वर्षगाँठ सम्झिँदै गर्दा कम्बोडियाले आफ्ना असहज सत्यहरू मनन गर्न आवश्यक छ । खमेरुज शासन समाप्त भएको धेरै भइसक्यो, तर यसको विरासत आज पनि कम्बोडियाका संस्था, व्यवहार र भयमा जीवित छ ।

व्यक्तिगत तवरले जब म त्यो नरसंहारलाई मनन गर्छु, मलाई मेरा चिन्दै नचिनेका बुबाको सम्झना आउँछ । मलाई मेरी आमाको याद आउँछ, जसले हामीलाई बचाउन सबै प्रकारका जोखिम मोलिन् । अनि ती लाखौँ कम्बोडियालीबारे पनि सोच्छु, जो यो बिर्सन नसक्ने सम्झना लिएर बाँचेका छन् । र,ती युवा कम्बोडियालीहरूको यादले पनि मलाई सताउँछ, जो पूर्ण सत्य जान्न हकदार छन् ।

मेरो जीवन सन् १९७५ अप्रिल १७ को घटनाबाट प्रभावित र आकारित जीवन हो । तर, यो मेरो एक्लो कथा हैन । यो सिंगो कम्बोडियाको कथा हो– जो ५० वर्षपछि पछि पनि अझै लेखिँदै छ ।

द कन्भर्सेसनबाट ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register