नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६ वर्ष : पाँच उपलब्धि, पाँच कमजोरी

आज अप्रिल २२ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन । नेपालका कम्युनिस्ट पार्टीहरूले स्थापनाको ७६ वर्ष पूरा भएको सन्दर्भ पारेर सबै कतै संयुक्त त कतै भिन्नाभिन्नै दिवस मनाए र यसबीचमा प्राप्त उपलब्धि र भएका कमजोरीमाथि चर्चा गरे । अप्रिल २२ विश्व साम्यवादी आन्दोलनका महत्त्वपूर्ण नेता ब्लादमिर इल्युइच उल्यानोभ अर्थात्, लेनिनको जन्म दिन पनि हो […]

Apr 22, 2025 - 13:08
 0
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६ वर्ष : पाँच उपलब्धि, पाँच कमजोरी

आज अप्रिल २२ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन ।

नेपालका कम्युनिस्ट पार्टीहरूले स्थापनाको ७६ वर्ष पूरा भएको सन्दर्भ पारेर सबै कतै संयुक्त त कतै भिन्नाभिन्नै दिवस मनाए र यसबीचमा प्राप्त उपलब्धि र भएका कमजोरीमाथि चर्चा गरे ।

अप्रिल २२ विश्व साम्यवादी आन्दोलनका महत्त्वपूर्ण नेता ब्लादमिर इल्युइच उल्यानोभ अर्थात्, लेनिनको जन्म दिन पनि हो । लेनिन सन् १८७० अप्रिल २२ मा रुसको उल्यानोभस्क गाउँको एक क्रान्तिकारी परिवारमा जन्मिएका थिए ।

भूमिगत पार्टी प्रयोजनका लागि उनले ‘लेनिन’ उपनाम छाने । यही नामले उनी विश्वविख्यात भए । उनका वैचारिक योगदानलाई ‘लेनिनवाद’ भनिन्छ । नेपालका सबै कम्युनिस्ट समूहले लेनिनवादलाई  मार्क्सवादसरह मार्गदर्शक सिद्धान्त मान्दछन् ।

नेपालको कम्युनिस्ट पार्टी स्थापनाका लागि लेनिनको जन्मदिन रोजिएको भए पनि केही कम्युनिस्ट समूहले भने सेप्टेम्बर १९ लाई पार्टी स्थापना दिवस मान्ने गर्दछन् । यो पनि आफैमा विडम्बना हो । कम्युनिस्ट समूहबीच पार्टी स्थापना दिवसलाई लिएर लामो मतभेद भएको थियो ।

नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठ थिए । उनी वि.स. १९८१ आषाढ १५ गते रामेछाप जिल्लाको भंगरी गाउँमा जन्मिएका थिए । तर, कम्युनिस्ट पार्टीको गठन भने भारतको कलकत्तामा गरिएको थियो ।

पुष्पलाल श्रेष्ठले आफूसँग नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, निरन्जनगोबिन्द वैद्य र मोतीलक्ष्मी श्रेष्ठलाई संस्थापक बनाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । त्यसको उनी संस्थापक महासचिव बने ।

लेनिन र पुष्पलालको जीवनमा केही रोचक संयोग थिए । पुष्पलाल वि.स. १९९७ सालमा राणाशासनद्धारा फाँसीको सजाय दिइएका गंगालाल श्रेष्ठका भाइ थिए । लेनिनका दाजु अलेक्सेन्द्रलाई पनि रुसको जारशाहीले मृत्युदण्ड दिएको थियो ।

गंगालाल श्रेष्ठ देशको पहिलो राजनीतिक दल प्रजा परिषद्प्रति आस्था राख्थे । त्यही विरासतले युवा पुष्पलाल प्रजा परिषद्, नेपाली काँग्रेस हुँदै नेपाल कम्युनिस्ट पार्टी गठन गर्ने निर्णयमा पुगेका थिए ।
लेनिनका दाजु अलेक्सेन्द्र ‘नरोदनिक पार्टी’ लाई समर्थन गर्थे । लेनिन श्रमिक पार्टी र रुसी सामाजिक जनवादी मजदुर पार्टी हुँदै सन् १९१७ को अक्टोबर क्रान्तिपछि नाम परिवर्तन गरी कम्युनिस्ट पार्टी बनाएका थिए ।

लेनिन नेतृत्वको विश्वकै पहिलो कम्युनिस्ट क्रान्तिलाई ‘अक्टोबर क्रान्ति’ वा ‘बोल्शेभिक क्रान्ति’ भनिन्छ । लेनिनले स्थापना गरेको कम्युनिस्ट सत्ता सन् १९१७ देखि सन् १९९१ सम्म ७४ वर्ष रुस र सोभियत संघको सत्तामा रह्यो र पतन भयो ।

लेनिन रुसी कम्युनिस्ट शासनका पहिलो जनकमिसार थिए ।

पुष्पलालले वि.स. २०१५ सालको आम निर्वाचनमा भाग लिए । तर, उनी नेपाली काँग्रेसका नेता गणेशमान सिंहसँग काठमाडौंबाट पराजित भए । पुष्पलाल कहिल्यै कुनै राजकीय पदमा पुगेनन् । भारतमा निर्वासित जीवन बिताइरहेको बेला वि.स. २०३५ साल श्रावण ७ गते नयाँ दिल्लीमा उनको निधन भयो ।

निधन हुँदा लेनिन ५३ वर्षका थिए र पुष्पलाल ५४ वर्षका ।

विभाजन हुनु अघिको एकीकृत नेकपाका ३ वटा महाधिवेशन भए । पहिलो महाधिवेशनका महासचिव मनमोहन अधिकारी, दोस्रोका डा. केशरजंग रायमाझी र तेस्रोका तुलसीलाल अमात्य थिए । वि.स. २०१९ सालमा भएको तेस्रो महाधिवेशनपछि पार्टी विभाजित भयो ।

त्यस यता दर्जनौँ कम्युनिस्ट समूह क्रियाशील छन् । केपी शर्मा ओली नेतृत्वको एमाले, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपालको एकीकृत समाजवादी, नारायणमान बिजुक्छे ‘रोहित’ नेतृत्वको नेमकिपा, मोहनविक्रम सिंहको मसाल, सीपी मैनालीको माले, विप्लव सीको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी आदि नेपालका मुख्य कम्युनिस्ट समूह हुन् ।

अहिले पनि देशमा २ दर्जन बढी कम्युनिस्ट समूह छन् । ती सबैको नाम, विचार, मार्गदर्शक सिद्धान्त र झन्डामा समानता छ भने केही सवाल र कार्यनीतिक विषयमा भिन्नता देखिन्छ ।
कम्युनिस्ट समूह मूलतः दुई वटा सोचबाट प्रभावित देखिन्छन् ।

एका थरीले मार्क्सवाद, लेनिनवाद, माओवादले मार्गदर्शन गरेको सर्वहारा क्रान्ति, समाजवाद–साम्यवाद सम्भव छ र त्यही आदर्शका लागि संघर्ष गर्नु पर्दछ भन्ने विश्वास गर्दछन् । अर्को थरी– अबको युगमा शास्त्रीय सिद्धान्तअनुरूप चल्न सकिँदैन, बहुदलीय लोकतन्त्र मानेर, निर्वाचन प्रक्रियाबाटै शासन सत्ता हात लिनुपर्ने धारणा राख्दछन् ।

७६ वर्षको कम्युनिस्ट आन्दोलनका मुख्य उपलब्धि र कमजोरीलाई पाँच पाँच बुँदामा निम्नानुसार चर्चा गर्न सकिन्छ ।

उपलब्धि:

१. निरंकुश व्यवस्थाको अन्त्यका लागि संघर्ष र लोकतान्त्रिक आन्दोलनमा योगदान

नेपालको कम्युनिस्ट पार्टीले निरंकुश, राजतन्त्रात्मक तथा सामन्ती शासन व्यवस्थाको विरुद्ध सधैँ निर्मम संघर्ष गर्‍यो । कम्युनिस्ट पार्टी १०४ बर्से राणा शासन, ३० बर्से निर्दलीय पञ्चायती व्यवस्था र २४० बर्से निरंकुश राजतन्त्रको विरुद्धमा थियो ।

कम्युनिस्ट पार्टीले सशस्त्र, निःशस्त्र, वैधानिक अवैधानिक सबै प्रकारका संघर्ष गर्‍यो । नेकपा ( माओवादी ) को नेतृत्वमा १० वर्ष लामो जनयुद्ध भयो । धेरै ठूलो त्याग र बलिदानको गाथा रचियो ।

कम्युनिस्ट पार्टीले पुराना व्यवस्थाको अन्त्यका लागि गरेका संघर्षले लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान पुग्यो । २००७ साल, २०३६ साल, २०४६ साल, जनआन्दोलन २०६२–२०६३ लगायत देशका सबै सानाठूला लोकतान्त्रिक आन्दोलनमा कम्युनिस्ट पार्टीको उल्लेखनीय सहभागिता र नेतृत्व रह्यो ।

२. राष्ट्रव्यापी संगठन र जनमत निर्माण

कम्युनिस्ट पार्टी र आन्दोलनले नेपाली राजनीतिमा व्यापक स्वीकार्यता पायो । कम्युनिस्ट पार्टीको देशव्यापी संगठन र उल्लेखनीय जनमत छ । कम्युनिस्ट समूहले निर्वाचनमार्फत महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै आएका छन् । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो । पछिल्लो ३ दशक यताका बहुदलीय निर्वाचनमा कम्युनिस्ट समूहहरूले उल्लेखनीय निर्वाचन परिणाम हात पारेका छन् ।

सबै समूहले प्राप्त गरेको भोटलाई एक ठाउँमा राखेर हेर्दा जनमतको ३०–५० प्रतिशतसम्मको हिस्सा कम्युनिस्टहरूले निर्वाचनमा प्राप्त गर्ने गरेका छन् । कम्युनिस्ट पार्टी देशको मूलधारको राजनीतिक संगठन बनेको छ ।

३. सामाजिक विद्रोह र रूपान्तरणमा योगदान

कम्युनिस्ट पार्टी गठन हुनुअघि नेपाल एक मध्ययुगिन सामन्ती बर्बरता व्यापक भएको, शिक्षाको अवसरबाट वञ्चित रुढीवादी समाज थियो । जातीय तथा लैङ्गिक विभेद व्यापक थियो । ग्रामिणस्तरमा स्थानीय जमिनदारको शोषण र शासन थियो । कम्युनिस्ट पार्टीले विद्रोही चेतना, राजनीतिक शिक्षा र ग्रामीण वर्गसंघर्षमार्फत् समाजको रूपान्तरण र आधुनिकीकरणमा महत्त्वपूर्ण भूमिका खेल्यो । विपन्न ग्रामीण तथा शोषित, पीडित समुदायको आत्मविश्वास र संघर्षशील परम्परालाई माथि उठायो ।

४. बारम्बार सत्ता सञ्चालनको अवसर

कम्युनिस्ट पार्टीले बारम्बार देशको राज्यसत्ता सञ्चालनको नेतृत्व र सहभागिताको अवसर पायो । २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यपछि बनेका अन्तरिम सरकारबाट कम्युनिस्ट पार्टीले सरकारमा सहभागिताको अवसर पाउन थालेको थियो ।

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा पहिलो जन निर्वाचित कम्युनिस्ट सरकार बन्यो । कम्युनिस्ट पार्टीबाट मनमोहन अधिकारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, झालनाथ खनाल र केपी शर्मा ओली गरी ६ जना देशका प्रधानमन्त्री भइसकेका छन् । कम्युनिस्ट प्रधानमन्त्रीको नेतृत्व काल एकमुस्ट गर्दा १५ वर्षभन्दा लामो हुन्छ भने सरकारका सहभागिताको अवधि ३० वर्ष हुन्छ ।

कम्युनिस्ट सरकारले सामाजिक सुरक्षा भत्ता र ग्रामिणमुखी विकासका कार्यक्रममा अन्य दलका सरकारको तुलनामा राम्रो काम गरे ।

५. अन्तर्राष्ट्रिय ख्याति:

नेपालको कम्युनिस्ट पार्टीले विश्वव्यापी ख्याति कमाएको छ । विश्वका धेरै कम्युनिस्ट पार्टीहरूसँग यसको भाइचारा सम्बन्ध छ । कम्युनिस्ट पार्टीले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा भाग लिने गर्दछ । धेरै देशहरूमा कम्युनिस्ट पार्टी फैलिन नसकेको वा असफल भएको सन्दर्भमा नेपालको कम्युनिस्ट पार्टी एक सफल राजनीतिक दल मानिन्छ । विश्वकै कम्युनिस्ट आन्दोलनका लागि प्रेरणा स्रोत मानिन्छ ।

कमजोरी:

१. भएन वैचारिक सत्यापन

कम्युनिस्टहरू आफूलाई सबैभन्दा वैज्ञानिक, आधुनिक, लोकतान्त्रिक, समानतावादी र मानवीय विचारधाराको पक्ष पोषक दाबी गर्दछन् । आर्थिक समानता, वर्गीय शोषणको अन्त्य र सबै प्रकारका विभेदको गर्दै समाजवाद हुँदै साम्यवादका पुग्ने लक्ष्य राख्दछन् ।

नेपालमा कम्युनिस्ट पार्टी संस्थापना हुँदा संसारका धेरै देशमा कम्युनिस्ट शासन स्थापित भइसकेको थियो । मार्क्सवाद, लेनिनवाद र माओवादको मार्गदर्शनमा ती शासनले सर्वहारा राज्य र समाजवादी अर्थतन्त्र निर्माण गर्ने योजना थियो । नेपालको कम्युनिस्ट पार्टी पनि यही सोचको उपज थियो ।

तर, बिसौँ शताब्दीको उत्तरार्धबाट यस्तो वैचारिकी असफल हुन थाल्यो । सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट शासन ढल्यो । चीनमा सांस्कृतिक क्रान्तिको असफलता, तेङ सिआयो पिङको उदय र तेनमियान चौकका घटना भए ।

भारतमा कम्युनिस्ट पार्टीले लामो शासन गरेका पश्चिम बंगाल र त्रिपुरा राज्य आर्थिक विकास प्रक्रियामा अरूभन्दा पछि परे । समाजवादी अर्थतन्त्रको प्रारूप सोचेजस्तो स्थापित हुन सकेन । कम्युनिस्ट सत्ताले अवलम्बन गरेको एकदलीय प्रणालीको बाटो अधिनायकवादका रूपमा संसारभरि आलोचित भयो ।

यस परिप्रेक्ष्यमा नेपालका कम्युनिस्टहरूलाई पनि विचार धारात्मक सत्यापन गर्न गाह्रो भयो । यी बहुदलीय लोकतान्त्रिक आन्दोलन र प्रणालीको हिस्सा बनेर अघि बढिरहेका छन् । भिन्नै कम्युनिस्ट प्रणालीको आग्रह असफल भएको छ।

२. भएन कम्युनिस्ट क्रान्ति

बिसौँ शताब्दीमा कम्युनिस्ट पार्टी संसारभरि जस्तो जन्मिएका थिए । तर, कतिपय देशमा हुर्किनै सकेनन् । कतिपय देशमा सफलताको नजिक पुगेर दमनको सिकार भए । कतिपय देशमा ‘समाजवादी क्रान्ति’ गर्न सफल भए । कतिपय देशमा क्रान्तिपछि अपदस्थ गरिए भने कतिपय देशमा लामो शासन सत्ता सञ्चालनपछि आफै पतन भएर गए ।

दोस्रो विश्वयुद्धपछि विश्वका ४० बढी देशमा स्थापित भइसकेको कम्युनिस्ट शासन सत्ता आज चीन, क्युबा, उत्तर कोरिया, लाओस् र भियतनाम ५ देशमा मात्र बाँकी छ । नेपालको कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य पनि ‘नयाँ जनवादी क्रान्ति’ मार्फत ‘जनवादी गणतन्त्र नेपाल’ स्थापना गर्नु थियो ।

७५ वर्षमा कम्युनिस्ट पार्टीले स्थापनाकालीन यस्तो उद्देश्यमा सफलता हासिल गर्न भने सकेन । धेरै जसो कम्युनिस्ट पार्टीले यो लक्ष्य नै परित्याग गरिसकेका छन् । नयाँ जनवादी वा समाजवादी क्रान्तिको उद्देश्यबाट च्युत भई बहुदलीय संसदीय लोकतन्त्रका सामान्य राजनीतिक औजारका रूपमा सीमित छन् ।

३. बारम्बारको विभाजन र आरोप प्रत्यारोप

विभाजन र आरोप प्रत्यारोप कम्युनिस्ट पार्टीको संस्कृति र नियति सिद्ध भयो । आन्दोलन र पार्टीभित्र कोही ख्याति प्राप्त नेताको उदय हुने बित्तिकै भिन्नै गुट बन्ने, अन्तसंघर्ष चर्को हुने, पार्टी विभाजनमा पुग्ने र एक अर्काप्रति असहिष्णुतापूर्ण आरोप प्रत्यारोप गर्ने प्रचलन कम्युनिस्ट आन्दोलनमा आम समस्याका रूपमा देखा पर्‍यो ।

फलतः कम्युनिस्ट शक्ति कहिल्यै एकीकृत हुन सकेनन् । गरिएका केही प्रयास छोटो अवधिमै फेरि असफलतामा पुगे । कम्युनिस्ट आन्दोलनले उन्नत लोकतान्त्रिक राजनीतिक संस्कृतिको निर्माणमा योगदान गरेन । अन्तर पार्टी लोकतन्त्र, नियमित नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्रक्रिया पनि कमजोर देखियो । प्रत्येक गुटको मूल नेताले जीवनभरि नेतृत्व नछोड्ने रोग देखियो । आज पनि कम्युनिस्ट घटकहरू यही कारणले बढी आलोचित र समस्याग्रस्त छन् ।

४. आएन सुशासन र समृद्धि

कम्युनिस्ट पार्टीहरू समाजमा शक्तिशाली हुँदा, जनमतको उल्लेखनीय हिस्सालाई प्रतिनिधित्व गर्दा, बारम्बार राज्यको नेतृत्व र सरकारमा सहभागिता जनाउँदा पनि देशमा सुशासन र समृद्धि भने सम्भव भएन ।
कम्युनिस्ट समूहले मुख्य मुद्दा बनाएका आर्थिक समानता, भूस्वामित्वको न्यायपूर्ण पुनर्वितरणका लागि क्रान्तिकारी भूमिसुधार, निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा, विपन्न वर्गका लागि विशेष आर्थिक कार्यक्रमजस्ता कुरा लागू भएनन् । अर्थतन्त्र तथा प्रशासनिक पुनर्संरचनाको आशा पनि अहिलेसम्म पूरा भएको छैन ।

देश दशकौँदेखि कुशासन, भ्रष्टाचार, राजनीतिक अस्थिरता, अवसरवादी र अनैतिक गठबन्धन तथा सत्ता साझेदारी, अल्प विकास, गरिबी र बेरोजगारीको समस्यामा रुमल्लिएको छ । भ्रष्टाचार र नैतिक पतनका ठूला काण्डमा कम्युनिस्ट नेता कार्यकर्ताको पनि संलग्नता देखिन्छ ।

५. दिन सकेन दिगो नेतृत्वको आधार

७५ वर्षमा पनि कम्युनिस्ट पार्टीले राष्ट्र निर्माणको मूल नेतृत्वदायी शक्ति यही हुनेछ भन्ने विश्वसनीय आधार दिन सकेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको १७ वर्षपछि आज आम निराशा झन् व्यापक हुँदैछ । देशमा एक प्रकारले विश्वासको चरम संकट र राजनीतिक शक्तिशुन्यताको अवस्था छ ।

प्रतिगामी राजावादी शक्ति क्रियाशील नै छन् । तिनले जनआक्रोशको इन्धनले प्रतिक्रान्तिको रोटी सेक्ने प्रयत्न जारी राखेका छन् । लोकतन्त्रवादी जनमतले कम्युनिस्ट समूहलाई भरपर्दो लोकतान्त्रिक शक्ति मान्दैन । तिनले गैर कम्युनिस्ट राजनीतिक दललाई समर्थन गर्दैछन् ।

सीमान्तकृत समुदायको पहिचान, अधिकार, सामाजिक न्याय, समावेशी प्रतिनिधित्व र सशक्तीकरणका मुद्दामा पनि कम्युनिस्ट समूह विश्वसनीय बन्न सकेका छैनन् । फलतः यस्तो जनमतले भिन्नै पहिचानवादी, मधेस तथा जनजाति केन्द्रित दलहरूलाई समर्थन र मतदान गर्दैछन् ।

पछिल्लो समय सबै पुराना दलप्रति वितृष्णा भाव व्यक्त गर्दै नयाँ र वैकल्पिक लोकतान्त्रिक दलहरूको खोजी गर्ने क्रम बढेको छ ।

यसको अर्थ हो कि कम्युनिस्ट पार्टीले राष्ट्रको भविष्यलाई दिगो नेतृत्व प्रदान गर्न विश्वासिलो राजनीतिक शक्ति हो भन्ने आम मनोविज्ञान अझै सृजना गर्न सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register