राज्यले नियन्त्रण गुमाइरहेको भर्चुअल समाज

एउटा परिवारको भान्छादेखि राष्ट्रको मुल एजेन्डा एउटै ठाउँमा अट्ने थलो हो, सामाजिक सञ्जाल । यो लैंगिक, घरेलु हिंसाको विरोध गर्नेदेखि यस्ता हिंसा उकास्ने, राजनीतिक व्यक्तित्वलाई एकै पलमा हिरो बनाउन र नांगेझार पार्ने जादुमयी स्थल बनेको छ ।

May 17, 2025 - 06:45
 0
राज्यले नियन्त्रण गुमाइरहेको भर्चुअल समाज

समाज, राजनीति, अर्थतन्त्र, विश्व परिवेशमा भएका घटना थाहा पाउन रेडियो, टिभी, पत्र पत्रिका, एफ.एमको जमानाबाट माथि उठेर सामाजिक सञ्जालमा आइपुग्नु सुखद् कुरा हो । तहगत रूपमा जाँच भएर पाठक, दर्शक, श्रोतामा पुग्ने सूचना अहिले बिना सेन्सर लाइभ हेर्न र सुन्न पाइने भएको छ । सही र भ्रामक सूचनाबीचको अन्तर प्रयोगकर्ता आफैँले निर्धारण गर्नु परिरहेको छ । सञ्जालका राम्रा र नराम्रा पाटोबीच समाजको समग्रमा चेतनाको स्तर मापन गर्न र सामाजिक व्यवहार अनुमान गर्न सञ्जालको विशेष भूमिका छ ।

सामाजिक सञ्जाल व्यक्तिगत रूपमा मनोरञ्जनको माध्यम, विचार, भाव पोख्ने, साथीभाइ, इस्टमित्रसँगको मेलमिलाप, शुभकामना आदानप्रदान र सञ्चारका लागि प्रयोग हुन्छ । तर, आज यसको प्रयोग यतिमा मात्र सीमित छैन । व्यापार, व्यवसाय फस्टाउन, राजनीतिक बहस चलाउन, नेताको समर्थन/ बिरोध गर्न र कुनै अभियान्ता वा हिरो जन्माउन पनि सामाजिक सञ्जाल उत्तिकै प्रभावकारी देखिन्छ ।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मका आ–आफ्नै विशेषता छन् । आफ्नो रुचिअुनसार प्रयोगकर्ताहरू सामाजिक सञ्जालका अनेक प्लेटफर्ममा बिभाजित भएका छन् ।

सामान्यतया युट्युब, टिकटक सबैको पहुँचमा छ भने अक्षर चिन्न सक्ने वर्ग फेसबुकमा पनि ज्यादा सक्रिय देखिन्छ ।

नेता, बुद्धिजीवी, गैरआवासीय नेपाली, वैदेशिक रोजगारमा रहेका युवा, सरकारी कर्मचारी, सरकारी कार्यालयका अधिकारिक ह्यान्डल, पत्रकारको राजनीतिक बहस, चेत, आलोचनायुक्त विचार, कुण्ठा सबै ट्विटर(एक्स)मा व्याप्त देखिन्छ । एक हिसाबले शिक्षित वर्गको उपस्थिति एक्समा बाक्लो देखिन्छ । औपचारिक, अनौपचारिक बहसका लागि अन्य माध्यमभन्दा एक्स बढी विश्वासिलो मानिन्छ ।

सञ्जाल समाजकै सक्रिय स्वरुप हो । विभिन्न राजनीतिक विचार, आर्थिक, धार्मिक पक्ष, राष्ट्रिय एकता, बिरोधाभास, टिप्पणी र बिरोधको संगमस्थल हो सामाजिक सञ्जाल । सूचना, भ्रम, विचार, भावनाको प्रचार र प्रवाह गर्ने सहज र धेरैको पहुँचमा रहेको प्रविधि हो समाजिक सञ्जाल । यस्ता कुराहरू प्रचार गर्ने प्रयोगकर्ताको विधि र नियत भने फरक-फरक हुन्छ ।

त्यसकारण सामाजिक सञ्जाल आज सरकारले नियन्त्रण गुमाउँदै गरेको भर्चुअल समाज हो ।

एउटा परिवारको भान्छादेखि राष्ट्रको मुल एजेन्डा एउटै ठाउँमा अट्ने थलो हो, सामाजिक सञ्जाल । यो लैंगिक, घरेलु हिंसाको विरोध गर्नेदेखि यस्ता हिंसा उकास्ने, राजनीतिक व्यक्तित्वलाई एकै पलमा हिरो बनाउन र नांगेझार पार्ने जादुमयी स्थल बनेको छ ।

राजनीतिक दलका काम, न्यायलयका निर्णय, कार्यपालिकाको काम गर्ने तरिका, व्यक्तिगत सम्बन्ध, पब्लिक फिगरका अन्तर्वार्ता, टिप्पणी, सत्तापक्ष र विपक्षमा हुँदा फेरिएका नेताका बोली नै सामाजिक सञ्जाल तताउने विषय हुन् ।

सबैले आ–आफ्नो चेत र स्वार्थअनुसार यस्ता विषयको समर्थन अनि विरोध गरेको देखिन्छ । कर्मचारीले घुस मागेको, प्रहरीले दमन गरेको, प्रहरीले गरेको राम्रो काम होस् वा बन्दै गरेका कानुनको बारेमा बहस हुनु पनि लोकतन्त्रको अभ्यास नै हो । र, यो अभ्यासलाई सामाजिक सञ्जालले उन्नत बनाएको छ ।

कतिपय अवस्थामा सञ्जालले सिर्जना गर्ने दबावको अगाडि सम्बन्धित निकायले घुँडा टेकेको पनि देखिएको छ । सामाजिक सञ्जामलमा स्थानीय राजनीतिदेखि केन्द्रसम्मका विषय बहसका रूपमा पोखिन्छन् ।

अहिले देशको राजनीतिक, आर्थिक, न्यायपालिकाको अवस्थासँग जनता चिढिएको प्रस्टै छ । दलहरूले भोट माग्दा गरेका वाचा र सत्तामा रहँदा दिएको परिणाम हातैमा बोकेर जनता पछि लागेका हुन्छन् । देश छोड्दै गरेका युवा हुन् या खाडीमा पसिना बगाउँदै गरेका युवाहरूले देशको वर्तमान अवस्थालाई धारे हात लाउँदै नेता र कर्मचारीलाई सामाजिक सञ्जालमा लखेटिरहेका छन् ।

सामाजिक सञ्जालमा पपुलिस्टहरूको सक्रियतालाई समर्थन गर्ने हुललाई तिनै पपुलिस्टले भोलि हाम्रो टाउकोमा टेकेर छातीमा प्रहार गर्छन् भन्ने चेत नभएको पनि होइन । तर निराशाले यती गाजिसक्यो कि सञ्जालमा उग्रताबाहेक अरु आवाज लगभग सुनिन छाडेको छ । राज्यले सञ्जाल नियमन गर्न नसक्नु र दण्डहीनता बढ्दै जानु राज्यकालागि ठूलो चुनौती हो ।

अवस्था परिवर्तन गर्न वर्तमानमा सक्रिय रहेका नेताहरू मात्र नभई व्यवस्था नै बदल्नुपर्छ भन्ने दबाब दिँदै अनेक भ्रम पनि सामाजिक सञ्जालमा छरिएका छन् । त्यस्ता भ्रममार्फत आफ्नो स्वार्थको रोटी सेक्न कसिएका ‘पपुलिस्ट’को वाहवाही हुँदा पनि आफ्नै कमी कमजोरीको कारण पुराना दल र कार्यकर्ताले जनताको चित्त बुझाउन सक्ने अवस्था छैन ।

सामाजिक सञ्जालमा पपुलिस्टहरूको सक्रियतालाई समर्थन गर्ने हुललाई तिनै पपुलिस्टले भोलि हाम्रो टाउकोमा टेकेर छातीमा प्रहार गर्छन् भन्ने चेत नभएको पनि होइन । तर निराशाले यती गाजिसक्यो कि सञ्जालमा उग्रताबाहेक अरु आवाज लगभग सुनिन छाडेको छ । राज्यले सञ्जाल नियमन गर्न नसक्नु र दण्डहीनता बढ्दै जानु राज्यकालागि ठूलो चुनौती हो ।

सामाजिक सञ्जालका कारण राज्य र मिडियाले फिल्टर गरेर दिने सूचना, समाचारको समय लगभग अन्त्य भइसकेको छ । हातहातमा भएका मोबाइलले सूचना फिल्टर गर्न छाडिसक्यो । यसो हुनु सकारात्मक, नकारात्मक दुवै हो । भ्रष्टाचार, ठगि, उजुरी दर्ता, राज्य र अन्य पक्षबाट भएका अन्यायका प्रमाण सञ्जालमा छरपस्ट हुन्छन् । यी प्रमाण राज्य र सत्ता सञ्चालकले चाहेर पनि रोक्न सक्दैनन् ।

मेरा लागि सञ्जाल नेपाली समाज अध्ययनको महत्त्वपूर्ण कडि हो । बदलिँदै गएको सामाजिक चरित्रको ऐना हो । बदलिँदै गएको मानवीय व्यवहार, मानसिकता, समाजको फ्रस्टेसन, भौगोलिक चरित्र, राजनीतिक चेत, संस्कृति, विश्व परिवेश अध्ययन गर्ने थलो हो सामाजिक सञ्जाल । यो अनुसन्धानको सजिलो र कम खर्चिलो विकल्प हो । सामाजिक सञ्जालमा सबै अध्ययन गर्न सकिने भए पनि मेरो विशेष रुचि ‘लैंगिक अध्ययन’ हो । सामाजिक सञ्जालमा महिलाहरू खुलेर बहसमा उत्रँदा, समाजले निर्धारण गरेको घेराभन्दा बाहिर उभिदाँ समाजले दिने ‘वाहवाही’ ‘तिरस्कार’को अध्ययन मेरो चासोको विषय हो । महिलाहरूले फरक मत राख्दा सञ्जाल प्रयोगकर्ताले कहिले हियाएर त कहिले प्रशंसा गरेर दिने उपाधिु र नामाकरण मेरो चासोको बिषय हो ।

राजनीतिक वृतका महिला, कर्मचारी, नायिका, गायिका, महिला व्यवसायी, एकल महिलाप्रति समाजले राख्ने संकीर्ण सोच अहिले पनि सामाजिक सञ्जालमा देखिन्छ । फेसबुक, एक्स र टिकटकमा महिलाहरूप्रति गरिने व्यवहाहार आज पनि निको छैन ।

महिलाहरूसँग सामाजिक सञ्जालमा बहस र विचारमा जित्न नसकेपछि प्रयोगकर्ताहरू अन्तिममा चत्रिरको भर्‍याङ चढ्न खोज्छन् । उनीहरू महिलाको चरित्र अगाडि सारेर आफू माथि पर्न खोज्छन् ।

महान बुद्धिजीवीहरू नै सामाजिक सञ्जालमा महिलाहरूलाई भाउजु’ ‘नन्द’ ‘साल्दिदी’ ‘दिदी’ आदि नामाकारण गरिरहेका हुन्छन् । आरजु राणा हुन या रेनु दाहाल वा हामी जस्ता सामान्य सञ्जाल प्रयोगकर्तालाई कमजोर देखाउन, हामीलाई गिराउन विभिन्न नाम र उपनाम राख्दै पुरुषहरूका गुट जुँगा मुसार्न थाल्छन् । उनीहरूको यो डर हो या जलन, तर यसले हाम्रो सोच, शिक्षा, हुर्काइ प्रतिबिम्बित गर्दछ ।

मलाई सञ्जालले धेरै कुरा सिकायो । सबैलाई खुसी बनाउन सकिँदैन र सबैलाई खुसी बनाउने प्रयास गर्ने पनि होइन । ढुङ्गा बर्साउनेलाई फूल बर्साउने मान्यता निकै पुरानो भइसक्यो । कुनै पनि समाजमा बाँच्नका लागि त्यही समाजको चरित्रअुनसार व्यवहार गर्नुपर्छ । सञ्जालमा महिलामाथि हुने आक्रमणको प्रतिकार जरुरी छ । प्रतिकारका लागि महिलाहरूलाई हिम्मत, साहस र प्रोत्साहन दिन जरुरी छ ।

सामाजिक सञ्जालमा हुने विभिन्न अपारधका लागि कानुन त छ । तर, त्यो कानुन कमजोर छ । त्यो कानुन महिलाको आवाज र रक्षक बन्न सकेको छैन । त्यसैले सामाजिक सञ्जालमा कोही पनि महिला सामूहिक आक्रमणमा पर्दा मौन रहनुभन्दा केही हिम्मत दिन जरुरी छ । सामाजिक सञ्जालमा लड्ने र भिड्ने हो, हार मानेर पछि हट्ने अप्सन नै छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register