१९ दिने जनआन्दोलनको सेरोफेरो र ज्ञानेन्द्रको घोषणा

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ मा प्रतिनिधिसभा विघटन गर्दै शासन सत्ता आफ्नो हातमा लिन सुरु गरे । १९ माघ २०६१ मा त ज्ञानेन्द्रले ‘कु’ नै गरे । राजनीतिक दलहरूलाई ‘तह लगाउन’ भनेर उनले शाही आयोग गठन गरे । त्यो शाही आयोगले भ्रष्ट्राचारको आरोपमा राजनीतिक दलका नेताहरूलाई पक्राउ गर्ने काम गर्न थाल्यो । शाही आयोग विरुद्ध सर्वोच्च […]

Apr 24, 2025 - 09:15
 0
१९ दिने जनआन्दोलनको सेरोफेरो र ज्ञानेन्द्रको घोषणा

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ मा प्रतिनिधिसभा विघटन गर्दै शासन सत्ता आफ्नो हातमा लिन सुरु गरे । १९ माघ २०६१ मा त ज्ञानेन्द्रले ‘कु’ नै गरे । राजनीतिक दलहरूलाई ‘तह लगाउन’ भनेर उनले शाही आयोग गठन गरे । त्यो शाही आयोगले भ्रष्ट्राचारको आरोपमा राजनीतिक दलका नेताहरूलाई पक्राउ गर्ने काम गर्न थाल्यो ।

शाही आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । सर्वोच्च अदालतले २०६२ फागुन १ गते शाही आयोग अवैधानिक भएको फैसला गर्‍यो । त्यसपछि दरबार र दरबारियाहरूको शिर निहुरियो ।

अदालतको त्यो फैसलापछि दलहरूलाई राजा विरुद्ध एकीकृत हुने हौसला मिल्यो । दरबारले दिएका आदेश समेत अदालतले खारेज गर्न सक्ने रहेछ भन्ने ढाडसले राजनीतिक दलहरूको उत्साह बढ्यो । दरबारको आदेश पनि इन्कार गर्न सक्ने, दरबारको हुकुम पनि खारेज गर्न सक्ने शक्ति छ भन्ने आडभरोसा भयो । सर्वोच्चको फैसलापछि हामी सञ्चारकर्मीको पनि मनोबल बढ्यो । हामीलाई पनि दरबार र त्यसका वरिपरिका मान्छेको आलोचना गर्ने तागत मिल्यो ।

शाही आयोगको पक्षमा फैसला गराउन दरबारले न्यायाधीशहरूलाई प्रभावित पार्ने प्रयास समेत गरेको थियो । दरबारले अदालतभित्र रक्तपात हुन्छ भन्ने धम्की पनि दिएको थियो ।

दलहरूमाथि प्रतिबन्ध, नेताहरूलाई पक्राउ पुर्जी जारी र गिरफ्तार र सञ्चार माध्यममा सेना परिचालन गरेर राजाले सबै चिज आफ्नो हातमा लिए । यही पृष्ठभूमिमा २०६२ को चैत अन्तिमतिर जन आन्दोलन सुरु भयो । जन आन्दोलन बिस्तारै–बिस्तारै तात्दै थियो । २०६२ वैशाख ७–८ गतेको आन्दोलनले ठूलो रूप लियो ।

आन्दोलन तुहाउन ज्ञानेन्द्रले साम, दाम, दण्ड, भेद सबै प्रयोग गरे ।  वैशाख ६ गते ज्ञानेन्द्रले कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको अफर गरे । तर, भट्टराईले स्वीकार गरेनन् ।  विदेशी नियोगहरूले पनि दरबारमाथि दल र जनताको कुरा सुन्न दबाब बढाए । नेपालका लागि अमेरिकी राजदूत जेम्स मोरियार्टीले ‘यस्तै अवस्थामा यदि राजा रहिरहने हो भने राजाले देश छाडेर उड्नको लागी हेलिकप्टरको पखेटा पनि पाउँदैनन्’ भनेर सीएनएनमा अन्तर्वार्ता नै दिए । त्यो अन्तर्वार्तापछि ज्ञानेन्द्र झस्किए । ज्ञानेन्द्रलाई विदेशीहरूले पनि अब मलाई साथ दिँदैनन् भन्ने लाग्यो ।

२०६३ वैशाख ८ गतेसम्म पुग्दा त ज्ञानेन्द्रलाई अब आन्दोलन सम्हाल्न सकिँदैन जस्तो लागिसकेको थियो । आन्दोलन मत्थर पार्ने मनसायसहित ८ वैशाखमा ज्ञानेन्द्रले एउटा घोषणा गरेर ‘जनताको नासो जनतालाई फिर्ता दिएँ’ भने । त्यो विज्ञप्तिमा ज्ञानेन्द्रले आन्दोलनरत सात दललाई प्रधानमन्त्री सिफारिस गर्न भनेका थिए ।

राजाको त्यो विज्ञप्तिमा राजी हुन विदेशी नियोगहरूले दलहरूलाई कन्भिन्स गर्न खोजेका थिए । तर, आन्दोलनको वस्तुगत परिस्थिति भने फरक थियो । जनआन्दोलनले रिङ्गरोड घेरिसकेको थियो । जन दबाबका अगाडि दलहरूको पनि केही लागेन र दलहरूले राजाको प्रस्ताव अस्वीकार गरे । उनीहरूले संसद् पुनर्स्थापना हुनैपर्छ भने ।

ज्ञानेन्द्रको वक्तव्य दलहरूले नमानेपछि आन्दोलन झनै बढ्यो । ज्ञानेन्द्रले वैशाख ८ गते गरेको आह्वान दलहरूले अस्वीकार गरेपछि दरबारको नुर झनै गिर्‍यो । वैशाख ९ र १० गते झन् धेरै मान्छेहरू सडकमा ओर्लिए । लाखौँ लाख मान्छे सडकमा ओर्लिएपछि दलहरूले पनि चक्रपथ कब्जा गर्छौँ भने । अवस्था आफ्नो नियन्त्रणबाट फुत्किँदै गएको चाल पाएपछि वैशाख ११ को राती करिब ११ बजे राजाले नयाँ वक्तव्य जारी गरे ।

त्यो वक्तव्यबाट राजाले २०५९ जेठ ८ गते विघटित प्रतिनिधिसभा पुनः स्थापना भएको घोषणा गरे । पुनर्स्थापापित प्रतिनिधिसभाको बैठक वैशाख १५ गतेका लागि तोकियो ।

संसद् पुनः स्थापनाको घोषणा गरेसम्म पनि राजतन्त्र धरमर भएको थिएन । त्यतिन्जेलसम्म पनि राजतन्त्र समाप्त हुँदैन, कुनै न कुनै तवरमा राजतन्त्र रहन्छ भन्ने लागेको थियो ।

संसद्को पहिलो बैठकले राजतन्त्र नरहने संकेत देखायो

तर, प्रतिनिधिसभाको पहिलो बैठक (वैशाख १५) ले राजतन्त्र नरहने संकेत देखायो । विगतमा संसद्को पहिलो बैठक बस्दा सांसदहरू भित्र छिरेपछि मर्यादा पालकले सूचना दिन्थे ‘सभामुख आउँदै हुनुहुन्छ’ भनेर । अनि राजदण्ड र श्रीपेचको पछिपछि लागेर सभामुख संसद् हलमा छिर्थे । संसद्मा राजाका लागि भनेर छुट्टै कुर्सी समेत थियो । तर, पहिलो बैठकमा राजदण्ड र श्रीपेच बेगर नै सभामुख बैठक कक्षमा आए ।

सांसदहरूले श्रीपेच अंकीत लोगो लगाउँथे । तर, पहिलो दिनको बैठकमा सांसदहरूले श्रीपेच भएको लोगो लगाएनन् । पहिलो दिनकै बैठकबाट सांसदहरूले ‘अब राजतन्त्र मान्दैनौ’ भन्ने भावभङ्गीमा प्रस्टसँग देखाए । संसद् बैठकको दृश्य नै बेग्लै थियो । प्रतिनिधिसभामा प्रतिपक्ष र सत्तापक्ष भन्ने नै थिएन । सबै पार्टीका सांसदहरू छरपस्ट भएर बसेका थिए । पुनर्स्थापित संसद्को पहिलो बैठकले नै संविधानसभामा जाने प्रस्ताव गर्‍यो । यी सबै दृश्य हेर्दा राजाको भविष्य अब धेरै छैन भन्ने भान भयो ।

जेठ ४ को प्रतिनिधिसभाले ऐतिहासिक घोषणा गर्‍यो । राजाका सबै अधिकार कटौती गरिए । राजाको उत्तराधिकारी तोक्ने अधिकार समेत प्रतिनिधिसभामा राखियो ।

यो घोषणा नहुँदासम्म राजतन्त्रको भविष्यका विषयमा प्रस्ट चित्र आइसकेको थिएन । यही घोषणाले राजालाई खोपीमा मात्र सीमित बनायो । अब राजतन्त्र संवैधानिक पनि रहँदैन भन्ने लगभग प्रस्ट भयो ।

वैशाख ११ मा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनर्स्थापना नगरेको भए सायद राजतन्त्र रहन सक्थ्यो । राजतन्त्र हटाउने, राजाका अधिकार कटौती गर्ने वैधानिक थलो भयो प्रतिनिधिसभा । प्रतिनिधिसभाले गरेका निर्णयलाई च्यालेञ्ज गर्न सक्ने अर्को थलो हुँदैन । ज्ञानेन्द्रले वैशाख ११ को घोषणा नगरेको भए अवस्था जे पनि हुन सक्नेतिर गइसकेको थियो । सडकमा उत्रिएको मास निकै ठूलो थियो । त्यो मासलाई कन्ट्रोल गर्न सक्ने अवस्था थिएन, सेनाले पनि गोली चलाएर मान्छे मार्न सक्थ्यो । जनआन्दोलनको मास बढ्दै गएपछि सेनाले पनि अब नियन्त्रण गर्न सकिँदैन भनिसकेको थियो । प्रतिनिधिसभा पुनर्स्थापना नभएको भए जनआन्दोलनको मास नारायणहिटी छिर्न सक्थ्यो र त्यसपछि नरसंहार हुनसक्थ्यो । भीडले राजालाई दरबारबाट घिसारेर त राजतन्त्र समाप्त हुँदैन थियो ।

वैशाख १२ मा दलहरूले चक्रपथ कब्जा गर्ने कार्यक्रम नै तोकिसकेका थिए । त्यस कारण प्रतिनिधिसभा पुनर्स्थापना हुनु नै दरबार र राजतन्त्रको समाप्तिको सुरुवात भयो ।

राजालाई संसद् पुनर्स्थापना गर्न बाध्य बनाउने घटनाको आधार शाही आयोग खारेजीको फैसला नै हो । किनभने, यो घटनाले राजनीतिक दल, आम जनता, नागरिक समाज र सञ्चार माध्यमलाई नैतिक बल दियो । यस बाहेक प्रत्यक्ष शासनमा राजाले गरेका गतिविधिले पनि राजाप्रतिको वितृष्णा बढाए ।

समाचार नछापेर सन्देश

सुरुमा २०६१ माघ १९ मा राजाले प्रत्यक्ष शासन चलाउन सुरु गरेको एक/डेढ हप्ता समाचार कक्षको माहौल एकदम सकसपूर्ण रह्यो । दरबारको आलोचना गरेर सिधै लेख्न सक्ने स्थिति थिएन । तर, हामीले बिस्तारै बिस्तारै दरबारले बोकेका पात्रहरूमाथि भने लेख्न थालियो ।

तुलसी गिरिका चार जना श्रीमतीका बारेमा मैले समाचार लेखेँ । एकै पटक ज्ञानेन्द्रका विषयमा लेख्न सकिएन, तर उनले बोकेका पात्रहरूमाथि भने लेख्न थालियो ।

त्यतिखेरको अवस्था हेर्दा त मिडिया चल्छन् भन्ने लागेको थिएन, सबै मिडिया बन्द हुन्छन् जस्तो माहौल थियो । किनभने राजाले आफ्नो आलोचना गर्ने मिडियामा सरकारी विज्ञापन पूर्ण निषेध गरेका थिए । निजी क्षेत्रलाई पनि राजाले आतङ्कीकत बनाएर सरकारको विरोध गर्नेलाई विज्ञापन नदिनु भनेका थिए । शासन सत्ता चलाइरहेको दरबारले धम्क्याएपछि निजी क्षेत्रको विज्ञापन पनि कम हुन थाल्यो ।

बलराम बानियाँ (स्वर्गीय) ले त्यति बेला एउटा आर्टिकल लेख्नु भयो । ‘टेलिफोन नहुँदाको हाइसन्चो’ शीर्षकमा । ज्ञानेन्द्रले टेलिफोन लाइन काटेका थिए । तर, त्यो लेखमा कतै पनि शाही शासन शब्द लेखिएको थिएन । त्यसमा टेलिफोन नहुँदाका फाइदा लेखिएका थिए ।

त्यो लेख अप्रत्यक्ष रूपमा राजामाथिको व्यङ्ग्य थियो । हाम्रो न्युज रुममा सेनाको कर्नेल थियो । उसले सेन्सर गर्ने बेला त्यो लेख पढ्यो र हाँस्न थाल्यो । त्यो कर्नेलले १० पटक आर्टिकल पढ्यो । छाप्ने अनुमति दिऊँ राजामाथिको व्यङ्ग हो भन्ने प्रस्टै बुझिन्छ । आर्टिकल रोकौँ राजा, शाही शासन वा सरकारको नाम कतै लेखिएको छैन । अन्तिममा उसले लेख छाप्ने अनुमति दियो ।

त्यो समयमा न्युज रुममा सेना हुँदा कान्तिपुरका सम्पादकीय निकै रमाइला विषयमा लेखिएका छन् । काठमाडौँ पोस्टले मोजाको विषयमा सम्पादकीय लेखेको थियो । मोजाको विषय त अन्तर्राष्ट्रिय स्तरमै निरंकुशताको विरोध गर्न प्रयोग भएको छ । यस्तै यस्तै विषयमा सम्पादकीय लेखिएका छन् त्यतिखेर ।

नियमित समाचार वा सरकारको आलोचना गरेर लेख्न सक्ने स्थिति नै थिएन । मुलुकमा गम्भीर अवस्था छ, तर मिडिया भने मोजाका बारेमा लेखेर बसेका छन् भनेपछि अन्तर्राष्ट्रिय स्तरमै यसले नेपालमा निकै गम्भीर अवस्था छ र मिडियामाथि राजको प्रत्यक्ष नियन्त्रण छ भन्ने सांकेतिक रूपमा देखियो ।

कु पछिका केही दिन त कान्तिपुरले समाचार नै लेखेन । राससको समाचार मात्र छापेको हो कान्तिपुरले केही दिनसम्म । जसै शाही आयोग खारेज भयो त्यसपछि राजाको शासनको आलोचनाको स्तर बढ्न थाल्यो सञ्चार माध्यममा । राजाको शासनका बारेमा लेखेकै कारण केही गरेमा अदालत जान पाइन्छ, अदालत हाम्रो पक्षमा हुन्छ नि त भन्ने आड भरोसा जस्तो महसुस भयो हामीलाई ।

वैशाख ८ सम्म कान्तिपुरमा राजालाई ‘मौसुफ’ नै लेखिन्थ्यो । तर, वैशाख ११ पछि भनेर राजालाई ‘तिमी’ भनेर सम्बोधन गर्न थालियो ।

प्रजातन्त्रको सट्टा लोकतन्त्र

प्रतिनिधिसभा पुनः स्थापनापछि लोकतन्त्र शब्द प्रयोग गर्न थालियो । वैशाख ११ लाई लोकतन्त्र दिवस पनि भन्न थालियो । जनआन्दोलनको बेला नै लोकतन्त्र शब्द चलनचल्तीमा आइसकेको थियो ।

दरबारले बारम्बार प्रजातन्त्र शब्द प्रयोग गर्न थाल्यो । दरबारले प्रजातन्त्र भन्दै नागरिक अधिकार कुल्चिएपछि प्रजातन्त्र शब्दको वजन कम भयो । प्रजातन्त्र भन्ने शब्दको महत्त्व दरबारले नै घटाए जस्तो महसुस भयो । र, आम जनता अनि दलहरूले प्रजातन्त्रको सट्टा लोकतन्त्र शब्दको प्रयोगलाई व्यापकता दिए ।

ज्ञानेन्द्रको विज्ञप्तिहरूमा प्रजातन्त्र शब्दको अत्यधिक प्रयोग हुन्थ्यो । दरबारले प्रजातन्त्र भन्न थालेपछि दलहरूले पूर्ण प्रजातन्त्र शब्द प्रयोग गर्थे । त्यसपछि पूर्ण प्रजातन्त्र पनि छाडेर लोकतन्त्र शब्द प्रयोग गरे । संसद् पुनर्स्थापना भएपछि लोकतन्त्र शब्द स्थापित बन्यो । राजाका सबै अधिकार कटौती गरेर, सम्पूर्ण अधिकार प्रतिनिधिसभामा ल्याएर पुनर्स्थापित प्रतिनिधिसभाले लोकतन्त्र शब्दको गरिमा बढायो ।

(कुराकानीमा आधारित । हरिबहादुर थापा बाह्रखरी डटकमका विशेष सम्पादक हुन । २०६२/०६३ को जनआन्दोलनताका उनी कान्तिपुर दैनिक पत्रिकामा कार्यरत थिए ।)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register